मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व - एससी सुमन
मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व
- एससी सुमन
आश्विन शुक्ल दशमीपछि जब पूर्ण चन्द्रले रातो आकाशमा शीतल ज्योति छर्दछ, मिथिलाको पवित्र आँगन अरिपनले सजिन्छ जसमा रङ्ग, रूप र भक्ति समाहित हुन्छ । घर-घरमा दीप को उज्यालो फैलिन्छ । यसरी, विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्मको यो कालखण्ड मिथिलामा एक समर्पित सांस्कृतिक अनुभूति हो, जहाँ परम्परा, आस्था र सामाजिक एकता एकै सन्देशमा विलीन हुन्छन् ।
घटस्थापनादेखि नवमीसम्मको नवरात्रा देवी दुर्गाका विभिन्न रूपहरूको आराधनामा समर्पित रहन्छ । तराई-मधेसका गाउँ-शहरमा माटोले बनाइएका कलात्मक देवी प्रतिमाहरू रंगारोगन गरिन्छ, जसलाई पुष्प, वस्त्र र भावनाले सजाइन्छन् । शक्तिको आदर र समर्पणको प्रतिक रूपमा नवरात्रको नवमीको रातमा देवीको मूर्तिलाई नदीमा विसर्जन गरिन्छ ।
विजया दशमी, जसलाई स्थानीय भाषामा 'जतरा' भनिन्छ, शुभ-साइतको दिन मानिन्छ । यस दिन शक्ति-पिठ र घरघरमा स्थापित जयन्ती (जमरा) लाई विधिपूर्वक विसर्जन गरिन्छ र व्राह्मण, गुरुजन तथा जेष्ठ नागरिकबाट टीका र जमरा ग्रहण गरिन्छ। नीलकण्ठ (चरा) को दर्शन गरेर शुभकामना ग्रहण गर्ने परम्परा अझै जीवन्त छ।
पहिले-पहिले मधेसी समुदायमा जयन्ती केवल ब्राह्मण वा पुरोहितबाट मात्र ग्रहण गरिन्थ्यो । तर, समयको परिवर्तनसँगै अब जेष्ठजन, आमाबुबा, हजुरआमाबाट टीका-जमरा ग्रहण गर्ने चलनले सामाजिक समरसता र सांस्कृतिक सहिष्णुता झन् गहिरिएको छ । यसले हाम्रो समाजको विविधता र एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।
कोजाग्रात पूर्णिमा : मिथिलाञ्चलको उज्यालो चेतना र समृद्धिको आराधना
दशैं र कोजाग्रात पूर्णिमा, यी दुई छुट्टाछुट्टै पर्व भए तापनि, यिनको अन्तराललाई हाम्रो समाजले सांस्कृतिक र सामाजिक गतिशीलतामा रूपान्तरण गर्दै आएको छ । विजयादशमीको उत्सव सम्पन्न भएपछि कोजगरा पर्व नआउँदासम्मको समयलाई गाउँघरमा विविध सांस्कृतिक गतिविधिहरु नाचगान, नाटक, सरसफाइ, गोष्ठी तथा युवाहरूको सक्रिय सहभागिता द्वारा सजीव बनाइन्छ । विशेषतः परदेशबाट बिदामा गाउँ फर्किएका युवायुवतीहरूको उपस्थितिले गाउँमा पुनः जीवन्तता भरिन्छ ।
शरद ऋतुको चन्द्रमय रात, आश्विन शुक्ल पूर्णिमा, अर्थात् कोजाग्रात पूर्णिमा, सांस्कृतिक, धार्मिक र अध्यात्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण दिन हो । 'कोजगरा' शब्द संस्कृत वाक्यांश "को जागर्ति ?" अर्थात् "को जागिरहेको छ ?" बाट निसृत भएको मानिन्छ । जनविश्वास अनुसार, जसले उक्त रात जाग्राम बस्दै श्रद्धा, भक्ति र संयमका साथ माता लक्ष्मीको आराधना गर्दछ, त्यहींको घरमा लक्ष्मीले धन, धान्य र समृद्धिको वर्षा गर्ने विश्वास गरिन्छ ।
विशेषतः मिथिलाञ्चल- नेपालको तराई क्षेत्र, भारतको बिहार अन्तर्गत मिथिला प्रदेश तथा सम्पूर्ण मैथिली भाषी भूगोलमा, यो पर्व अत्यन्त श्रद्धा, भक्ति र उत्सवमय वातावरणमा मनाइन्छ । कोजगरा केवल धार्मिक अनुष्ठानको पर्व मात्र होइन; यो मिथिलाको सांस्कृतिक चेतना, सामाजिक समरसता र नारी सशक्तिकरणको उज्यालो दीप पनि हो ।
यस पावन अवसरमा महिलाहरूको भूमिकालाई विशेष महत्व दिइन्छ । बिहानैदेखि घर-आँगन सफा गरिन्छ, अरिपन (अल्पना) को कलात्मक रचना गरिन्छ, दीपमालाको उज्यालोले घर आँगन झिलिमिली बनाइन्छ । लक्ष्मी पूजाको सम्पूर्ण विधिसहित आराधना गरिन्छ, र रातभर जाग्राम गरी भजन, कीर्तन, नृत्य, गीत तथा भक्ति भावनाले परिपूर्ण वातावरण सिर्जना गरिन्छ । पूजामा केवल महिलाहरू मात्रै होइन, परिवारका सम्पूर्ण सदस्यको सामूहिक सहभागिता रहन्छ, जसले पारिवारिक एकता र आत्मीयताको सन्देश दिन्छ ।
कोजगरा पर्व मिथिलाञ्चलको जीवनशैली, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको प्रतिक हो । यसले नारीलाई धार्मिक नेतृत्वको अवसर मात्र प्रदान गर्दैन, अपितु समाजमा आध्यात्मिक अनुशासन र सामाजिक चेतनाको ज्योति पनि प्रज्वलित गर्छ। यो पर्व हरेक वर्ष परम्परा र आधुनिकताको सुन्दर समन्वय गर्दै, मिथिलाको सांस्कृतिक पहिचानको संरक्षण र संवर्धनमा सशक्त भूमिका निर्वाह गरिरहेको छ ।
कोजगरा पर्वको ऐतिहासिक पृष्ठभूमि
वेद-पुराण, विशेषतः स्कन्द पुराण, पद्म पुराण र लक्ष्मी तन्त्र जस्ता धर्मग्रन्थहरूमा लक्ष्मी पूजाको महत्व विषद रूपमा वर्णन गरिएको छ । पुराणहरूमा उल्लेख छ कि आश्विन शुक्ल पूर्णिमाको रात, जो शरद पूर्णिमा पनि हो, त्यो अत्यन्त पवित्र र फलदायी रात हो । यस रातमा चन्द्रमा आफ्नो पूर्ण कलामा रहन्छ र चन्द्रमाको किरणले पृथ्वीमा अमृत तुल्य शीतलता फैलाउँछ । यस रातमा विशेष गरी चन्द्रमाको प्रभावले मानसिक शुद्धता र आध्यात्मिक जागरणको वातावरण सिर्जना हुन्छ, जुन लक्ष्मी पूजाको लागि अत्यन्त अनुकूल मानिन्छ ।
कोजगरा पर्वको मूल आत्मा जागरण संस्कारमा निहित छ । जागरण केवल रात ननिदाइ बस्नु होइन, यो चेतनाको प्रतीक हो — आत्मबोध, घरपरिवारप्रतिको कर्तव्यबोध र धार्मिक अनुशासनप्रतिको सम्मान हो । मिथिलाञ्चलमा यो जागरण भजन, कीर्तन, वैदिक मन्त्रपाठ र लोकसंस्कृति समेटिएका गतिविधिबाट सम्पन्न गरिन्छ ।
इतिहास साक्षी छ - प्राचीन मिथिला, राजा जनकको राजधानी, जहाँ धर्म, दर्शन र सौन्दर्य एकसाथ फुल्थे । त्यही भूमिमा कोजगरा जस्ता पर्वहरूले आत्मिक सांस्कृतिक ऊर्जा प्रदान गर्थे ।
त्यसैले कोजगरा पर्व केवल पूजाको विधि मात्र होइन, यो एक ऐतिहासिक र सांस्कृतिक चेतनाको उजागर हो । जसले युगौं देखि मिथिलाञ्चलको सामाजिक संरचना, धार्मिक आस्था र जीवनशैलीमा गहिरो प्रभाव पारेको छ । आज पनि जब शरद पूर्णिमाको रात उज्यालिन्छ, तब त्यो उज्यालो केवल चन्द्रको मात्र नभै, यो उज्यालो हो, परम्परा, श्रद्धा, नारी शक्ति र समृद्धिको जुन कोजगरा पर्वमार्फत पुस्ता–पुस्तामा प्रवाहित हुँदै आएको छ ।
कोजगरा: विधिको वैभव र आस्थाको आलोक
कोजगरा पर्व केवल श्रद्धा र उपासनाको विषय होइन, यो मिथिलाञ्चलको जनजीवनमा गहिरो रूपमा जरो गाडेको संस्कार र शुद्ध विधिको अनुशासनमा आधारित एक अनुपम सांस्कृतिक परम्परा हो । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यो दिव्य पर्व, देवी लक्ष्मीप्रति अटूट भक्ति, आस्था र सौन्दर्य चेतनाको अभिव्यक्तिको पर्याय बनेको छ ।
यस दिन बिहानैदेखि मिथिलाको आँगनहरू लिपपोत गरिन्छन् । गोबर र माटोको शुद्ध स्पर्शले भूमिलाई पवित्र तुल्याइन्छ । त्यसमाथि सिन्दूर, पिठार र चामलद्वारा कोरिएका रंगीन अरिपनहरूले प्रत्येक गृहको गोसाउँनी घरसम्मको बाटो देवी महालक्ष्मीको स्वागतपथझैं सुशोभित गरिन्छ । कोजाग्रात पूर्णिमा, जसलाई ‘कोजगरा’ भनिन्छ, त्यो केवल जाग्राम मात्र होइन, देवी लक्ष्मीको दिव्य साक्षात्कारको रात हो ।
शास्त्रीय मान्यताअनुसार, यस रात देवी लक्ष्मी पृथ्वीमा अवतरित भई प्रत्येक गृहमा पुग्छिन् र प्रश्न गर्छिन्—"को जाग्रति छ?"। जसको आँगन पवित्र छ, जसको मन भक्ति भावले जागृत छ, जसले पूजा विधिपूर्वक अर्पण गरेको छ, तिनै भक्तजनमाथि धन, धान्य र सौभाग्यको रूपमा महालक्ष्मीको कृपाको वर्षा हुन्छ ।
शरद ऋतुको रात, न त जाडो न त घामको ताप हुन्छ । मिथिलाको निर्मल आकाशमा पूर्ण चन्द्रको उज्यालोले भरिएको त्यो पवित्र रात, जुन स्वयं ऋषिमुनिहरूले अमृततुल्य बताएको चन्द्रकिरणको आनन्दमा लीन भई जाग्राम बस्न सिफारिस गरेका छन् । यो रात केवल देवीको आराधना मात्र होइन, सांस्कृतिक चेतना र स्त्रीशक्तिको श्रद्धा भावमा समर्पणको ज्वलन्त उदाहरण हो ।
यसरी कोजगरा पर्व मिथिलाको मात्र नभई सम्पूर्ण नेपाली जनमानसको सांस्कृतिक सम्पदाको गौरव हो, जहाँ विधि, भक्ति र सौन्दर्य एकैसाथ साक्षात् हुन्छन् ।
मिथिलाको दिव्य परम्परा - अरिपन चित्रकला
पुजापूर्वको शुद्धता र श्रद्धाभावले ओतप्रोत तयारी मिथिलाञ्चलको संस्कार र साधनाको मौलिक स्वरूप हो । बिहानै घरकी जेष्ठ महिलाले गोबर र माटोले आँगन लिपपोत गरी पवित्र बनाउँछिन् । त्यसै आँगनमा भिजाइएको अन्न—आरुवा चामललाई सिलोटामा पिसेर तयार पारिएको पिठारले गोसाइँघरदेखि पूजा स्थलसम्मको मार्गमा अरिपन को पवित्र लेखचित्र लेखिन्छ ।
यो लेखन केवल सौन्दर्य वा परम्पराका लागि नभई, देवी लक्ष्मीलाई आमन्त्रण गर्ने आध्यात्मिक द्वार पनि हो । अरिपनको तल्लो भागमा कमलको फूल अंकित गरिन्छ—कमल, जुन शुद्धता र उन्नतिको प्रतीक हो । त्यस कमलको केन्द्रमा दुईवटा पदचिन्ह कोरिन्छन्, जसले लक्ष्मी देवीको घरप्रवेशको शुभ संकेत दिन्छ ।
त्यसपछि मखानको पातको प्रतीकस्वरूप तीन वृत्तचित्र खिचिन्छन्, हरेक वृत्तभित्र एक–एक पदचिन्ह, जसले देवीको क्रमिक प्रवेशलाई संकेत गर्दछ । ती वृत्तहरू, जुन तीन महारात्रिका प्रतीक हुन्—कालरात्रि, मोह रात्रि र महा रात्रि, त्रिगुण—रज, सत्त्व र तम बाट सञ्चालित छन् । प्रत्येक वृत्तभित्र फेरि तीन वृत्तचित्र बनाईन्छन्, जो सूर्य, चन्द्रमा र पृथ्वीलाई आत्मिक दृष्टिमा बुझाउने परब्रह्मको त्रिशक्ति प्रतिनिधित्व गर्छन् ।
मखानको पात वरिपरि अंकित सात–सात गोलाकार बिन्दुहरू सप्तद्वीप तथा सप्ताहको बोध गराउँछन् । काँडा जस्ता बिन्दुहरू, जो पाप र सङ्घर्षले भरिएको जीवन पथका प्रतीक हुन्, ती पनि मखानको पातमा चित्रित गरिन्छन् । यिनै काँडाबीचको रातो सिन्दूर बिन्दुले शक्तिशाली प्रकृतिको चेतनास्वरूप भगवतीको उपस्थितिलाई बिम्बित गर्छ ।
पातको केन्द्रमा खिचिएको पदचिन्ह आत्मप्रकाश र भगवतीको साक्षात्कार हो । त्यसको पाँचौं औंला पञ्चतत्वको प्रतीक मानिन्छ । पृथ्वी, जल, अग्नि, वायु, र आकाश, जसले मानव शरीर र जीवनको सूक्ष्मतत्त्वलाई जनाउँछ ।
यी सबै प्रतीकात्मक संरचनाहरू कमल, पदचिन्ह, वृत्त, काँडा र सिन्दूरले जसरी चित्रमा अभिव्यक्त हुन्छन्, त्यसै गरी जीवनका मार्गहरू पनि देवी भगवतीप्रति अर्पण गरिन्छन् । यही शुद्ध र सूक्ष्म कलाको रूप हो, जुन मिथिलाकी महिलाले आत्मिक भावनाका साथ मैथिल अरिपनको रूपमा लेख्ने परम्परा युगौंयुगदेखि निर्वाह गर्दै आएकी छन् ।
पूर्णिमाको उज्यालो रातजस्तै जीवनको प्रत्येक दिन पनि प्रकाशमान रहोस् । यो जीवन, जसमा गृहस्थाश्रम रूपी नवद्वीप बसोबास छ, त्यसमध्ये प्रत्येक क्षण कमलजस्तै पवित्र, सौम्य र शुभबुद्धि युक्त होस् । सन्तान, सुबुद्धि, सुशीलता र समृद्धिका साथ, त्यो आत्मा जुनकिरीझैँ अन्धकारभित्र चम्किरहोस्, जसले माया रूपी मोहको अध्यारो चिर्दै प्रकाश प्राप्त गरोस् ।
काँडा जस्तै पीडाले भरिएको यो पृथ्वीमा भगवतीको आराधनाबाट आत्मबल प्राप्त भई, सूर्यजस्तो तेज, चन्द्रजस्तो शीतलता र शून्य जस्तो शाश्वतता आत्मसात् गरियोस् । जीवनको कठोर पथमा पनि मुक्ति प्राप्त होस् । पञ्चतत्वले बनेको यो मानव शरीर, अन्ततः दिव्य आत्मामा रूपान्तरण भई अमरत्व प्राप्त गरोस् । यही भाव, यही आराधना, यही अध्यात्मबोध—मिथिलाकी हर महिलाको हृदयबाट निस्किएको श्रद्धास्वरूप अरिपन चित्रमा अनन्त प्रेम र साधनाका साथ साकार हुँदै आएको छ ।
कोजागरा: मिथिलाको सांस्कृतिक सौन्दर्यमा पान र मखानको दिव्य संयोजन
कोजाग्रत पूर्णिमा, मिथिलाञ्चलको शारदीय उत्सव हो, जसले धार्मिक आडम्बरभन्दा बढी सांस्कृतिक सौन्दर्य, पारिवारिक आत्मीयता र सामाजिक सहभावनालाई प्राथमिकता दिन्छ। यस पावन अवसरमा मिथिलाका गामघरहरूमा पान, मखान र मधुर मिष्टान्नको वर्षा हुन्छ । नवविवाहित दाम्पत्यका घरमा विशेष पाहुर पठाइने, पाहुनालाई सत्कार गरिने र गाउँभरि हर्षोल्लासले माहोल गुञ्जायमान हुने गर्दछ ।
कोजगरा पर्वको खास पक्ष भनेकै नवविवाहित दुलाहा-दुलहीप्रतिको स्नेहसिक्त सम्मान हो । ससुरालीबाट पान, मखान, चिउरा, दही, मिठाइ आदि पठाइन्छ र ती वस्तुहरू कुटुम्ब तथा छरछिमेकमा बाँडिँदा सामुदायिक ऐक्य अझ प्रगाढ हुन्छ । यही दिनदेखि सुरु हुने पच्चीसी (कैडा) को खेल विशेषगरी साला र भिनाजुबीचको रमाइलो रस्साकस्सीले नवदम्पतीको जीवनको सुरुवातलाई झनै उल्लासमय बनाउँछ ।
फोटो स्रोत: गुगल
साँझपख कोजगरा देवी लक्ष्मीको स्वागतसँगै भोज, अरिपन लेखन, र दुर्वा-धानको आशीर्वाद जस्ता कार्यले धार्मिकता र सांस्कृतिकता दुबैको सुन्दर संगम घटित हुन्छ । विशेषतः मखान र पानको महत्त्व यस पर्वमा अत्यन्त विशेष ढंगले प्रकट हुन्छ । मखानलाई लक्ष्मीको प्रतीक मानी प्रसादका रूपमा चढाइन्छ, त्यस्तै पानलाई शोभा, शुद्धता र आयुर्वेदिक लाभको प्रतीक मानिन्छ ।
मखान: मिथिलाको दिव्य उपहार
मखान केवल मिथिलाको उत्पादन हैन, यो संस्कृति र आध्यात्मिकताको प्रतीक हो । पोखरी र पवित्र जलाशयमा फल्ने मखान चतुर्मासको पहिलो वरदानस्वरूप आउँछ। पितृकार्यदेखि पार्वणसम्म मखान अपरिहार्य छ । मिथिला बाहेक अन्यत्र दुर्लभ यस उत्पादनलाई "स्वर्गमा समेत नपाइने फल" मानिने गरिएको छ । कोजगराको अरिपनमा मखानको प्रतीक अंकन हुनु, देवीलाई अर्पण गरिनु र समाजमा बाँडिनु यसको आध्यात्मिक महत्त्व र कृषि-सम्बद्ध गर्व दुबैलाई सूचित गर्छ ।
पान: सौन्दर्य, शुद्धता र संस्कारको प्रतिक
'पर्न' धातुबाट निसृत पानको सांस्कृतिक, आयुर्वेदिक र आध्यात्मिक भूमिका अतुलनीय छ । मैथिली संस्कृति भित्र पानलाई पूजाको अङ्ग, शृङ्गारको प्रतीक, सामाजिक रस्मको साधन र औषधीय गुणले भरिपूर्ण तत्वको रूपमा स्वीकारिएको छ । कुनै पनि पूजामा धूप, दीप, नैवेद्यसँगै पान अर्पण गरिन्छ । विवाहपश्चात नवदम्पतीको सयनकक्षमा लेखिने कोहबर मा ‘पानको घर’ अंकन गरिन्छ, जुन वातावरण शुद्ध गर्ने र यौनशक्ति सुदृढ गर्ने विश्वाससँग जोडिन्छ ।
आयुर्वेदका ग्रन्थहरू विशेषतः सुश्रुत संहितामा पानलाई वात-कफ दोष निवारक, मुखशुद्धिकर, क्रिमिनाशक, उत्साहवर्धक तथा वाणी सुध्राउने तत्वका रूपमा वर्णन गरिएको छ । संस्कृत सूक्तिहरूमा तांबूलको गुणगान यसरी गरिएको छः
"वातघ्नं कृमिनाशनं मुखदुर्गन्धनाशनम्।
धैर्यं वाचालता कांतीं वर्धयेत् तांबूलं शुभम्॥"
यो केवल मुख शुद्ध गर्ने साधन हैन, विलास र आत्म-प्रस्तुतीकरणको सौन्दर्यचिह्न पनि हो। दक्षिण एशियाली सभ्यतामा पानको ऐतिहासिक उपस्थिति देखिन्छ—चूना, कत्था, सुपारी, मसला मिसाएर तयार गरिने पानको स्वादले सामाजिक भेटघाटमा आत्मीयता थप्ने काम गर्दछ ।
कोजगरा मिथिला समाजको केवल धार्मिक पर्व होइन; यो सांस्कृतिक चेतना, सामाजिक समरसता र नारी सशक्तिकरणको उज्यालो प्रतीक हो। पान-मखान जस्ता स्थानीय उत्पादनको पूजा मार्फत प्रकृतिसँगको सहजीवन; नवविवाहितहरूको स्वागत संस्कार मार्फत सामाजिक सम्बन्धको पुनःस्थापना; र महिलाहरूको नेतृत्वमा सम्पन्न हुने पूजा, भजन, जागरणमार्फत नारीको आत्मिक तथा सांस्कृतिक शक्ति पुनःप्रतिष्ठित हुन्छ ।
शरद पूर्णिमाको चन्द्र ज्योति जस्तै, कोजगरा पनि आत्मा र समाज दुवैलाई आलोकित गर्ने पर्व हो । जहाँ पूजाआराधना मात्र होइन, सम्पूर्ण जीवनशैली नै एक आध्यात्मिक अनुशासन बन्छ । यसले बालिकालाई संस्कार र संस्कृति हस्तान्तरण गर्छ, महिलालाई नेतृत्व र आत्मविश्वास दिन्छ, र परिवार–समाजलाई सहअस्तित्व र सहयोगको सूत्रमा बाँध्छ ।
मिथिलाञ्चलको धरोहररूपी कोजगरा युगौंदेखि यही सन्देश दिइरहेको छ । धर्म जबसम्म संस्कृतिसँग लयबद्ध हुँदैन, तबसम्म त्यो आत्मा विहीन कर्म हो । कोजगरा भनेको जीवनको उत्सव हो । जहाँ उज्यालो दीप मात्र होइन, उज्यालो चेतना बल्छ ।
sdaskayastha@gmail.com
6 october 2025.
Comments
Post a Comment