टाइम्स स्क्वायरदेखि ब्रसेल्ससम्म : विश्वमञ्चमा मिथिला कलाको उज्यालो यात्रा
टाइम्स स्क्वायरदेखि ब्रसेल्ससम्म : विश्वमञ्चमा मिथिला कलाको उज्यालो यात्रा – एससी सुमन . कहिलेकाहीँ एउटा कलाकारको सपना केवल चित्र कोर्नुमा सीमित हुँदैन, त्यो आफ्नो माटो, संस्कृति र सभ्यतालाई विश्वसामु चिनाउने अभियानमा रूपान्तरित हुन्छ । मेरा लागि मिथिला कला त्यही अभियान हो—रङ, रेखा र प्रतीकहरूको माध्यमबाट हजारौं वर्ष पुरानो सभ्यताको कथा विश्वलाई सुनाउने प्रयासमा तल्लीन रहन्छु । सन् २०२५ मा अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरबाट मैले “विश्व भ्रमणमा मिथिला कला” अभियानको घोषणा गरेको थिएँ । त्यो केवल एउटा कार्यक्रम थिएन, बरु मिथिला कला र नेपाली सांस्कृतिक सम्पदालाई विश्वका प्रमुख सांस्कृतिक केन्द्रहरूमा पुर्याउने दीर्घकालीन संकल्प थियो । आज सन् २०२६ मा बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित ‘Art for Sustainable Development Goals: Mithila Heritage’ प्रदर्शनीमा सहभागी भएर फर्किँदा त्यो सपना क्रमशः यथार्थमा रूपान्तरित हुँदै गएको अनुभूति गरिरहेको छु । यो मेरो युरोप यात्रा मेरा लागि मात्र विदेश भ्रमण नभएर; यो संस्कृति, कूटनीति, कला र सभ्यताबीचको एक अद्भुत संवादको यात्रा थियो । ब्रसेल्स...