मानवताका लागि कला : समय, स्मृति र सहअस्तित्वको वृक्ष : एससी सुमन
मानवताका लागि कला : समय, स्मृति र सहअस्तित्वको वृक्ष - एससी सुमन ‘कला केका लागि ?’—यो प्रश्नको उत्तर हरेक समय एउटै हुँदैन। कहिले कला आत्माको आवाज बन्छ, कहिले समाजको ऐना, कहिले प्रतिरोधको भाषा र कहिले दुःखमा परेका मानिसको हात समात्ने मौन संवेदना। यही अर्थमा- नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान,"काठमाडौंमा आयोजित ‘Art for Humanity’ प्रदर्शनीले कलालाई केवल सौन्दर्यको विषय नभई मानवीय सहभागिता, सहानुभूति र सामाजिक उत्तरदायित्वसँग जोडेको छ। भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि विभिन्न पुस्ता र विधिका १६० भन्दा बढी कलाकारको सहभागिता आफैँमा कलाको सामाजिक शक्ति हो। यसै प्रदर्शनीमा प्रस्तुत मेरो "कल्पवृक्ष" शिर्षकको कलाकृति कालो रङको सघनता र रेखाको निरन्तरताबाट समय, जीवन र सभ्यताको कथा बोल्ने एउटा दृश्य–चिन्तन हो। चित्रको केन्द्रमा उभिएको गोलो वृक्ष मेरो चित्रभाषामा केवल रूख होइन—यो समयको प्रतीक हो। यसको हाँगा–हाँगामा बितेका दिन, वर्तमानका स्पन्दन र आउने समयका सम्भावना गाँसिएका छन्। वृक्षको गोलाकार घेराले समयलाई सीधा रेखामा होइन, निरन्तर घुमिरहने चक्रका रूपम...