रेखामा ध्यान, यात्रामा शान्ति: मिथिला ब्रह्माण्डको तीर्थयात्री कथा - एससी सुमन



आजको विश्व बारुदको गन्धले होइन, करुणाको सुवासले बाँच्न खोजिरहेको छ । युद्ध, द्वन्द्व, असहिष्णुता र विभाजनले थिलथिलो बनेको मानव चेतनालाई शान्तिको सहारा चाहिएको यो घडीमा, कहिले अमेरिका भरि पदयात्रा गरिरहेका बौद्ध भिक्षुहरू, तिनका साथमा लंगडाउँदै पनि नछुट्ने कुकुर अलोका, त कहिले क्यान्भासमा कोरिएका सिद्धार्थका पदचिन्हहरू, यी सबै एउटै प्रश्न सोधिरहेका छन, के मानव अझै पनि शान्ति रोज्न सक्छ ?


फोटो: स्रोत गुगल

अमेरिकाको दक्षिण क्यारोलिनामा अलोकाको सफल शल्यक्रिया केवल एउटा पशु उपचारको खबर मात्र होइन; यो करुणा, सहअस्तित्व र अहिंसाको जीवित प्रतीक हो । टेक्सासदेखि वाशिङ्टन डी.सी. सम्मको “शान्तीको लागि यात्रा” मा सहभागी भिक्षुहरू र तिनको निस्वार्थ यात्राले आजको यान्त्रिक संसारलाई स्मरण गराउँछ । 


शान्ति कुनै नारा होइन, निरन्तर अभ्यास हो । यही अभ्यासलाई दृश्य भाषामा उतार्ने प्रयास हो, सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलस्थित मिथिला चित्रकलाका कलाकार  एससी सुमनको मिथिला कसमसको सातौं शृङ्खला जर्नी आफ ए पिलग्रीम चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।


मिथिला कला : लोकबाट लोकातीत चेतनासम्म मिथिला कला परम्परागत रूपमा लोककथा, देवी–देवता, जन्म, विवाह र संस्कारसँग जोडिएको कलारूप हो । तर पंक्तिकार स्वयं कलाकार  एससी सुमनले यसै परम्परालाई समकालीन विश्वचिन्तनसँग गाँस्दै मिथिलालाई लोकबाट लोकातीत बनाएको छु  । हालै प्रदर्शित मेरो  एकल चित्र शृङ्खला  मिथिला ब्रह्माण्ड: तीर्थयात्रीको यात्रामा मिथिला केवल भौगोलिक वा जातीय पहिचान होइन, यो एक दार्शनिक मार्ग हो, जहाँ रेखा ध्यान हो, रङ मौन हो, र रिक्तता स्वयं अर्थ बन्छ ।


सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीको प्रारम्भ "श्रीगणेश" को शिर्षक चित्र बाट हुदै  दर्शकलाई बौद्ध कथाको मूलमा पुर्‍याइन्छ । 

मिथिला कसमस–७ को मूलभाव यात्रा हो । मेरो विचारमा जसलाई आत्मिक, सांस्कृतिक र दार्शनिक यात्रा भन्न सकिन्छ । यहाँ ‘कसमस’ भनेको केवल आकाशीय ब्रह्माण्ड होइन, मिथिलाको सांस्कृतिक ब्रह्माण्ड हो । म स्वयंलाई यस प्रदर्शनीमा तीर्थयात्रीका रूपमा प्रस्तुत गरेको छु ।

प्रा. डा. रिजाल भन्छन -  सुमनका चित्रहरूलाई मिथिलाका चित्रकार तथा बुद्धिजीवीहरूले उपत्यकाको सामाजिक र कला क्षेत्रमा परिवर्तन ल्याएको इतिहास आठ शताब्दी पुरानो छ । तर यस कालखण्डमा नेवार साँस्कृतिक ब्रह्माण्डले मिथिला संसारका तत्वहरूलाई समाहित गरेर आफ्नै बनाएको छ । त्यसैगरी, मैथिली भाषा र जनताको पहिचानको रक्षाका लागि सङ्घर्षरत बुद्धिजीवीहरूले थप समतामूलक नेपाली समाज निर्माण गर्न सघाउ पु¥याउने रचनात्मक प्रवचनहरू प्रस्तुत गरेका छन् ।


तिनीहरूको कथामा उपत्यका केन्द्रीकृत राज्यको रूपक, जबरजस्ती शासनको प्रतीक बन्न पुग्छ। तर सुमनका दृश्य कथाहरूले उपत्यकालाई यसको सांस्कृतिक मूल्यहरू अभिव्यक्त गर्न एक फ्रेम प्रदान गर्दछ । उपत्यकाको सांस्कृतिक क्रम मिथिला चित्रकलाहरूले आफ्नो केन्द्रमा मनाउने मिथोपोएटिक संसारसँग मिल्छ । आफ्ना मिथिला चित्रकलाहरूमा, सुमनले नेपाली संस्कृति र कलालाई एकीकरण गर्ने ठाउँ प्रदान गर्छन्, जुन लक्ष्य विगतका शासनहरूले संस्थाहरू स्थापना गरेर र सबै क्षेत्रका भाषा र कलालाई प्रवर्द्धन गरेर गर्नुपर्थ्यो। मलाई लाग्छ सुमनका चित्रहरूबाट, विगतका शासनहरूले बेवास्ता गरेको दृष्टिकोणलाई पूरा गर्ने काममा मधेसी बुद्धिजीवीहरू जिम्मेवारीको भावनाका साथ उठेको महसुस गर्दछु । मेरो लागि, उहाँ बौद्धिक र कलाकारहरूको परम्पराको प्रतिनिधित्व गर्नुहुन्छ, जसले आफ्नो स्थानीय, सांस्कृतिक स्थानबाट बोलेका छन् र सम्पूर्ण राष्ट्रको लागि दृष्टिकोण पालनपोषण गर्ने जिम्मेवारी पनि लिएका छन् । 


हरेक पटक सुमन मिथिला ब्रह्माण्डमा डुब्दा, सबै पृष्ठभूमिका नेपालीहरूका लागि स्वीकार्य नयाँ अर्थका साथ पलाउने मिथिला चित्रकला लिएर आउँछन् । कहिलेकाहीँ देशका विभिन्न सांस्कृतिक समुदायका बुद्धिजीवी र कलाकारहरूले मूलधारमा दबाब सिर्जना गर्न कट्टरपन्थी विचारहरू व्यक्त गर्दै आएका छन्, सुमनका चित्रहरू हेर्दा उनीहरूका लागि आनन्ददायी र प्रेरणादायी अनुभव हुन्छ । सुमनको साथमा, मिथिला चित्रकला अभिव्यक्तिको क्षेत्रीय रूप र दृश्य कथा दुवै बन्न पुग्छ जुन सम्पूर्ण राष्ट्र र बाहिर सजिलैसँग अभिव्यक्त हुन्छ । सुमनले नेपाल र नेपालीहरूलाई मिथिला पहिरन प्रदान गर्छिन् । कहिलेकाहीं नेपालमा बुद्धिजीवीहरू अझ बलियो राष्ट्र निर्माणको लागि प्रवचन सिर्जना गर्न व्यस्त छन्, सुमनका चित्रहरू विविध प्रकृतिका सांस्कृतिक आवाजहरूको पालना भएकाले राष्ट्र भइसकेका छन् । यसरी उनका चित्रहरूमा मिथिला कथाको फ्रेम समावेशी र अभिभावक शक्तिको रूपमा काम गर्दछ । 


म (एससी सुमन) मिथिलाको मिथक, देवता, लोककथा, स्त्री चेतना, प्रकृति र मानव जीवनका तहहरूभित्र यात्रा गर्दै मैले अनुभूत गरेको सत्यतालाई क्यानभासमा उतारेको छु । यो प्रदर्शनीले केही प्रश्न सोध्छ—हामी को हौँ, हाम्रो जरा कहाँ छ, र आधुनिकताले हामीलाई कता लैजाँदैछ ? यही प्रश्नहरूको खोज नै यसको मूलभाव हो भनी भन्न सकिन्छ ।


श्वेत - श्याम रङमा गोदना शैलीको प्रयोग गर्दै कोरिएको “मायादेवीको सपना” यो चित्र केवल एक धार्मिक मिथक होइन; यो चेतनाको गर्भाधान हो । कमलमाथि टेकेर जन्मँदै हिँडिरहेका सिद्धार्थका पाइलाहरूले मानव इतिहासको सबैभन्दा अहिंसात्मक क्रान्तिको संकेत दिन्छन् । यहाँ कमल शुद्धताको मात्र प्रतीक होइन, यो पीडाबाट उठ्ने सम्भावनाको संकेत हो ।


यसै संग अर्को चित्रमा सिद्धार्थको बाल्यकालीन कथा - जहाँ आफ्नै दाजुले हाँस मार्दा उत्पन्न विवाद दरबारसम्म पुग्छ । यस चित्रमा कपिलवस्तुको शान्त वातावरणभित्र सिध्दार्थको बालहृदय उजागर भएको छ । आकाशबाट खसेको घाइते हाँसलाई काखमा च्यापेर उभिएका सिध्दार्थ करुणा र अहिंसाको प्रतीक बनेका छन् । अर्कातर्फ शिकारी  देबव्रत शक्ति र अहंकारको प्रतिनिधि देखिन्छन् । कलाकारले सिध्दार्थको कोमल दृष्टि र हाँसको पीडामा मानवता देखाएका छन् । यो दृश्य केवल बाल्यकालको घटना होइन, भविष्यमा बुद्धत्वतर्फ अग्रसर हुने करुणामय यात्राको पहिलो संकेत हो । जीवन लिने हातभन्दा जीवन बचाउने हात महान् हुन्छ । चित्रले यही मौन सन्देश दिन्छ । आज पनि उत्तिकै सान्दर्भिक छ । मार्ने कि बचाउने ? भन्ने प्रश्नको उत्तर विश्वले अझै पूर्ण रूपमा पाएको छैन । युद्ध मृत्युदण्ड, हिंसात्मक राष्ट्रवाद—यी सबै यही अनुत्तरित प्रश्नका आधुनिक रूप हुन् ।

ज्ञान प्राप्तिपछि पनि सिद्धार्थ, अब गौतम बुद्ध आलोचनाबाट मुक्त भएनन् । नर्तकी सुजाता (कतिपय कथामा) ले दिएको खिर स्वीकार गर्दा भोग्नु परेको कटु आलोचनालाई कलाकारको चित्रमा अत्यन्त मार्मिक प्रतीकमा रूपान्तरण भएको छ ।  रुखमा झुन्डिएको नाग, यो केवल भयको बिम्ब होइन; यो समाजको विषालु जिब्रो हो, जसले करुणालाई पनि शंका गर्छ ।

यो चित्र अगाडि उभिँदा दर्शक निशब्द हुन्छ । किनकि आज पनि, जब कोही शान्तिको कुरा गर्छ, उसलाई कमजोर ठानिन्छ, जब करुणा देखाइन्छ, त्यसलाई राजनीति भनिन्छ । नाग अझै झुन्डिएको छ र हामी अझै मौन छौँ । 

कलाकारले बौद्ध कथाको यो प्रसङ्गलाई गोदना शैलीमा, श्वेत - श्यामको गहिरो रङमा उतारेका छन् । मिथिला कलामा अंगलेखन यानी गोदना (ट्याटु) परम्परागत सौन्दर्य र धार्मिक - सांस्कृतिक विश्वाससँग गहिरो रूपमा जोडिएको छ । मिथिला समाजमा विशेष गरी महिलाहरूले गोदना लगाउने चलन थियो, जसलाई शुभ, रक्षात्मक र पहिचानको प्रतीक मानिन्छ । गोदनामा देवी–देवता, सूर्य, चन्द्रमा, कमल, मयूर, माछा, बाँस, बेलबुट्टा जस्ता प्रतीकात्मक आकृतिहरू बनाइन्छ । यी आकृतिहरूले उर्वरता, समृद्धि, सुरक्षा र दीर्घायुको संकेत गर्थे । गोदनालाई जीवनभर साथ रहने “सजावट” पनि मानिन्छ । सांस्कृतिक पहिचान, आस्था र परम्पराको जीवन्त अभिव्यक्ति हो ।


कुनै चर्को दृश्य छैन, तर मौन रेखाहरूले दर्शकलाई असहज बनाउँछ । यही असहजता नै कला हो । क्यान्भासमा प्रयोग गरिएको नेपाली कागजको प्राकृतिक रङले चित्रलाई बौद्ध युगको स्मृतिमा पुर्‍याउँछ, जहाँ प्रश्नहरू थिए, तर उत्तर अहिंसामा खोजिन्थे ।

भूमि स्पर्श मुद्रामा लीन बुद्धको चित्र यस प्रदर्शनीको केन्द्रविन्दु हो । यहाँ कुनै आडम्बर छैन । हरिण, वन्यजन्तु, चराचुरुङ्गी सबै निर्भय छन् । शान्ति यहाँ भाषण होइन, अवस्था हो । बुद्ध ध्यानमा छैनन्; बुद्ध स्वयं ध्यान बनेका छन् ।


सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक तथा सिद्धार्थ कला प्रतिष्ठानका निर्देशक  संगीता थापा भनुहुन्छ , सुमनको बुद्ध शृङ्खलाले माया देवीको भविष्यसूचक सपना, बुद्धको जन्म र त्यसपछिको बुद्धत्वलाई चित्रण गर्छ । तराईको यो लोपोन्मुख कलात्मक विरासतलाई जोगाउन र ध्यानाकर्षण गर्नका लागि उनले गोदना र काचिनी शैली दुवै प्रयोग गर्छन् । प्राकृतिक रंगको प्रयोग मिथिला कलाको विरासत मात्र नभैइ , स्पन्दन हो, जो सुमनको चित्रमा महसुस गर्न सकिन्छ । चित्रकारको रङ प्रयोग यहाँ विशेष उल्लेखनीय छ । प्राकृतिक रङ, माटोको सुवास, कागजको बनावट, यी सबैले चित्रलाई केवल दृश्य नभई अनुभूति बनाउँछन् । बौद्ध भिक्षुहरूको ध्यान मुद्रा पनि यही शृङ्खलामा पर्छ । जहाँ व्यक्ति हराउँछ, तर चेतना बाँकी रहन्छ ।


 यसरी  अगाडि बढ्दै जाँदा तीर्थ यात्रीको यात्रा उपत्यका कथामा प्रवेश गर्छ । यहाँ पशुपतिनाथ शीर्षकका दुई चित्र छ्न । प्रथम चित्रले उपत्यका उत्पत्तिको कथा सम्प्रेषण  गर्छ । आर्यघाटको रेखांकनले भने जीवनको अर्थ  जन्म, मृत्यु र पुनर्जन्मको चक्रभित्र मानव कहाँ उभिएको छ भनी प्रश्न गर्छन ?


यसरीने बौद्धनाथ र स्वयम्भूनाथका चित्रहरूमा रङ्गीचङ्गी पताका हवामा फरफराई रहेका  छन्, तर ती उत्सवका लागि मात्र होइन । विश्वलाई शान्तिको छानो भित्र समेट्ने प्रयास हुन् । यी ध्वजाहरू हावामा फर्फराउँदा, मानौँ प्रार्थनाहरू अझै उडिरहेका छन् । बौद्ध भिक्षुहरूको लहरै पदयात्रा लुम्बिनीबाट सुरु भएको यात्रा अझै जारी छ । यो यात्रा केवल भौगोलिक होइन, यो नैतिक यात्रा हो । यही यात्राको समकालीन प्रतिरूप हो अमेरिकामा भइरहेको “शान्तीको लागि यात्रा” ।

थापा अगाडि  भनु हुन्छ, अहिले काठमाडौं र विराटनगरमा बसोबास गर्दै आएका यी मिथिला कलाकारले हामीलाई विश्वभरका हिन्दू र बौद्ध धर्मावलम्बीहरूले पूज्ने पशुपतिनाथ, स्वयम्भू, बौद्ध स्तुपा उपत्यकाका पवित्र मन्दिर र स्तूपहरूको दर्शनीय पदयात्रा वा तीर्थयात्रामा लैजानुहुन्छ ।     


अलोका, ती भिक्षुहरूसँगै हिँड्ने कुकुर, आजको संसारलाई एउटा सरल पाठ सिकाउँछ ।  शान्ति मानवको एकाधिकार होइन । जब अलोकाको खुट्टामा शल्यक्रिया हुन्छ, र विश्वभरका मानिसहरू त्यसको स्वास्थ्यको कामना गर्छन्, त्यहाँ धर्म, राष्ट्र वा जाति हुँदैन जो  केवल करुणा हुन्छ ।


कला, करुणा र उत्तरदायित्व मिथिला ब्रह्माण्ड: तीर्थ यात्रीको यात्रा केवल चित्रकला प्रदर्शनी होइन; यो चेतनाको यात्रा हो । यो प्रदर्शनी मिथिला कलालाई विश्व शान्तिको भाषामा अनुवाद गरिएको  छ । जहाँ  क्यान्भासहरू प्रश्न गर्छन्, मौन बस्छन्  र अन्ततः दर्शकलाई जिम्मेवार बनाउँछन् । आज विश्वलाई सबैभन्दा धेरै चाहिएको कुरा यही हो—नयाँ हतियार होइन, नयाँ दृष्टि । बुद्धका पदचिन्हहरू, भिक्षुहरूको पदयात्रा, र अलोकाको लंगडिएको तर नरोकिने चाल । यी सबैले भन्छन्: शान्ति सम्भव छ, यदि हामी हिँड्न तयार छौँ भने यही हिँडाइ नै तीर्थ यात्रा हो ।

sdaskayastha@gmail.com


Comments

Popular posts from this blog

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास