मानवताका लागि कला : समय, स्मृति र सहअस्तित्वको वृक्ष : एससी सुमन
मानवताका लागि कला : समय, स्मृति र सहअस्तित्वको वृक्ष
- एससी सुमन
‘कला केका लागि ?’—यो प्रश्नको उत्तर हरेक समय एउटै हुँदैन। कहिले कला आत्माको आवाज बन्छ, कहिले समाजको ऐना, कहिले प्रतिरोधको भाषा र कहिले दुःखमा परेका मानिसको हात समात्ने मौन संवेदना। यही अर्थमा- नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान,"काठमाडौंमा आयोजित ‘Art for Humanity’ प्रदर्शनीले कलालाई केवल सौन्दर्यको विषय नभई मानवीय सहभागिता, सहानुभूति र सामाजिक उत्तरदायित्वसँग जोडेको छ। भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि विभिन्न पुस्ता र विधिका १६० भन्दा बढी कलाकारको सहभागिता आफैँमा कलाको सामाजिक शक्ति हो।
यसै प्रदर्शनीमा प्रस्तुत मेरो "कल्पवृक्ष" शिर्षकको कलाकृति कालो रङको सघनता र रेखाको निरन्तरताबाट समय, जीवन र सभ्यताको कथा बोल्ने एउटा दृश्य–चिन्तन हो। चित्रको केन्द्रमा उभिएको गोलो वृक्ष मेरो चित्रभाषामा केवल रूख होइन—यो समयको प्रतीक हो। यसको हाँगा–हाँगामा बितेका दिन, वर्तमानका स्पन्दन र आउने समयका सम्भावना गाँसिएका छन्। वृक्षको गोलाकार घेराले समयलाई सीधा रेखामा होइन, निरन्तर घुमिरहने चक्रका रूपमा सम्झाउँछ। ऋतु फेरिन्छ, पुस्ता फेरिन्छ, बस्तीको स्वरूप फेरिन्छ; तर जीवनको जरा भने माटोसँगै रहिरहन्छ।
वृक्षको वरिपरि देखिने गाउँ–बस्ती, शहर, मठ–मन्दिर, घरका छाना र साना–साना मानवीय संरचनाहरू कुनै एउटा ठाउँको मात्र चित्रण होइनन्। यी हाम्रो साझा सभ्यताको दृश्य–स्मृति हुन्। प्रकृति र मानव बस्ती एकअर्काबाट अलग छैनन् भन्ने मेरो पुरानो विश्वास यसमा रेखामार्फत आएको छ। तल बगिरहेको जल, त्यसमा देखिएका कमल र जलचरका आकृतिले जीवनको अर्को तह खोल्छन्—पानी केवल नदी होइन। जल, जंगल र जमीन जीवनको मूल स्मृति हो।
यस चित्रमा कालो रङको प्रयोग जानाजान सघन छ। धेरै रङ प्रयोग नगरी एउटै कालोभित्र उज्यालो, अँध्यारो, दूरी, निकटता, जीवन र मौनता खोज्ने प्रयास गरिएको छ। रेखा यहाँ केवल आकृति बनाउने साधन होइन। परिस्थिति संग लडने, फेरि उठने रेखा नै कथाको भाषा हो। नेपाली कागजको प्राकृति रङको धरातलमा बसेका सूक्ष्म रेखाहरूले मिथिला चित्रकलाको परम्परागत रेखा–संस्कारलाई समकालीन अनुभूतिसँग जोड्छन्। वरिपरि फैलिएका चराचुरुङ्गी, लहरा, जलतरङ्ग र वनस्पतिका सूक्ष्म आकृतिले जीवनको निरन्तर गतिलाई अझ गहिरो बनाएका छन्।
मेरो लागि वृक्ष सधैँ जीवन, स्मृति र सहअस्तित्वको जीवित रूपक रहँदै आएको छ। यहाँ त्यो वृक्ष अझ फराकिलो अर्थमा आएको छ—मानवता संकटमा पर्दा हामी सबै एउटै जरासँग जोडिएका छौँ भन्ने सम्झना गराउन। भोटेकोशीको बाढीले एउटा भूगोललाई दुःख दिएको होला, तर त्यसको पीडा सम्पूर्ण समाजको साझा पीडा हो। त्यसैले यस्तो समयमा कलाकारको क्यानभास पनि समाजबाट अलग रहन सक्दैन।
‘मानवताका लागि कला’ मा मेरो यो कृति त्यही मौन प्रश्न बोकेर उभिएको छ—हामीले बनाएका शहर, मठ–मन्दिर र सभ्यताभन्दा ठूलो कुरा के हो? शायद त्यो मानवता हो, जसको जरा एउटै माटोमा छ। वृक्ष त्यसैको प्रतीक हो; र त्यसका अनगिन्ती रेखा हामी सबैको साझा कथा।
कला अन्ततः आँखाले हेर्ने वस्तु मात्र होइन; दुःखमा परेका अर्को मानिससम्म पुग्ने एउटा संवेदनशील हात पनि हो।। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा भईरहेको प्रदर्शनीमा ! तपाईंहरू सबैलाई हार्दिक स्वागत छ !!





Comments
Post a Comment