Skip to main content

प्रतीक – उद्भव र विकास

 प्रतीक – उद्भव र विकास

साहित्यपोस्ट

चैत्र १९, शनिबार ०८:०१

 

एस. सी. सुमन

एससी सुमन

सृष्टिको आदिकालमा मानवको हर्षको कारण प्राकृतिक सौन्दर्य र जीवन यापनको लागि प्रकृति प्रदत्त वस्तु रहेको थियो। सूर्य उदय र अस्त सँगसँगै रात दिन हुनु, आकाशमा तारा र चन्द्रमा देखिनु, घाम-छाया हुनु, पानी पर्नु, मौसम परिवर्तन हुनु, आँधी-बेहरी, अतिवृष्टि, खडेरी जस्ता प्राकृतिक परिवर्तनलाई हेरी आश्चर्यचकित भए। यसरी अर्कोतर्फ मृत्यु हुँदा आतंकित पनि भए होलान्। जसलाई रोक्न असमर्थ हुँदा, प्राकृतिक परिवर्तनमाथि विजय प्राप्त गर्न संघर्षरत रहँदा, यसमाथि आफ्नो नियन्त्रण नहुँदा आदि मानवले अदृश्य सत्तालाई स्वीकार गरी शक्तिका रूपमा प्रतिष्ठित गरी सर्वोच्च स्थान दियो। फलतः उसले प्राकृतिक उपकरणलाई शक्तिको रूपमा आफ्नो आत्मरक्षार्थ हेतु उपासना गर्न लागे, जो कालान्तरमा रूढी हुँदैगयो र यहीँबाट आदिमानवको आत्मरक्षार्थको उपास्य प्राकृतिक उपादान प्रतीक बन्यो तथा यिनै प्रकृति प्रदत्त शक्ति तथा उपादानको आधारमा मानवीय कला विकसित हुँदै गयो। एक प्रकारले प्रतीक कलाको उद्भवको आरम्भिक अवस्थाको कथा हो भनी हामी भन्न सक्छौ।

वस्तुतः प्रतीकोद्भवको अन्य कारण पनि हुन सक्छ। विभिन्न विद्वान र आलोचकहरूको आ-आफ्नो मत रहेको छ, मूलतः प्रतीक मानवाभिव्यक्तिको रूढ़िगत प्रकटीकरण हो र अभिव्यक्तिकरण मानिसको सहज स्वभाव हो। मानिस सामान्यतः आफ्नो भाव अरुसँग पुर्याउन शब्द, चित्र, संकेत, मुद्रा-प्रतीक आदिलाई माध्यम बनाउँछ। प्रतीकोद्भवको मूल स्रोतसम्म पुग्नका लागि आदिमानवको विश्वास, रीतिरिवाज, प्रथा र अन्य मिश्रित प्रकृतिलाई बुझ्न आवश्यक हुन जान्छ। आदि मानवको निवास स्थान गुफा, कन्दरामा उनीहरूद्वारा आफ्नो भावलाई प्रकाशित गर्ने चित्र, मूर्तिय, भाँडावर्तन आदिको अवशेष भेटिन्छ, जसको अवलोकनले ज्ञात हुन्छ कि- गुफा निवासी आफूलाई मनपर्ने हरिण, चराचुरुङ्गी, बोटबिरुवा, तथा अधिकांशतः प्रकृतिप्रदत्त वस्तुको चित्र ठोस तिखो औजारले ढुङ्गा तथा काठ आदिमा अङ्कित गर्थे।

कलाकारको सूक्ष्म भावना अथवा अमूर्त सहजानूभूति अभिव्यक्तिको सहयोगले प्रतिमाको जन्म हुन्छ। कहिलेकाहीँ प्रतिमा नै प्रतीकको रुपमा प्रस्तुत हुने गर्दछ। धार्मिक प्रतीकको उपयोगको विषय विश्वाससँग जोडिएको हुन्छ।

धार्मिक प्रतीकको निर्मितिमा वर्तमान जनमानस र लोकानुभूतिको प्रत्यक्ष सम्बन्ध हुँदैन। सामाजिक प्रतीकको उद्भव प्रचलित रीतिरिवाज धार्मिक विधि-अनुष्ठानले हुन्छ। कला-क्षेत्रको प्रतीक कलाकारको मनस्थिति र अनुभूतिको द्योतक हुन्छ। यो प्रतीकले विविध स्तरमा काम गर्छ र विभिन्न प्रकारको मानसिक प्रतिमाको निर्माण गर्छ। कला-क्षेत्रको प्रतीकमा सुप्त अर्थ निहित हुन्छ र गुप्त संकेत लुकेको हुन्छ।

पाश्चात्य विद्वानहरूको अनुसार- प्रतीक अप्रस्तुतको प्रस्तुत रूप अवतार हो। प्रतीक एउटा यस्तो साधन हो, जसले हामीलाई अमूर्तनको सामर्थ दिन्छ। हाम्रो कला परम्परामा प्रतीक पृष्ठभूमिको रूपमा आदिमानवको भाव प्रकाशनको एउटा रूप चित्रालिपि पनि रहेको छ। चित्रालिपिमा चित्रण धेरैजसो प्रतीक रूपमा नै हुन्थे। यसका लागि पहिला नै केही नियम निर्धारित गरिन्थ्यो। जसले भाव विचारको सुगमताले बुझ्न सकिन्छ। जब चित्रालिपिमा पूर्ण सफलता नपाएपछि, पूर्ण प्रतीकात्मक चित्रणको परम्पराको प्रचलन हुन थाल्यो। सिन्धु घाटीबाट प्राप्त अवशेषले संकेत गर्छ, हिन्दू धर्म संस्कृतिमा शक्तिपूजाको त्यै बेलादेखि आरम्भ भएको हो। जहाँ देवीमाताको प्रतीक नारीमूर्ति ठूलो संख्यामा भेटिएको छ। मोहनजोदड़ो- हड़प्पामा शिव शक्तिको उपासनाको पनि प्रमाण भेटिन्छ।

आदिम कलाकृतिबाट प्राप्त कला‑अवशेषले ज्ञात हुन्छ कि तत्कालीन अधिकांश प्रतीक चित्र प्रकृति, आखेट, आमोद-प्रमोद, जादू-टुना, घरेलु उपकरण आदि विषयसम्म सीमित थिए। अतः भन्न सकिन्छ कि प्रत्येक कालको कलामा निहित प्रतीकमाथि तत्कालीन परम्परा, आस्था, आचार-व्यवहारको प्रभाव अपेक्षित छ।
प्राकृतिक शक्तिबाट सुरक्षित हुन शैल चित्रमा मेरूपर्वत, नन्दिपाद, कल्पवृक्ष, कमल, चक्र हस्त, मंगलघट, त्रिशूल, सूर्य-चन्द्र आदिको पनि प्रतीक चिह्न देखिन्छ। वृक्ष पूजाको पनि कलात्मक प्रतीक अवशेष उपलब्ध हुन्छ। सिन्धुको मानिसले पीपलको वृक्षमा स्थित देवताको उर्वरताको शक्तिको प्रतीक मानेर त्यसलाई जीवन वृक्ष माने तथा मोहर (सिक्का) मा प्रतीकको रूपमा अंकित गरेका थिए। प्रायः आदिकालदेखि आजसम्मको कलामा विशेष भावको प्रदर्शनमा मंगल कलशको पनि अंकन प्रतीक रूपमा भएको छ। त्रिदेवलाई प्रतीक मानेर पूर्ण कलशको स्थापना गरिन्छ। भरहुत, सांची, नागार्जुन, मथुरा, अमरावती, सारनाथ, मिथिला आदिमा अमृतले भरिएका पूर्ण कलशको उल्लेख भेटिन्छ। यो सुख, समृद्धि र जीवनको पूर्णताको प्रतीक हो। मोहनजोदाड़ोंबाट प्राप्त पशुपति मूर्तिमा त्रिशक्तिको प्रतीक त्रिशूल तथा स्वस्तिक पनि भेटिएको छ। आदिम कला क्षेत्रमा विशेष रूपले स्वस्तिक, कमल, शंख, चक्र, सूर्य, वेदी, नाग, प्रकृति, पशु, प्रतीक तथा ज्यामितीय तान्त्रिक व धार्मिक प्रतीक चिह्न भेटिएको छ। प्रायः सबै ज्यामितीय, कृतिय तत्कालीन मानव जीवनको धार्मिक सांसारिक कृतिको प्रतीक चित्र हो। आदिम कला क्षेत्रबाट प्राप्त प्रतीक चिह्न गुप्त, बौद्ध, जैन, तथा मुगल, राजपूत वा आधुनिक कला परम्परामा पनि आफ्नो विशिष्ट स्थान बनाएको छ।

कहिलेकाहीँ प्रतिमा नै प्रतीकको रुपमा प्रस्तुत हुन्छ। धार्मिक प्रतीकको उपयोगको सवाल विश्वासमा जोडिएको हुन्छ। प्रतीक निर्मितिमा वर्तमान जनमानस र लोकानुभूतिको सोझो सम्बन्ध हुँदैन। सामाजिक प्रतीकको उद्भव प्रचलन, रीतितिथि, धार्मिक विधि-अनुष्ठानले हुन्छ। कला-क्षेत्रको प्रतीक कलाकारको मन:स्थिति र अनुभूतिको उपज हुने गर्छ। यो प्रतीक विविध स्तरमा काम गर्छ र विभिन्न प्रकारको मानसिक प्रतिमा निर्माण गर्छ। कला-क्षेत्रको कला प्रतीकमा गुप्त संकेत लुकेको हुन्छ। प्रतीकको उपयोग कुनै पनि कुरा स्पष्ट गर्नका लागि हुन्छ। कम समय र थोरै शब्दमा कुनै कुरा भन्नका लागि प्रतीकको उपयोग हुन्छ। जुन कुरा प्रकट रुपमा स्पष्ट गर्ने साहस नहुँदा डरले हर्दा पनि कला वा कवितामा प्रतीकको प्रयोग हुन्छ। दुई वा दुईभन्दा धेरै प्रतीकको संयुक्त प्रयोगले तेस्रो अर्थ ध्वनित हुन्छ, यो अतियथार्थवादी कलामा देख्न सकिन्छ। हाम्रो लोक परम्परामा चित्रलाई मांगल्यको सूचक मानिन्छ। सुख, सम्पत्ति तथा मंगल भावनाको अभिप्रायले भित्तामा विभिन्न प्रकारको धार्मिक, सामाजिक कथासँग सम्बन्धित चित्र अंकित गरिन्छ, जसमा सामाजिक संस्कार विवाह, व्रतबन्ध आदिमा देवताको चित्राङ्कन गरी पूजा गरिन्छ। विषेश गरेर चित्रकलाको ऐतिहासिक रूप अजन्ताको गुफाबाट प्राप्त हुन्छ।

यसै प्रकार लोक अंचलमा ‘लोक-कला’ प्रचलनमा आए। विभिन्न चाडपर्व, वर्तबन्ध, विवाहजस्ता अवसरमा प्रकृतिको विभिन्न रूपले भूमि तथा भित्तामा अङ्लकृत गर्ने गर्छन् । प्रत्येक आकारको आफ्नो विशिष्ट स्थान हुन्छ। मिथिला, अवध, भोजपुरामा यस्ता लोक परम्परा प्रचलित छन्। यी सबै त्यहाँको भौतिक पर्यावरणले गर्दा आफ्नो विशिष्ट पहिचान बनाउँछ। भित्ते चित्रणको कला परम्परामा देख्न सकिन्छ।

कलाको उत्पत्तिको श्रेय प्रतीकलाई नै जान्छ। प्रतीकले नै भाव व्यक्त हुन्छ। प्रतीकको आफ्नो एउटा भाषा हुन्छ। जस्तो साहित्यमा पनि प्रतीकात्मक शब्दको प्रयोग गरिन्छ। प्रतीक स्वयंमा सांकेतिक अर्थ हुन्छ। कला भाषाको जस्तै अभिव्यक्तिको माध्यम हो। दुवैको साधनमा अन्तर छ, एउटाको रङ, तूलिका, कागज, माटो र धातु त अर्कोको स्वर, कलम र मसी साधन हो। चिह्न, प्रतीक, बिम्ब, आकार, लक्षण र प्रारूप आदि माध्यम हो। प्रतीकको सहयोग बिना आफ्नो अभिव्यक्ति गर्न पाउनु कलाकारको लागि सम्भव हुँदैन । तसर्थ कला जगतमा प्रतीकको स्थान सर्वोपरि छ ।

artistsuman.scd@gmail.com

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA