मिथिला : एक सभ्यता र माटोको अमर कला -एससी सुमन
मिथिला : एक सभ्यता र माटोको अमर कला
-एससी सुमन
मिथिला - जहाँ धर्मको दीप प्रज्वलित हुन्छ, शौर्यको सिंहनाद गुन्जन्छ, र कलाको कञ्चन झल्कोले जीवन र आत्मालाई आलोकित गर्दछ । यो भूमि केवल एक भूगोल मात्र होइन, अपितु चिन्तन, सृजन, मर्यादा र मानव सभ्यताको एक अद्वितीय प्रतीक हो । मिथिला सदा नै आध्यात्मिक चेतनाको केन्द्र, वैचारिक विमर्शको उद्गम र कलासंस्कृतिको अक्षुण्ण धरोहर रहिआएको छ । यहाँको संस्कृति, स्थापत्य र लोकचेतना यस्ता छन्, जसले देश मात्र होइन, विश्वसमेत चकित पारेको छ ।
विशेषतः मिथिलाकी कन्याहरूको कुशल हातबाट जन्मिने लोकचित्रकला,जसले त्रिकालसम्म सन्देश दिन्छ । जो अन्तर्राष्ट्रिय मञ्चमा चुलिंदै गएको छ । तर यो मात्र एक पाटो हो; मिथिलाको कलासागरमा अझ गहिरा, अझ दुर्लभ र अनुपम रत्नहरू लुकेका छन्, जसको उज्यालो अझै पूर्णरूपमा बाहिर आउन सकेको छैन । तीमध्ये एक छ -मृणशिल्प, माटोको आत्मा बोकेको शाश्वत कला ।
मृणशिल्प - माटोको मोहक रूपान्तरण, जसमा उपयोगिता र सौन्दर्य एकैसाथ जीवन्त हुन्छन् । आगोमा पोलेपछि आत्मा पाएको यो शिल्प, केवल भाँडा - मूर्तिमा सीमित छैन; यो त एक सभ्यताको अभिव्यक्ति हो, प्रकृतिसँगको सहजीविताको दर्शन हो । माटो, जुन लौकिक र अलौकिक दुवै तहमा पवित्र मानिन्छ, त्यसैको स्पर्शबाट सिर्जित यी कृतिहरूले मिथिलाको जीवनशैली, विश्वास र सौन्दर्यबोधलाई मूर्त रूपमा प्रकट गर्छन् ।
झण्डै साढे चार हजार वर्ष अघिको सिन्धुघाटी सभ्यताको समृद्ध माटो-कला, आज पनि मिथिलाको हृदयमा स्पन्दित छ । त्यो गोरुगाडीको आकृति - काठको पांग्रा, त्यो भाँडोको शिल्प - सबै यथावत् छन्, जस्तो हडप्पा सभ्यताको अवशेषमा भेटिन्छ । के यो संयोग मात्र हो ? कि एक अपूर्व सांस्कृतिक निरन्तरता, जसले मिथिलालाई प्राचीनताको गर्भबाट आधुनिक चेतनासम्म बाँधेको छ ?
यसैले, मृणशिल्प केवल एक कलामात्र होइन, मिथिलाको आत्मा हो । यो त्यो अमूल्य धरोहर हो, जसले हामीलाई हाम्रै इतिहास, हाम्रो पहिचान र हाम्रो मौलिकताको पुनःस्मरण गराउँछ। आजको आवश्यकता छ । यसलाई संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय पटलमा उजागर गर्ने संकल्पको खाँचो छ ।
मिथिलाको मृणशिल्प : परम्परा र प्रतीकको अमर सौन्दर्य
मिथिलाको मृणशिल्प केवल माटोको आकृति मात्र होइन, यो शिल्प शाश्वत संस्कृति, सौन्दर्यबोध र आत्मीयताको मूर्त अभिव्यक्ति हो । यसको शैलीगत स्वरूप विशिष्ट छ । चम्किलो सतह, सजीवता झल्काउने सजावट, र एक अद्भुत जीवन्तता बोकेको कलात्मकता । यहाँ बनाइने हात्ती, घोड़ा, गोरु, बाघजस्ता पशु आकृतिहरू खेलौनामात्र नभई कुनै अलौकिक शक्तिबाट सञ्चालित मिथकीय प्राणीझैँ अनुभूत हुन्छन्, जसले दर्शकको चित्तलाई मोहनी लगाउँछ ।
भाइबहिनीको अमर सम्बन्धलाई उजागर गर्ने पर्व ‘सामा - चकेवा’ पर्वको अवसरमा, मिथिलाकी चेलीहरूले आफ्ना हातले गढेका ( बनाएको ) ती काँचो माटोका मूर्तिहरू केवल खेलौना होइनन। ती भावनाको मूर्तरूप हुन्, जसमा माया, समर्पण र सांस्कृतिक चेतनाको गहिरो तह समाहित छ ।
यहाँ भूमिचित्र र भित्तिचित्र जत्तिकै मूर्तिकला र गायन पनि प्रत्येक चेलीबेटीको सांस्कृतिक उत्तराधिकार मानिन्छ । कुम्हारहरू परापूर्वकालदेखि नै देवी -देवताका प्रतिमा, माटोका भाँडाकुडा, तथा भक्तिभावले चढाइने पशु आकृतिहरू सिर्जना गर्दै आएका छन् । तिनका हातबाट निस्कने प्रत्येक मूर्ति केवल वस्तु नभई समयको साक्षी, परम्पराको प्रतीक र आस्था - कलाको सम्मिलन हो । यस समृद्ध परम्पराले पुष्टि गर्छ, यो जीवित संस्कृतिको स्पन्दन हो । जहाँ माटो पनि आत्मा बोकेको हुन्छ ।
जनकपुरधाम निवासी कलाकार योगेन्द्र पण्डित भन्छन "मूर्तिकला केवल आकारको सिर्जना होइन, यो एक चेतनशील साधना हो, जसमा माटो, समय र श्रद्धाको समन्वय हुन्छ। माटोको मूर्ति निर्माण भएपछि त्यो प्रायः रातो रङमा परिणत हुन्छ । यदाकदा कालो देखिए पनि त्यो आकस्मिक मात्र हो । मूर्तिलाई कालो बनाउने कुनै प्रयास हुँदैन । माटोको मूर्ति बनाइसकेपछि त्यसलाई सिधै घाममा सुकाइँदैन, किनकि तीव्र तापले यसको स्वरूप चर्काउन सक्छ। त्यसैले पहिलो दुई - तीन घण्टा छायाँमा राखिन्छ, ताकि माटोको नमी शान्तिपूर्वक विसर्जित होस् । त्यसपछि मात्र घाममा सुकाउने परम्परा अनुसरण गरिन्छ ।
रङ लगाउने कार्य यत्तिकै सामान्य हुँदैन । यो प्रक्रियाको मूलमा नदी, पोखरी, तलाब बाट संकलित विशेष प्रकारको रातो, मलिलो माटो हुन्छ । उक्त माटोलाई काठको मुंग्राले लामो समयसम्म कुटिन्छ, अनि माटोको भाँडोमा घोलेर पन्ध्र दिनसम्म छायाँमा राखिन्छ । यस अवधिमा माटो आफैँमा परिपक्व हुन्छ, त्यसको आत्मा निखारिन्छ । पुनः घोलेर छानिँदा बलुवा छुट्याइन्छ र शुद्ध माटोको सार झिकिन्छ । जसको बनावट घ्यूजस्तै कोमल र समसिद्ध हुन्छ ।"
मृणशिल्प -परम्पराको मौलिक अभिव्यक्ति
मानव सभ्यताको आरम्भसँगै माटोले पनि आफ्नो सौन्दर्य र प्रयोगशीलताको परिचय दिन थाल्यो । पृथ्वीको निर्माण जत्तिकै प्राचीन मृणशिल्प, आदिकालदेखि नै मानव जीवनसँग समाहित हुँदै आएको छ । माटोबाट बनाइने भाँडाकुँडा, खेलौना र मूर्तिहरू केवल दैनिक उपयोगका सामग्री मात्र होइनन्, ती परम्परागत शिल्पकलाका मौन अभिव्यक्तिहरू पनि हुन् । यी कलालाई आकार दिने शिल्पीलाई हामी 'कुमाले' भन्छौं, जो माटोलाई शिल्प -सौन्दर्य र रङरूपको लयमा बाँध्न सक्ने कुशल कलाकार हुन् ।
नेपालका विभिन्न भूभागमा मृणशिल्पले स्थानीय विशेषता बोकेको छ, जसको ख्याति सीमाना नाघेर अन्तर्राष्ट्रिय फलकमा फैलिएको छ । मिथिलाञ्चलको मृणशिल्प त झन् विशिष्ट र सजीव सांस्कृतिक पहिचानको वाहक हो । यहाँका शिल्पीहरूद्वारा निर्मित कलात्मक सघन अलंकरणले माटोलाई जीवित परम्पराको रुपान्तरणमा रूपान्तरित गरेको पाइन्छ । यो मृणशिल्प केवल सौन्दर्यको अभिव्यक्ति नभई, लोकजीवनको अनुभूति र चाडपर्वको सांस्कृतिक वैभवको संवाहक बनेर प्रकट हुन्छ ।
मिथिला चित्रकला—लोकआत्माको क्यानभास
नेपाली लोककलाको उज्यालो अनुहारमध्ये एक हो, मिथिला चित्रकला । कहिल्यै नओइलाउने फूलझैँ यसको परम्परा माटोको भित्ताबाट सुरु भई आज क्यानभास, कागज, तथा परिधानसम्म विस्तार भएको छ । यसको चित्रशैलीमा प्रयोग गरिने चहकिला रङहरू, सुक्ष्म र लयबद्ध रेखाहरू, र ‘कचनी -भरनी’ प्रविधिको विशिष्ट प्रयोगले यसलाई पृथक एवम् मौलिक बनाएको छ ।
घरका आँगनदेखि पूजाकोठासम्म, चाडपर्वदेखि तिहारको उल्लाससम्म, मिथिला चित्रकला केवल सजावटको माध्यम होइन, आस्थाको रूप, संस्कृतिको प्रतिबिम्ब र जीवनशैलीको अभिन्न अङ्ग बनेर उपस्थित हुन्छ । विशेष कुरा त के छ भने, यसका सर्जकहरू कुनै औपचारिक शिक्षा प्राप्त कलाकार होइनन्, बरु पुस्तौंपुस्ता हस्तान्तरण हुँदै आएको ज्ञान, अनुभव र भावना नै उनीहरूको गुरुकुल हो । हजुरआमाबाट आमामा, आमाबाट छोरीमा बगिरहेको यो चित्रशैली आज पनि मिथिलाञ्चलको नारी आत्मामा जीवन्त छ । यद्यपि, वर्तमानमा केही संस्थागत प्रयासहरूद्वारा यसको संरक्षण तथा प्रसारको काम सुरु भएको छ, यसको मौलिकता भने अझै गाउँघरकै आँगनमा धड्किरहेको छ ।
माटोको मोह: बालपनको मृणशिल्प यात्राको प्रारम्भ
बाल्यकालको त्यो सुनौलो परिवेश, जब म ( पंक्तीकार ) लहानको एक सानो विद्यालयमा प्राथमिक तहका कक्षामा अध्ययनरत थिएँ, घरको आँगनमा हजुरआमाले गर्ने कलाकर्ममा सघाउन सधैं अग्रसर हुन्थेँ । माटो मेरो लागि खेलौना मात्र नभई आत्मीय साथी थियो, जसले मेरो कल्पनालाई आकार दिन्थ्यो । कञ्चन सम्झनामा आज पनि ताजै छ ।
जब बालकले बामे सर्दै गर्दा सुकुलको कुनामा रहेको माटो टिपेर पहिलोपटक मुखमा हाल्छ । त्यो नै माटोसँगको पहिलो संवाद हो । मेरो कलायात्राको प्रारम्भ मृणशिल्पबाट भयो । चुपचाप तर गहिरो अनुरागका साथ । मेरो पहिलो गुरु मेरी हजुरआमा थिइन्, जसको स्पर्शबाट माटो प्रेमको सूत्रपात भयो । दोस्रो गुरु थिए, लहान कुम्हार टोलका स्वर्गीय श्याम पण्डित । एक जादुगरजस्ता मूर्तिकार, जसका मूर्तिहरूमा प्राण जस्तो चलायमानता हुन्थ्यो । दुर्गा पूजा, इन्द्र पूजा, कृष्ण जन्माष्टमीजस्ता पर्वहरूमा उनका सिर्जनाले जनसमुदायको हृदय जित्थ्यो । त्यो बेला दसैंको मुखमा मन्दिरको आँगन माटोका देवीदेवताको मूर्तिले भरिन्थ्यो । म स्कूलबाट फर्केपछि भोक प्यास बिर्सेर घण्टौँ त्यही मूर्ति सृष्टीमा तल्लिन रहन्थेँ । बाबुजी - मेरो बुवा जिनलाई म ‘बाबुजी’ नै भन्थेँ - मेरो यस प्रेमलाई बुझ्नुभयो । उहाँले श्याम पण्डितसँग अनुरोध गर्नुभयो, र यसरी म प्रत्येक शनिबार मूर्ति बनाउन सिक्न जाने अवसर पाउँथें । त्यो यात्रा, मेरो जीवनको आयाम नै बदलिदियो ।
कुम्हारटोलको सम्झना: बाल्यकालको आत्मीय सांस्कृतिक प्रेम
लहान - सिरहाको त्यो साँस्कृतिक संगम स्थल, जहाँ थुप्रै जातजाती र चाडपर्वहरू एउटै धागोमा गाँसिएका छन् । यही साझा अस्तित्वले मिथिलाको मुटुमा लहानलाई पर्यटकीय मानचित्रमा स्थापित गराउने आत्मविश्वास पलाएको छ । मेरो बाल्यकालको क्रीडास्थल थियो - कुम्हार टोल । त्यहाँ निरन्तर घुमिरहने 'चाक'—माटोको भाँडा बनाउने त्यो पवित्र चक्र - आज पनि मेरो स्मृतिमा अविच्छिन्न रूपमा घुमिरहेको छ । माटो मात्र वस्तु थिएन; त्यो मेरो कल्पनाको क्यानभास थियो । बाबुजीको एउटा वाक्य अझै सम्झन्छु: ‘काँचो माटोले जे बनाए पनि बन्छ, पाकेपछि बन्न सक्दैन। बाल्यकाल पनि त्यस्तै काँचो माटो हो, यहीँबाट जीवनले आकार लिन्छ ।’ त्यो विचारले ममाथि गहिरो छाप छोड्यो । माटोसँगको सम्बन्ध केवल कलाको विषय थिएन, त्यो त जीवनदर्शनकै रूपमा मेरो आत्मा भित्र पसिसकेको थियो ।
दरभंगा: स्मृतिको पुनर्जागरण र माटोको अर्को अध्याय
स्कूल शिक्षापछि म मिथिला विश्वविद्यालयतर्फ लागें । डाक्टर बन्ने उदेश्य बोकि विज्ञान पढ्ने हेतुले दरभंगा पुगेँ । तर विज्ञान मात्र होइन, त्यहाँ मेरो हृदयमा कलाको एउटा नयाँ संसार उदायो । विशेष गरी मिथिला चित्रकला र मृणशिल्पप्रति रुचि झन प्रगाढ हुँदै गयो । त्यसबेला म लहेरियासरायमा बस्थेँ । जहाँबाट दरभंगा शहर करिब पाँच किलोमिटर टाढा थियो । कलेज आउँदा - जाँदा बाटैमा पर्ने मौलानागञ्ज मुहल्ला - जहाँ केही कुमाले परिवारको बस्ती थियो । मेरो बाल्यकालको लहानको कुम्हारटोल झल्झल्ती सम्झायो ।
यहाँ भिन्नता थियो - संख्या थोरै, तर सम्पन्नता प्रशस्त । लहानमा जहाँ आत्मनिर्भरता हुँदाहुँदै पनि गरिबीले गाँजेको थियो, यहाँ दरभंगामा कुम्हारहरूको जीवन समृद्ध देखिन्थ्यो । मनमा एक प्रश्न पटक - पटक गुञ्जिन्थ्यो " ठाउँ ( मिथिलान्चल ), भाषा, धर्म, परम्परा, शिल्प र संस्कार त एउटै छन्, तर आर्थिक हैसियतमा यत्रो भिन्नता किन ?" म त्यहाँ झुल्किरहन्थेँ, एक गहिरो उत्तरको खोजीमा ।
चाकको चक्र: परम्पराको घुम्तीमा नवचेतनाको यात्रा
त्यो भुइँमा ठडिएको ठूलो ढुंगाको ‘चाक’, र वरिपरि सिँगारिएका मूर्ति, रंगीन भाँडाकुँडा, तथा मिथिला कलाले सजिएका सामाजिक संस्कारका सामग्रीहरूले भरिएको त्यो कार्यशाला - कला मन्दिर भन्दा कम थिएन । त्यो दृश्य केवल माटोको रूपान्तरण मात्र थिएन, त्यो त जीवनको पुनःसंरचना थियो । जहाँ कला र जीवनको प्रवाह हो । जहाँ कला विना जीवनको कल्पना गर्न सकिन्न । पांग्राको आविष्कारले जहाँ यात्रालाई सहज बनायो । कहिले व्यापारको लागि, कहिले युद्धको, कहिले आपतकालको निवारणका लागी । त्यसले कलाको यात्रा पनि सम्भव बनायो ।
त्यही चाकमा, जहाँ माटो घुम्छ, त्यहीँ कलाकारको मन पनि घुम्छ, निरन्तर सिर्जना र पुनःसिर्जनाको चक्रमा । उदाहरणको लागि, गर्मीयाममा प्रयोग हुने सुराही बालुवा र माटोको सुन्दर सम्मिश्रण, कलात्मकता र उपयोगिताको अनुपम समागम हो । यहीँ थाहा पाइयो । परम्परालाई सम्हाल्दै, लोकशिल्पलाई आवश्यकताको अनुरूप बदल्न सक्ने सुझबुझ भएमा, सिर्जना मात्र होइन, समृद्धि पनि सम्भव छ ।
माटोको मातृत्व: सभ्यताको उदय र मूर्तिशिल्पको गाथा
आज जब म मेरो शैशवकालीन मूर्तिप्रेमलाई फर्केर हेर्छु, त्यो केवल एक बालकको चाख थिएन, त्यो त सभ्यता, संस्कार र सांस्कृतिक निरन्तरताको यात्रा थियो । जब मानिस घुमन्ते जीवनबाट स्थायी वासस्थलमा बस्न थाले, त्यहीँबाट माटोको महत्व सुरु भयो - अन्न उमार्न, पकाउन, र पूजन गर्न । माटो केवल जीवनको साधन बन्यो, होइन, त्यो "धरती माता" को संज्ञा पाउने पवित्र तत्व बन्यो । यही माटोबाट मातृदेवीका मूर्ति बन्न थाले, पूजा परम्पराको शुरूआत भयो ।
मोहनजोदाडोको उत्खननबाट प्राप्त मूर्तिहरू त्यस सभ्यताको मौन साक्षी बने । आज पनि मिथिला र बंगालमा पूजाको अवसरमा माटोका मूर्ति र भाँडाकुँडा बनाइन्छन् । जसको आकृति, र मिथिला चित्रकलामा प्रयोग हुने आकृति - प्रतीकहरूमा अद्भुत साम्यता पाइन्छ । यो यात्रा माटोसँगको होइन, यो त आत्मासँगको संवाद हो, जहाँ माटोले मेरो जीवन, मेरी चेतना, र मेरो कला - अस्तित्वलाई रूप दिएको छ ।
तराई मधेशको लोकपरम्परा : माटोको घोडा र मूर्तिशिल्पको आध्यात्मिक आयाम
तराई मधेशको लोकजीवन अत्यन्त समृद्ध, सांस्कृतिक विविधताले भरिएको र आध्यात्मिकताको गहिरो जरा गाडिएको समाज हो । यहाँको ग्रामीण जीवनशैली केवल कृषि र परिवारसम्म सीमित छैन, यो लोकदेवता, परम्परागत शिल्पकला, र आध्यात्मिक भावनासँग गाँसिएको छ । यिनै परम्पराहरूमा एक विशिष्ट, जनविश्वासले पूर्ण र गहिरो अर्थ राख्ने परम्परा हो । ग्रामदेवतालाई माटोको घोडा चढाउने चलन ।
ग्रामीण मिथिलामा ग्रामदेवता कुनै विशिष्ट मूर्तिमार्फत् सीमित हुँदैनन् । यिनीहरूलाई "डिहबार बाबा", "बरहम बाबा", "भगवती थान" जस्ता नामले पुकारिन्छ, जसले उनीहरूको सार्वत्रिकता र जनआस्थाको व्यापकता झल्काउँछ । यी देवताहरूको निवास गाउँबाहिरको वटवृक्ष, पीपलको बोट अथवा माटोले बनाइएको सानो थान (देवपिण्ड) मानिन्छ, जहाँ श्रद्धालुहरूले माटोको घोडा, घुडसवार, र चौमुख दीप ( चस्र मुख भएको माटोको दीप ) चढाएर पूजन गर्छन् । माटोको यो घोडा केवल प्रतीकात्मक चढावा होइन। यो लोकजन मानसको आस्था, प्राकृतिक तत्वहरूप्रतिको सम्मान र ग्राम्य जीवनको सामूहिक चेतनाको अभिव्यक्ति हो ।
शिल्पकला र धार्मिक मूर्तिनिर्माणको परम्परा
मिथिला क्षेत्रमा चाडपर्वहरू - सरस्वती पूजा, कृष्णजन्माष्टमी, विश्वकर्मा पूजा, छठ, दुर्गा पूजा (दशैँ), कालीपूजा आदिमा काँचो माटोको मूर्ति बनाउने परम्परा गहिरो रूपमा बसिएको छ । यस्ता मूर्तिहरू केवल धार्मिक उपासना मात्र होइनन्, सांस्कृतिक जीवित विरासतका मूर्त प्रमाण हुन् । मूर्तिशिल्पमा स्थानीय रूपमा पाइने बाँस, खर, पराल, जूट, कपास, र विशेष प्रकारको माटो प्रयोग गरिन्छ । यी प्राकृतिक सामग्रीलाई कुमालेहरूको कुशल हातहरूले जीवन्त रूप दिँछन् । विशेष गरी दुर्गा पूजाका अवसरमा देवी दुर्गा, महिषासुर मर्दिनी, काली, लक्ष्मी, सरस्वती, गणेश लगायतका मूर्तिहरू विशाल पण्डालमा स्थापना गरिन्छन् । सिङ्गो गाउँले त्यहीँ भेला भई मेला, जात्राको रूपमा सांस्कृतिक उत्सव मनाउँछन् ।
मूर्ति निर्माणको आध्यात्मिक प्रक्रिया र प्राणप्रतिष्ठा
मूर्ति निर्माण केवल कलात्मक अभ्यास होइन, यो एक आध्यात्मिक अनुष्ठान हो । मूर्ति बनाउँदा, अन्तिम चरणमा "नेत्राञ्जन" (आँखा हाल्ने) परम्परा विशेष रूपमा गरिन्छ । यो क्षण अत्यन्त पवित्र मानिन्छ, जहाँ मूर्तिमा चेतना प्रवेश गराउने विश्वास गरिन्छ । यसरी मूर्तिमा 'प्राणप्रतिष्ठा' गरिन्छ, अर्थात् त्यो मूर्ति अब केवल माटोको टुक्रा नभई जीवित देवी वा देवताको साक्षात् स्वरूप मानिन्छ । यस संस्कारको मूल भावना हो । 'शून्यमा चेतना जगाउनु', जो सनातन हिन्दू दर्शनको मूलमन्त्र हो ।
परम्परागत शिल्प र आधुनिक प्रभाव
एक समय थियो, जब देवी-देवताका मूर्तिहरू बजारबाट खरिद गरिँदैनथे । आवश्यक परेमा गाउँका कुमालेलाई अनुरोध गरिन्थ्यो। मूर्तिको मूल्य स्वरूप साडी, धोती, धान, मकैजस्ता अन्न उपहार स्वरूप दिइन्थ्यो । प्रत्येक परिवारसँग सम्बन्धित आ-आफ्नो कुमाले हुन्थे, जसलाई वर्षेनि अन्नदाताको रूपमा सम्मान गरिन्थ्यो ।
समयसँगै केही कुरामा परिवर्तन आएको छ । पहिले जहाँ प्राकृतिक रङ, जस्तै गेरु, कोइला, हल्दी, कुंमकुमको प्रयोग हुन्थ्यो, अहिले त्यहाँ केमिकलयुक्त आधुनिक रङहरूको प्रवेश भएको छ । यद्यपि, मिथिलाञ्चल र बंगालको शिल्प परम्परा अझै पनि विश्वभर आफ्नो मौलिकता, कलात्मकता र आध्यात्मिक गहिराइका कारण चर्चित छ ।
तराई मधेशका मूर्तिशिल्प : अद्वितीय कौशलको गाथा
यहाँका शिल्पकारहरूको कौशल केवल हस्तकलामा मात्र सिमित नभै , यो उनीहरूको परम्परागत ज्ञान, अनुभव, र अन्तरआत्माको अभिव्यक्ति हो । एक सानो माटोको घोडादेखि लिएर महिषासुर मर्दिनीको भव्य मूर्तिसम्म सबै सिर्जनामा कलाको लालित्य, धार्मिक आस्था र समाजको जीवन्त इतिहास झल्कन्छ । यिनले बनाएका मूर्तिहरू समयको साथ फेरिन सक्लान्, तर यिनको सांस्कृतिक मूल्य र आध्यात्मिक ऊर्जा स्थायित्वको प्रतीक बनिरहन्छ ।
लुम्बिनीका अबधी लोककला का कलाकार बाल गोबिन्द त्रिपाठी भन्छन् "नेपालको तराई क्षेत्रमा बसोबास गर्ने अवधी समाजमा दशैँको समयमा दुर्गा माताको मूर्ति निर्माण गर्नु धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । माटोले मूर्तिकला गर्नु भनेको स्पर्श मार्फत कल्पनालाई जीवन दिने, पृथ्वीलाई आकार दिने कला हो । हातले बनाएको प्रत्येक प्रेस, वक्र र रेखाले भावना र मनसाय बोकेको हुन्छ । माटो धैर्यवान र क्षमाशील हुन्छ, जसले कलाकारलाई दर्शन वास्तविकतामा नपुगुन्जेलसम्म ढाल्न, सच्याउन र परिष्कृत गर्न अनुमति दिन्छ । दुर्गा माता शक्ति र विजयकी देवीका रूपमा पूजिन्छिन् । दशैँमा दुर्गा माताको मूर्ति बनाई पूजाआजा गरिने देशको समग्र तराईको भूभाग देखि पहाडीप्रमुख शहरहरु मा गरिन थालेको छ । जसलाई समाजले असत्यमाथि सत्य, अन्यायमाथि न्यायर दुष्टमाथि सद्गुणको विजयको प्रतीकस्वरूप मनाउँछ । विशेष गरी नवदुर्गा को प्रतिमा बनाई पूजा, पाठ दुर्गा स्तोत्रपाठ र बलिप्रदान द्वारा धार्मिक आस्था गहिरो हुन्छ ।
मूर्ति निर्माण, पूजा र विसर्जनमा सबै वर्ग, समुदायको सक्रिय सहभागिता हुन्छ। यसले समाजमा एकता, मेलमिलाप र सामूहिकता बलियो बनाउँछ । चाडपर्वका अवसरमा गाउँघरमा मेलाको वातावरण सिर्जना भई आपसी सम्बन्ध अझ घनिष्ट हुन्छ ।"
समयको बदलिँदो परिवेशमा पछिल्ला वर्षहरूमा चाडपर्वको नाममा देखावटी भव्यताले हाम्रो सांस्कृतिक मूल्यमान्यतालाई मात्र होइन, प्राकृतिक पर्यावरणलाई समेत गहिरो चोट पुर्याउन थालेको छ । पहिले माटो, बाँस, कपडा, र प्राकृतिक सामग्रीबाट निर्माण गरिने पूजास्थल वा पण्डालहरू आजभोलि प्लास्टिक, थर्माकोल, र अन्य अजैविक पदार्थले भरिएका हुन्छन् । रंगीचंगी तर पर्यावरणीय दृष्टिले हानिकारक यस्ता सामग्रीको अत्यधिक प्रयोगले चाडपर्वको शुद्धताको सट्टा प्रदूषणलाई निम्त्याइरहेको छ ।
विशेषतः नदी किनारमा बनाइने ठूलो पण्डालहरूमा प्रयोग गरिने प्लास्टिक झोलाहरू, सजावटका पट्टीहरू, ब्यानर, एकपटक मात्र प्रयोग हुने थर्माकोल प्लेट, गिलास र प्लास्टिकका मूर्ति सजावटले पूजापछि फोहोरको विशाल थुप्रो नदीमा तथा नदीको पेटीमा खन्याइन्छ । त्यसमाथि मूर्ति विसर्जन, जुन पहिले माटोको मूर्ति पानीमा घुलिने प्रकृतिसँगको समन्वय थियो, आज प्लास्टिक र रासायनिक रङले बनेका मूर्ति विसर्जनको नाममा नदीहरूलाई विषालु बनाउने अभ्यासमा परिणत भइसकेको छ । त्यसैले अब सतर्कता आवश्यक छ ।
प्राकृतिक सामग्रीको प्रयोग: पण्डाल निर्माणमा बाँस, कपडा, काठ, माटो र अन्य जैविक र पुनःप्रयोग गर्न मिल्ने सामग्री प्रयोग गर्नुपर्छ । प्लास्टिक र थर्माकोलको प्रयोग न्यूनतम वा पूर्ण रूपमा निषेध गरिनुपर्छ ।
केही दशकअघिसम्म मिथिलाका कुशल कुम्हारहरू प्रकृतिका कूची थामेर रङको सृजनामा तल्लीन रहन्थे । उनीहरूको कलामा सुन्तलाको चमक सयपत्री र पारिजातका फूलबाट, नीलोको निखार नीलबाट, पहेँलोको उज्यालो वेसारबाट, र रातोको गहिराइ गेरु माटोबाट झल्किन्थ्यो । सेतो रङ चुनाबाट र कालोपन मोसोबाट उदात्त रूपमा प्रकट हुन्थ्यो । यसरी बनस्पति र खनिजका रङले जीवन्त बनाइएका माटोका मूर्ति र भाँडाहरू, मिथिलाको आत्मा बनिरहेका थिए ।
तर आज यन्त्रयुगको छायाँले ढाकिँदै गएको छ जीवनको क्यानभास । आधुनिक रासायनिक रङहरूले प्राकृतिक रङको सुगन्ध हराइसकेको छ । प्लास्टिकले हाम्रो जीवनशैली मात्र बदलेको छैन, संवेदना र संस्कृतिको मर्ममा पनि हस्तक्षेप गरेको छ । घरको भाँडाभान्सादेखि पूजा - अर्चनासम्म, यहाँसम्म कि देवताको मूर्तिसमेत प्लास्टिकको खोलभित्र थुनिन पुगेका छन् । यद्यपि, हामी अझै केही परम्परागत रेखाहरू सम्हालेर उभिएका छौं । चाडपर्वका अवसरमा माटोको भाँडो अनिवार्यजस्तै छ, जुन हाम्रो सांस्कृतिक स्मृति र कला परम्पराको एक मूर्त प्रतीक हो ।
तर, आधुनिक रङहरूमा मिसिएका सिसा, पारा र क्रोमियमजस्ता घातक तत्वहरूले नदीलाई विषालु बनाइरहेका छन् । ती रसायन पानीमा घुली माछाहरूको मृत्यु, दुर्गन्धित जलधारा र कृषि तथा पानिका लागि अयोग्य जलको सृष्टि गरिरहेका छन् । यस्तो प्रवृत्तिले हामीलाई धर्म र संस्कृतिको नाममा प्रकृतिविरोधी अभ्यासको संरक्षक बनाइदिएको छ । न यो धर्मसँग मेल खान्छ, न संस्कृति वा पर्यावरणीय चेतनासँग नै । यसरी, प्रकृतिसँग हार्दिक सम्वाद गर्ने हाम्रो परम्परा, आज प्रविधिको अत्यधिक प्रयोगमा हराउन थालेको छ ।
प्रतिमा विषर्जनको बैकल्पिक व्यवस्था
नदी विसर्जनको विकल्प: मूर्ति विसर्जनका लागि कृत्रिम ट्यांकी वा पोखरीको व्यवस्था गर्न सकिन्छ, जसमा मूर्ति घुलाएर माटो निकालेर गार्मिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ। नदी, पोखरीजस्ता जीवनदायिनी जलस्रोतहरूलाई प्रदूषित हुनबाट जोगाउनुपर्छ । सजग नागरिकको भूमिकामा समुदायस्तरमा चाडपर्व मनाउँदा पर्यावरणीय शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्थानीय सरकार, संघसंस्था, र स्वयंसेवी समूहले सचेतनात्मक अभियान सञ्चालन गर्नु अत्यावश्यक छ । फोहोर व्यवस्थापन, पूजापछि बाँकी रहेका पूजासामग्री, पुष्प, धूप, प्लास्टिक र अन्य फोहोरलाई उचित रूपमा वर्गीकरण गरी कम्पोस्ट र पुनः प्रयोगमा लगिनुपर्छ ।
धर्म र संस्कृति प्रकृतिसँग टुटन नसक्ने सम्बन्धमा आधारित हुन्छन् । चाडपर्व मनाउने क्रममा यदि हामीले प्रकृति र वातावरणको विनाश गर्यौँ भने त्यो आस्था प्रति समर्पण होइन, विनाशतर्फको अन्धानुकरण मात्र हुनेछ । अतः आजको आवश्यकताको केन्द्रमा अब चाडपर्वको धार्मिक भावना मात्र होइन, पर्यावरणीय उत्तरदायित्व पनि उभिनुपर्छ । हाम्रा सन्तानलाई शुद्ध संस्कृति र स्वच्छ प्रकृति हस्तान्तरण गर्न हामी सबैले आजैदेखि सचेत र सक्रिय हुनैपर्छ ।
sdaskayastha@gmail.com
23 सेप्टेम्बर 2025
Comments
Post a Comment