मिथिला सीतारामकथा: एससी सुमन
Title: "Janakpur Kathaa"। Size: 36" X 24" ।Medium: Acrylic on Nepali paper । Year: 2025
मिथिला आज विश्व मानचित्रमा राजनीतिक सीमाभित्र नदेखिए पनि यसको सभ्यता, संस्कृति र चेतनामा अझै जीवन्त छ । विष्णुपुराण को ‘मिथिला माहात्म्य खण्ड’ मा जसको उल्लेख यस प्रकार उल्लेख गरिएको छ-
"कौसिकी तु समारभ्य गण्डकीमधिगम्य वै ।
योजनानि चतुर्विंशदयामः परिकीर्तितः ।।१२।।
गंगाप्रवाहमारभ्य यावत् हैमवतं वनम् ।
विस्तारः षोडशः प्रोक्तो देशस्य कुलनन्दनः ।।१३।। (‘प्रेमनिधि’, ... १२) ।
अर्थात् पूर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म छयानब्बे कोस तथा दक्षिणमा गंगादेखि उत्तरमा हिमालय प्रदेशको वनसम्मको ६४ कोसको भू भाग मिथिला वा मिथिलाञ्चल हो। जसको राजा जनक भए । मिथिला राज्यको राजधानी जनकपुर भयो । जहाँ राजा जनक को छोरी सीता को विवाह अयोध्य्या का राजा दशरथ संग भयो । यही जीवन्तताको कलात्मक अभिव्यक्ति मिथिलाका प्रसिद्ध चित्रकार एससी सुमनको चित्र “जनकपुर कथा” मा सशक्त रूपमा उजागर भएको छ । यो चित्र केवल रङ र रेखाको संयोजन होइन, मिथिलाको ऐतिहासिक गौरव, सांस्कृतिक चेतना र वर्तमान यथार्थको समग्र आख्यान हो ।
सुमनले क्यान्भासमा प्रयोग गरेको सुनौलो रङ मिथिलाको वैभव र आध्यात्मिक तेजको प्रतीक बनेर उदाएको छ । आकाशमा ऊर्जा र जीवनका स्रोत सूर्यदेव विराजमान छन्, जसले मिथिलालाई कर्म, चेतना र निरन्तरताको भूमि बनाएको संकेत गर्छ। भूमिमा अंकित अरिपन (मण्डला) मिथिला संस्कृतिको आत्मा हो । यो शुभता, सन्तुलन र सृष्टिसँगको मानवीय सम्बन्धको प्रतीक हो। अरिपनले मिथिला नारीको सिर्जनात्मक चेत र आध्यात्मिक अनुशासनलाई पनि प्रतिनिधित्व गर्छ ।
आकाशमै पवनपुत्र हनुमानको उपस्थिति सुरक्षा, साहस र धर्मरक्षाको प्रतीकका रूपमा उभिएको छ । तल जनकी मन्दिरको भव्य आकृतिले मिथिलाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गरिमालाई उजागर गर्छ । कुण्ड र तलाबले भरिएको जनकपुरमा छठ पर्वको दृश्यले अस्ताउँदो सूर्यलाई विदाई र उदाउँदो सूर्यको स्वागतमार्फत नकारात्मकताको अन्त्य र सकारात्मकताको आह्वान गरेको सन्देश दिन्छ ।
रुख, माछा, कमल, मयूर र बाजागाजाको लयात्मक चित्रणमार्फत सुमनको प्रकृतिप्रेम झल्किन्छ । यसरी “जनकपुर कथा” ले केवल प्राचीन मिथिलाको कथा होइन, आजको जनकपुर र समग्र मिथिलाको जीवित यथार्थलाई कलामा रूपान्तरण गरेको छ । जहाँ इतिहास, संस्कृति र वर्तमान एकै क्यान्भासमा सजीव छन् ।
Title: Bhoomija ( सीताको जन्म कथा) । Size: 21" X 32" Medium: Acrylic on Nepali Paper। Year:
विभिन्न रामायणीय परम्परामा सीताको जन्मकथा फरक -फरक रूपमा वर्णित भए तापनि मिथिलाको लोकविश्वासमा सर्वाधिक प्रचलित कथालाई आधार मानी प्रसिद्ध तथा लोकप्रिय मिथिला चित्रकार एससी सुमनले आफ्नो अनुपम कृति “भूमिजा” को सर्जना गरेका छन् । मिथिलामा खडेरी पर्न लागेपछि जनइच्छा अनुसार वर्षाको कामनासहित राजा जनकले रानी सुनैना संगै हलो जोतेको क्षणमै धरतीबाट सीताको अवतरण भएको लोककथाले उनलाई “भूमिजा” बनाएको हो । यही पावन क्षण चित्रको मूल कथ्य बनेको छ ।
चित्रको पृष्ठभूमिमा अवस्थित जानकी मन्दिर केवल स्थापत्य वैभवको प्रतीक मात्र नभई मिथिलाको सांस्कृतिक, धार्मिक र ऐतिहासिक गौरवको जीवित साक्षी हो । चित्रमा अंकित वृक्ष, नीलो स्वच्छ आकाश र चित्रकारको हस्ताक्षरले मिथिलाको प्रकृतिप्रेम, आज विश्वले भोगिरहेको पर्यावरणीय संकटप्रति सचेत चिन्तन र त्यसको सम्भावित समाधानप्रतिको आशालाई सूक्ष्म रूपमा संकेत गर्छ ।
चित्रको तल्लो कोर (बोडर) मा मिथिला चित्रकलाको अनिवार्य शैलीअनुसार सीता - गौरी पूजाका लागि फूल टिप्न फूलबारी पुगेकी सीताको अयोध्याका राजकुमार रामसँगको पहिलो भेट मोहक रूपमा अंकित छ । यसै चित्रात्मक विम्बमा जनकपुर–जयनगर रेल्वेको पुरानो स्वरूपमार्फत नेपाल - भारतबीचको ऐतिहासिक, सांस्कृतिक र people to people सम्बन्धलाई चित्रकार एससी सुमनले जीवन्त र अर्थपूर्ण ढंगले प्रस्तुत गरेका छन् ।
Title: SitaRam Bivah ( सीताराम विवाह) । Size: 21" X 32" । Medium: Acrylic on nepali paper । Year:
रामायणको आदिकाव्यिक प्रवाहभित्र उज्यालो भएर उदाउने सीताराम विवाह दृश्यलाई प्रसिद्ध मिथिला चित्रकार S. C. Suman ले आफ्नो विशिष्ट शैली, रेखा र रङ्गको ओजपूर्ण संयोजनमार्फत जीवन्त बनाएका छन्। मिथिलामा परम्परागत रूपमा आजसम्म उत्सवका रूपमा मनाइँदै आएको सीताराम विवाह पञ्चमीको सांस्कृतिक, धार्मिक र भावनात्मक गरिमालाई यो चित्रले एकै साथ बोकेको छ।
राजा दशरथले ल्याएको भव्य जन्ती राम, भरत, लक्ष्मण र शत्रुघ्न चारै राजकुमार, गुरु वशिष्ठ तथा बाजा - गाजासहितको उल्लासमय वातावरण - चित्रको अग्रभागमा प्रसन्न मुद्रामा अगाडि बढिरहेका श्रीरामको वरमाला धारण गरेको आकृतिमा सजीव देखिन्छ । सीतालाई अगाडि सार्दै हर्षले पुलकित आमा सुनैना र आशीर्वाद प्रदान गर्दै राजा जनक तथा मिथिलाका राजगुरुहरूको उपस्थितिले दृश्यलाई आध्यात्मिक गरिमा प्रदान गरेको छ। वरिपरि मिथिलाका नर - नारी मंगलगान र शुभाशीषमा लीन छन् ।
पृष्ठभूमिमा समावेश गरिएको जानकी मन्दिर मिथिलाको वैभवपूर्ण इतिहास, सांस्कृतिक गौरव र शाश्वत आस्थाको प्रतीक बनेर उभिएको छ । निलो गहिरो आकाश र सुनौलो रूपाकारले Mithila Cosmos को आध्यात्मिक अनुभूति गराउँछ । रुखहरूको उपस्थितिले मिथिलाको प्रकृतिप्रेम, मानव–प्रकृति सम्बन्ध र समकालीन पर्यावरणीय संवेदनालाई सूक्ष्म रूपमा संकेत गरेको छ ।
तल्लो कोरमा विवाहपश्चात् डोलीमा सीताराम अयोध्यातर्फ विदा हुँदै गरेको करुण दृश्य । जहाँ रामले सीतालाई प्रेमपूर्वक हाते पंखाले हावा गरिरहेका छन्। छोरी बिदाइको पीडामा प्रकृति स्वयं शोकाकुल देखिन्छ; रूखका पात - पातमा उदासी झल्किन्छ । यसरी सुमनले विवाहको उल्लास र बिदाइको करुणा, दुवै भावलाई एकै क्यानभासमा अद्वितीय रूपमा संयोजन गरेका छन् । रेखा, रङ्ग र रूपाकारको सहजता चित्रलाई उच्च कोटिको सौन्दर्य र कालजयी विशेषता प्रदान गर्दछ ।
Title: Marriage of Sita & Ram: Janakpur to Ayodhaya । Size: 55" X 39" । Medium: Acrylic on canvas । Year: 2025
सीतारामको विवाह पछिको बिदाईको अर्को चित्रमा प्रसिद्ध चित्रकार एससी सुमनले क्यान्भासमा प्रयोग गरेको सुनौलो आभाले जनकपुरस्थित जानकी मन्दिरलाई दिव्य तेज र वैभवको प्रतीक बनाएको छ, जहाँ आध्यात्मिक चेतना र सांस्कृतिक गौरव एकाकार भएका छन् । नीलो, स्वच्छ आकाशमा विराजमान सूर्यदेव रामतिलकले सुशोभित देखिन्छन्, जसले मिथिलालाई कर्म, चेतना र निरन्तरताको भूमि भएको संकेत दिन्छ । ईन्द्रधनुषको रङ जीवन्त र ऊर्जावान छ्न ।
भूमिमा अंकित अरिपन (मण्डला) मिथिला संस्कृतिको आत्मा हो । यसले शुभता, सन्तुलन र सृष्टिसँगको मानवीय सम्बन्धलाई प्रतीकात्मक रूपमा उजागर गर्छ । अरिपनमा निहित मिथिला नारीको सिर्जनात्मक चेत र आध्यात्मिक अनुशासन चित्रको मौन तर शक्तिशाली भाषा बनेको छ । सीताराम विवाहपश्चात् राम हात्तीमा र सीता डोलीमा माईत मिथिला जनकपुर बाट ससुराली अयोध्यातर्फ विदा हुँदै गरेको दृश्यमा उल्लास र करुणा एकसाथ मिसिएको छ । उत्सवको हाँसो र विदाइको आँसुजस्तै संग - संगै छ ।
Title: राम–केवट (माझी)को प्रसंग । Size: 28" X 21" ( inch)Medium: Acrylic on Nepali paper । Year:
मिथिला कलाका ख्यातिप्राप्त चित्रकार एससी सुमनद्वारा रचित राम - केवट प्रसंगको यो चित्र भक्ति, विश्वास र लोकजीवनको गहिरो दर्शन बोकेको अनुपम कृति हो । वनवासका क्रममा राम, सीता र लक्ष्मण ऋषि विश्वामित्रको आश्रमतर्फ जाँदै गर्दा गङ्गा नदी पार गर्नुपर्ने हुन्छ । त्यो स्थानलाई परम्परागत रूपमा श्रृंगवेरपुर (आजको प्रयागराज नजिक) मानिन्छ । त्यहाँ केवट (माझी) आफ्नो डुङ्गा लिएर नदी किनारमा बसिरहेको हुन्छ। रामले नदी पार गरिदिन आग्रह गर्नुहुन्छ । तर केवटले नम्रतापूर्वक एउटा अनौठो अनुरोध गर्छ ।
चित्रमा गङ्गा नदीको शान्त प्रवाहसँगै केवट मुस्कुराउँदै भगवान् रामसँग संवाद गरिरहेको दृश्य जीवन्त बनेको छ । केवटको श्रद्धाभावको मूल कारण अहिल्या प्रसंग हो । रामको चरण-स्पर्शले ऋषि गौतमकी पत्नी अहिल्या ढुंगाबाट नारी बनेको कथा स्मरण गर्दै केवट डर र भक्तिले भरिएको स्वरमा पहिले चरण धोइदिन आग्रह गर्छ । यही विश्वास चित्रको आत्मा बनेको छ ।
मिथिला कला आफ्ना सांकेतिक रेखा, गाढा रङ्ग र धार्मिक भावनाका लागि प्रसिद्ध छ । यस चित्रमा कचनी र भरनी शैलीको सन्तुलित प्रयोग गरिएको छ । कचनी शैलीका सूक्ष्म रेखाहरूले आकृतिमा लय र जीवन भरेका छन् भने भरनी शैलीका गाढा रङ्गहरूले दृश्यलाई आध्यात्मिक गरिमा प्रदान गरेका छन् । कचनी शैलीका सूक्ष्म रेखाले वस्त्र, आभूषण र तरङ्गित जललाई जीवन्त बनाएका छन् भने भरनी शैलीका गाढा रङ्गले आकृतिलाई आध्यात्मिक गहिराइ दिएका छन् ।
रामको करुण मुस्कान, सीता र लक्ष्मणको शान्त उपस्थितिले दृश्यलाई मर्यादित बनाएको छ । गङ्गा तीरको प्राकृतिक सौन्दर्य, डुङ्गा र पात्रहरूको भावभंगिमाले चित्रलाई केवल दृश्य होइन, निष्काम सेवा, विश्वास र मुक्तिको महान् सन्देश बोकेको ओजपूर्ण कलाकृति बनाएको छ । जहाँ साधारण माझीको भक्ति स्वयं भगवान् सँग समकक्ष उभिएको देखिन्छ ।
Title: राम–केवट (माझी)को प्रसंग । Size: 29" X 20" Medium: Acrylic on Nepali paper । Year:
रामायणको अत्यन्तै चर्चित प्रसङ्ग- केवट् (माझी) द्वारा प्रभु रामका चरण धोएर गङ्गा नदी पार गराइने क्षण । मिथिला चित्रकलाको कचनी शैलीमा, केवल कालो रङको प्रयोगद्वारा, प्रसिद्ध चित्रकार एससी सुमनले अद्वितीय रूपमा जीवन्त बनाएका छन् । रेखाको सूक्ष्मता, लय र भावनात्मक गहिराइका कारण उनी “Master of Line Painting” भनेर चिनिन्छन्, र यो चित्रले त्यस उपाधिलाई पूर्ण रूपमा पुष्टि गर्छ ।
चित्रमा गङ्गा नदीको बहाव र तरङ्गहरू रेखात्मक लयमा प्रवाहित छन् । डुंगाको गति केवल भौतिक यात्रा होइन, त्यो राम, सीता र लक्ष्मणको वनवासको पीडा बोकेको आध्यात्मिक यात्रा पनि हो । माझीको अनुहारमा देखिने भाव, एकातिर करुणा, दयाभाव र कर्तव्य, अर्कातिर प्रभु दर्शनको अपार आनन्द - चित्रको केन्द्रबिन्दु बनेको छ । सीताको करुण दृष्टि र रामको शान्त तेजले दृश्यलाई मौन तर ओजपूर्ण बनाएको छ ।
यात्रा सम्पन्न भएपछि, गङ्गा तरेर जब पारिश्रमिक दिने समय आउँछ, रामसँग केही नहुँदा सीताले आफ्नो अँगुठी दिन खोज्छिन् । तर केवट् त्यसलाई अस्वीकार गर्छ। उसलाई धन वा आभूषण होइन, प्रभु रामका चरणधुलो नै पर्याप्त हुन्छ, किनकि त्यो धुलो नै जीवन उद्धार गर्ने अमूल्य पारिश्रमिक हो । यही भावनात्मक र दार्शनिक उचाइलाई सुमनले केवल रेखामार्फत व्यक्त गरेका छन् । शब्दविहीन रेखाहरूले नै भक्ति, त्याग र दर्शनको महत्व बोलिरहेको यो चित्र मिथिला कलाको सर्वोच्च उदाहरण बनेको छ ।
Title: The Golden Deer ( सुनौलो हरिण ) । Size: 21" X 32" । Medium: Acrylic on Nepali paper । Year:
रामायणकालीन लोककथाको अत्यन्त भावप्रवण प्रसङ्ग सुनौलो हरिण लाई आधार मानेर प्रसिद्ध मिथिला चित्रकार एससी सुमनले सिर्जना गरेको यो चित्र मिथिला चित्रकलाको शिखर अनुभूति हो । यो केवल एक दृश्यात्मक कृति होइन; यो लोक, मिथक, दर्शन र समकालीन चेतनाको सजीव संगम हो । रेखा चित्रणका “Master Artist of line painting” को नाउँ ले चिनिने सुमनको हस्ताक्षरयुक्त यो कृतिमा Mithila Cosmos पूर्ण जीवन्त भएर प्रकट भएको छ ।
चित्रको केन्द्रमा रहेको सीताको कोमल आकांक्षा, सौन्दर्य प्रेम र मानवीय भावनाको प्रतीक बनेर उभिएको छ । हरिण चाँदीजस्ता धब्बाले सजिएको, रत्नझैँ टल्किने आँखायुक्त हरिण केवल आकर्षणको वस्तु मात्र होइन; यो भ्रम, इच्छा र नियतिको सूक्ष्म संकेत पनि हो । सीताको हरिण प्रतिको आकर्षण तर त्यसको पछि लागेका रामको भाव चित्रणले कथाको गहिराइलाई चित्रमा उतारेको छ ।
चित्रमा उपस्थित वृक्षहरू मिथिला सभ्यतामा प्रकृतिको सर्वोच्च स्थानको स्मरण हुन् । प्रत्येक पात–पातमा जीवनको स्पन्दन छ, मानौँ प्रकृति स्वयं चित्रकारको रेखामा रमाइरहेकी हो । बगिरहेको नदीमा लहरै तैरिरहेका माछाहरू मिथिला चित्रकलाको अनिवार्य सौन्दर्यतत्त्व मात्र नभई जीवनको निरन्तरता र सन्तुलनको प्रतीक हुन् । यसले आजको विश्वले सामना गरिरहेको पर्यावरणीय संकटप्रति पनि सूक्ष्म तर शक्तिशाली सन्देश दिन्छ । मानव र प्रकृतिबीचको सम्बन्ध बिग्रँदा सृष्टि नै असन्तुलित हुन्छ ।
चित्रको कोर किनारी (बोर्डर) मिथिला परम्पराको सशक्त पहिचान हो । त्यसभित्र प्रेममा मग्न चुम्बनरत माछाको जल क्रिडा, रुखमा झुन्डिएर प्रेममा मग्न चुम्बनरत सर्पको जोडीले सृष्टिको आदिम प्रेम, सृजनशीलता र सहअस्तित्वको भाव प्रकट गर्छ। रङ, रेखा र रूपाकारको सहज संयोजनले चित्रलाई असाधारण लय प्रदान गरेको छ । कहीं रङ बोल्छ, कहीं रेखा मौन रहँदै कथा सुनाउँछ ।
समग्रमा सुमनको सुनौलो हरिण चित्र रामायण कथा र मिथिला लोक कथाको चेतना, पर्यावरणीय संवेदना र मानवीय भावनाको कलात्मक घोषणापत्र हो । यो चित्र हेर्ने आँखालाई मात्र होइन, आत्मालाई पनि स्पर्श गर्छ । मिथिला चित्रकला किन विश्वभर सम्मानित छ भन्ने प्रश्नको उत्तर आफैं बनिन्छ ।
Title: Ashok Vatika ( अशोक वाटीका ) । Size: 21" X 32" । Medium: Acrylic on Nepali paper । Year: 2025
रामायण तथा मिथिला क्षेत्रका प्रचलित लोककथा र लोकगीतको गहिरो अध्ययनबाट प्रेरित भई प्रसिद्ध मिथिला चित्रकार एससी सुमनले सिर्जना गरेको “अशोक वाटिका” शीर्षकको चित्र भाव, कथा र कलाको अनुपम संगम हो । सुनौलो हरिणको लोभ र छलमा परी लङ्काधिपति रावणद्वारा सीताको हरण र उनलाई लङ्काको अशोक वाटिकामा बन्दी बनाइएको करुण कथा यस चित्रको मूल विषय हो ।
चित्रमा अशोक वृक्षमुनि रामको स्मृतिमा शोकाकुल भएर उदास बसेकी सीताको मार्मिक अभिव्यक्ति अत्यन्त सजीव देखिन्छ । सीताको सुरक्षाका लागि नियुक्त त्रिजटाको उपस्थितिले कथालाई अझ विश्वसनीय र भावनात्मक बनाएको छ । शोकसन्तप्त रामले पठाएका दूत हनुमान सूक्ष्म रूप धारण गरी लङ्कामा प्रवेश गर्दै रामनाम अंकित औँठी सीतालाई अर्पण गर्ने क्षण चित्रको केन्द्रबिन्दु बनेको छ । चित्रको तल्लो किनारामा वाल्मीकि रामायणका सन्दर्भयुक्त श्लोकहरू क्यालिग्राफिक शैलीमा प्रस्तुत गरिएको छ, जसले साहित्य र चित्रकलाबीच सेतु निर्माण गरेको छ । शिवलिङ्गहरूका बीच दस टाउके रावण, उसको दरबार तथा वास्तुशिल्पीय संरचनाले पौराणिक लङ्का र आधुनिक लङ्कालाई एकै क्यानभासमा समेट्न सफल देखिन्छ । समग्रमा, “अशोक वाटिका” मिथिला चित्रकलाको परम्परा, कथा र सृजनात्मक चेतनाको उच्चतम अभिव्यक्ति हो । निस्सन्देह एक उच्चकोटिको कलात्मक कृति हो ।
Title: Celebration of Holi, Janakpur (होली उत्सव ) Size: 28" X 21" । Medium: Acrylic on Nepali paper । Year: 2025
जनकपुरधामको धार्मिक अनुशासन, सांस्कृतिक गरिमा र ऐतिहासिक चेतनालाई समेट्दै प्रसिध्द मिथिला चित्रकार एससी सुमनको “होली उत्सव” शीर्षकको चित्र एक जीवन्त दार्शनिक अभिव्यक्ति बनेर उभिएको छ । रामायणकालीन स्थानहरु मिथिलाको तीर्थ स्थाल परिक्रमा सम्पन्न भई भक्ति र साधनाको चरण पार गरेपछि मात्र उल्लासमा रूपान्तरित हुने होलीको आत्मा यस चित्रमा सूक्ष्म तर ओजपूर्ण ढङ्गले उतारिएको छ । प्रकृतिका तत्त्व, बाजा - गाजा, नव रस र नव रङको सन्तुलित संयोजनले चित्रलाई केवल दृश्य सौन्दर्यमा सीमित नराखी सांस्कृतिक चेतनाको उज्यालो दस्तावेज बनाएको छ ।
चित्रको केन्द्रमा देखिएको चुम्बनरत सुगाको जोडी, मिथिला चित्रकलामा “लटपटिया सुगा” - प्रेम, निष्ठा र दाम्पत्य समर्पणको प्रतीक हो । यी सुगाहरू केवल प्रेमिल दृश्य होइनन्; राम - सीताको दिव्य सम्बन्ध, समाजमा सहअस्तित्व र सौहार्दको संकेतक पनि हुन्। मिथिला कलामा यस्ता प्रतीकात्मक रूपाकारहरूले अर्थको तह खोल्छ्न। रेखा अनुशासित छन्, रङ संयमित छन्, र भाव गहिरो छ ।
रङ, रेखा र रूपको सहज संयोजनले चित्रलाई दार्शनिक उचाइ मात्र होइन, विशिष्ट पहिचान पनि दिएको छ । “होली उत्सव” भक्ति–अनुशासनबाट जन्मिएको सामाजिक आनन्दको चित्रात्मक उत्सव हो , जहाँ मिथिलाको आत्मा र परम्पराको शाश्वतता मोहक ढङ्गले उजागर भएको छ ।
sdaskayastha@gmail.com






.jpg)


Comments
Post a Comment