कमलदह : फक्रेको कमल र पुरैनको पात -एससी सुमन

 कमलदह : फक्रेको कमल र पुरैनको पात -एससी सुमन

चौकोर कगजमा वृत्ताकर आकृति मध्य बिन्दु बाट शुरु भै फैलिएको चित्राकृती पुरैन को हो । पुरैन, कमलको पात हो । चौकोर कागजमा चारैतिर कोरिएको कोर, किनारी, पाइढ यानी बोर्ड  दह, पोखरी, वा तलाउको महार, भिर यानी बाहिरी  घेराको प्रतिकात्मक प्रस्तुति हो । चारैतिर विभिन्न वनस्पति, लता-पत्रादीले भरिएको बनमा रंगीविरंगी चराचुरुङ्गीको चिरबिरले वातावरण गुन्जायमान छ्न । पोखरीमा माछा, सर्प, कछुवा, गगटो, घोघी, डोका रमाईरहेका छ्न । हरियो पुरैनको पात विच फुलेको छ विभिन्न रङ्गको कमलको फूल । यो चित्राकृति  मिथिलामा 'कमलदह' शिर्षक अन्तर्गत लेखिन्छ । 

आध्यात्मिक दृष्टिकोणले सुगन्धित कमल देवी देवताहरुको सार्है प्रिय पुष्प हो । रङ्गको आधारमा प्रतिकात्मक रुपले फरक -फरक हुन्छन । सरस्वतीको आसन श्वेत कमलको हुन्छ । सेतो कमल शुद्ध मानसिक स्थितिलाई दर्शाउछ । श्वेत कमल कौमार्यताको प्रतिक मानिन्छ । 

भने देवी लक्ष्मीको आसन रक्त कमलको फूल माथी हुन्छ । रक्त कमल करुणा, मुटु र हाम्रो मूल, शुद्ध प्रकृति संग पनि जिडिएको हुन्छ । देवीदेवताको हातमा पनि कमल सुशोभित हुन्छ, भने रक्त कमल रजस्वलाको प्रतिक मानिन्छ । यसैगरी नीलो कमल ज्ञानको पूर्णताको र शान्तिको प्रतिनिधित्व गर्दछ । पहेलो कमललाई वैराग्यको प्रतिकको रुपमा लिईन्छ ।

दह भनेको माटो अथवा ढुङाले चारै तिरबाट घेरिएको हिलो पानी जमेको ठाउँ हो । पोखरी, कूण्ड, तलाउ, सरोवर  यसको पर्यायवाची शब्दहरु हुन । अर्थात कमल दह भनेको कमल फूल फूल्ने सरोवर बुझिन्छ । भगवान विष्णुको नाभिबाट पहिलो कमलको उत्पत्ति भएको र त्यस कमलबाट भगवान ब्रह्माको जन्म भएको,  देवी लक्ष्मी, भगवान विष्णुको साथी उनका खुट्टामा बस्नुहुन्छ र उहाँको सेवा गर्नुहुन्छ । यो मिथक कलाकारहरुको चित्रणको आम दृश्य हुन । कमल ब्रह्मा, सृष्टिकर्ता जस्ता केही प्रमुख हिन्दू देवीदेवताहरूसँग सम्बन्धित छ; लक्ष्मी, धन र समृद्धि को देवी; विष्णु, संरक्षक; र सरस्वती, ज्ञान, बुद्धि र कला को देवीको प्रिय पुष्प हो ।

कमललाई शुद्धता, जीवन, प्रजनन, लक्ष्मी, नारी र सौन्दर्यको प्रतीकको रूपमा लिईन्छ । भगवद्गीताका अनुसार कमलले हिन्दू विश्वासको सारलाई प्रतिनिधित्व गर्दछ । यसले संकेत गर्दछ कि व्यक्तिले जन्म र मृत्युको चक्र (मोक्ष) बाट स्वतन्त्र हुनको लागि संसार (धर्म) लाई बिना अनुलग्नक नै आफ्नो कर्तव्यहरू प्रदर्शन गर्नुपर्दछ । यो किनभने कमलको फूल न भिजि पानीमा तैरन्छ । समान्यतया विभिन्न संस्कृतिहरूमा यो प्रतीकात्मकताले भरिन्छ, यसले हामीलाई देखाउँछ कि जे हुन्छ, तपाईं जहिले पनि पानीबाट बाहिर निस्कन सक्नुहुन्छ र सास फेर्न जारी राख्न सक्नुहुन्छ, हामीलाई हाम्रो डर र चिन्ताबाट मुक्त गर्नुहोस् । यसरी सद्‌गुरु: योगिक शब्दावलीमा बोध वा अवबोधनको भिन्दा-भिन्दै पक्ष सधै कमलको थरीथरीका फूल संग तुलना गरिएको छ । शरीरको सात मूल चक्रको लागि कमलको सात प्रकारको फूललाई प्रतीक चिह्न मानिएको छ । 

कमलको फूल प्राचीन मिस्रको सभ्यतामा यो पुनरुत्थानको प्रतीक थियो, प्रमाण उनीहरूको निश्चित हुन आवश्यक थियो कि तिनीहरू, आफ्नो मृत्यु पछि, "पुन: देखा पर्नेछन्।" एशियामा यसको पनि यस्तै अर्थ थियोे र छ पनि । एशियाईहरूको लागि, र अझ विशेष गरी बौद्धहरूका लागि, कमल आत्माको शुद्धिकरण हो, जसले ईश्वरीय चरित्र, पवित्रताको प्रतिनिधित्व गर्दछ । जसमा एक प्रकारको "औषधि" जसले नकारात्मक विचारहरूलाई रोक्न मद्दत गर्दछ ।

कलाकार उजय बज्राचार्यले कमल 'हिन्दू पुराणको अनुसार कमलको फूलको उत्पत्ति भगवान विष्णुको नाभि बाट भएको हो, र कमलको फूल बाट ब्रह्माजीको उत्पत्ति भएको मानिन्छ । बौद्ध धर्मको ललित विस्तार ग्रंथमा कमललाई अष्टमंगल मानिएको छ । भनिन्छ कमलको फूल जस्तो नै सृष्टि र यो ब्रह्मांडको रचना भएको छ  र यो ब्रह्मांड कमलको फूल जस्तो छ । कमल पुष्पलाई ब्रह्मा, लक्ष्मी तथा सरस्वतीजीले आफ्नो आसन बनाएका छ्न । पानीमा उत्पन्न भएर  हिलोमा कमल फूल छ । दुबै सँग निर्लिप्त भएर पवित्र जीवन जीउने प्रेरणा दिन्छ । यानि कि नराम्रो बीच रहेर पनि व्यक्ति आफ्नो मौलिकता र पवित्रतालाई कयम राख्न सकोस ।'


 कमलको अर्थ हिलोमय जलाशयमा पानी माथी फूल्ने एक किसिमको सुदर फूल जसको पंखुरी आँखाको कोशाको आकरको हुन्छ । प्रायः साहित्यमा सुन्दर आँखाको उपमा 'कमलनयनी' को रुपमा प्रयोग गरिन्छ । यो राइजोमेटस जडिबुटी वनस्पति हो । जुन एसिया वा युरोप जस्ता विश्वका धेरै भागहरूमा नदीहरूमा स्वाभाविक रूपमा बढ्छ । यसको वैज्ञानिक नाम नेल्म्बो न्यूकिफेरार हो । यसको पानीमा तौरिएका पातहरूको व्यासमा १०० सेमीमिटर सम्म मापन गर्न सकिन्छ । यसको प्रयावाची शब्दहरु नलिन, अरविन्द, उत्पल, पुष्कर, पंकज, निरज, सरोज, इन्दीवर इत्यादि नाउँ  हुन । कमल प्राय: उषाकालको किरण संग फक्रन्छ, र राती खुम्चेर जान्छ । कुनै कमल राती मात्र फूल्छ र दिनमा खुम्चिन्छ, जसलाई कुमुदिनी भनिन्छ ।  

 हामीले सधैं कमलको फूललाई प्रतीक संगै जीवनको प्रेरणाको रुपमा पनि लिने गर्छौ । किनकि कमल हिलोमा फूल छ, आँखाको, त्यसमा पनि जति अत्यधिक गाढा, कालो हिलो, त्यति धेरै फूल । जहांको पानी मैलो, फोहोर, हिलोले भरेको हुन्छ , कमल त्यहीँ राम्रो सँग फूल छ । जीवन पनि यस्तै हो । आफ्नो वरिपरिको फोहोर, मैलालाई मल खादको रुपमा प्रयोग गरि आफू एउटा  सुन्दर र सुगन्धित कमलको फूल जस्तो फक्रौ । यो नै हो जीवन जीउने एउटा वैज्ञानिक तरीका ।

कायस्थ परिवारको बिहेमा दुलहाको घरबाट पाँचवटा छुट्टाछुट्टै कागजमा कोबर, दशावतार, बाँस र कमलदहका चित्र लेखिन्छ । कायस्थ जातीमा माटोको भित्ता बाहेक पट्ट चित्र यानि कागतमा चित्र लेखने सदियौ पुरानो परम्परा हो ।  मुख्यतया यी चित्रहरुलाई मिथिला चित्रकलाको जननी पनि भनिन्छ । यस्ता चित्र केही जाती समुदायको परिणय संस्कारमा नभै नहुने चित्रकारिता हो । जो दुलहा पक्ष बाट दुलही पक्षको घरमा पठाइन्छ । 

दशावतार र कमल दह मात्र रातो रङले लिखिया गरिन्छ । उक्त सबै लिखिया चित्र र सिन्दूर पुडीयाको महत्व र प्रयोजन फरक -फरक हुन्छन, जस्तै कोहवर चित्र विवाह तथा चतुर्थी विधिको सिन्दूर दानको लागि, बाँसको चित्र-साँकर विधिको लागि लेखिन्छ, भने दशावतार चित्र-घुम्टो विधिको लागि र कमल दहको चित्र- बेहुली विदाइ विधिको लागि बेहुलाले अनिवार्य रुपमा सङ्गै लिएर जान्छ ।  लिखियाहरु विहेको दिन निश्चित हुनु भन्दा पहिले केही दिन अघि देखिनै महिला द्वारा पिहुआ, ब्रस, कलम इत्यादि प्रयोग गरि रातो रङ्गले लेखिन्छ । बेहुलाको घर बाट पठाएको त्यही सिन्दुर विवाहमा वरले बधूको सिउँदोमा हाल्ने चलन छ । यो चलन परम्परागत भएका कारण कायस्थ परिवारका महिला यस्तो चित्र तयार पार्न हस्तसिद्ध हुन्छन् ।

 यी चित्र प्रायः कचनी शैलीमा लेखिन्छ । परम्परागत रुपमा कायस्थ परिवारमा प्रशासनिक तथा लेखापढीका लागि कलमको प्रयोग हुँदै आएकाले कायस्थ परिवारका महिला कलाकारले व्यापक रूपमा कलम र कागजको प्रयोग गर्ने गरेको पाइन्छ । मुलतः पातलो वा मोटो रेखाको भरमा अभिव्यक्त हुने आयामिक प्रकृतिको ‘कचनी शैली’ विकसित हुँदै गएको पाइन्छ । यो शैली प्रायः एकल कलाको उपासना हो । तसर्थ यो शैलीलाई कायस्थ शैली पनि भनिन्छ । 

मिथिला चित्र लोकप्रिय बन्नु र त्यसको अन्तर्राष्ट्रियकरण हुनुमा कायस्थद्वारा निर्मित यसप्रकारका पटचित्रको प्रमुख भूमिका रहेको छ । कचनी शैलीका हस्तसिद्ध कायस्थ परिवारका कलाकार पद्मश्री गंगादेवीको नाम अगाडि आउँछ । उनका कलाकृति टोकियो हासेगावाद्वारा स्थापित जापानको निगाता प्रान्तको टोकामाची सहरमा अवस्थित विश्वप्रसिद्ध मिथिला म्युजियममा छ । यस म्युजियममा १५ हजारभन्दा बढी दुर्लभ कलाकृति संग्रहित छन् । सबै कलाकृतिको आफ्नै पृथक तथा रोमाञ्चक कथा छ ।

कमल दहको स्वरुप विन्दूबाट शुरु भई मण्डलाकार रुपमा गोलो पत्र दर पत्र गरि फैलिएको हुन्छ । मण्डलाकार संरचनामा सबभन्दा भित्रि बिचको भागमा कमलको पातको आकृति, पुरैनको पात यानी कमलको फूलको पात हुन्छ । आमाको गर्भलाई पनि 'पुरैन' भन्निन्छ भने पृथ्वीलाई आमा भनिएको छ । कमल फूलको पातको डाठ नाल को प्रतीक हुन । जसरी कमलको फूल र पात डाठको सहारले पृथ्वी संग जोडिएको  हुन्छ, त्यसरिनै गर्भमा रहेको बच्चा नालको सहारेले आफ्नो आमा संग जोडिएर रहेको हुन्छ । यसरी  वैवाहिक जीवनमा सृष्टिको द्योतक हो । 

मिथिलान्चलमा पुजा -आजाको अबसरमा गोबर माटोले लिपेको आंगनमा लेखिने 'अरिपन' मा कमलको अष्टदल चित्राकित गरिन्छ, जो मानिसको छुट्टाछुट्टै  आठ गुणको  प्रतीक हो । यि गुण हुन - सरलता , मंगल, दया, शांति, पवित्रता, निस्पृहता, उदारता तथा इर्ष्याको । यसको आशय यो छ कि मानिस जब ई गुणहरुलाई आत्मसात गर्छ तत्पश्चात उ पनि भगवालाई  कमल को पुष्प समान प्रिय हुन जान्छ । 

 वैवाहिक अबसरमा बनाईने कोहबर चित्रमा पनि पुरैनको पातको प्रमुख स्थान रहेको हुन्छ । केंद्रमा पुरैनको बनाईएको सात पात एक अर्को सित नालले जोडिएको रहन्छ । पुरैनको बाहिरी पत्रमा कमल फूलको  चित्र र त्यस फूलमाथी भमरा र कमल फलको चित्र लेखिन्छ कमल फूल  माथि को भमरा भनेको परगसेचन को प्रतीक हो । परागसेचन यानी सम्भोग हो । विवाह हुँदा वहुला वेहुली बिच शारीरिक सम्वन्ध स्थापित हुनुपर्छ  जसले सृष्टि  गर्छ । जसरी परागसेचन पछि फलको निर्माण हुन्छ । त्यसपछिको घेरामा पानी संग सम्बन्धित जिवजन्तु ,चराचुरुङ्गी,  पुतली, झार, पात इत्यादी वस्तुहरु चित्राकिंत गरिन्छ ।  यो चित्रमा चित्रित अन्य जलिय जीवको तात्पर्य यो छ कि जसरि तरह माछा, कछुआ, सर्प, गंगटो, घाेंघी, डोका, शंख आदि जीव कमल फक्रेको तलाउमा स्वछंद विचरण गर्छन, त्यसरी नै वधू आफ्नो वरको  प्रेमको छायामा सानंद विहार गरि राखुन । मिथिला यसरी सामाजिक संस्कारमा भावपूर्ण चित्र भित्तामा लेखनुको तात्पर्य संस्कार अनुसारको भाव रहेको हुन्छ । विवाहमा लेखिएको भित्ती तथा पट चित्रहरुमा नवविवाहित दम्पतीलाई उनमा रहेको भाव संग अवगत गराउनु रहेको हुन्छ । जो यौन  शिक्षाको माध्यम हो । 

यो चित्रको आकार प्रकार साज सज्जा र शैली शिल्पी स्वयंमा निहित हुन्छ । यस्ता चित्रहरुको कुनै मापदण्ड हुदैन । चित्रको आशय एउटै भए तापनि कलाकार र ठाउँ अनुसार केहि  भिन्नता देखिन्छ, जो स्वभाविक पनि हो । अब यस्ता चित्रहरुमा लोकार्षणको लागि बहुरङ्ग प्रयोग गरि आधुनिकीकरण गरीदै लगिएको छ । कुनै बेला मात्र प्राकृति रङ्गको प्रयोग हुने ठाउँमा आजको बदलिँदो समयमा आधुनिक रङ्गको प्रयोग बढ्दो छ । अब त मात्र यस्ता चित्र वैवाहिक  प्रयोजनका लागि बनाईदैन । विभिन्न ग्यालरीहरुको प्रदर्शनीको लागि पनि बनाईन्छ । तसर्थ कलाकारको सृजन र प्रायोगिक क्षमता अनुरुप  चित्राकंण गरिन्छ ।

 कलाकार विजय मणि दत्तको अनुसार  कमल दहलाई दार्शनिक दृष्टिकोणले हेर्दा कमलको स्वरुप र रङ्गले शुभ संकेत, दहमा रहेको पुरैन पातको रङ्ग हरियो जीवनको र गर्भको संकेत जनाउँछ ।  विहेमा यसको प्रयोग गर्नु प्रजनन प्रक्रिया संग सम्बन्धित मनोवैज्ञानिक कारण हो । नवविवाहित दम्पती बेहुलाले बेहुली संग महिनावारी उपरान्त समागम गरि आफ्नो वीर्य रुपि बीज पत्नीको कूण्ड रुपि पेटमा प्रवेश गराउँछ । ततपश्चात त्यो बीज अंकुरित भई गर्भधारण प्रकृया प्रारम्भ हुन्छ जहाँ सबभन्दा पहिले पुरैन तयार हुन्छ, जसलाई साल नाल भनिन्छ ।  त्यो पुरैन भित्र कमल रूपि जीव अर्थात भ्रुण शिशुको आकार निर्धारण हुँदै जान्छ र निश्चित अवधि पुरा गरि त्यो शिशु पुरैन संगै गर्भ दहबाट पूर्ण कमल बनेर बाहिर आउँछ अर्थात शिशुको जन्म हुन्छ । जो ठूलो भई कमल जस्तै आफ्नो परिवार, समाज र देशलाई सुन्दर सुवासित गरोस, बेहुली नि:सन्तान नहोस, यसको काँखमा सँधै बच्चा रुपि कमल फूली रहोस भन्ने कामना गरिएको हुन्छ । यस प्रसङ्गमा मैथिलीमा "सोहर" भन्ने पारम्परिक लोक गीतहरु छायावादी भावम पनि गाईने गरिन्छ । 

"सुतल छलहुँ पलङ्ग चढि,आओर पिया सङ्ग हे,

ललना रे हँसि बिहुँसि मेघ वरषल सरोवर भरिगेल रे । 

ताहिरे सागर कमल दह की आओर पुरैन पात रे,

ललना रे लाल कमल केर फूल पुरैन पात हरिअर रे ।

कमल पुरैन रितु साओन आओर सोहा ओन रे,

ललना रे झलकैत लाल आ हरिअर चमक इजोत सन रे ।

ताही बिच फूलल फूल देखैत दु:ख भागल रे, 

ललना रे सेहे देखि हृदय मगनभेल जीवन सुफल भेल रे".....

  भावार्थ-पतिले पत्नी सङ्ग विनोदपूर्ण वातावरणमा राती प्रणय कृडा गर्दा आकाश बनी श्रावण ऋतुमा वर्षे झैँ रजस्वाला पश्चात समागम गरी आफ्नो वीर्य रुपि बून्द पृथ्वी रुपि पत्नीको पेट सरोवरमा खसाल्दछ र गर्भ धारण हुन्छ अनि सन्तान प्राप्ति हुन्छ र त्यसपछि पत्नीको हृदयमा जुन अपार सुख र हर्षानुभुति उत्पन्न हुन्छ त्यो कुरा वर्णन गरिएका छन।

आध्यात्मिक रुपमा हेर्ने हो भन्ने ब्रम्हाको नाभि कूण्ड (नाइटो) बाट एउटा सुन्दर कमल निस्केर त्यस माथि विष्णु भगवान बसेको हुन्छ,भनाइको तात्पर्य नाभि कूण्ड (जलाशय) सृष्टिको आधार हो, जसबाट जिवको उत्पत्ति हुन्छ र त्यसबाट निस्केको कमलमा बस्ने विष्णु सृष्टिको पालक जगत संचालनकर्ता हुन्छ।

artistsuman.scd@gmail.com

Comments

Popular posts from this blog

मिथिला लोक मुर्ति कलाक सौन्दर्य - सामा - चकेवा : एससी सुमन

“चन्द्र -संवाद : परम्पराको पुनर्जागरण”

मिथिला संस्कृतिको अरिपन : एक परिचय