मिथिला संस्कृतिको अरिपन : एक परिचय

 


मिथिला संस्कृतिको अरिपना : एक परिचय

मिथिला संस्कृतिको अरिपन कलाको सिर्जनासँगै अनुसन्धान गर्न धेरै बाँकी छ

34Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

अरिपन कला मिथिला क्षेत्रको बहुआयामिक सांस्कृतिक सम्पदा हो, तर उपयुक्त अर्थ, इतिहास र परम्परा, प्रतीक र महत्व, सिर्जनाको कारण, विधि र सामग्रीको प्रयोग, अमूर्त रूपमा मूल्यजस्ता धेरै पक्षको पर्याप्त अध्ययन र अनुसन्धानको अभाव छ

एससी सुमन

नेपाल एउटा सानो र भूपरिवेष्ठित तर विविधतायुक्त प्राकृतिक र सांस्कृतिक सम्पदाको धनी देश हो । कला, संस्कृति, प्रकृति, जनजीवन लगायतका क्षेत्रमा पाइने विविधता नै नेपालको पहिचान हो । मुलुक हैसियत र महिमा मात्र होइन, राष्ट्रको विशिष्ट पहिचान मन्दिर, गुम्बा, चित्र, विभिन्न कला, चाडपर्व, हिमाल, नदी, वन, ताललगायत विभिन्न सुन्दर ठाउँले दिएको छ । यसले हाम्रो सौन्दर्यको झल्कोलाई विश्वसामु चिनाउन सकेको छ । बाँकी विभिन्न कला रूपमध्ये, अरिपन नेपालीय मिथिला क्षेत्रको महत्वपूर्ण सांस्कृतिक सम्पदा हो । यो विशेषगरी मिथिला क्षेत्रका घर र आँगनमा कोरिएको भूमि चित्रकला हो । त्यसैले यसलाई मैथिली संस्कृतिको अद्भूत कला सम्पदाको रूपमा चिनिन्छ । मिथिला क्षेत्र एक मैथिली संस्कृतिमा धार्मिक र धर्मनिरपेक्ष दुवै प्रकारका कलाका विभिन्न रूप सिर्जना गर्ने परम्परागत प्रचलन रहिआएको छ । मिथिला क्षेत्रको मात्र नभई सिंगो राष्ट्रको सांस्कृतिक सम्पदाको परिप्रेक्ष्यमा भूमि चित्रकलाको रूपमा अरिपनलाई सुन्दर सृष्टि मानिन्छ ।

मिथिलामा मानव बसोबास, संस्कृति र सभ्यताको लामो इतिहास छ । प्राचीन कालमा यसलाई विदेह राज्य भनेर चिनिन्थ्यो । पहिलो पटक सतपथ ब्राह्मणले मिथिला क्षेत्रको उल्लेख गरेका छन् । विदेहपछि अन्य संस्कृत, बौद्ध र जैन साहित्यले पनि यसलाई पवित्र स्थान र छुट्टै राज्यको रूपमा वर्णन गर्दछ । मिथिला राज्य विगतमा उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्म र कोशी एवं गण्डकी नदीको बीचमा फैलिएको थियो । मिथिलाको भूमिलाई १५ नदीले सिँचाइ गर्दथ्यो भनी प्राचीन ग्रन्थहरूमा उल्लेख छ । यो राज्य यज्ञक्षेत्र, विदेह र तिरभुक्ति अर्थात् तिरहुत नामले पनि चिनिन्थ्यो ।

मिथिला संस्कृतिमा अरिपनको विशिष्ट स्थान छ । अरिपन तन्त्रले उत्पन्न, व्रत–अनुष्ठान, सामाजिक संस्कार, पारिवारिक समारोह, शुभ अवसरसँग जोडिएको छ । यो मिथिलाको प्राचीन सांस्कृतिक परम्परा र लोककला हो । अरिपनको प्राचीनतको सन्दर्भमा लगभग पाँच हजार वर्ष पूर्वको सिन्धु घाँटी–सभ्यताको पुरावषेश, मुद्रामा पूर्ण विकसित प्रतीकको रुपमा पाइन्छ । मिथिला कलाको ‘अरिपन’ पुरातन नारीको ब्रह्माण्डोत्पतिसँग सम्बन्धित अवबोधको जीवित दस्तावेज हो । जसमा ज्यामितीय माध्यमले त्यो ज्ञानको अभिव्यक्तिको एउटा अवाचिक पद्धति हो । एक साधारण विन्दुले अपरिमित दैवी समाजसम्मको यात्राको लौकिक पथ हो । विन्दुले ब्रह्माण्डसम्म वृत, अर्धवृत, कुण्डली, कचनी, त्रिभुज, चतुर्भुज, षट्कोण, अष्टकोण र नक्षत्र, वृक्ष–लतादी, जलाशय, जीवजन्तु, विभिन्न दलको संख्या भएको कमल– दलले निर्मित एउटा छुट्टै संसारको रचना गरिन्छ ।

मिथिलामा कुनै पनि सामाजिक तथा संस्कारसम्बन्धी कार्यसम्पादन गर्न अरिपन भूमिमा बनाउँदा गाईको गोबर र माटोले आँगनलाई लिपि शुद्ध बनाउने परम्परा रहिआएको छ । यसको प्राचीनता मोहनजोदारो र हडप्पामा पनि अल्पना अर्थात् अरिपनको चिह्न भेटिन्छ

उत्पत्तिको सम्बन्धमा साधारणतः यो मानिन्छ कि ‘अरिपन’ शब्दको विकास संस्कृतको ‘अल्पना’ आलेपन, अलोपन, अथवा अलिम्पनबाट भएको हो । जसको अर्थ हो, लिपनु अथवा लेपन गर्नु हो । प्राचीन साहित्यमा उल्लेख भएको सर्वतोभद्र, स्वस्तिक, षोडसदल, अष्टदल, आदि यसको प्रभेद हो । अरिपन कला भूमिलाई शुद्ध पार्न परापूर्वकालदेखि चल्दै आएको छ र आज पनि जीवित छ । मिथिलामा मनाइने चाडपर्व पूजा–आजा, यज्ञ, सामाजिक समारोह, जन्मदेखि मृत्युसम्मका जीवन संस्कार सुरु गर्नुभन्दा पहिले अरिपन लेखिन्छ ।

मिथिलामा कुनै पनि सामाजिक तथा संस्कारसम्बन्धी कार्य सम्पादन गर्न अरिपन भूमिमा बनाउँदा गाईको गोवर र माटोले आँगनलाई लिपि शुद्ध बनाउने परम्परा रहिआएको छ । यसको प्राचीनता मोहनजोदारो र हडप्पामा पनि अल्पना अर्थात् अरिपनको चिह्न भेटिन्छ । धार्मिक सन्दर्भभन्दा अलग भएर यसलाई ऐतिहासिक दृष्टिकोणले हेर्दा यसको प्रारम्भिक काल मोहनजोदारो र हडप्पा सभ्यतासँग जोडिएको छ । यो दुवै सभ्यतामा अल्पना अरिपनको चिह्न भेटिएको छ । व्रतचारी आन्दोलनको जन्मदाता तथा बंगला लोककला र संस्कृतिको विद्वान गुरुसहाय दत्तको अनुसार बंगाली महिला अल्पनाको मध्यममा बनाइने कमलको फूल मोहनजोदारोको समयको कमलको फूलको प्रतिरूप नै हो ।

अल्पना वात्स्यायनको ‘कामसूत्र’ मा वर्णित चौंसठ कलामध्ये एक हो । तसर्थ यो अति प्राचीन लोककला हो । प्राचीन कालमा लोकजनमा विश्वास थियो, यो कलात्मक चित्र सहर र गाउँलाई धनधान्यले परिपूर्ण र सुरक्षित राख्दछ । यद्यपि, मिथिलाले आफ्नो जीवनमा अर्थ खोज्नको लागि धार्मिक र धर्मनिरपेक्ष अभ्यासबीच राम्रो सन्तुलन कायम गरेको छ । अरिपन कला भूमिलाई शुद्ध पार्न परापूर्वकालदेखि चल्दै आएको छ र आज पनि जीवित छ । आज पनि कुनै यज्ञ वेदी बनाउँदा र यज्ञयागादि अनुष्ठान सुरु गर्नुभन्दा पहिले भूमिपूजा गर्ने परम्परा रहिआएको छ । मिथिलामा मनाइने चाडपर्व पूजाआजा, यज्ञ, सामाजिक समारोह, जन्मदेखि मृत्युसम्मका जीवन संस्कार सुरु गर्नुभन्दा पहिले अरिपन रचिन्छ । शब्दार्थ चिन्तामणि र शब्द कल्पद्रुममा अरिपनमा प्रयोग गरिने सामग्रीको उल्लेख गरिएको छ ।

मिथिला क्षेत्रका अरिपनमा अरुवा चामलको प्रयोग गरिन्छ । अरिपन बनाउँदा अरुवा चामल धोई, सुकाई, पिसेर पिठो बनाइ प्रयोगमा ल्याइन्छ । अर्को अरुवा चामललाई भिजाई सिलौटोमा पिसिन्छ र आवश्यकता अनुसार पानी थपी घोल बनाएर प्रयोगमा ल्याइन्छ । त्यसलाई ‘पिठार’ भनिन्छ । अरिपन बनाउँदा हातको ३, २ तथा १ औँला प्रयोग गरी बनाइन्छ । यो भूमिमा अत्यन्त सुन्दर तथा कलात्मक ज्यामितीय आकृति हुन्छ । अरिपन सेतो, पहेलो र रातो गरी तीन रङले बनाइन्छ । सेतो रङको ठाउँमा अरुवा चामलको पिठो वा घोल, पहेलो रङको ठाउँमा बेसारको धुलो र रातो रङको रूपमा सिन्दुरको प्रयोग गरिन्छ । गोबर र माटोले लिपी शुद्ध गरिएको आँगनमा चामलको घोलबाट औँलाको सहाराले बनाइएको कलात्मक ज्यामितीय आकृतिमा ठाउँ–ठाउँमा सिन्दुरको ठोप (टीका वा बिन्दु) हाली सजाइन्छ । सिन्दुरको ठोप नहालेको अरिपन अशुद्ध मानिन्छ । त्यसलाई ‘अखरा अरिपन’ भनिन्छ । सिन्दुरको ठोप नहालिएको अरिपन मांगलिक अवसरमा उपयोग हुँदैन । कुनै वस्तु देवतालाई अर्पण गर्दा सिन्दुर तथा पिठारको प्रयोग अनिवार्य मानिन्छ ।

उदाहरण स्वरुप अरिपनको विशिष्टता र महत्वलाई सजिलो गरी बुझनको लागि तुसारी पूजाको अरिपनलाई लिन सकिन्छ । मिथिलाञ्चलमा तुसारी पूजा मकर संक्रान्तिबाट कुम्भ संक्रान्तिसम्म एक महिनापर्यन्त गरिन्छ । ताराचरणचन्द्रिकामा उल्लिखित तुषारप्रभा भगवतीको बयान अनुसार ती देवीको उपासना गर्ने सिलसिलामा यो पूजा गरिन्छ । यसलाई मिथिलामा तुसारी पूजा भनिन्छ । तुषारका पूर्वाङ्गी, तुषारका सुन्दरी, तुषारका र तुषारांशुका नाममा यो पूजा गरिन्छ । बिहानै काग कराउनुभन्दा पहिले गरिने पूजा हो यो । मिथिलामा कुमारी कन्याबाट यो पूजा गराइन्छ । विवाह भएको वर्षको माघ महिनामा यस पूजाको अन्त्य तिनै कन्याबाट गराइन्छ । सेतो अरिपनमा सबै गुणले सम्पन्न वर पाउने, पहेलो अरिपन धनधान्यको परिपूर्णता हुने, रातो अपरिपन सबै प्रकारका रोगको नाश गरी स्वस्थ बन्ने कामनाको प्रतीक मानेर यस पूजामा सूर्य, चन्द्र तथा नवग्रहको अरिपन निश्चित मन्त्र पाठ गरेर लेखिन्छ ।

यो पूजा घरको आँगनमा गरिन्छ । यस अवसरमा कुमारी कन्याहरू महिनाभरि नै उत्साहित हुन्छन् । उनीहरू साँझको समयमा पूजा सामग्री तयार पारेर राख्दछन र बिहान चार बजे नै उठी नित्य कर्म गरेर पूजाका लागि तयार हुन्छन् । माघ महिनाको चिसो र तुसारोमा पूजा गराउँदा कुमारी कन्यालाई शिक्षा दिइन्छ । बिहानै उठेर घरको आँगनमा हिँडेमा प्रभाती स्वच्छ वायु सेवन गर्न पाइन्छ । त्यसबाट शरीर स्वस्थ्य रहन्छ र आलस्य भाग्दछ । विवाहपश्चात् ती कन्या गृहकार्यमा बिहानदेखि नै सक्रिय बनुन् भन्ने उद्देश्यले पनि यो पूजा कन्याबाट गराइएको देखिन्छ ।

छुट्टाछुट्टै चाडपर्वमा लेखिने अरिपनको छुट्टाछुट्टै प्रतीकात्मक महत्व हुने गर्दछ । तुसारी पूजामा चित्र मन्दिरको रूपमा बनाइन्छ । त्यसमा देवताका ठाउँमा गौरीको यन्त्र लेखिन्छ । सेतो र पहेँलो रङको मन्दिर रूपी अरिपनमा सबभन्दा माथि मन्दिरको त्रिशूलको तिन पातको दूर्वा दलको चित्र बनाइन्छ । त्यस्तो चित्र ब्रह्मा, विष्णु, महेश अर्थात् त्रिमूर्तिको त्रिशक्तिको प्रतीक मानिन्छ । त्यसमा सत्वगुण, रजोगुण र तमोगुण अर्थात् सृष्टिपालन र संहारको प्रतीक दिइन्छ । त्यस अरिपनको स्थान सर्वोपरी मानिन्छ । त्यसपश्चात् मन्दिरको गुम्बजको आकारमा सुन्दर सुकोमल तथा सुगन्धित तिन पातयुक्त कमल पुष्पमा सर्वश्रेष्ठ कमलको चित्र प्रातः, मध्याह्न र सन्ध्यासमेतका त्रिकालका प्रतीकका रूपमा लेखिन्छ । त्यसमा सम्पूर्ण सृष्टि व्याप्त रहेको विश्वास गरिन्छ ।

त्यसपछि सेतो अरिपनमा तिन वृत्ताकार क्षेत्र अर्थात् सृष्टि धारण गर्ने तिन भुवनको प्रतीकका रूपमा गर्भ मन्दिर बनाइन्छ । सृष्टिरूपी मन्दिरको माथिल्लो भागमा अङ्कित दीपको स्थान बिन्दुबाट घेरिएको हुन्छ । मन्दिरको बिच भागमा सृष्टिको आदि शक्तिका रूपमा रातो बिन्दुयुक्त भगवती गौरीको यन्त्र बनाइन्छ । त्यसले सृष्टिमा सबै कामना पूरा गर्ने विश्वास गरिन्छ ।

अरिपनमा बनाइएको पहेँलो रङको गुम्बज आकारको चित्रमा तिनपाते कमल (पदम पंखुरी) अंकन गरी मन्दिरको माथिल्लो बिच भागमा त्रिकोण बनाइएको हुन्छ । त्यो पाञ्चायन देवता र पृथ्वी, जल, वायु, आकाश र अग्नि समेतका पाँच तत्वको प्रतीक मानिन्छ । त्यस अरिपनका बिच भागमा गौरीको यन्त्र बनाइएको हुन्छ । यो पहेलो अपरिपन बेसारको धुलोले लेखिन्छ । मन्दिरको गुम्मजका ठाउँमा अङ्कित तिन रेखायुक्त तिन कोण तीन गुण र त्रिमूर्तिका प्रतीक मानिन्छन् । त्यो चित्र सृष्टिको उत्पत्ति गर्ने शक्तिरूपी बिन्दुबाट घेरिएको हुन्छ । त्यसको मध्य भागमा रातो रङ अर्थात् सिन्दुरको प्रयोग गरेर गौरीको यन्त्र बनाइन्छ । सेतो, पहेलो र रातो अरिपनको रङको पनि विशेष अर्थ लगाइन्छ । रसराजसुन्दरका अनुसार सेतो रङ अर्थात् अरुवा चामलको पिठो ब्राह्मण वा उत्तम श्रेणीको प्रतीक मानिन्छ । त्यो शुक्र ग्रहका लागि प्रिय हुन्छ भनिन्छ । रातो अर्थात् सिन्दुर रङ क्षत्रीय वा मध्यम श्रेणीको मानिन्छ । त्यसलाई व्याधि विध्वंसी र रवि ग्रहको प्रिय मानिन्छ । सर्वसिद्धप्रद ठानिने पहेँलो रङ अर्थात् बेसारको पिठो वैश्य वा अधम श्रेणीको मानिन्छ । त्यसलाई धनप्रद र गुरु बृहस्पतिको प्रिय रङ ठानिन्छ । यी तिनै रङका प्राकृतिक गुणको विस्तृत विवरण श्रीमद्भगवद्गीताको चौधौँ अध्यायमा गरिएको छ ।

यसरी मिथिला क्षेत्रमा प्रचलित प्रमुख केही अरिपन यस प्रकार छन् :

पृथ्वी अरिपन, साँझको अरिपन, कल्याण देइ पूजाको अरिपन, उबटन लगाउने अरिपन, महिलाको दसपात अरिपन, मौहक अरिपन, षष्ठी पूजा अरिपन, ऋतुमती अर्थात् प्रथम पटक रजस्वला हुँदाको अरिपन, मधुश्रावणी पूजाको अरिपन, पुरुषको दसपात अरिपन, द्वादशाहको अरिपन, गवहा संक्रान्तिको अरिपन, कोजगराको अरिपन, सुखरात्रीको अरिपन, चतुःशंखको अरिपन, षड्दलको अरिपन, अष्टदलको अरिपन, स्वस्तिक अरिपन, हरिसैनी पूजाको अरिपन, भ्रातृदुतिया (भाइ टीका) अरिपन, विवाहमण्डप अर्थात् कोहवर अरिपन, विवाह वेदीको अरिपन आदि ।

फलस्वरूप, मिथिला महिलाले अरिपनमार्फत आत्मा र पदार्थको समानतालाई जोड दिन्छन्, मानिसलाई उनीहरूको दुवै स्रोतको अधिकतम उपयोग गर्न प्रोत्साहित गर्छन् । जे होस्, अरिपन कला मिथिला क्षेत्रको बहुआयामिक सांस्कृतिक सम्पदा हो, तर उपयुक्त अर्थ, इतिहास र परम्परा, प्रतीक र महत्व, सिर्जनाको कारण, विधि र सामग्रीको प्रयोग, अमूर्त रूपमा मूल्यजस्ता धेरै पक्षको पर्याप्त अध्ययन र अनुसन्धानको अभाव छ । सांस्कृतिक सम्पदा अझै अनुसन्धानको क्रममा छन् ।

नेपालमा मिथिला संस्कृतिको अरिपन कलाको महत्वः

यस लोककलाको सन्दर्भमा सामाजिक–आर्थिक, दार्शनिक मूल्यहरू, अमूर्त सांस्कृतिक सम्पदा र पर्यटन उत्पादनको रूपमा, शैक्षिक र धार्मिक पक्षहरूजस्ता धेरै विषय अध्ययन गर्न बाँकी छन् । त्यसैले मिथिला संस्कृतिको अरिपन कलाको उचित ज्ञानको सिर्जनाको लागि नेपालमा मिथिला संस्कृतिको अरिपन कलाको ज्ञान, त्यहाँ माथि उल्लेखित ग्रे फिल्डमा धेरै अनुसन्धान गर्न बाँकी छ ।

मिथिला चित्रकलाले प्रायः पुरातन महाकाव्यहरूका मानिस र प्रकृति, दृश्य र देवतासँगको सम्बन्धलाई चित्रण गर्दछ । सूर्य, चन्द्रमा जस्ता प्राकृतिक वस्तु र तुलसीजस्ता धार्मिक बोटबिरुवा पनि व्यापक रूपमा चित्रित छन्, साथै शाही दरबारका दृश्यहरू र झारपातजस्ता सामाजिक घटनाहरू छन् । कागज र कपडामा प्राकृतिक उत्पत्तिको प्राथमिक रङमा बनाइएको, मिथिला कलाले पौराणिक र धार्मिक घटनाहरू वर्णन गर्दछ । पेन्टिङ औँला, ट्विग्स, ब्रस, निब पेन र म्याचस्टिक्स, प्राकृतिक रङ, र पिग्मेन्ट प्रयोग गरी गरिन्छ र आँखा चिम्लने ज्यामितीय ढाँचाहरूद्वारा चित्रण गरिन्छ ।

34Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

प्रतिक्रिया

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA