चौरचन : विद्वता, स्वाभिमान र विजयको लोककथा: एससी सुमन

 चौरचन : विद्वता, स्वाभिमान र विजयको लोककथा

- एससी सुमन

मिथिलामा भाद्र शुक्ल चतुर्थीका दिन चौरचन मनाईन्छ। चौठचन्द्र चन्द्रपूजासँग सम्बन्धित पर्व हो। मिथिलाञ्चल, केवल भौगोलिक भूगोल मात्र नभैइ, एक समृद्ध सांस्कृतिक चेतनाको केन्द्र हरहिआएको छ। जहाँ शताब्दीयौँ देखि वैदिक सनातन परम्पराहरूको पालक, संरक्षक र संवाहक रहि आएको छ। यहाँका पर्व -उत्सव, परम्परा, लोकाचार तथा धार्मिक संस्कारहरूले केवल सामाजिक जीवनलाई मात्रै नभई, आध्यात्मिक अनुशासन र जीवनदर्शनलाई पनि सुदृढ बनाएका छन्। यस्तै अनुपम परम्परा र गहन आध्यात्मिक चेतनाले युक्त एक प्रमुख पर्व हो -चौरचन पर्व, जसलाई स्थानीय भाषामा चौठचन्द्र, चौरचन, वा चौथ चाँदको नामले चिनिन्छ।

चौरचन पर्व विशेषतः भाद्र शुक्ल चतुर्थीका दिन, अर्थात् गणेश चतुर्थीको सन्दर्भमा मनाइन्छ। हिन्दू धर्मशास्त्रअनुसार, यही दिन विघ्नहर्ता भगवान् श्रीगणेशको प्राकट्य भएको मानिन्छ। तर मिथिलाञ्चलमा गणेश चतुर्थीले मात्र सीमित अर्थ राख्दैन; यस दिन साँझ परेपछि चन्द्रदेवको पूजा -अर्चना, उपवास र विशिष्ट मन्त्रोच्चारणसहित चन्द्र दर्शन गर्नु अत्यन्तै पुण्यकारी र आवश्यक मानिन्छ। यही सन्दर्भमा यो पर्व चौरचनको रूपमा विकसित भएको देखिन्छ।

यस पर्वको मूल उद्देश्य हो -शुभ -लाभ, कुटुम्बको कल्याण, सन्तानको दीर्घायु र संकट–विघ्नको शान्ति। महिलाहरू, विशेषगरी विवाहित घर मुली महिला, यो दिन श्रद्धा -भक्तिपूर्वक उपवास बस्छन्, शुद्धताका साथ पूजा सामग्री तयार गर्छन्, गाईको गोबरले आँगन लिपेर 'अरिपन' लेखछन। र साँझ चन्द्रमा उदाउने समय पारेर मन्त्रसहित चन्द्रदर्शन गर्छन्। यही दर्शनमार्फत 'दूषण' होइन, 'दर्शन'को महत्व पुष्टि हुन्छ। विशेष मन्त्रहरूद्वारा चन्द्रदेव सँग प्रार्थना गरिन्छ, “जीवनमा शुद्ध बुद्धि, शान्त चित्त र उज्यालो मार्गदर्शन प्राप्त होस्।”

चौरचन पर्व कुनै तिथिको मात्र पर्व होइन, यो सम्पूर्ण मिथिला सभ्यता र संस्कृतिको प्रतीक हो। यस पर्वमा चन्द्रमा, पृथ्वी, अन्न, जल, व्रत, पूजा र आकाश -यी सबैलाई एकै थलोमा बाँधिएको पाइन्छ। यो पर्व प्रकृति र पुरुष बीचको सम्वाद हो; जहाँ चन्द्रमा पुरुष रूप, र पृथ्वी (र त्यसमाथि सजिएको पूजा -स्थल) प्रकृतिरूपमा प्रकट हुन्छन्।

सामाजिक दृष्टिले पनि यो पर्वले पारिवारिक एकता, धार्मिक अनुशासन र सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्दछ। बच्चाहरूदेखि वृद्धसम्म, सबैको सहभागिता रहने यस पर्वले पुस्तान्तरणलाई सुनिश्चित गर्छ - केवल परम्पराको नभई, भावनात्मक संस्कार र समर्पणको पनि।

ऐतिहासिक / पौराणिक पृष्ठभूमि 

मिथिलाञ्चलको सांस्कृतिक वैभव विभिन्न पर्व -उत्सवहरूद्वारा उजागर भएको पाइन्छ। यस्ता पर्वहरू केवल धार्मिक आस्थासँग सम्बन्धित नभई ऐतिहासिक गाथा र पौराणिक कथा -प्रसङ्गहरूमा पनि आधारित छन्। चौरचन पर्वको ऐतिहासिक तथा पौराणिक पृष्ठभूमि समेत यति समृद्ध र गहिरो छ कि यसले मिथिलावासीको धार्मिक जीवनशैली र आन्तरिक चिन्तनलाई गहिरो रूपमा प्रभाव पार्दछ।

पौराणिक मान्यताअनुसार, चौरचन पर्वको मूल उत्पत्ति गणेश चतुर्थीसँग सम्बन्धित छ। हिन्दू धर्मग्रन्थ स्कन्द पुराण, भविष्य पुराण र वराह पुराण जस्ता ग्रन्थहरूमा वर्णित कथा अनुसार, एकपटक भगवान् इन्द्रका सभासद र चन्द्रमा एक अर्कासँग गर्वको विषयमा विवादमा परे। चन्द्रदेवको सौन्दर्य र तेजले उनी स्वयं अहंकारी बनेको देखेर भगवान् श्रीगणेशले उनलाई शाप दिए,  "जो व्यक्ति तिमीलाई हेर्छ, उसले अपवादको शिकार हुनेछ।" त्यसपछि चन्द्रमा लज्जित भई गणेशजीको शरणमा गए र क्षमा याचना गरे। गणेशजीले शापलाई पूर्णतः नहटाई, यसरी संशोधित गरे, “जो व्यक्ति चतुर्थीका दिन श्रद्धा -पूर्वक मेरो पूजा गरी चन्द्रदर्शन गर्छ, उसले पापबाट मुक्ति पाउनेछ।”

यही प्रसङ्गको आधारमा मिथिलाञ्चलमा चौरचन पर्वको परम्परा विकसित भएको मानिन्छ। यहाँ गणेश पूजासँगै चन्द्रदर्शन र चन्द्रदेवको पूजा पनि अत्यन्त आवश्यक मानिन्छ। यस पर्वमा चन्द्रमा 'कलङ्कहर' (पापहर्ता) का रूपमा पूजिन्छन्, जसले जीवनमा रहेका द्वन्द्व, भ्रम र अपवादको नाश गर्छन्।

इतिहासका दृष्टिले हेर्दा पनि मिथिला राज्य (विदेह जनकको राज्य) वैदिक परम्पराको एक शक्तिशाली केन्द्र रहेको थियो। यहाँ चन्द्रमा, सूर्य, अग्नि र पृथ्वी लगायतका प्राकृतिक शक्तिहरूको उपासना वैदिक कालदेखि नै विद्यमान थियो। जनक राजा स्वयं एक प्रकृति–प्रेमी तत्त्वचिन्तक थिए। यिनको राज्यमा पूजाहरू, उपवासहरू र ऋतुसँग मेल खाने पर्वहरूलाई जीवनशैलीको अभिन्न अङ्ग बनाइएको थियो। त्यसै परम्पराको निरन्तरतास्वरूप चौरचन पर्वले विशेष स्थान प्राप्त गरेको हो।

चौरचन पर्वको ऐतिहासिक र पौराणिक पक्षले यो पुष्टि गर्छ कि यो केवल धार्मिक विधिमा सीमित छैन; यो मिथिलाको जीवनदर्शनसँग गासिएको पर्व हो। चन्द्रमा यहाँ केवल खगोलीय ग्रह नभई, चेतनाका प्रतीक, भावना र स्मृतिका संरक्षक हुन्। महिलाहरूले व्रत बसी चन्द्रमा र गणेशको आराधना गर्नु, आँगनमा अल्पना बनाउनु, अन्नका परिकारहरू चढाउनु आदि क्रियाकलापले यो पर्वलाई एक गहिरो सांस्कृतिक अभ्यासमा रूपान्तरण गरेको छ।

यसरी हेर्दा, चौरचन पर्वको उत्पत्ति केवल कुनै एक ग्रन्थ वा परम्परामा मात्र सीमित नरही, धार्मिक कथा, ऐतिहासिक सन्दर्भ र सांस्कृतिक संवेदनाको सम्मिलन हो। यो मिथिलाञ्चलको बौद्धिक र आध्यात्मिक यात्राको एउटा प्रतीक पर्व हो। जसले वर्तमानलाई विगतसँग बाँध्दछ र भावी पुस्तालाई मूल्यहरूको सेतु हस्तान्तरण गर्दछ।

यसरी नै लोक जनमा प्रचलित चौरचन सँग मिथिलाका राजा हेमांगद ठाकुरसम्बन्धी एउटा रोचक लोककथा पनि जोडिएको छ। जनश्रुतिअनुसार उनी खगोलशास्त्र तथा ज्योतिषविद्याका विद्वान् थिए। मुगल सम्राट् अकबरको समयमा करसम्बन्धी विवादका कारण दिल्लीमा बन्दी बनाइएका हेमांगदले कारागारमै कोइला र काजलको सहायताले चन्द्रमा, नक्षत्र तथा ग्रहणको गणना गरे। पछि सम्राट्ले उनलाई आवश्यक साधन उपलब्ध गराएपछि उनले ‘ग्रहणमाला’ नामक ग्रन्थ तयार पारेको र त्यसमा भविष्यका सूर्य तथा चन्द्रग्रहणको गणना गरेको कथन पाइन्छ।

उनको गणना सत्य प्रमाणित भएपछि अकबर प्रभावित भई उनलाई मुक्त गरेको र मिथिलाको सम्मान फिर्ता गरेको जनविश्वास छ। विजय र सम्मानसहित मिथिला फर्किएका हेमांगदले त्यस दिनको चन्द्रमालाई आफ्नो विद्या, सत्य र विजयको साक्षी मानेर पूजा गर्न आग्रह गरे भनिन्छ। यही लोकस्मृतिसँग जोडेर चौरचनमा चन्द्रदर्शनपछि अर्घ्य दिने तथा पकवान, फलफूल र दही अर्पण गर्ने परम्परालाई अर्थ्याइन्छ।

हेमांगद ठाकुरको यो प्रसङ्ग प्रमाणित इतिहासभन्दा बढी मिथिलाको लोकपरम्परा र सामूहिक सांस्कृतिक स्मृतिमा जीवित रहेको आख्यान हो। यसले भने चौरचनलाई केवल चन्द्रपूजाको पर्व नभई ज्ञान, स्वाभिमान, सत्य र विजयको सांस्कृतिक प्रतीकका रूपमा बुझ्ने एउटा सुन्दर आधार प्रदान गर्छ।

विधि -विधान

मिथिलाञ्चलको समृद्ध सांस्कृतिक सम्पदामा चौरचन पर्व एउटा यस्तो अध्याय हो, जसको विधि–विधान केवल धार्मिक कर्मकाण्डको ढाँचामा सिमित नरही, जीवनशैलीको गहिरो आन्तरिक अभ्यासको रूप लिएको देखिन्छ। चौरचन पर्वको पूजापद्धति मिथिलाञ्चली समाजमा परम्परा, अनुशासन र सौन्दर्यबोधको समन्वय हो, जहाँ हरेक क्रियाले कुनै न कुनै दार्शनिक सन्देश बोकेको हुन्छ।

विशेषतः संध्याकालको समयलाई उपयुक्त मानिन्छ, जसलाई धार्मिक दृष्टिले ‘चन्द्रदर्शन’को शुभ घडी ठानिन्छ। चौरचनको तयारी बिहानैदेखि आरम्भ हुन्छ। घर–आँगन सफा गरिन्छ, गाईको गोबरले लेपले पवित्रता ल्याइन्छ। जसमा  मिथिलाञ्चलको अलंकरण– 'पिठार' ले 'अरिपन' लेखिन्छ,यस  विशेष दिनमा, चन्द्र,सूर्य, पन्चदेवता,नवग्रह, को उपस्थिती हुनेगर्छ, विविध रेखाचित्रहरू, प्रतीकहरू सगै  आहव्न अरिपन लेखी गरिन्छ। 

पूजास्थल पूर्व वा उत्तरमुखी राखिन्छ। पूजाका लागि माटो वा धातुको गणेश मूर्ति स्थापना गरिन्छ। श्रद्धालु महिलाहरू उपवास बस्छन्, जसलाई ‘निर्जला व्रत’ पनि भनिन्छ। यस व्रतमा दिनभर जल–अन्न ग्रहण गरिँदैन; केवल संध्याकालमा पूजा सम्पन्न गरेपछि नै भोजन गरिन्छ, त्यो पनि सात्विक र परम्परागत परिकारहरूमार्फत्।

गणेश पूजापछि चन्द्रदेवको पूजन आरम्भ हुन्छ। चन्द्रमा आकाशमा उदाउँदा उनलाई अर्घ्य दिइन्छ — जल, दुर्वा, अक्षता, पुष्प र दूध मिश्रित अञ्जलिद्वारा। पूजनका मन्त्रहरू वैदिक छन्, जसमा चन्द्रदेवलाई ‘कलङ्कहर’ अर्थात् पाप नाश गर्ने देवता भनेर स्मरण गरिन्छ। चन्द्रदर्शनको समयमा विशेष ध्यान राखिन्छ कि श्रद्धालुहरू चन्द्रमा हेर्दा हृदयमा कुनै दोष वा द्वेष नरहोस्, केवल श्रद्धा, क्षमा र आत्मशुद्धिको भावनाले भरिएको होस्।

भोग स्वरूप विभिन्न प्रकारका पकवानहरू चढाइन्छ - विशेषतः ‘लड्डू’, ‘खीर’, ‘पूरी’, ‘अनरसा’, र नयाँ अन्नबाट बनेका व्यञ्जनहरू। यी परिकारहरू पूजापछि घरका सबै सदस्यहरूले प्रसाद स्वरूप ग्रहण गर्छन्। यस दिन गन्ध, पुष्प, धूप, दीप र नाद (घण्टा, शंख) को समुचित समन्वयले पूजालाई एक सुरम्य एवं भावनात्मक उच्चतामा पुर्‍याइन्छ।

चौरचनको विधि -विधान केवल कर्म होइन, त्यो एक भाव हो। जसले मानवीय जीवनका दोषहरू, कलङ्कहरू, भ्रमहरूलाई चन्द्रमा र गणेशको कृपा -प्रकाशमा नष्ट गर्ने अभ्यास हो। यसको पूजापद्धति सादगी र सजीवताको अनुपम संगम हो, जहाँ आडम्बरभन्दा आस्था, औपचारिकताभन्दा आत्मिक एकाग्रता महत्त्वपूर्ण मानिन्छ।

यस पर्वले पारिवारिक एकता, सामाजिक सहकार्य र स्त्री–केन्द्रित धार्मिक संस्कारलाई विशेष महत्त्व दिन्छ। घरकी महिला पूजाको केन्द्रमा रहन्छिन्।  उनी मात्र पूजक होइनन्, संस्कृति र मूल्यहरूको संरक्षक पनि हुन्। चौरचनको पूजामा उनीहरूको सहभागिता केवल धार्मिक परम्पराको निर्वाह होइन, एक सांस्कृतिक सञ्जीवनी हो, जसले पीढी -दर-पीढी भावनात्मक उत्तराधिकार हस्तान्तरण गर्छ।

यसरी, चौरचन पर्वको विधि-विधान न केवल पूजाको प्रक्रिया हो, यो एक जीवन-पद्धति हो। जहाँ प्रकृति, पुराण, परम्परा र परिष्कृत चेतनाको अद्वितीय समागम पाइन्छ। यही समागमले यस पर्वलाई मिथिलाञ्चलको आत्म -संस्कृति बनाएको छ। जहाँ चन्द्रमा दर्शन गर्नु केवल आकास हेर्नु होइन, आत्मा भित्र झुल्किएको उज्यालोलाई पहिचान गर्नु हो।

चौरचनको सामाजिक–सांस्कृतिक सन्दर्भ

मिथिलाञ्चलको सांस्कृतिक कलेवरमा चौरचन पर्व एउटा यस्तो आलोक हो, जसले केवल धार्मिक अनुभूतिको सीमालाई नाघेर सामाजिक चेतना र सांस्कृतिक अनुशासनको पर्याय बनिसकेको छ। यो पर्व परम्परा मात्र होइन, परिपाटी हो; आस्था मात्र होइन, अभिज्ञान हो।  जहाँ प्रत्येक घर आँगनमा संस्कृति फुल्छ, विश्वास फल्छ र सम्वेदनाको चन्द्रमा उदाउँछ।

चौरचन मिथिलाञ्चलको ती पर्वहरू मध्येकै एक हो, जसले समाजको संरचना र सामूहिक आत्मबोधमा गहिरो प्रभाव पार्छ। विशेषतः यो पर्व स्त्री–केन्द्रित भूमिका र मातृशक्ति -सम्मानको एक सशक्त प्रतीक हो। घरकी महिला यो पर्वमा केवल पूजक भएर होइन, सम्पूर्ण सांस्कृतिक परम्पराकी संवाहकको रूपमा अग्रसर हुन्छिन्। उनीहरूका हस्तलेखन–जस्ता अल्पना, स्वच्छन्द भावले बनाइएका पकवान, र स्नेहपूर्ण अर्घ्य–दान समाजको आत्मीयता र एकताको आधार बनिन्छ।

चौरचनमा ‘परिवार’ शब्द केवल सह -वासको संरचना होइन, सह–अनुभूतिको स्पन्दन हो। यो पर्वले दिगो सम्बन्ध, सहकार्य र पारस्परिक उत्तरदायित्वलाई पुनर्स्थापित गर्छ। बालबालिका, युवा, वृद्ध – सबै एकै ढाँचामा आबद्ध भएर परम्पराको बहावमा आफूलाई जोड्छन्। पूजा सम्पन्न भएपछि सबै सदस्यहरू प्रसादको माध्यमबाट सांस्कृतिक साक्षात्कार गर्छन्, जुन केवल स्वादको प्रसंग होइन, संस्कारको सहभागिता हो।


सामाजिक दृष्टिले हेर्दा, चौरचन ‘सङ्ग’ को पर्व हो — समाजको सँगै हाँस्ने, सँगै बाँड्ने, सँगै आत्मशुद्धिको अभ्यास गर्ने। यसले समुदायमा सौहार्द, सहिष्णुता र एकता प्रवर्द्धन गर्छ। विशेषतः गाउँघरमा, पूजाको तयारी सामूहिक हुन्छ — कसैले गोबर ल्याउँछ, कसैले फूल टिप्छ, कोही अल्पना बनाउँछ। यस्तो सहयोगले सामाजिक सम्बन्धमा आत्मीयता र पारदर्शिता बढाउँछ, जसले गाउँलाई केवल बसोबासको ठाउँ नभई आत्मीयताले गाँसिएको जीवित संस्कृति बनाउँछ।

चौरचनको सांस्कृतिक महत्त्व यस तथ्यमा पनि छ कि यसले मिथिलाञ्चलको मौलिकताको पहिचान बचाइराख्न सहयोग पुर्‍याउँछ। आज जब आधुनिकताको वहावले परम्परागत पर्वहरू ओझेलमा पार्ने खतरा बढ्दो छ, चौरचनजस्ता पर्वहरूले स्थानीय संस्कृतिको जरा अझ गहिरो बनाउँछन्। चन्द्रमा–पूजनको मिथकीय–दार्शनिक पक्ष, गणेश -आराधनाको कर्म -समीक्षा र सामाजिक समन्वयको जीवित अभ्यास यस पर्वमा एकैसाथ जीवन्त देखिन्छ।

यस पर्वमा देखिने रंग, गन्ध, संगीत र शुद्धताले मिथिलाञ्चलको सौन्दर्य -बोध झल्काउँछ। महिलाहरूको पारम्परिक पोशाक, विविध परिकारहरूमा प्रयोग गरिने अन्न र मसला, घरघरमा बज्ने शंखध्वनि - यी सबैले सांस्कृतिक आत्मबोधलाई कलात्मकताको उच्चताको साथ समर्पित गर्छन्।

चौरचन पर्व सामाजिक संरचना र सांस्कृतिक पहिचानको एउटा सजीव प्रतीक हो, जुन हरेक वर्ष पुनः उदाउँछ।  चन्द्रमाजस्तै, शान्त र उज्यालो। यो उज्यालो केवल आकाशमा होइन, समाजको हरेक तहमा छरिन्छ। जहाँ चौरचन celebration मात्र होइन, cultural meditation हो। यस पर्वले सन्देश दिन्छ कि जीवन केवल वर्तमान होइन, परम्पराको प्रवाह र भविष्यको बीउ पनि हो। चौरचनको यही उत्तरदायित्व–भाव, यही सांस्कृतिक समर्पण नै मिथिलाञ्चलको आत्मालाई जोगाइरहेको छ — मौन, तर गहिरो रूपमा।


चौरचन पर्वको साँझ, जब आकाशको क्यानभासमा चन्द्रको उज्यालो धवल तन्तुले अन्धकारलाई छेड्दै पस्न थाल्छ, त्यो क्षण केवल सौन्दर्यको अवलोकन मात्र हुँदैन -त्यो एक सांस्कृतिक संवाद हो, आत्मा र आकाशबीचको मौन वार्ता हो। मिथिलाञ्चलको समृद्ध परम्परामा, चन्द्रमा दर्शन गर्ने बेला उच्चारित गरिने दुई दिव्य मन्त्रहरू – दर्शन मन्त्र र प्रार्थना मन्त्र – त्यो संवादका मौलिक शब्दहरू हुन्। यी मन्त्रहरूले मिथिला जनमानसको भाव -संवेदना, ऐतिहासिक स्मृति र धार्मिक आस्था समेट्छन्। दर्शन मन्त्र: सत्य र कलङ्कबीचको एक दार्शनिक दृष्टान्त हो।

"सिंहः प्रसेनमवधीत् सिंहो जाम्बवता हतः।

सुकुमारकं वदन्ति तव ह्येष स्यन्दनस्त्वम्॥"

यो श्लोक, जसको जड श्रीमद्भागवत महापुराणमा रहेको छ, केवल कथा नभएर नैतिकता र न्यायको स्तम्भ हो। राजा प्रसेन एक सिंहद्वारा मारिन्छन्, त्यो सिंह स्वयं जाम्बवन्को बाहुबलले मृत्युवरण गर्छ। तर दोषारोपण कहाँ हुन्छ? श्रीकृष्ण माथि। संसार सधैं सत्यको बाटो जटिल बनाउँछ, र झूटा आरोपहरुको बोझले नै अक्सर सत्यको मुख छायाङ्कित हुन्छ। यस प्रसङ्गमा चन्द्रमा स्वयं दोषारोपणकर्ता थिए। झूटो आरोपको कारण उनले श्रीकृष्णजस्तो धर्मात्मालाई कलङ्कित तुल्याउने प्रयास गरे, जसको परिणामस्वरूप उनले शापस्वरूप शारीरिक रूपमा "कलङ्क" धारण गर्नुपर्‍यो। चौरचनमा यही पौराणिक स्मृतिको सन्दर्भमा, दर्शन बेला चन्द्रलाई उक्त श्लोक सुनाइन्छ।  मानव सभ्यताको एउटा मौन संकल्प स्वरूप: “सत्य माथि आरोप नलागोस्, न्यायलाई अन्धकार नछोपोस्।”

यसरी शब्द–व्याख्या: मा सिंहः प्रसेनम् अवधीत् -सिंहले प्रसेनलाई मारे, सिंहः जाम्बवता हतः -त्यो सिंह जाम्बवन्को हातबाट मरे, सुकुमारकं वदन्ति-लोगहरूले श्रीकृष्ण (सुकुमार) माथि दोष लगाउँछन्, तव ह्येष स्यन्दनस्त्वम् -हे चन्द्र! तर यो रथ तिमी नै हौ, दोष तिमीमा छ।

यो मन्त्र, मूलतः मानव मनोविज्ञानको दर्पण हो, जहाँ आरोप, प्रत्यारोप र आत्मपरिशोधनको चक्र घुमिरहन्छ। चौरचनमा जब महिलाहरू आँखा उघारेर चन्द्रमा हेर्छन् र मन्त्र उच्चारण गर्छन्, त्यो केवल एक धार्मिक परम्परा होइन, त्यो सत्यको पुनर्पुष्टि हो। कलङ्कित भए पनि स्वीकार गरियोस्, शुद्धि सम्भव छ – यो नै चौरचनको आध्यात्मिक सन्देश हो।

प्रार्थना मन्त्र: चन्द्रमा -सौन्दर्य, सौम्यता र शिवत्वको प्रतीक हो।

"दधिशङ्खतुषाराभं क्षीरोदार्णवसम्भवम्।

नमामि शशिनं सोमं शम्भोमुख्यं भूतिभूषणम्॥"

यदि दर्शन मन्त्र न्यायको उचाइ हो भने, यो स्तुति मन्त्र प्रेम र शान्तिको विशाल समुद्र हो। चन्द्रमा यहाँ केवल एक खगोलिय पिण्ड होइनन्।  उनी कविताको सौन्दर्य, भक्तिको कोमलता र शिवत्वको दिव्यता को मूर्तरूप हुन्। मन्त्रको प्रत्येक पदमा भावनाको मधुरता भरिएको छ।

शब्द–व्याख्या: दधिशङ्खतुषाराभं — दही, शङ्ख, र हिउँ जस्तै उज्यालो, क्षीरोदार्णवसम्भवम् - क्षीरसागरबाट उत्पन्न, शशिनं सोमं -खरायोको चिन्ह सहितको चन्द्रमा, अमृत प्रदान गर्ने सोम, शम्भोमुख्यं भूतिभूषणम् — शिवको मस्तकमा विराजमान, भस्मधारीका सुशोभित आभूषण। 

चन्द्रमा, मिथिला संस्कृतिमा, मानव हृदयको भावनात्मक सन्तुलनको द्योतक हुन्। जब व्रतालु स्त्रीहरू श्रद्धा सहित भाकल गर्छन्। पारिवारिक सुख, मनोकामना पूर्ति, शीतल मन, दीर्घ जीवन -त्यो प्रार्थनामा आत्माको सबैभन्दा पवित्र कम्पन मिसिएको हुन्छ। मन्त्र र मिथिलाञ्चल: एक मौलिक संस्कृति संवाद हो। मिथिलाञ्चलको संस्कृति मौखिक परम्पराको सजीव धरोहर हो। यहाँ प्रत्येक पर्व, प्रत्येक अनुष्ठान, र प्रत्येक मन्त्र एक -एक संस्कृतिक पदचिन्ह हो। चौरचनको सन्दर्भमा यी दुई मन्त्र – पुस्तौंदेखि श्रवण, स्मरण र उच्चारण हुँदै आएका -जन -जनको चित्तमा गहिरो गरी बसेका छन्।

चन्द्र दर्शनको बेला महिलाहरूले खीर, पुरी, दही, फल-फूल र विविध पकवानहरू चढाएर चन्द्रमा समक्ष यी मन्त्रहरू उच्चारण गर्छन्। त्यो दृश्य केवल पूजापाठ होइन, त्यो आत्मीयता र अस्तित्वको संवाद हो। 

चन्द्रलाई हेर्दै जब ‘नमामि शशिनं सोमं...’ भनिन्छ, त्यतिबेला त्यो आँखाभरि भक्ति, मनभरि शान्ति, र जीवनभरि संतुलनको कामना मिसिएको हुन्छ। तसर्थ मन्त्र – बाह्य अनुष्ठान होइन, आत्मा -संवाद हुन्।

चौरचन पर्वमा प्रयोग गरिने यी मन्त्रहरू केवल पुराणका अंश होइनन्, मानव सभ्यताको स्मृति–पटलमा कोरिएका जीवन–सूत्र हुन्। यी मन्त्रहरू चन्द्रमा मात्र होइन, सत्यको उज्यालो, प्रेमको सौम्यता, र धार्मिक शुद्धताको प्रतिमूर्ति हुन्। दर्शन मन्त्रले कलङ्क -मोचन र आत्मसमीक्षा सिकाउँछ भने प्रार्थना मन्त्रले भक्ति, सौन्दर्य र शिवत्वको उपासना सिखाउँछ। यसरी, चौरचनको मन्त्र -परम्परा केवल विधि होइन, एक जीवनदर्शन हो, जहाँ आकाशको उज्यालो र पृथ्वीको श्रद्धा एकैसाथ मिलेर एक पवित्र क्षण रच्दछन् शुद्ध, मौन, चिरस्थायी हुन्छ।

आधुनिक सन्दर्भमा चौरचन पर्व 

शहरी व्यस्तता र चन्द्र–संवादको पुनर्परिभाषा, जब कङ्क्रीट jungle ले खेतको हरियाली विस्थापित गरिसकेको हुन्छ, जब सहरको आकाश धुवाँले ढाकिएको हुन्छ, त्यतिबेला पनि मिथिलाञ्चलको महिला आफ्नो कौसी (छत) मा उभिएर चन्द्रमा खोजिरहेकी हुन्छिन् - सम्भवतः वायु प्रदूषणबीच हल्कै देखिने चन्द्रको एक धवल धर्कोमा आफ्नो परम्पराको प्रतिबिम्ब खोजिरहेकी हुन्छिन्।

चौरचन पर्व, जो कहिल्यै 'ब्रेकिङ न्यूज' बन्दैन, त्यो आजको डिजिटल युगमा पनि मौन क्रान्तिको एउटा स्वरूप हो। यो पर्वले जति पुरातन छ, उति नै समसामयिक पनि। मोबाइलको स्क्रीनमा "Moonrise time in Janakpur/ Darbhanga" सर्च गरिँदा, त्यो केवल सूचनाको खोज मात्र होइन, त्यो परम्पराको नबोलिएको निरन्तरता हो। चौरचन अब ‘पुरानो मान्यताको अवशेष’ होइन; यो नयाँ पुस्ताको सौन्दर्यबोध र आध्यात्मिक अभ्यासको संयोजन हो।

आजकी युवती कामकाजी महिला, जो बिहान अफिस गइन्, दिउँसो क्लाइन्ट मिटिङ सम्हालिन्, साँझमा उनी शृंगार गरेर चन्द्र दर्शन गर्न छतमा पुग्छिन्। उनको हातमा मोबाइल हुन्छ - अर्को हातमा दही र खीरले भरिएको थाल। त्यो क्षण, जति आधुनिक छ, त्यति नै आध्यात्मिक।

आत्मसंवादको पुनर्संरचना, आजका चौरचनमा मन्त्र पढ्ने महिलाको आवाज सायद पुस्तकमा पढेर आएको होस्, सायद युट्युब भिडियोबाट सिकिएको होस्। तर त्यो उच्चारणमा पनि शुद्धि छ — किनभने त्यो साधना हो। मन्त्र, जसलाई पहिले पुरोहितले पढ्थे, आज महिलाहरूले स्वयम् पढ्छन्। अब त्यो श्लोक पुजारीको मुखबाट होइन, आन्तरिक चेतनाबाट निस्कन्छ। त्यसैले आजको चौरचन "आत्मनिर्भर आस्था" को प्रतीक हो। अहिलेको चौरचन, विशेष गरी शहरी मिथिलावासीहरूको लागि, "आध्यात्मिक" बनेको छ। वर्षभरको व्यस्तता, किचेन र अफिसबीचको द्वन्द्व, सामाजिक सञ्जालको चकाचौँध — यी सबैबाट टाढा भएर केवल चन्द्रमा हेर्ने त्यो केही मिनेटको शान्त क्षणमा जीवनको अर्कै स्पर्श पाइन्छ। यति बेला चन्द्र केवल खगोलीय वस्तु होइन, "emotional mirror" हो - जसले थकित मनलाई विश्राम दिन्छ। चौरचन पर्व आज शिक्षाको परम्परा बनिसकेको छ — जहाँ आमा छोरीलाई, नानी हजुरआमालाई, अनि कहिलेकाहीँ छोरी आमालाई सम्झाउँछिन् -"मम्मी, मन्त्र यस्तो हुन्छ, है- 

“नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम्।

कलानिधिं जगन्नाथं नमामि शशिनं प्रभुम्॥”

यानिकी हे चन्द्रदेव! हे सोम! हे भगवान् शिवको शिरको मुकुटका आभूषण! हे कलाका निधि, जगत्का स्वामी—म तपाईंलाई श्रद्धापूर्वक नमन गर्दछु।   "त्यो दृश्य मिथिला संस्कृति जिउँदो रहन सक्ने ठोस प्रमाण हो। पुनर्जागरण लोक जीवनबाट गूगल सर्चसम्मको यात्रा भएको छ। 

आज चौरचन आँगनमा मात्र होइन, टेरिस गार्डेन र घरको छ्तमा पनि मनाइन्छ। अब त्यो माटोको चौकमा मात्र होइन, डिजिटल कलात्मक डिजाइनमा पनि बाँचिरहेछ। फेसबुक स्टोरी र इन्स्टाग्राम रीलमा चौरचन ट्रेन्ड भइरहेको छ -तर यसमा गहिरो कुरो के छ भने, "ह्यासट्याग जति ट्रेन्डिंग होस्, भाव जति पुरानो होस्, त्यो अनुभव सधैं मौन र शुद्ध हुन्छ।"

आधुनिकीकरण होइन, आध्यात्मिकीकरण

अहिलेको चौरचन पर्व, सरसरी रूपले हेर्दा समयको साथ हिँडिरहेको जस्तो लाग्छ। तर त्यसको गहिराइ हेर्दा त्यो समयभन्दा अघि हिँडिरहेको छ। यो पर्व अतीतको पुनरावृत्ति होइन, वर्तमानको पुनःपुष्टि हो। जसरी चन्द्रमा शुक्ल पक्षमा क्रमशः शुद्ध हुँदै जान्छन्, त्यसै गरी जीवन पनि आत्मसमीक्षा र प्रार्थनाद्वारा शुद्ध भइरहन्छ। चौरचन यही पुनरशुद्धिकरणको प्रतीक पर्व हो — जहाँ घरको आँगनमा, कौसीको छेउमा, वा सहरको धुवाँभित्रै पनि, सत्य, शान्ति र सौन्दर्यको उज्यालो अझै टल्किरहेको छ।

sdaskayastha@gmail.com

Comments

Popular posts from this blog

मिथिला लोक मुर्ति कलाक सौन्दर्य - सामा - चकेवा : एससी सुमन

मिथिलाञ्चलको सांस्कृतिक धरोहर : कोजगरा पर्व - एससी सुमन

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो