Skip to main content

कला, चित्रकला र चित्रकार

 कला, चित्रकला र चित्रकार

साहित्यपोस्ट

फाल्गुन ७, शनिबार १०:०१

एस. सी. सुमन

एससी सुमन

चित्रले शून्यलाई अभिव्यक्ति दिन्छ। सम्पूर्ण भाषा, सङ्गीत र साहित्य चित्रकला विधामा अटाएको छ। जसमा आफू भित्रको अन्तर भावको आवेग हुन्छ, त्यतिखेर अभिव्यक्तिको लागि क्रियाको प्रस्फुटन हुन्छ। यो क्रियाले माध्यम खोज्छ । माध्यम कहिले कला, काव्य बन्छ भने, कहिले सङ्गीत र नृत्यलाई आत्मसात गर्छ। आदिम मानव काँचो कोइलाले ढुंगामा आफ्नो कलाको निशान छाडे, बोटविरुवाबाट निकालिएको रङले बनाएको चित्र अथवा ढुंगामा उत्कीर्ण नक्काशीको रुपमा आज पनि विध्यमान छ। आफू भित्रको मनोभाव र अनुभूतिलाई अभिव्यक्त गर्न केही सशक्त माध्यममध्ये एक हो, रेखाचित्र । कलाको सम्बन्ध मानिसको जीवन र जगतसँग अन्योन्याश्रित रहेको हुन्छ। विश्व मञ्चमा यो विधा साहित्य, सङ्गीत, कला र कलाका अन्य विधाहरूभन्दा उच्च र जेठो विधाका रुपमा प्रतिष्ठित छ। संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ। कारण, यसलाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पर्दैन। सत प्रतिशत केही हुँदैन, किनकि प्रत्येक क्षण परिवर्तनशील छ। त्यो पनि हाम्रो ज्ञात गति भन्दा धेरै। मानिस प्रकृतिको घटक हो। आज मानव-समूह भूगोलको नाउँमा देश, राजनीतिको नाउँमा राष्ट्र, आचार-संहिताको नाउँमा धर्म, वर्ग, जातिमा विभक्त भएको छ। प्रश्न छ, विश्वको जनसाधारण एक किन हुन सक्दैन ?

प्रकृति परिवर्तनशील हो, विकासशील हो। प्रगतिशीलता उसको गुण हो। अत: मानिसद्वारा सर्जित कला पनि विकासमान हो। व्यक्ति चेतनाको आपसी सम्बन्ध विश्व-चेतना र कलाकृति आन्तरिक गुणसँग जोडिन्छ। रङको भाषा विश्व-जीवन भाषा हो। लाखौँ वर्ष पहले भित्ते चित्रको माध्यमले हाम्रा पूर्वजले भनेका कुरा बुझ्दै जाँदा झन्झन् रोचकता थपिँदै जान्छ। झन् थप कुराहरू बुझ्ने जिज्ञासा बढ्दै जान्छ।

एससी सुमन

आदिम कलाकृतिबाट प्राप्त कला अवशेषहरूबाट ज्ञात हुन्छ, तत्कालीन अधिकांश प्रतीक चित्र प्रकृति, सिकार, आमोद-प्रमोद, जादू-टुना घरेलू उपकरण आदि विषयमा सीमित थिए। अतः भन्न सकिन्छ, प्रत्येक कालको कलामा रहेको प्रतीकमाथि तत्कालीन परम्परा, आस्था, आचार व्यवहारको प्रभाव अपेक्षित हुन्छ। यसरी प्रागैतिहासिक चित्रको खोजमा पहाड़गण चित्रमा वैष्णव, शैव र तन्त्र सम्प्रदायको प्रतीक चिह्न चित्रित भएको पाइन्छ। जसले अनुमान लगाउन सकिन्छ कि त्यहाँ आर्य संस्कृतिको प्रादुर्भाव थियो। किनकि आर्यहरुले सूर्यको पूजा गर्ने गर्थे। उसको चित्रांकन यहाँ भएको थियो। आज पनि मिथिलान्चलमा ‘छैठ’ धुमधामले मनाइन्छ। मानवको आदिम अवस्थाले नै धर्मको विशेष महत्त्व दिन थालियो। प्राकृतिक शक्तिबाट बच्नको लागि प्राकृतिक उपज रुख आदिलाई देवत्व स्वरूप मानेर उसको उपासना गर्नको लागि त्यसको चित्रण गर्न थालियो। तत्कालीन अधिकांश चित्रण धार्मिक प्रतीकात्मक चित्रण सँगसँगै ज्यामिति डिजाइन र प्रतीकको चित्र पनि बनाउँथे। जो यद्यपि मिथिला संस्कृतिमा सजिलै जीवन्त परम्पराको रुपमा देखन सकिन्छ।

कला के हो ? प्रश्न सुन्दा धेरै सरल र साधारण लाग्छ। कला शब्द, मानवले गर्ने विभिन्न प्रकारको काम व्यापारको लागि, बिना कुनै विवेक प्रयोग गरी प्रयोग गरिन्छ। मानवले गर्ने उद्यमदेखि लिएर केश-विन्यास, खाना पकाउनु, वा चेस खेल्ने कौशल समेतलाई भन्निन्छ। तसर्थ कुनै एउटा परिभाषाले यो शब्दलाई पूर्णरुपेण स्पष्ट गर्न सक्दैन। यदि हामी कला शब्दको र उसको स्वाभाविक क्षेत्रसम्म सीमित राखौँ । जस्तोः संगीत, साहित्य, नाटक, चित्रकला, मूर्तिकला, वास्तुकला र हस्तकला सम्ममा पनि कुनै सतोषजनक उत्तर खोज्ने प्रयासरत छौँ। कला तथा सौन्दर्य शास्त्रको विज्ञले पनि यो प्रश्नको निश्चयात्मक उत्तर दिन असमर्थ रहेका छ्न्। विद्वानहरूले आ-आफ्नो अनुकूल व्याख्या गरेका छ्न्। तसर्थ कलालाई परिभाषित गर्नुभन्दा, जान्ने कोसिस आखिर कलाकृति अस्तित्वमा कसरी आउँछ। जस्तो कि, साधारणतः मानिन्छ, सृजन-आवेग नै सबै कलाको मूल शक्ति हुन्छ। संगीतज्ञ यस्तो रचना गर्न प्रेरित रहन्छ, जो स्रोतालाई सुन्न राम्रो लागोस्। लेखक यस्तो साहित्यकारले, पढ्नमा राम्रो लाग्ने रचनाको लागि प्रेरित रहन्छ । यसरी नै चित्रकार, मूर्तिकार र हस्तशिल्पी यस्तो कृतिको सृजना गर्नको लागि प्रेरित रहन्छ, जो हेर्नमा राम्रो लागोस् र अर्थपूर्ण होस्। यो सृजनको रोमान्च, कुनै नयाँ बनाउने उत्तेजना नै हो, जो यो सबैलाई यसको लागि श्रम गर्न तथा सर्जकको शक्ति प्रदान गर्न सक्षम बनाउँछ। जसरी कलाकारको सृजन सजीव हुन्छ, उसलाई परम आनन्दको अनुभव हुन्छ। कलाकार आफ्नो सानो ससारको सर्जक हुन्। ईश्वरलाई पनि सर्जक भनिन्छ।

पहिलो कोटीको कलाकार सत्यं, शिवं र सुन्दरंको सुमिरनमा आफ्नो भावोच्छ्वासको मनन गर्छन्। तर सत्यं, शिवं र सुन्दरम् को अर्थ सोध्दा उत्तरको विश्लेषण गर्दा मात्र अल्झेको विचारको धागो पाइन्छ। वस्तुतः यस्ता कलालाई कलाकारहरूको सर्वथा वैयक्तिक व्यक्ति अनुभूतिको घेरामा घेरेर राख्न चाहन्छ। तसर्थ त्यसको कलालोचनको कसी निजी भावना हुन्छ। यस विचार धारको अभिव्यक्ति छायाँवाद र रहस्यवादमा हुन्छ र अन्तमा त्यो विषाक्त व्यक्तिकताको दलदलमा हराएर जान्छ। तर यी सब दशामा यसको पछाडि जीवनको अनुभूति अवश्य हुन्छ तर जीवन नितान्त व्यक्तिगत रहन्छ र अनुभूति वाचवीय।

एससी सुमन

दोस्रो दृष्टिकोण कलाको स्वतन्त्र सत्ताको आफ्नो आधारशीला मान्छ। यस मतलाई मान्नले सर्जकको व्यक्तित्वबाट अगल गरेर रुप विन्यास र शिल्प भाषामा कलाको सिद्धान्तको निरुपण गर्छ। यीनको मान्यता ‘कला, कलाको लागि’। यो कलाकृतिका बुझ्न अथवा कला सृजनाको लागि जीवनको व्यक्तिगत अथावा सामाजिक–संस्पर्शको अनावश्यक मान्छन्। तसर्थ यस विचारको परिणति पहिलो अनुरुप व्यक्तिगत अभिरुचि, चिन्तन र रुप योजनामा हुन्छ।

तेस्रो दृष्टिकोण, जो जडवादी हुन्छ । इतिहासको आर्थिक व्याख्यालाई आफ्नो आधार मान्दछ। यसले प्रथम दुवै दृष्टिकोणलाई निराकरण गर्छ, किनकि यस दृष्टिबाट जो आदर्श कला हुन्छ, त्यसमा वर्ग संघर्षको सूत्र भेटिनु पर्दछ। त्यसमा भावको उत्कर्ष र रुप विन्यासको कुशलता दुवै गौण हुन्छ। यस प्रकारको कलाका उदाहरण कम्युष्टिको मार्ग भ्रष्ट तथा कथित प्रगतिवादी साहित्यमा भेटिन्छ।

उपयुक्त तीनै दृष्टिकोणमा जे फरक छ त्यो मात्र मतवादको कारण हुनजान्छ, अन्यथा विभिन्न यस्ता स्थल छन् जहाँ तीनै सीमा एकअर्कासँग अल्झेको छ। यसको अर्थ हो, कलाको लागि भौतिक जीवनका अनुभूतिहरू र भावना जति सत्य छ, त्यति नै उनको रुप योजना पनि। जहाँ दुवै सत्यको समन्वय हुन्छ, कला सद्यः निखारिन्छ।

एससी सुमन

यसरी नै चित्रकलालाई बुझ्न खोज्दा भनिन्छ, यसको औचित्य दृष्टिगोचर भएर नै पूरा हुने हुँदा दृष्टि अनुभूतिबाट नै आनन्दको पराकाष्ठामा पुगिन्छ। केन्नेथ क्वार्क भन्छन्– ‘कला सम्पूर्णतः हाम्रा ज्ञान, हाम्रा स्मृति र हाम्रा सम्बन्धहरुसँग सम्बन्धित छ।’ जे होस्, मानव विकासपश्चात् साङ्केतिक बाटोबाट रेखाङ्कित रुपमा शब्द र भाषामा प्रतिस्थापित हुँदै आएको यो विधालाई भौतिक, अभौतिक, आध्यात्मिक र दर्शनको सुन्दर अभिव्यक्ति गर्ने माध्यमका रुपमा आज विश्व जनमञ्चले स्वीकारेको छ। सृजनाको यो आनन्द मात्र कलाकारसम्म सीमित रहेमा यो कला केही हदसम्म आत्म- मनोरञ्जन, एक प्रकारको सौन्दर्यात्मक वा बौध्दिक स्तरसम्म राखिन्छ। जसले सृजनकर्तालाई आनन्द दिन्छ तर लोकजनको लागि कुनै कामको हुँदैन। तर कुनै कलाकारको सृजनको आफ्नो एउटा स्वतन्त्र जीवन हुन्छ, जो कलाकारको मृत्यु र कलाकारलाई बिर्सिसकेर पनि रहिरहन्छ। उसको सृजनामा उसको आत्मा बस्छ, जसले ऊ अमर हुन्छ। जति समय बिते पनि उसको सम्पर्कमा आउने लोकजनलाई उसलाई प्रभावित गरिरहन्छ।

एससी सुमन

कला समाजको अभिन्न सम्बन्धको प्रभाव कलाको संघटन र समाजको विचारधारको विकासमा पर्छ। मानव जीवन र सभ्यता एवं संस्कृतिको विकासको साथ नै त्यसको जीवनको प्रयासमा विशिष्टिकरणको प्रकृति तिव्रता थियो। फलतः कलाको विभिन्न भेद–उपभेद बन्यो। पहिले मात्र रेखाकृतिको र साहित्यको नाममा मंत्र र लोक गीत यो मौखिक पाठ हुन्थ्यो र आज चित्रकला मूर्तिकला वास्तुकला, संगीत र काव्य कला हो, कला र उपन्यास हो। कलाकारहरूका कृतिले समयानुकूल कलाको नवशैली, मान्यता र नौलो जागरणलाई आत्मसात् गर्दै क्रमशः अगाडि बढ्दै नौलो सैद्धान्तिक वाद स्थापित गरेका र गर्ने प्रयत्न गरिरहेकाले नै यिनहरूका कृतिहरू आज विश्व बजारमा बहुमूल्य र संरक्षित बनेका र बन्दै गएका हुन्। कलाको मूल्य हुँदैन भन्नुको कारण पनि यही हो।
artistsuman.scd@gmail.com


Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA

प्रतीक – उद्भव र विकास