छ्ठ : सूर्य, उषा र प्रत्युशाको साथ - एससी सुमन
छ्ठ : सूर्य, उषा र प्रत्युशाको साथ
- एससी सुमन
पूर्वीय कला दृष्टि सृष्टिको पुनःस्थापन हो । जहाँ थरी -थरीको रङ्ग, विभिन्न ऋतु , उत्सव र पर्व नै जीवनको समग्रता हो । कलाको परम सौन्दर्य अभिव्यंजना मात्र नभए आत्मामा निवास गर्छ । यो नै कला हो । मलाई लाग्छ, कला प्रकृतिको प्रतिकृती हो । त्यति मात्र होईन यसभन्दा अगाडि प्रकृतिको विम्व -प्रतिविम्व पनि हो । हामी सबै उत्सवधर्मी हौं । विजया दशमी देखि शुरु भएको पर्व शृङ्खला भ्रातृदुतिया सम्म आई पुग्दा बुध्दको सन्देश सगै "अप दिपो भव !" आफ्नो पथ प्रशस्त गर र आफ्नो प्रकाश बन । आफ्नो ज्योति आफै बन्ने संकल्प लेउ 'दिप ज्योति नमोस्तुते !' सगैं भाइ बहिको प्रेम, पशु -पंछि प्रतिको प्रेम र स्नेह बाडिदै बढछ ।
भनिन्छ, 'सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठको सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । छठपर्व सूर्य उपासनाको पर्व हो । नकारात्मक सोचलाई छोडेर सकारात्मकता तिर अग्रसर हुनु छ्ठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतिक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनु मिथिलाञ्चलको साँस्कृतिक परम्परा हो ।
यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्म मूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाको लागि श्रद्धापूर्वक मनाइन्छ ।
स्थानीय कृषिजन्य उत्पाद, बाँस, माटोको अनिवार्यताले लोकपर्व, लोकपूजा छठी–व्रत आदिपूजा हो । सभ्यता संस्कृतिको साथै धेरैजसो अन्न र खाध –पदार्थको प्रचलन समुचित नभएको अवस्थामा सुथनी, बेसार, भन्टा, नेवो, भोगटे, नारियल, ऊखू, तर -तरकारी, अरुवा चामल, केराउ नैवेद्यको रुपमा चढाउने गरिन्छ । यसमा चढाइने प्रत्येक सामग्रीहरु कृषक कर्मशीलताको प्रदर्शन गरिरहेको हुन्छ । वस्तुतः यसलाई ग्रामीण र कृषि पर्व पनि भन्न सकिन्छ ।
माटो सर्वत्र उपलब्ध छ । माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ । भनिन्छ पुरापाषाण कालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणाम स्वरूप मानव पहिलोचोटी अन्नको उत्पादन गर्न सक्षम भयो । तत्पश्चात् अन्य चिजका बारे सोच्न थाल्यो । यसरी कृषि कर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माण सँगसँगै मृत्तिका शिल्पको श्रीगणेश भयो होला । सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र अगाडिको वर्षको लागि बिउ सञ्चयको खोजले काँचो माटोले पात्रको आविष्कार भयो भन्न सकिन्छ । बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण ग¥यो । आज पनि तराई भेगमा कोठी र भखारीको रूपमा हामी कहाँ विद्यमान छ । सर्वप्रथम भाँडो माटोबाट बने । यो दुनियाँको पहिलो उत्पादन थियो भने दुनियाँको सबैभन्दा पहिलो यन्त्र कुम्हालेको चक्र थियो । दुनियाँको पहिलो कारखाना कुम्हालेको भट्टी भयो ।
अनुमान गरिन्छ, कृषि र मृत्तिका शिल्पजस्ता क्रान्तिकारी खोजको श्रेय महिलालाई जान्छ । किनभने कृषिको प्रारम्भिक अवस्थामा आफ्नो आवासक्षेत्र वरिपरि उम्रेका जंगली घाँसपातबाट अन्न निकाल्ने प्रयोगको अगुवाई महिलाले गरे । यसरी खाना पकाउनेक्रममा चुलो बनाउनका लागि गिलो माटो उपयोगमा ल्याइएको हुनुपर्दछ । यसरी आवश्यकतानुसार मृत्तिका शिल्पको बिस्तार भएको हुनुपर्दछ ।
छ्ठमा चाहिने माटोको दियो, हात्ती, ढकना, सरवा, कुरवार, घैला जस्ता मृत्तिका हस्तशिल्प उत्पादको अनिवार्यता कला के का लागि ? प्रश्नको सहज उत्तर हुने गर्छ । यसैगरी बेणु हस्तशिल्प यानी बाँसको उत्पाद सुप (नाग्लो), कनसुप्ति, ढकिया, पथिया आदीको पूजा सम्पादन गर्न आति आवश्यक हुनेगर्दछ । बाँसलाई पवित्र वनस्पति मानिन्छ । जसलाई वंश वृद्धिको प्रतीक मानिन्छ । पावनी तिहार, विवाह, देवकर्म, पृतिकर्म, बर्तबन्ध, जस्ता सामाजिक संस्कारको बेला यसको अनिवार्य प्रयोग हुने गर्दछ । बाँसको हस्तशिल्प डोम समुदायको, माटोको उत्पाद कुम्हाले जातको, पुजामा चाहिने फूल आपूर्ति गर्ने जिम्मा मालाकार जातिको हो भने खाजा, लड्डु, बतासा जस्ता मिठाई हलुवाई जाति को हो । यहाँको पाककलाको छुट्टै बिष्ठता र सौन्दर्य छ । आज दुनियाँको पर्यावरण खतरनाक अवस्थामा आउँदा विकल्प माटो -कुम्हाले, बाँस -डोम नै हुन् । कुम्हाले, डोम, चर्मकार, मालाकार, हलुवाई जाति होइन कर्म हो । यहाँ कर्म प्रधान हो । यो भूमि कर्मशीलता को हो ।
पुजा पुर्व गरिने तैयारी, भिजाइयेको आरुवा चामललाई सिलैटोमा पिसेर तयार परेको घोलले पिठारले पुजामा प्रयोग हुने माटोको हात्ती घैला, सरबा, दियो आदिमा विभिन्न रङ्गले चित्र लेखिन्छ र चित्र लेखन न सके दाहिना हातको पन्जाले छाप लगाई सिन्दुर लगाईन्छ र छ्ठ घाट गोबर माटोले लिपी पिठारले अरिपन लेखि सिन्दुर लगाई, पुजाको लागि तयार परिन्छ । भूमिमा लेखिने आकृतिलाई अरिपन भनिन्छ भने, भित्तामा लेखिने चित्र भित्ती चित्र हुन । गोसाईघरमा कुलदेवता आह्वान गर्न भित्तामा पिठार लगाईन्छ, जसलाई 'थप्पा' भनिन्छ ।
अरिपन वैदिक कालबाट परम्परागत रूपमा चल्दै आएको छ । यो वेदमा वर्णित सर्वतोभद्रको विकसित रूप हो । मिथिलामा आज पनि अरिपन लेखनका लागि चाहिने पिठार सेतो रङ चामलबाट तयार गरिन्छ । चामल यहाँको स्थानीय उत्पादन भएकोले सहज रूपमा उपलब्ध पनि हुन्छ । सर्वतोभद्रको स्वस्तिक अरिपन लेख्ने चलन यहाँ परम्परागत रूपमा चल्दै आएको छ ।
छ्ठ पर्व वर्षमा दुई पटक मनाईन्छ । चैत्र महिना र कार्तिक महिनामा । यो दुबै महिनामा शुक्ल पक्षको षष्ठी तिथिमा मनाईने हुँदा छठ पर्वको संज्ञा दिईएको छ । सूर्य शक्तिको मुख्य स्रोत उनको दुई पत्नी उषा र प्रत्युषा हुन । उनको उपासनानै चारदिवासिय छ्ठ पर्व हो । जसको प्रारम्भ चतुर्दशीको दिन देखि हुन्छ, जसलाई 'नहाय -खाय' भनिन्छ । पर्वमा पञ्चमीको साँझ खरना, षष्ठीको साँझ अस्ताउन लागेको सूर्यलाई जलाशयमा कम्मर सम्मको पानीमा प्रवेश गरी अर्घ दिन्छन् । सप्तमीको प्रातः छठ ब्रतालु मिर्मिरे बिहानीमा उदयमान भगवान भास्करलाई अर्घ छठी घाटमा उपस्थित हुन्छन् ।
हाम्रो संस्कृतीमा प्रात: सूर्यलाई अर्घ दि भन्छै हे सूर्य ! अन्धकारलाई हटाई यो धरा आलोकित गर । राष्ट्रिय पर्व छ्ठको सन्दर्भमा हामीले जोड दिनु पर्ने मुख्य सन्देश मानवीय एकता र सद्भावको सबाल पक्ष नै हो । छठ पर्वका लागि जलाशय किनारमा बनाईएका घाटमा लोकगीतको धुनसगै, लहरै बलिरहेको दियो, पानीमा परावर्तित मनमोहक प्रकाशले सबै धर्म समुदायका मानिसलाई यसरि नै मिलेर, उज्यालो छर्दै समाज नव निर्माणमा लाग्न प्रेरित र आग्रह गरिरहेको हुन्छ । एउटै पोखरी वा जलाशयको चारैतिर विभिन्न जात -जाती धर्म समुदायका व्यक्तिले घाट बनाई अर्घ दिने भएकोले यो पर्व छुवा -छुतबाट टाढा रहेको पनि सन्देश दिन्छ ।
यो पर्व प्रकृति नजिक हुन्छ । समाजमा समानताको प्रतीक पनि हो । यो त्यो बिश्वासको प्रतीक हो, अध्य्यारो पछि प्रकाशको आगमन हुन्छ । सूर्यअस्त हुन्छ किनकि उसलाई उदाउनु छ । कलश र माटोको हात्ती माथी चौ मुख दियो बलिरहन्छ । अर्घ माथी बल्दै गरेको दियो हुन्छ । बल्दै गरेको दियो सूर्यदेवलाई अर्पण गरिन्छ । सूर्यास्त पछिको अध्यारो बाट सानो दियो आफ्नो प्रकाशले चारैतिर उज्यालो छर्छ । जस्तो भनी रहेको छ, हे सूर्य देव ! हजुर जानुस, हजुर आउन जेल जीवनमा अध्यारो नआओस भनीज म प्रयासरत रहन्छु र रात भरि बलि रहन्छ । दियोको प्रकाशमा ब्रती सूर्योदयको प्रतीक्षामा हुन्छ्न । सूर्य नउदाउन्जेल सम्म महिलाहरुले लोक गीतको माध्यमले बिन्ती गर्छन् । ‘उग हो सुरुज देव - अर्घ के बेरिया’। बल्दै गरेको सानो - सानो दियो जल मा प्रवाह गरिन्छ । पानीको लहार संग बग्दा -बग्दै दियो सूर्योदय सगैं बल्दा -बल्दै प्रायः सक्किन लागोको बाती, सूर्यलाई हेरि निभदै गरेको लौ पुनः प्रकाशित भै शान्त हुन्छ । दियो निभछ । तर सूर्यमा समाहित उसको तेज पुनः जीवन आलोकित गर्छ ।
जेहोस धर्म, सँस्कृती, रितिरिवाज हाम्रा सम्पदा हुन् । समाज नियन्त्रणका लागि पनि यो अपरिहार्य छन् । यस्ता गहना बचाउँदै तिनको सक्कलिपन विस्तार गर्नु सँस्कृति प्रती सच्चा सम्मान पनि हो । यसले हामीलाई नै समुन्नत बनाउँछ । त्यसैले एक आपसमा मिलाउने, सद्भाव कायाम गराउने, अपराध प्रवृतिलाई निरुत्साहित गराई दयाभाव उत्पन्न गराउने यस्ता धार्मिक पर्वको हामी सबैले संरक्षण र सदुपयोग गर्नै पर्छ, जसले हामीलाई सदभावको सन्देश दिन्छ । महान पर्व छठको अवसरमा सम्पुर्णमा सुख, समृधी, सु-स्वास्थ्यको शुभकामना ।
artistsuman.scd@gmail.com






Comments
Post a Comment