Skip to main content

मिथिला कला, मकर संक्रान्ति र तुसारी पूजा

 मिथिला कला, मकर संक्रान्ति र तुसारी पूजा

एससी सुमन

पुष ३०, शनिबार १०:०१

एससी सुमन

सौर्यमण्डल एक खगोलीय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्दछन्। पृथ्वी लगायतका ग्रहहरूले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ। सौर्यमण्डलको बीचमा सूर्य रहेको छ। ऋतु परिवर्तनको कारण पृथ्वी द्वारा सूर्यको चारैतिर परिक्रमण र पृथ्वीको अक्षीय झुकाव हो। यो झुकाव सूर्यको चारैतिर परिक्रमाले गर्दा वर्षभरि एकपछि एक छुट्टाछुट्टै समय र ऋतु हुने गर्छ। दिन-रातको अवधिमा पनि घट-बढ हुँदै एक वार्षिक चक्र निर्माण हुन्छ। माघ महिनामा सूर्य मकर रेखाबाट कर्करेखातिर बढिरहेको हुन्छ । यो कार्य प्रारम्भ हुने दिनलाई नै मकर संक्रान्ति भनिन्छ अथवा माघे संक्रान्तिको दिन सूर्य मकर रेखाबाट कर्क रेखातिर आउँछ। सूर्य विसुवत रेखा पार गर्दै कर्क रेखातिर गमन गर्छ र पुनः कर्क रेखाबाट विसुवत रेखा पार गर्दै मकर रेखातिर बढछ। यो चक्र पूरा गर्न सूर्यलाई एक वर्ष लाग्दछ । मकरबाट कर्क रेखातिर गमन गर्दा सूर्य उत्तरायण हुन लागेको मानिन्छ, दिन लामो र रात छोटो हुने क्रम शुरु हुन्छ। यसरी नै जब कर्क रेखाबाट मकर रेखातिर सूर्य जब गमन प्रारम्भ गर्दछ, रात लामो र दिन छोटो हुन थालछ । यसलाई सूर्यको दक्षिणायन हुन लागेको भनिन्छ।

मकर संक्रान्तिलाई मिथिलांचलमा अत्यन्त महत्त्वपूर्ण मानिएको छ। माघे संक्रान्ति कृषि उत्सव पनि हो। संस्कृति कुनै देश वा जातिको आत्मा हुन्छ। त्यसमार्फत त्यस देशको सम्पूर्ण संस्कारको बोध हुन्छ जसको आधारमा त्यसको आफ्नो सामाजिक आदर्शको निर्माण हुन्छ। यसै दिनबाट माघ स्नान पनि प्रारम्भ हुन्छ जो माघभरि चल्छ। यस माघ संक्रान्तिको दिन गंगा, कोशी, गण्डकजस्ता पवित्र नदीमा स्नानको विशेष महत्त्व हुन्छ। यस संक्रान्तिका दिन बिहानीपख स्नानगरी तीलको दान र तील खाने गरिन्छ। स्नान गरी ‘तीलाठी’ यानि तीलको डाँठ बाल्ने र त्यसको आगोबाट जीउलाई तताइन्छ। यस दिन तीलको लड्डु बनाएर खाने चलन मिथिलांचलमा निकै प्रचलित रहेको छ। यस दिन घ्यू खिचडी पनि पकाएर खान्छन्। तसर्थ यसलाई यसै तीलासंक्रान्ति पनि भनिएको छ ।

मिथिलाञ्चलमा तुसारी पूजा मकर संक्रान्तिबाट कुम्भ संक्रान्तिसम्म एक महिनापर्यन्त गरिन्छ। ताराचरणचन्द्रिकामा उल्लिखित तुषारप्रभा भगवतीको बयानअनुसार ती देवीको उपासना गर्ने सिलसिलामा यो पूजा गरिन्छ। यसलाई मिथलामा तुसारी पूजा भनिन्छ। तुषारका पूर्वाङ्गी, तुषारका सुन्दरी, तुषारका र तुषारांशुका नाममा यो पूजा गरिन्छ। बिहानै काग कराउनुभन्दा पहिले गरिने पूजा यो हो। मिथिलामा कुमारी कन्याबाट यो पूजा गराइन्छ। विवाह भएको वर्षको माघ महिनामा यस पूजाको अन्त्य तिनै कन्याबाट गराइन्छ। सेतो अरिपनमा सबै गुणले सम्पन्न वर पाउने, पहेँलो अरिपन धनधान्यको परिपूर्णता हुने, रातो अपरिपन सबै प्रकारका रोगको नाश गरी स्वस्थ बन्ने कामनाको प्रतीक मानेर यस पूजामा सूर्य, चन्द्र तथा नवग्रहको अरिपन निश्चित मन्त्र पाठ गरेर लेखिन्छ ।

यो पूजा घरको आँगनमा गरिन्छ। यस अवसरमा कुमारी कन्याहरू महिनाभरि नै उत्साहित हुन्छन्। उनीहरू साँझको समयमा पूजा सामग्री तयार पारेर राख्दछन् र बिहान चार बजे नै उठी नित्य कर्म गरेर पूजाका लागि तयार हुन्छन्। माघ महिनाको चिसो र तुसारोमा पूजा गराउँदा कुमारी कन्यालाई शिक्षा दिइन्छ। बिहानै उठेर घरको आँगनमा हिँडेमा प्रभाती स्वच्छ वायु सेवन गर्न पाइन्छ। त्यसबाट शरीर स्वस्थ्य रहन्छ र आलस्य भाग्दछ। विवाहपश्चात् ती कन्या गृहकार्यमा बिहानदेखि नै सक्रिय बनून् भन्ने उद्देश्यले पनि यो पूजा कन्याबाट गराइएको देखिन्छ। यहाँबाट नै मिथिलामा कन्याहरूलाई मिथिला चित्रकलामा आफ्नो जेठो पुस्तालाई विधिवत् प्रवेश गराइन्छ।

अब केहि चर्चा विभिन्न प्रकारको अरिपनको
अरिपन विभिन्न प्रकारका हुन्छन्, जो विभिन्न अवसरका लागि लेखिन्छ। छटीयार(जन्मको छटौँ दिन) पूजा, मुण्डन, कर्ण भेदन, यज्ञोपवीत संस्कार, विवाह एवं द्वादश(मृत्यु उपरान्त) का लागि छुटाछुट्टै लेखिने परम्परा रहेको छ। तुसारी अरिपन – अरिपन तुसारी पूजाको शुभ अवसरमा लेखिन्छ, यो मकर संक्रान्ति र फाल्गुन संक्रान्तिको बीचमा हुन्छ। यसमा मन्दिर, चन्द्रमा, सूर्य र नवग्रह लेखी, चारै दिशालाई पनि दर्शाइएको हुन्छ।

तुसारी पूजाको अरिपन
अरिपन चित्र मन्दिरको रूपमा बनाइन्छ। त्यसमा देवताका ठाउँमा गौरीको यन्त्र लेखिन्छ। सेतो र पहेँलो रङको मन्दिररूपी अरिपनमा सबभन्दा माथि मन्दिरको त्रिशूलको तीन पातको दूर्वा दलको चित्र बनाइन्छ। त्यस्तो चित्र ब्रह्मा, विष्णु, महेश अर्थात् त्रिमूर्तिका त्रिशक्तिको प्रतीक मानिन्छ। त्यसमा सत्त्वगुण, रजोगुण र तमोगुण अर्थात् सृष्टि पालन र संहारको प्रतीक दिइन्छ। त्यस अरिपनको स्थान सर्वोपरि मानिन्छ। त्यसपश्चात् मन्दिरको गुम्बजको आकारमा सुन्दर सुकोमल तथा सुगन्धित तीन पातयुक्त कमल पुष्पमा सर्वश्रेष्ठ कमलको चित्र प्रातः, मध्याह्न र सन्ध्या समेतका त्रिकालका प्रतीकका रूपमा लेखिन्छ। त्यसमा सम्पूर्ण सृष्टि व्याप्त रहेको विश्वास गरिन्छ।

त्यसपछि सेतो अरिपनमा तीन वृत्ताकार क्षेत्र अर्थात् सृष्टि धारण गर्ने तीन भुवनको प्रतीकका रूपमा गर्भ मन्दिर बनाइन्छ। सृष्टिरूपि मन्दिरको माथिल्लो भागमा अङ्कित दीपको स्थान बिन्दुबाट घेरिएको हुन्छ। मन्दिरको बीच भागमा सृष्टिको आदि शक्तिका रूपमा रातो बिन्दुयुक्त भगवती गौरीको यन्त्र बनाइन्छ। त्यसले सृष्टिमा सबै कामना पूरा गर्ने विश्वास गरिन्छ।

अरिपनमा बनाइएको पहेँलो रङको गुम्मज आकारको चित्रमा तीनपाते कमल (पदम पंखुरी) अङ्कन गरी मन्दिरको माथिल्लो बीच भागमा त्रिकोण बनाइएको हुन्छ। त्यो पाञ्चायन देवता र पृथ्वी, जल, वायु, आकाश र अग्नि समेतका पाँच तत्त्वको प्रतीक मानिन्छ। त्यस अरिपनका बीच भागमा गौरीको यन्त्र बनाइएको हुन्छ। पहेलो अपरिपन बेसारको धुलोले लेखिन्छ।

मन्दिरको गुम्मजका ठाउँमा अङ्कित तीन रेखायुक्त तीन कोण तीन गुण र त्रिमूर्तिका प्रतीक मानिन्छन्। त्यो चित्र सृष्टिको उत्पत्ति गर्ने शक्तिरूपि बिन्दुबाट घेरिएको हुन्छ। त्यसको मध्य भागमा रातो रङ अर्थात् सिन्दुरको प्रयोग गरेर गौरीको यन्त्र बनाइन्छ। सेतो, पहेँलो र रातो अरिपनको रङको पनि विशेष अर्थ लगाइन्छ । रसराजसुन्दरका अनुसार सेतो रङ अर्थात् अरुवा चामको पीठो ब्राह्मण वा उत्तम श्रेणीको प्रतीक मानिन्छ। त्यो शुक्र ग्रहका लागि प्रिय हुन्छ भनिन्छ। रातो अर्थात् सिन्दुर रङ क्षत्रीय वा मध्यम श्रेणीको मानिन्छ। त्यसलाई व्याधि विध्वंसी र रवि ग्रहको प्रिय मानिन्छ। सर्वसिद्धप्रद ठानिने पहेँलो रङ अर्थात् बेसारको पीठो वैश्य वा अधम श्रेणीको मानिन्छ। त्यसलाई धनप्रद र गुरु वृहस्पतिको प्रिय रङ ठानिन्छ। यी तिनै रङका प्राकृतिक गुणको विस्तृत विवरण श्रीमद्भगवद्गीताको चौधौँ अध्यायमा गरिएको छ।

तीलको लड्डु मात्र होइन च्युराको लड्डु, मुरहीको लड्डु बनाएर खाने चलन पनि छ। यस संक्रान्तिको दिन दान-पुण्यको विशेष महत्त्व रहेको छ। गृहदेवको अगाडि कमल फूलको अरिपन (भूमि लेखन) गरी तील र चामलले पूजन गरिन्छ। यसै दिन ब्राह्मण समाजमा बिहे नभएकी छोरीहरू तुसारी पूजन आरम्भ गर्दछिन् र बिहे नभएसम्म यो पूजन गरिरहन्छे। तुसारी भनेको गौरी पूजन नै हो। कायस्थ कन्याहरू विवाह उपरान्त पहिलो वर्ष यो पूजा गर्ने गर्छन्। बिहेको पहिलो वर्षदेखि पृथ्वी पूजा र साँझ पूजा आरम्भ गरी पाँच वर्षसम्म गरिरहन्छे। एउटा माघे संक्रान्तिपछि अर्को माघे संक्रान्तिसम्म जसको बिहे भएको छ त्यसको माइतीबाट वर-वधुका लागि जाडोयामको लागि विशेष लुगाहरू पठाइन्छ जसलाई “जडाउर” पनि भनिन्छ। कायस्थ समाजमा यस संक्रान्तिको दिन नवविवाहिताद्वारा नयाँ माटोको चुलोमा नयाँ माटोको भाँडोमा पूजा गरिन्छ। यस ठाउँमा पहिलो संक्रान्तिमा पाँच वटा तरकारी र माछा, दोस्रो वर्ष यसै दिन दस वटा तरकारी र माछा र तेस्रो वर्ष पन्ध्र वटा तरकारी र माछा र चौथो वर्ष बीस वटा तरकारी र माछा र पाँचौँ वर्षमा पच्चीस वटा तरकारी र माछाको हुनुपर्ने हुन्छ।

यस पूजनलाई विभिन्न नाउँले सम्बोधन गरिने क्रममा यसलाई भतराइस पनि भनिन्छ। यसमा बेहुलीको माइतबाट दाजू अथवा भाइ आउँछन् र विभिन्न फल र अन्नको ‘ढेरी’ लाई भंग गर्दछन्। माइतबाट कोही पनि आएन भने आफ्ना देवरबाट यो विधि गरिन्छ। बिहे नभएकी केटीले राम्रो वर पनि पाउन तुसारी पूज्छिन् भने विवाहित महिलाले सुखी र दीर्घ दाम्पत्य जीवनको लागि तुसारी अथवा साँझ पूज्छिन्।
तुसारी भनेको गौरी नै हो । गौरी दाम्पत्य जीवनको अधिष्ठात्री हुन्। रामायणमा पनि सीताले गौरी पूजा गरेकी थिइन्। गौरी पूजनकै क्रममा सीताको रामसँग भेट भएको उल्लेख छ । यसै मकर संक्रान्तिका दिनदेखि विभिन्न स्थानहरूमा मकर मेला लाग्दछ। जनकपुर नजिक धनुषाधाममा माघ महिनाभरि प्रत्येक आइतबार र मंगलबार मेला लाग्दछ। सिन्धुली र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा पनि माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ।

यस ठाउँमा टाढा-टाढाका व्यापारीहरू आउँछ्न। डा.महेन्द्र नारायण राम आफ्नो पुस्तक “लोकदर्शन” मा यस ठाउँको चर्चा गर्दै लेख्नुहुन्छ कि लोक देवता सलहेसकी बहिनी वनसपतो मकर संक्रान्तिको दिन आफ्नो सहेलीहरूसँग त्रिवेणीमा स्नान गर्न गएकी थिइन् र यसै ठाउँमा सतरखोलियाका राजा शैनीसँग माया-प्रीति बसेको थियो। त्रिवेणी मेला माघभरि लाग्दछ र आज पनि यस क्षेत्रका युवायुवतीहरूले यस मेलामा प्रेम सम्बन्ध बनाइरहेको पाइन्छ।

नेपालको बाराह क्षेत्रमा पनि माघभरि मेला लाग्दछ र टाढा-टाढाबाट व्यापारी एवं श्रद्धालुहरू यस ठाउँमा आउँछन्। माघी पर्वमा नेपालका अन्य क्षेत्रमा रहेको परम्परा दोलालघाट, पनौती, देवघाट, कावेरी, तमोर नदीजस्ता जलाशयका आस्थासँगै स्नान, दान, श्रद्धाचाराको साथ मकर संक्रान्ति मनाइन्छ। महाभारतमा पितामह भीष्मले यसै दिन आफ्नो इच्छामरणका लागि मृत्युलाई रोजेको जनविश्वास छ। नेवार समुदायका लागि घिउ, चाकू पर्व हुँदै मगर जातिसँग सम्बन्ध जोडिन्छ। शिशिर ऋतुको पहिलो महिनाको रुपमा यस माघ महिनालाई लिइन्छ र मास हालेर पकाएको तेल, तील, घिउ, चाकू, खिचडी पकाएर खाने परम्परा रहेको छ।

artistsuman.scd@gmail.com

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA