टाइम्स स्क्वायरदेखि ब्रसेल्ससम्म : विश्वमञ्चमा मिथिला कलाको उज्यालो यात्रा

 टाइम्स स्क्वायरदेखि ब्रसेल्ससम्म : विश्वमञ्चमा मिथिला कलाको उज्यालो यात्रा

– एससी सुमन

.

कहिलेकाहीँ एउटा कलाकारको सपना केवल चित्र कोर्नुमा सीमित हुँदैन, त्यो आफ्नो माटो, संस्कृति र सभ्यतालाई विश्वसामु चिनाउने अभियानमा रूपान्तरित हुन्छ । मेरा लागि मिथिला कला त्यही अभियान हो—रङ, रेखा र प्रतीकहरूको माध्यमबाट हजारौं वर्ष पुरानो सभ्यताको कथा विश्वलाई सुनाउने प्रयासमा तल्लीन रहन्छु ।

सन् २०२५ मा अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरबाट मैले “विश्व भ्रमणमा मिथिला कला” अभियानको घोषणा गरेको थिएँ । त्यो केवल एउटा कार्यक्रम थिएन, बरु मिथिला कला र नेपाली सांस्कृतिक सम्पदालाई विश्वका प्रमुख सांस्कृतिक केन्द्रहरूमा पुर्‍याउने दीर्घकालीन संकल्प थियो । आज सन् २०२६ मा बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित ‘Art for Sustainable Development Goals: Mithila Heritage’ प्रदर्शनीमा सहभागी भएर फर्किँदा त्यो सपना क्रमशः यथार्थमा रूपान्तरित हुँदै गएको अनुभूति गरिरहेको छु ।

यो मेरो युरोप यात्रा मेरा लागि मात्र विदेश भ्रमण नभएर; यो संस्कृति, कूटनीति, कला र सभ्यताबीचको एक अद्भुत संवादको यात्रा थियो ।

ब्रसेल्समा नेपाली दूतावास, मिथिला सेन्टर यूएसए र युरोपेली बाह्य कार्य सेवा (EEAS) को सहकार्यमा आयोजित प्रदर्शनीमा सहभागी हुँदा मैले पुनः मिथिला कलालाई यति उच्च अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत भएको देख्ने अवसर पाएँ । उद्घाटन समारोहमा विभिन्न देशका राजदूतहरू, युरोपेली संघका उच्च अधिकारीहरू, बेल्जियम सरकारका प्रतिनिधिहरू, सञ्चारकर्मी, कलाकार तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमको सुरुवात नेपाल र युरोपेली संघका धुनहरूसँग भयो । बेनेलक्स राष्ट्रहरूका लागि नेपालका राजदूत महामहिम सेवा लम्साल र EEAS का एसिया तथा प्रशान्त क्षेत्रका उपप्रबन्ध निर्देशक डोमिनिक पोर्टरले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै प्रदर्शनीको उद्घाटन गर्नुभयो। त्यो क्षण केवल एउटा औपचारिक उद्घाटन थिएन; नेपाली सांस्कृतिक सम्पदाले युरोपको कूटनीतिक केन्द्रमा प्रवेश गरेको ऐतिहासिक क्षण थियो ।


प्रदर्शनीको मूल विषय ‘दिगो विकास लक्ष्यका लागि कला : मिथिला सम्पदा’ थियो। संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म हासिल गर्ने लक्ष्यसहित अघि सारेका दिगो विकास लक्ष्य (SDGs) र मिथिला कलाबीचको अन्तरसम्बन्धलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्नु यसको मुख्य उद्देश्य थियो ।

धेरैले मिथिला कलालाई केवल लोकचित्रका रूपमा हेर्छन् । तर वास्तवमा यो एउटा सम्पूर्ण जीवनदर्शन हो । यसमा प्रकृतिप्रतिको सम्मान छ, महिलाको सृजनशील शक्ति छ, सामाजिक सहअस्तित्वको सन्देश छ, सांस्कृतिक निरन्तरताको चेतना छ र वातावरणीय दिगोपनको अभ्यास छ ।

जब म युरोपेली दर्शकहरूसँग संवाद गरिरहेको थिएँ, उनीहरूले बारम्बार सोध्ने प्रश्न थियो—“यति सूक्ष्म चित्रकला कसरी पुस्तौंदेखि जीवित रहन सक्यो?” त्यसबेला मैले गर्वका साथ बताउने गर्थें कि मिथिला कला कुनै एक कलाकारको सिर्जना होइन; यो हजारौं महिलाहरूको सामूहिक सिर्जना हो, जसले घरका भित्तादेखि समाजको स्मृतिसम्म कला कोरेर यसलाई जीवित राखेका छन् ।

मिथिला सेन्टर यूएसएका अध्यक्ष अमित प्रताप शाहले उद्घाटन मन्तव्यका क्रममा मिथिला कलाको इतिहास र यसको विश्वव्यापी महत्वबारे अत्यन्त प्रभावकारी रूपमा चर्चा गर्नुभयो। उहाँले स्मरण गराउनुभयो कि बेसार, नील, चामलको धुलो, कालो मोसो, गाईको गोबर, माटो तथा फूल-पातबाट प्राप्त प्राकृतिक रङ प्रयोग गरेर सिर्जना हुने मिथिला कला आधुनिक ग्यालरी र संग्रहालयहरूको अवधारणाभन्दा शताब्दीयौँ पुरानो सांस्कृतिक अभ्यास हो । उहाँका शब्दहरूले उपस्थित विदेशी दर्शकहरूलाई गहिरो रूपमा प्रभावित गरेको मैले प्रत्यक्ष अनुभव गरेँ ।

प्रदर्शनीका क्रममा EEAS का प्रतिनिधि डोमिनिक पोर्टरले मिथिला कलाको मौलिकता, सौन्दर्य र सांस्कृतिक गहिराइको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नेपालको दिगो विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै युरोपेली संघ नेपालको विकास यात्रामा निरन्तर साझेदार रहने विश्वास व्यक्त गर्नुभयो ।

बेल्जियमको विदेश मन्त्रालयका प्रोटोकल प्रमुख पियरे कार्टुइभेल्सले पनि नेपाल र बेल्जियमबीचको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै मिथिला महिला कलाकारहरूको सिर्जनात्मक योगदानको प्रशंसा गर्नुभयो ।

यी अभिव्यक्तिहरूले मलाई एउटा कलाकारका रूपमा मात्र होइन, नेपाली नागरिकका रूपमा पनि गौरवान्वित बनायो । किनभने ती शब्दहरू मिथिला कला मात्र होइन, सम्पूर्ण नेपाली सांस्कृतिक सम्पदाप्रतिको सम्मानका प्रतीक थिए ।

यस प्रदर्शनीमा मेरा साथै शिवांगी सिंह, प्रतीक एस. रायमाझी, सुनैना ठाकुर, मनीषा शाह लगायतका कलाकारहरूको कलाकृति प्रदर्शन गरिएको थियो । कुल ३३ वटा कलाकृतिमा मिथिला सभ्यता, प्रकृति, अध्यात्म, महिला जीवन, समानता, शिक्षा, सांस्कृतिक विविधता तथा मानव र प्रकृतिबीचको सम्बन्धलाई चित्रण गरिएको थियो ।

प्रदर्शनी हलमा विदेशी दर्शकहरूलाई चित्रका अगाडि लामो समयसम्म उभिएर सूक्ष्म रेखांकन नियालिरहेको देख्दा मलाई लाग्थ्यो—कला साँच्चै भाषाभन्दा माथिको माध्यम रहेछ। उनीहरूलाई मैथिली भाषा थाहा थिएन, तर चित्रभित्रको कथा बुझिरहेका थिए । उनीहरूलाई हाम्रो गाउँ थाहा थिएन, तर हाम्रो संस्कृति महसुस गरिरहेका थिए ।

युरोप भ्रमणका क्रममा मैले बेल्जियम, फ्रान्स, जर्मनी र लक्जेम्बर्ग, नेदरल्याण्ड का विभिन्न सांस्कृतिक स्थल, संग्रहालय र ऐतिहासिक सम्पदाहरू अवलोकन गर्ने अवसर पनि पाएँ । त्यहाँको एउटा महत्वपूर्ण पक्षले मलाई निकै प्रभावित गर्‍यो—आफ्नो सांस्कृतिक सम्पदाप्रतिको सम्मान ।

युरोपका राष्ट्रहरूले आफ्नो इतिहासलाई कवल स्मृतिमा राखेका छैनन्; उनीहरूले त्यसलाई संग्रहालय, अभिलेख, शिक्षा, पर्यटन र सांस्कृतिक नीतिमार्फत भविष्यसँग जोडेर राखेका छन् । यही अनुभवले मलाई नेपाल र विशेषतः मिथिला क्षेत्रको सांस्कृतिक सम्पदालाई अझ व्यवस्थित रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता महसुस गरायो ।

कलाको अर्को सुन्दर पक्ष भनेको यसले मानिसहरूलाई जोड्छ । प्रदर्शनीका क्रममा विभिन्न देशका कलाकार, कूटनीतिज्ञ, अनुसन्धानकर्ता र सांस्कृतिक व्यक्तित्वहरूसँग भएको भेटघाटले कला वास्तवमा अन्तर्राष्ट्रिय सम्बन्धको एउटा प्रभावकारी माध्यम भएको अनुभूति गरायो ।

यस कार्यक्रममा प्रस्तुत गरिएको झिझिया नृत्य, नेपाली लोकनृत्य तथा अन्य सांस्कृतिक कार्यक्रमहरूले नेपालको सांस्कृतिक विविधताको जीवन्त झल्को प्रस्तुत गरे। परम्परागत पोशाकमा सजिएका कलाकारहरूको प्रस्तुति दर्शकहरूका लागि आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रमको अर्को विशेष पक्ष मिथिला भोजन थियो । ठेकुवा, कचरी, मखाना चाट, फोपी, फुलौरी, आँप र लस्सीले अतिथिहरूलाई मिथिलाको स्वादसँग परिचित गरायो। यसले संस्कृतिको परिचय केवल चित्र वा शब्दबाट मात्र होइन, स्वाद र आतिथ्यबाट पनि दिन सकिन्छ भन्ने सन्देश दियो ।

यस अवसरमा महामहिम सेवा लम्सालज्यूले मिथिला कला प्रवर्द्धनमा योगदान पुर्‍याएका कलाकार तथा प्रतिनिधिहरूलाई मिथिला खादा प्रदान गरेर सम्मान गर्नुभयो । मिथिला सेन्टर यूएसएका अध्यक्ष अमित प्रताप शाहज्यूले पनि राजदूत लम्साललाई मिथिला गम्छा ओढाएर सम्मान गर्नुभएको थियो । त्यसपछि ब्रसेल्सस्थित नेपाल हाउसमा आयोजित रात्रिभोजले सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप आत्मीय बनायो ।

मेरो विचारमा यस प्रदर्शनीको सबैभन्दा ठूलो उपलब्धि भनेको कला, कूटनीति र विकासलाई एउटै मञ्चमा जोड्न सफल हुनु हो । नेपाल, युरोपेली संघ, बेल्जियम सरकार, नेपाली दूतावास, मिथिला सेन्टर यूएसए र कलाकारहरूबीचको सहकार्यले सांस्कृतिक सम्पदाले अन्तर्राष्ट्रिय सम्बन्धलाई कति गहिरो बनाउँछ भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

आज नेपाल फर्किएपछि जब म आफ्नो यात्रालाई सम्झन्छु, तब यो प्रदर्शनी केवल एउटा कला कार्यक्रम थिएन भन्ने अनुभूति हुन्छ । यो मिथिला सभ्यता, नेपाली संस्कृति र विश्व समुदायबीच संवाद निर्माण गर्ने ऐतिहासिक अभियान थियो ।

“विश्व भ्रमणमा मिथिला कला” अभियान अब एउटा यात्राको सुरुवात मात्र हो । मेरो लक्ष्य आगामी दिनमा अझ धेरै देशहरूमा मिथिला कला पुर्‍याउने, अन्तर्राष्ट्रिय संग्रहालय तथा कला संस्थाहरूसँग सहकार्य विस्तार गर्ने र मिथिला कलालाई विश्व सांस्कृतिक सम्पदाको साझा सम्पत्तिका रूपमा स्थापित गर्ने हो ।

यस ऐतिहासिक अभियानलाई सफल बनाउन अग्रणी भूमिका निर्वाह गर्नुहुने महामहिम सेवा लम्सालज्यू, मिथिला सेन्टर यूएसएका अध्यक्ष अमित प्रताप शाहज्यू, संरक्षक नवल किशोर यादवज्यू, सहभागी कलाकारहरू, नेपाली दूतावास परिवार, EEAS तथा सम्पूर्ण सहयोगी संस्थाप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।

विश्वका विभिन्न भूगोलमा यात्रा गर्दा मैले एउटा कुरा स्पष्ट रूपमा महसुस गरेको छु—मिथिला कला कुनै सीमित भूभागको कला होइन। यो मानव सभ्यताको साझा कथा हो, जसले प्रकृति, संस्कृति, सहअस्तित्व र शान्तिको सन्देश बोकेको छ। र यही सन्देशलाई विश्वका कुनाकाप्चासम्म पुर्‍याउने मेरो यात्राले अब अझ ठूलो गति लिएको छ ।


Sdaskayastha@gmail.com

Comments

Popular posts from this blog

चीनमा मिथिला कलाको प्रदर्शनी र कलाकार एससी सुमन

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA

मैं देवताओं की पेंटिंग बनाते-बनाते थक गया था