Skip to main content

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

 चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

साहित्यपोस्ट

माघ २२, शनिबार ०८:०१

एससी सुमन

एससी सुमन

सम्भवत: गाँस, बास, कपास र सन्तानोत्पत्ति पश्चात् मानिसको सबैभन्दा पुरानो आवश्यकता स्वयंलाई व्यक्त गर्नु रहेको थियो। प्रकृति मानिसको पहिलो गुरु थियो। प्रकृतिले उसभित्र आफ्नो लागि भय, आदर र प्रेम उत्पन्न गरेर उसलाई जीवनमा आगाडि कसरी बढनु पर्छ भनी सिकायो। मानिस आजको राम्रो वा नराम्रो, ज्ञानि वा मूर्ख जस्तो पनि छ, उसको मूलमा प्रकृति नै हो। भाषाको जन्म भन्दापूर्व, आज भन्दा हजारौं, लाखौं वर्ष पहिले प्राचीन पाषाण तथा नवपाषाण युगमा जंगलमा फिरन्ते रुपमा विचरण गर्ने मनुष्यले ध्वनि, संकेत, मुद्राको संकेत र हाउभाउलाई भाषाको रुपमा प्रयोग गर्थे। आफ्नो कुरा भन्नको लागि आफ्नो घाँटीबाट कण्ठ्य ध्वनि निकाल्थे र संकेतसँगै प्रतीकको प्रयोग गर्ने गर्थे होला।

मानव आफ्नो छेउछाउको प्राणीको ध्वनिको अनुसरण गर्ने गर्थे तर यो पर्याप्त थिएन। आफ्नो वरपर हुने गतिविधिलाई अभिनयको माध्यमले संकेत गर्ने गर्थे। बादलको गर्जन, बिजलीको चमक, झरनाको मधुर ध्वनि र जंगलमा वायुको तरङ्ग, रोदन संगीतले मानिसको मनलाई प्रभावित गर्यो। समय मापनका लागि प्रकृतिसँग आत्मसात गरे। नृत्यको सृजन गर्न आफ्नो खुट्टा र शरीराङ्गको प्रयोग गरे। आफ्नो स्वर ध्वनिलाई अनुकूलन गर्न आफूले हत्या गरेको पशुको आन्द्राले तार बनाए र त्यसैको सहायताले संगीतको रचना गरे। तथापि आफूलाई व्यक्त गर्ने माध्यमको उसको खोज जारी रह्यो। तसर्थ ऊ रेखांकन र चित्रांकनमा पनि प्रवृत्त भयो।

यसरी अभिनय र ध्वनिको माध्यमले मानवको भाव अभिव्यक्त हुने गर्दथे तर अँध्यारोमा यसको उपयोग हुन सक्दैन थियो। कुनै अनुपस्थित व्यक्तिलाई केही कुरा बताउनु पर्दा चित्र बनाई सन्देश छोडने गरिन्थ्यो। चित्रकलाको महत्त्वाकांक्षी रचना ढुङ्गाबाट धातुयुग र कृषि युगसम्म मानव-सभ्यतामा देख्न सकिन्छ। चित्र-संकेत उसको चित्रकला थिएन, यो पृथ्वीमा उसको जीवन-संघर्ष थियो।

यिनै अन्तर संघर्ष पछि लिपि र भाषाको विकास भयो। तत्पश्चात मानवद्वारा चित्रलेखनको महत्ता प्रदर्शित हुनथाल्यो। जीवनयापनको क्रममा आहारको लागि गर्नुपर्ने संघर्ष र भीमकाय जंगली जनावरबाट बाँच्ने योजनास्वरुप गुफाका भित्तामा बनाइएका चित्रांकनबाट भित्तामा कला निर्माणको रुपमा लिइयो। चित्रांकन र रेखांकन मानव जातिको सबै भन्दा प्राचीन कला हो। आदिमानव गुफाको भित्तामा प्रयोग क्यानभासको रुपमा गरिन थियो। यो निश्चय नै आदि मानवको कला थियो। शत्रुमाथि विजय प्राप्त गर्ने मनोवल बढाउन पाषाणयुगीन मानव अँध्यारो गुफाको भित्र–भित्र गएर विभिन्न प्रकारका चित्र अंकित गरे, जस क्रममा जंगली जनावर र प्रकृतिक दृष्य भित्तामा कलाको रुपमा विकासित भयो।
ध्वनिको अनुकरणकालमा पनि रेखांकनको माध्यम विद्यमान थियो। ढुंगाको तेज र चुच्चो भागले गुफाको भित्तामा रेखा कोरिन्थ्यो । गुफाबासी मानव नरभक्षी बाघको चित्र गुफाको बाहिरी भित्तामा अङ्कित गर्ने गर्थे, जसले गुफामा आउने सम्भावित व्यक्तिलाई त्यहाँ बाघ भएको सङ्केत हुने गर्दथ्यो। गुफाको भित्ता वा भोजपत्रमा रङको सहायताले रेखांकन हुने गर्दथ्यो। यसरी कोरिएका भित्ते चित्र आज पनि देख्न सकिन्छ।

मानवीय सोच, कल्पना तथा अनुभूति अभिव्यक्तिको पर्यायवाची शब्दको रुपमा कलालाई बुझ्न सकिन्छ। कलाको इतिहास खोतल्दै जाँदा प्रागैतिहासिक कालसम्म पुगिन्छ। मानवीय चेतना मनोविज्ञान तथा सौन्दर्यप्रति आकर्षणले प्रागैतिहासिक कालमा कलाबाट अछुतो रहन सकेन। अर्थात आफू प्रकृतिको अङ्गमात्र नभएर प्रकृतिको पकडबाट मुक्त भई त्यसमाथि जीवनशैलीको तुरन्त प्रभाव कलामा प-यो। ध्वनि, अभिनय तथा रेखाकंनको मिश्रणले सांकेतिक चित्रको निर्माण हुँदै, सूक्ष्मताको विकासको क्रमले लिपिको विकास समृद्ध हुँदै गयो। स्वर र व्यंजनद्वारा निर्मित लिपिको अक्षर मूलभूत चित्र-आकारको प्रतिनिधि रुपमा व्यक्त भयो। अगाडिको क्रममा ध्वनिको आघात-चित्रले प्रतिनिधि रुप प्राप्त गरेर लिपि अझ बढी सम्पन्न हुँदै गयो ।

आदि मानवको भाव प्रकाशनको एउटा रूप चित्रालिपि पनि रहेको छ । चित्रालिपिमा चित्रण प्रायः प्रतीक रूपमा हुने गर्दछ । यसका लागि केही नियम पहिलेदेखि नै निर्धारित गरिन्थ्यो । जसलाई भाव विचारको सुगमताले बुझ्न सकोस् । जस्तो कि, मिश्रमा तिर्खाको प्रतीक पानी तथा पानीतिर दगुर्दै गरेको पशुको चित्रण, प्रकाशको लागि रुखमा सूर्य एवं चन्द्रको संकेत चिह्न तथा अँध्यारोका लागि रुख तल सूर्य बनाउने गर्थे । चित्रालिपिमा पूर्ण सफलता नभेटेपछि पूर्ण प्रतीकात्मक चित्रणको परम्पराको प्रचलन हुन थाल्यो । प्राचीन मानवद्वारा आफ्नो उपयोगको चीजबीजलाई अलङ्कृत गर्ने मनमा लुकेर रहेको भावनाले समयसँग विकास र ज्ञानको ज्योतिमा सुसंस्कृत भएर विभिन्न कला रूपमा प्रकट हुन लाग्यो । केही व्यक्तिले चित्रको माध्यमले कथा भन्ने गर्दथे । चित्रकथाको प्रचलन धेरै पुरानो हो । यसरी भन्न सकिन्छ, विचारको अभिव्यक्तिका लागि ध्वनिले भाषाको जन्म भयो र चित्रकथा नै लिपिको विकसित रुप हो । ग्रन्थ-लेखनमा विषयवस्तुको विस्तृत वर्णनका लागि चित्रको सहायता लिने प्राचीन परम्परा आज पनि कायम छ। आज प्रकाशित हुने पत्रपत्रिका, समाचारपत्र, पुस्तकहरू विषयवस्तु अनुरुपको चित्र बिना कल्पना गर्न सकिँदैन । जसलाई ‘इलस्ट्रेसन्स’ भनिन्छ ।

मानव सभ्यताको उद्गमकालदेखि नै कला जोडिएर आएकाले मानव सभ्यतासँग यसको नाता गहिरो छ । यो संसार रहेसम्म कला जीवित रहन्छ । चित्रकलाको इतिहास त झन् ढुङ्गेयुगबाटै शुरु भएको हो जसको प्रमाण आज पनि अल्तानियरको गुफामा देख्न सकिन्छ । चित्रकारिता विधा शिकारी युगका मानव जातिले दिन बिताउने र शिकारका लेखाजोखा गर्ने माध्यम हो । पर्याप्त रुपमा भाषाको विकास नहुन्जेल रेखाको माध्यमले भावाभिव्यक्ति कार्य जटिल थियो। बाँगो-टिङ्गो, सरल, वक्र, मोटो, पातलो, दबाब दिएर वा हलुका हातले खिचिएको रेखमा मानव-संवेदनामा आधारित हुने गर्दथ्यो। त्यसताका प्राणी, प्राकृतिक दृश्य तथा मानव आकारको यथार्थको स्थानमा भावानुकूल चित्राङ्कन हुने गर्थ्यो।

यथातथ्य चित्रणको प्रयासले रेखाको सूक्ष्म अनुभूति सकिन थाल्यो र बाह्य दृश्याङ्कनमा यथातथ्य चित्रण बढ्दै गयो । क्यामेराको आविष्कारले ज्ञान-विज्ञानको सीमाको विस्तारसँगै चित्रकलामा प्रकृति तथा उसको तत्त्वको आँखाले देखिएको दृश्य बनाउन थाले । आँखा स्थिर हुने भाग सूक्ष्म-दृष्टिले यानी गहराईले र अरु भाग सरर सामान्य रुपले हेरिन्थ्यो । परिणामस्वरुप रेखाको गुण-धर्म गौँण हुँदै गयो ।

जुन ठाँउमा आँखा स्थिर हुन्छ, त्यो भाग सूक्ष्म – दृष्टिले र अरु भाग सर् देखिन्छ। प्रभाववादी चित्र शैलीमा यस्तो प्रयोग व्यापक हुने गर्दछ। मनमा जुन विषय र रङको प्रभाव गहिरो हुन्छ, त्यो भाग सूक्ष्म तथा स्पष्ट भै प्राथमिकतामा पर्यो र चित्रको शेष भाग गौण भै रङ भर्न थालियो। यो पध्दतिले पनि चित्रकारको तृष्णा मेट्न सकेन तथा उसको भावनाको अभिव्यक्तिका लागि यो पध्द्ति अपर्याप्त सिध्द हुन थाल्यो। चित्रांकन र रेखांकन मनुष्य जातिको सबैभन्दा प्राचीन कला हो। रेखांकन र चित्रांकन आफ्नो जीवनको महत्त्वपूर्ण घटना तथा दृश्य रेकर्ड गर्न पनि गरेका थिए होला। गुफाको भित्तामा आफ्नो इतिहास चित्रित गर्नु उसको प्रयास, आज हामीले आफ्नो दैनिक डायरी लेखनुसरह थियो। यस्तो स्थितिमा रस-प्रभाव र मूडअनुसार रङ प्रयोगको विभिन्न पध्दतिको जन्म भयो । यति मात्रले ऊ सन्तुष्ट हुन सकेन । सरल आकृतिमा आफूलाई मन परेको रङ पोतिन थाल्यो। केटाकेटीको बाल सुलभ सौन्दर्य देखाउन केटाकेटीले बनाउने सरल आकृतिको प्रयोग हुन थाल्यो । यसरी नै ग्रामीण जनजीवनको सहज सरलता विषयक चित्रण गर्न ग्रामीण जनजीवनको चित्र बनाउन थाले । यसरी पृथ्वीमा विभिन्न ध्वनि-संकेत र लिपि-आकृतिको अस्तित्व छ। विश्वको एकलौटी दृष्यभाषको निर्माणका लागि संसार भरिका चित्रकार आफ्नो चित्राकृतिको माध्यमले सहयोग गरिरहेका छ्न्। यसरी रङ र रेखामा लुकेको भाव व्यक्त गरी नयाँ भाषाको सृजना गरी विश्वभाषाको निर्माण हुने क्रम जारी छ।
artistsuman.scd@gamail

Comments

Popular posts from this blog

अंगना, अरिपन र दियो : एससी सुमन

बिहार म्युजियम बिएनाले , सम्बन्ध जोडने कला प्रदर्शनी : एससी सुमन