मिथिला सभ्यता, सम्पदा र सङ्ग्रहालय

 सुबोध चन्द्र दास कायस्थ (एससी सुमन) 

 पूर्व प्राज्ञ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान 

मिथिला सभ्यता, सम्पदा र सङ्ग्रहालय 


पृष्ठभूमि 

प्राचीन कालदेखि संस्कृतिले भरिपूर्ण मुलुक नेपाल तिनै कलाको जगमा सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक विरासत बनाइरहेको छ । यहाँका विभिन्न कला र सभ्यताहरु जस्तै मिथिला सभ्यता पनि  गर्व गर्न लायक छ । विख्यात मिथिला भूखण्डमा  साहित्य, संगीत, चित्रकला, मूर्तिकला, हस्तकलाजन्य कौशलहरू जनजीवनको अभिन्न अङ्ग बनेका छन् । जनकल्याणका निम्ति राजर्षि जनकले हलो जोतेको दृष्टान्तका साथ जाज्वल्यमान मिथिला माटो र मानवप्रतिको निष्ठाका कारण युगौँदेखि पवित्र एवं उर्वर रही आएको छ । मिथिलाको माटो मात्र नभई विचार समेत उदार, उत्रत र उत्पादनशील छन् ।


मिथिला सभ्यता, संस्कृति त हो नै त्यो संगै एक पुरानो राज्य पनि हो । मिथिला राज्यको सीमाना कहाँसम्म थियो भन्ने यकिन तथ्य नभए पनि मिथिला क्षेत्रबारेमा उल्लेख भएका विभिन्न अभिलेख अनुसार यो राज्यको सीमाना उत्तरतर्फ हालको नेपालको सिन्धुली र दक्षिणतर्फ हालको भारतको गङ्गा तटसम्म फैलिएको थियो । प्राचीनकालदेखि नै मिथिला प्रदेश पश्चिम गण्डकीदेखि पूर्व कोशीसम्म हिन्दुको पावन तीर्थस्थलका रूपमा स्थापित र सुपरिचित छ । यद्यपि यो प्रदेश हिन्दु धर्म र संस्कृतिको विश्वप्रसिद्ध केन्द्र पनि हो ।  बृहत् विष्णु पुराणका अनुसार विदेह वा मिथिला राज्य कौशिकी नदीबाट गण्डकीतिर ९६ कोश लम्बाइमा छ । यसको चौडाइ गण्डकीबाट हिमालय क्षेत्रतिर ६४ कोशमा छ । यसको राजधानी भारतको वैशालीबाट ३५ माइल छ । 

मिथिलाको अस्तित्व पूर्व वैदिक कालदेखि नै रहेको पाइन्छ । नेपाल भनिुन भन्दा पनि पहिले यो क्षेत्र चर्चामा आएको देखिन्छ । मिथिलाञ्चलको परम्परागत भौगोलिक सीमाका सम्बन्धमा पाँचाँै शताब्दीको बृहद् विष्णुपुराणको ‘मिथिला माहात्म्य खण्ड’ मा यस प्रकार उल्लेख गरिएको छ। 

“कौसिकी तु समारभ्य गण्डकीमधिगम्य वै ।

योजनानि चतुर्विंशदयामः परिकीर्तितः ।।१२।।

गंगाप्रवाहमारभ्य यावत् हैमवतं वनम् ।

विस्तारः षोडशः प्रोक्तो देशस्य कुलनन्दनः ।।१३।।

अर्थात् पूर्वमा कोसीदेखि पश्चिममा गण्डकीसम्म छयानब्बे कोस तथा दक्षिणमा गङ्गादेखि उत्तरमा हिमालय प्रदेशको वनसम्मको ६४ कोसको भू भाग मिथिला वा मिथिलाञ्चल हो ।

यी तथ्यहरुले मिथिला पौराणिक कालको एक उल्लेखनीय राज्य भएको आधार दिन्छ । 

मिथिलाको राजधानी रहेको जनकपुर वर्तमान नेपालको भूमि भएकाले पनि मिथिला नेपाल राज्यको केन्द्र रहेको भनेर गर्व गर्न सकिन्छ । यही मिथिला राज्यमा भएका विभिन्न पर्व, अवस्था र इतिहासलाई रङ्गहरूले सजाई रेखाचित्र जस्तो स्वरूपमा घर, पर्खाल, मन्दिर, सार्वजनिक स्थलका भित्ताहरूमा कोरिने चित्रहरू नै मिथिला चित्र हुन् । तर, यहीँबाट टुक्रिएर गएको राज्य बिहारमा भने मिथिला चित्रकलालाई ‘मधुवनी चित्रकला’ भनेर चिन्ने गरिन्छ । 

यसरी हाल सम्मको उत्खननमा प्राप्त भएको पौराणिक दस्तावेजहरुको अध्ययन, अनुसंधान  गरेर  मिथिला सभ्यताको व्यापकतालाई उजागर गर्नु पर्ने आवश्यकता  छ ।  तर अहिलेसम्म पनि  यहाँको सांस्कृतिक सम्पदाको अवशेष तथा बहुमूल्य सम्पदाको अनुसन्धान हुन सकेको छैन । यहाँ प्राप्त असंख्य बहुमूल्य देवीदेवताका मूर्ति बेपत्ता पारिएका छन् । कतिपय मूर्ति आज पनि क्षत–विक्षत रूपमा यत्रतत्र फालिएका छन् । पछिल्लो समयमा भने मिथिलाको  विभिन्न समय कालखण्ड, परिवेश, अवस्था, इतिहास, धार्मिक जनविश्वास जस्ता पक्ष कोरिँदै आए पछि  मिथिला चित्रमा हाल सामाजिक चेतना र लोक चासो बढेको देखिन्छ ।  


मिथिला संस्कृति र कला 

नेपालमा मिथिला चित्रको लागि प्रख्यात क्षेत्रहरु जनकपुरधाम, धनुषा, महोत्तरी र सो आसपासका जिल्लाहरू हुन् । मिथिला चित्र विकसित हुँदै जाँदा मिथिला क्षेत्रमा रहेका देवीदेवता, राजामहाराजा, परम्परा, दैनिक जीवन, राजनैतिक, आर्थिक एवम् सामाजिक मनोभावनालाई  चित्रमा उतार्ने प्रयास बढ्दै गएको पाइन्छ । घर, पर्खाल, भित्ताहरूमा चित्र बनाउँदा उक्त ठाउँको श्रृङ्गार हुने, ठाउँ राम्रो देखिनुका साथै फरक पहिचान पनि बोक्ने भएकाले मिथिलाका शासकहरूले मिथिला चित्रको विकास गराएका हुन् ।

मिथिला चित्र विशेष गरी तत्कालीन मिथिला राज्यको राजधानीमा बढी प्रचलित थियो । यो हालसम्म पनि कायम छ । मिथिला क्षेत्रको तत्कालीन  इतिहास, समाज, संस्कृति, परिवेश,आर्थिक सामाजिक क्रियाकलाप बुझाउन, सामयिक चेतना अभिवृद्धि गर्न प्रयोग गरिँदै आएको मिथिला चित्रले मधेशको जीवनलाई हुबहु हाम्रो सामु राख्ने गर्दछ ।

मिथिला चित्रहरूमा भूमि चित्र अरिपन, भित्ती चित्र,अंग लेखन यानी गोदना चित्र, मृग्न शिल्प लगायतका हस्तकलाको  विविधताले तत्कालीन समयको समाज, समय, परिवेश ,परिस्थिति, सामाजिक आर्थिक अवस्था, संस्कृति पक्षको प्रतिबिम्ब देखिन्छ । जस्तो कि  तत्कालीन समयको बिहे, पूजा आजा, खेलकुद, आर्थिक क्रियाकलाप, समाज जस्ता अनेक पक्ष झल्काउने मिथिला चित्र अहिले जनजीवनमा जोडिने गरी उजागर भएका छन् । 


 कला मानव संस्कृतिको उपज हो । समाज र ललितकलाको एक आपसमा अन्तरसम्बन्ध रहेको हुन्छ ।  ।  मान्छेले निर्माण गरेका कला नै ललितकलाको विषय हो । एकातिर उपयोगी कलाको सन्दर्भ  छ भने अर्कोतर्फ  सौन्दर्यकलाको सन्दर्भ पनि गाँसिएको छ । समाज निर्माण हुनु पूर्व ललितकलाको विकास भयो । समाज निर्माणसँगै कलाको पनि विकास भएको हो त्यसो त ललितकला समाज निर्माणको आधार हो । यो मानवीय सौन्दर्य भावनाको परिचायक पनि हो । यी कुराहरु आजको मिथिला कलामा झल्किएको पाइन्छ । मिथिला कला तथा संस्कृतिमा लोककलाको राम्रो समन्वय देखिन्छ । लोककला हाम्रो देशमा लोकपरम्पराको दर्पणको रूपमा रहिआएकोले यो समन्वयले हाम्रो इतिहासमा मिथिला सभ्यता कसरी उभिएको थिाये भन्ने कुराको झल्को दिन्छ । तर यी सबै कलालाई एकै ठाउँमा राखेर त्यसको शिक्षा लिने, त्यसलाई बुझुने र ब्याख्या गर्ने काम गर्न नसकिएकाले मिथिला कला र जनजीवनमा केही रिक्तता रहेको स्पष्ट हुन्छ । यो रिक्ततालाई जोड्न एक उपयुक्त माध्यम सङ्ग्रहालय भएकाले मिथिला कलाको संग्रहालयको आवश्यकता सर्बत्र महशुस भएको छ ।  

सिमरौन गढ 

मधेश प्रदेशको अर्को  पुरानो इतिहास तथा पुरातातत्विक स्थल सिमरौनगढ  हो ।   सिमरौनगढ बारा जिल्लाको सदरमुकामदेखि ३५ किलोमिटर दक्षिण–पूर्वमा रहेको छ, जुन  अहिले पनि धार्मिक, ऐतिहासिक पुरातात्विक  र सांस्कृतिक दृष्टिकोणबाट आज पनि रमणीय एवं दर्शनीय ठाँउ हो ।  करिव २६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यस क्षेत्रको प्राचीन इतिहास धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा  अत्यन्त सम्पन्न, समृद्ध, सभ्य तथा सुसंस्कृत छ ।  यसलाई मिथिला,विदेह र तिरहुतको राजधानी पनि मानिएको छ । त्यस अर्थमा सिमरौन गढ र मिथिलाको अति नजिकको सम्बन्ध छ । तर यो सम्बन्धलाई स्थापित गर्ने गरी यहाँका बैभवको महत्वलाई उजागर गर्न सकिएको छैन ।  


सिमरौनगढका राजाहरू धर्म, दर्शन र संस्कृतिका संरक्षक थिए भने साहित्यकार र विद्वानहरूका आश्रयदाता पनि थिए । तसर्थ यो शासनकाल गौरवशाली, महिमाशील र वैभवशाली परम्परा निर्वाह गर्नमा सक्षम थियो । तिब्बती बौद्धयात्री धर्मस्वामीले तिरहुत राज्यको राजधानी सिमरौनगढलाई एउटा स्वतन्त्र हिन्दुराज्यका रूपमा चर्चा गरेको पाइन्छ । 


मध्यकाल अर्थात् एघारौँ शताब्दीदेखि सुरु भई चौधौँ शताब्दीको पूर्वाद्र्धसम्ममा यो नगर उन्नतिको चरम सीमामा पुगेको देखिन्छ । त्यस युगमा यस नगरले जुन ख्याति प्राप्त गर्यो,  त्यसबेला नेपालका अन्य कुनै नगरले प्राप्त गर्न सकेका थिएनन् । एघारौँदेखि चौधौँ शताब्दीसम्मको यसको पृष्ठभूमि अत्यन्त रोचक तथा महत्वपूर्ण रह्यो । जुन नगरको ध्वंसाविरोष आज कर्नाटक राजवंशको अभ्युदय तथा अवसान एवं तुक आक्रमणकारीको बर्बरताको नग्न नृत्यको मुकसाक्षी भएर रहेको छ उल्लेख  छ ।  


प्राचीन सिमरौनगढ जलवेष्टित, वनवेष्टित थियो, जसको अवशेष आज पनि देख्न सक्छौँ । यो दक्षिण भारतको कर्नाटकवंशीय राजाको राधजानीका रूपमा सुप्रसिद्ध र सुपरिचित स्थान रहेको थियो । कर्नाटकवंशी राजा नान्यदेवले एघारौँ शताब्दीमा यसलाई आफ्नो राज्यको राजधानी बनाएका थिए । नान्यदेवका अतिरिक्त गङ्गादेव, नरसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव र हरिसिंहदेवले यहाँ शासन गरेका थिए । यिनीहरूले २२९ वर्षसम्म यहाँ शासन गरेको कुरा इतिहासमा उल्लेख भएको पाइन्छ ।  

सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीको बाटो ह’दै नेपाल आउँदा मुगल सेनाले यी स्थानमा स्थापित हिन्दु मठ–मन्दिर तहस–नहस पार्दै सिमरौनगढलाई त ध्वस्त नै पारेका थिए । यहाँको सांस्कृतिक, धार्मिक र पुरातात्विक तथा ऐतिहासिक महत्वलाई तहसनहस पार्ने कार्यको अगुवाइ मुगल शासक गयासुद्दीन तुगलकले  गरेका थिए । गयासुद्दीनका उत्तराधिकारीले बचेखुचेको सांस्कृतिक सम्पदालाई पनि ध्वस्त नै पारेको विभिन्न अभिलेखहरुमा उल्लेख भएको पाइन्छ । 


 

यसरी एउटा कालखण्डमा सम्पन्न रहेकाके राज्य फरक धार्मिक आस्था बोकेका शासकले ध्वस्थ बनाएपछि यसको राजकीय अस्तित्व विलिन हुदै गएको देखिन्छ । तर पनि त्यस कालखण्डका विभिन्न सम्पदाहरु अहिले पनि कायमै रहेकाले ती सम्पदालाई संरक्षण गरेर एउटा खुल्ला संग्रहालयको रुपमा विकास गर्न सकिने प्रसस्त संभावना  छ । यो अहिलेको आवश्यकता पनि हो ।  

सिमरौनगढको बहुआयामिक संभावना 

मिथिला क्षेत्रमै पर्ने  जनकपुर फेला पार्नुभन्दा पाँच–छ सय वर्षअघि नै राज्यको इतिहास सहित भेटिने तिरहुतको राजधानी सिमरौनगढ नै पौराणिक मिथिला राज्य हुन सक्ने इतिहासकारहरूको मत छ । यसै आधारमा सिमरौनगढ र जनकपुरको सम्बन्ध पहिल्याउन नयाँ शिराबाट खोजी र अनुसन्धान  गर्नु पर्ने देखिन्छ ।  सिमरौनगढमा एघारौं–बाह्रौं शताब्दीतिरका दरबारका भग्नावशेष अझै छन् । ती भग्नावशेष संरक्षणको पर्खाइमा छन् । 


 सिमरौनगढलाई मधेशको उल्लेखनीय  पर्यटकीय  स्थानको रुपमा विकसित गर्न सकिन्छ जसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्नसक्छ । यसलाई पर्यटन स्थलका रूपमा विकसित गरेको खण्डमा मात्र यसको धार्मिक, ऐतिहासिक, पुरातात्विक  र सांस्कृतिक स्वरूपलाई सुरक्षित राख्न सकिन्छ । नत्र भने यसको प्राचीन गौरव–गरिमा नष्टप्रायः हुने जोखिम बढेको छ । अहिले नै यसको प्राचीन सांस्कृतिक सम्पदामा ग्रहण लागिसकेको कुरा यस स्थलमा भ्रमण गर्ने जोसुकैलाई पनि अनुभूत हुन थालेको छ । यहाँ प्राप्त असङ्ख्य बहुमूल्य देवीदेवताका मूर्ति बेपत्ता पारिएका छन् । कतिपय मूर्ति आज पनि क्षत–विक्षत रूपमा यत्रतत्र फालिएका छन् । अधिकांश मूर्ति देश–विदेशका विभिन्न ठाउँमा पुगिसकेका छन् । यहाँका करिव १० वटा जति मूर्ति अहिले कलङ्की मन्दिर परिसरमा बन्द गरेर राखिएका छन्, जसको साँचो नेपाल सरकार, पुरातत्व विभागसँग छ । 

अहिले यहाँ आउने मानिस ती मूर्तिको अवलोकन गर्न पाउँदैनन् । तर चियाएर हेर्नसम्म पाउँछन् । यी सम्पदालाई आम मानिसका लागि खुल्ला गर्न सकिएमा धेरै धार्मिक पर्यटकहरु तान्न सकिने संभावना छ । साथै यहाँ इतिहास र पुरात्वलाई उजागर गर्ने गरी  एउटा सङ्ग्रहालय स्थापना गर्न आवश्यक देखिन्छ । यो स्थानलाई  एक खुल्ला संग्रहालयको रुपमा विकास गरी आगन्तुकसित केही शुल्क लिएर यसलाई अवलोकनीय स्थल बनाउन सकिन्छ ।  

मधेशमा संग्रहालय 

संग्रहालय  इतिहासलाई प्रभावकारी र सजिव रुपमा प्रस्तुत गर्ने एउटा सशक्त माध्यम हो ।  यो एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागि सर्वसाधारणलाई जोडेको हुन्छ ।  यसमा मानव र पर्यावरण पुस्ताको संरक्षणको लागि तिनको सङ्ग्रह, शोध, प्रचार र प्रदर्शन गर्ने गरिन्छ जसको उपयोग


शिक्षा,अध्ययन र मनोरञ्जनको लागि गरिन्छ ।

संग्रहालयबाट हामीलाई आफ्नो दुर्लभ इतिहासबारे जानकारी र ज्ञान प्राप्त हुन्छ नै जुन  भावी पुस्ताका  जीवन शैलीका लागि पथ प्रदर्शक र महत्वपूर्ण हुन्छ । चीनमा पाँचहजार बर्ष देखिको लिखित इतिहास छ भनेर मानिन्छ । युरोप तथा मध्यपूर्वतिर दुई तीन हजार बर्ष अगाडि देखिको व्यवस्थित अभिलेख पाईन्छ र पछिल्ला सहस्राब्दी देखिका धेरै मसिना कुराहरु पनि सुरक्षित गरिएका छन् । राजनैतिक, आर्थिक, सामाजिक, र साँस्कृतिक विषयवस्तुहरुका भूतकालीन तथ्यतथ्याँकहरु उपर निरन्तर खोज अनुसन्धान एवं अध्ययन विश्लेषण हुने गर्छ ।


आफ्नो इतिहासप्रति गहिरो अभिरुचि राख्ने, गौरव र सम्मान गर्ने विकसित समाजको चरित्र रहेको देखिन्छ । तर इतिहास, ऐतिहासिक महत्वका सामग्री र आँकडाहरुलाई अभिलिखित र संरक्षित गर्ने मामिलामा दक्षिण एशियाली क्षेत्रको अवस्था दयनीय छ । जसमा नेपालको अवस्था झन कमजोर छ ।  


नेपाललाई पनि प्रदेश अनुसार विश्लेषण गर्दा मधेश प्रदशेको स्थिति झनै कमजोर  देखिन्छ ।  यस प्रदेशमा के कति सङ्ग्रहालय छन् भन्ने कुराको एकिन आँकडा समेत छैन । तर उपलब्ध आँकडा अनुसार मधेशका आठ जिल्लामा १० भन्दा बढि सङ्ग्रहालयको नाम डिजिटल प्लेटफर्ममा भेटिन्छन् । । ती मध्ये जानकी मन्दिर ऐतिहासिक सङ्ग्रहालय, रेल सङ्ग्रहालय, मिथिला सांस्कृतिक सङ्ग्रहालय जनकपुरमा रहेका छन् । त्यसैगरी सप्तरीमा राजविराज हस्तकला सङ्ग्रहालय, थारु सङ्ग्रहालय र कोशी टप्पु वन्यजन्तु संरुक्षण सङ्ग्रहालय छन् । त्यसैगरी पर्सा जिल्लाको वीरगंजमा नारायाणी सङ्ग्रहालय छन् । त्यसबाहेक अन्य स्थानमा पनि सङ्ग्रहालय छन् । तर तिनको एकिन लेखाजोखा हुन सकेको छैन । जुन तरिकाले सङ्ग्रहालय नाम दिएर स्थानीय तहमा समेत सङ्ग्रहालय खुलेका छनु त्यस आधारमा करिव ५० वटा भन्दा बढि सङ्ग्रहालय खुलेको अनुमान गर्न सकिन्छ । तर ती सबैले सङ्ग्रहालयको मर्म र स्तर अनुसार आफूलाई विकास गर्ने र आगन्तकुहरुका लागि खुल्ला गर्ने गरेको पाईदैन । 


अब के गर्ने ?  

मधेश प्रदेशभित्र विकास भएका मौलिक लोककला, हस्तकला, शिल्पकला, संस्कृति, जनजीवनलगायतका भौतिक तथा अभौतिक सम्पदाको संरक्षण, संवर्धन र विकासका निम्ति जरुरत पर्ने भएकाले  एउटा प्रादेशिक सङ्ग्रहालयको तत्काल आवश्यकता छ ।  मैथिली संस्कृतिको अध्ययन, अनुसन्धान तथा ज्ञानको केन्द्रको रुपमा यो सङ्ग्रहालयलाई विकास गर्न सकिन्छ । 


मधेश प्रदेशमा मिथिला कला संस्कृति सङ्ग्रहालयको आवश्यकता  प्रदेशका लागि मात्र होइन समग्र मुलुककै लागि छ । यहाँको कला र सभ्यता तथा  गरिमा  राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रियस्तरमा समेत फैलिएको छ ।  जापानमा रहेको मिथिला सङ्ग्रहालय यसको उदाहरण हो ।  जापानको टोकामाचि भन्ने स्थानमा मिथिला कलाको प्रदर्शनका लागि एक कला संग्रहालय खोलिएको छ, जहाँ २ हजारभन्दा बढि मिथिला कलाको स्थायी प्रदर्शन गरिएको छ । त्यसमध्ये ३ सय चित्रकला भारतबाट गएका  कलाकारहरुले जापानमा नै बनाएका हुन् । 


खास मिथिला सभ्यताको केन्द्र नेपाल हो । हामीले यसको महत्व बुझ्न र बुझाउँन नसक्दा छिमेकी देश भारतसँग मात्र मिथिला कला र सभ्यता जोडर जापानको सङ्ग्रहालयले काम गरिरेको देखिन्छ । हालसम्म यो संग्रहालयमा नेपाल भने जोडिएको छैन । विदेशका अन्य स्थानमा पनि  मिथिला कला फैलिएको  छ । तर यो सभ्यता नेपालको हो भन्ने कुरा बुझाउँन नसक्दा  यसको सत्य, तथ्य  अर्कै तरिकाले फैलिने संभावना बढेर गएको छ । यो सत्य र तथ्यलाई सबैका सामु चिनाउँनका लागि सबैभन्दा पहिले त नेपाली जनमानस र नयाँ पुस्तासम्म त्यो ज्ञान हस्तान्तरित गर्नु पर्दछ । यसका लागि  इतिहास, संस्कृति तथा सभ्यताका विविध आयामहरुलाई सुव्यवस्थित रुपमा उजागर गर्न एक सुविधायुक्त सङ्ग्रहालयको स्थापना गर्न आवश्यक छ ।  नेपालीहरु सबैलाई यो तथ्य बुझाएमा विदेशमा सकेत यो तथ्यलाई विस्तार गर्न सकिन्छ । यसका लागि मिथिला सभ्यता संग्रहालय अति आवश्यक छ । 


मधेश प्रदेशको वैभवशाली सांस्कृतिक, ऐतिहासिक एवं


राजनीतिक विरासतलाई युगौयुगसम्म चिनाइराख्ने  एवं यहाँ विकसित भौतिक तथा अभौतिक सम्पदालाई जोगाइराख्ने माध्यम संग्रहालय बन्न सक्छ । त्यसैले यस भूगोलमा विकास भएका कला र संस्कृतिको दिगो रुपमा पुस्तान्तरण गर्न र यसको मौलिक पक्षलाई संरक्षण,संवर्धन, र विकास गर्ने भूमिका विशिष्ट भएकाले मदेश भूगोलमा विकास भएको मौलिक सम्पदा नेपालको मात्रै नभइ विश्वकै पुँजी हो । तसर्थः संग्रहालयको माध्यमबाट मिथिला क्षेत्रमा विकास भएका धार्मिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक पक्षलाई  संरक्षण गर्न सकिन्छ । 

मैथिली बिकास कोषका अध्यक्ष तथा सामाजिक अभियन्ता जीवनाथ चौधरीको भनाइ अनुसार यहि  तथ्यलाई मध्नजर गर्दै मैथिली विकास कोषले  जनकपुरमा मिथिला सांस्कृतिक संग्रहालय बनाउँदै छ । प्रदेश सरकारको लगानीमा स्थापना गरिएको यो संग्रहालयले  मिथिला संस्कृतिको मौलिकताको संवर्धन, प्रवर्धन, संरक्षण तथा विकास गर्ने, रोजगारी सिर्जना, स्थानीय जनताको आयआर्जनमा वृद्धि गर्ने,  दिगो पर्यटनको विकास गर्ने  उदेश्य राखेको छ । 


यदि मिथिला सांस्कृतिक संग्रहालयलाई उचित ढंगले संचालनमा ल्याउन सकिएमा यहाँको  ऐतिहासिक, सांस्कृतिक क्षेत्र मिथिलाको मौलिक पहिचानलाई विश्वसामु परिचित तुल्याउन,ओझलमा परेको तथा हराउन थालेको यस क्षेत्रको राजनैतिक, सामाजिक तथा साँस्कृतिक सभ्यता र इतिहासका तथ्य प्रमाणहरुको खोज, संकलन र संरक्षण  गर्न समेत सहयोग पुग्ने छ । 


त्यस बाहेक वर्तमान तथा भावि पुस्ताले स्थानीय इतिहास र मौलिक सभ्यताको संरक्षण सम्बन्धमा सहज रुपमा तथ्य संगत अमूल्य ज्ञान प्राप्त गर्न तथा नयाँ स्थान र परिवेशमा हुर्किरहेका सन्ततिहरुले पनि आफ्ना इतिहास, संस्कृति र जीवन पद्धतिको जानकारी लिने अवसर पाउने थलोको रुपमा यो संग्रहालयले योगदान गर्ने छ । 


त्यसैगरी सामाजिक, साँस्कृतिक तथा ऐतिहासिक पक्षको एक मुष्ट जानकारी प्राप्त हुन सक्ने स्मारक स्थल वा संग्रहालय सामाजिक अध्ययनको प्रभावकारी स्रोत हुन सक्ने हुँदा देशभरका शिक्षक, विद्यार्थी र अनुसन्धाताहरुको शैक्षिक भ्रमणको लागि यो आकर्षक गन्तव्य बन्न सक्ने छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक आकर्षणको दुर्लभ संयोगको निर्माण हुने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरी पर्यटन उद्योगको प्रबर्धनमा समेत योगदान पु¥याउने छ ।


संग्रहालयहरू प्राचीन कलाकृतिहरू, शिल्पकला, मूर्तिकला, चित्रकला, र अन्य सांस्कृतिक सम्पदाहरूलाई सुरक्षित राख्नेसँगै इतिहास र संस्कृतिको मूल्यवान अंशलाई भावी पुस्तासम्म पु¥याउन माध्यम भएकाले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई ऐतिहासिक एवं सांस्कृतिक अध्ययन केन्द्रको रुपमा काम गर्ने छ । यसैगरी यसले ज्ञानको विस्तार र नयाँ अनुसन्धानका अवसरहरू सिर्जना गर्छ। नेपालका विभिन्न संग्रहालयहरूले स्थानीय कला र संस्कृतिको अध्ययनमा महत्वपूर्ण योगदान  गर्ने छ । 


मिथिला क्षेत्र, हिमालयको काखदेखि गङ्गा नदीका किनारसम्म फैलिएको, अहिले नेपाल र उत्तर भारतमा छ । मिथिला कला र संस्कृतिको अद्वितीय विशेषताहरूले हजारौं वर्षदेखि चलिआएका परम्परामा आधारित मानिसहरूका जीवनका गाथाहरू, सामुदायिक सद्भाव, वातावरणीय सन्तुलन, न्याय र महिलाको सशक्तिकरणको कथाहरू समेट्छन् । मिथिला सभ्यता रामायण, उपनिषद् र पुराणजस्ता प्राचीन सामाजिक, दार्शनिक र धार्मिक ग्रन्थहरूमा उल्लेखित छ ।


निष्कर्ष

मिथिला संस्कृति र सभ्यता  भौतिक र अभौतिक दुबै किसिमका सम्पदाहरुमा धनी छ । तर यो सामाजिक धनलाई  उजागर गर्न नसक्दा धेरै ठूलो संभावनाहरु गुमनाम भएका छन् । यसलाई उजागर गर्ने पहिलो माध्यम सङ्ग्रहालय नै हो । वर्तमान परिपेक्षमा सातै प्रदेश, तथा शहरहरुमा एउटा न एउटा कुनै न कुनै संग्रहालय अवश्यक छ । जसले हाम्रो नवपुस्तालाई विद्यार्थी तथा अविभावकहरुले घुमाउने, देखाउने,अवलोकन र ज्ञान विस्तार गर्ने तथा जानकारी लिनेदिने सहज स्रोतको रुपमा स्थापित हुन सक्छ ।  प्रादेशिक दृष्टिले मधेश प्रदेशमा यस किसिमको सङ्ग्रहालयका हालसम्म नभएकाले यसको विकासका लागि शीघ्र रुपमा काम गर्नु पर्ने अबस्था छ ।  विकासका लागि सबैभन्दा पहिले संघीय सरकारले एउटा स्पष्ट कानून तथा सङ्ग्रहालय सञ्चालन र व्यवस्थापन मापदण्ड बनाउन ढिला भइसकेको छ । त्यहि मापदण्डका आधारमा प्रदेश र स्थानीय सरकारले काम गर्नु पर्छ । सङ्ग्रहालय र सम्पदा संवेदनशील विषय भएकाले यसलाई सहज विषयका रुपमा नलिई दक्षता भएका संस्थाहरुसँग समन्वय र सहकार्य गर्न जरुरी छ । मधेश प्रदेशको सङ्ग्रहालयको विकासका लागि आइकम नेपाल जस्ता संग्रहालयका क्षेत्रमा काम गरेका विज्ञ संस्थाहरुसँग सहकार्य गर्न सकिन्छ भने नेपाल सरकारका कला र संस्कृतिको क्षेत्रमा काम गरेका संस्थासँग पनि काम गर्नु पर्छ । यसका लागि खासगरी अनुसन्धान तथा अभिलेखमा समेत राज्यले उल्लेख्य लगानी गर्न आवश्यक छ । यस किसिमको काम गर्दा स्थानीय, प्रदेश र संघीय सरकारवीच समेत समन्वय र सहकार्यको आवश्यकता छ । 

यो लेख अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले प्रकाशन गरेको संग्रहालय ICOM, international council  of museum Nepal नेपाल(९ त्जभ ःगकभगm० जर्नल)0 २०८२ज अंक १ वर्ष १, पेज सख्या ८६ मा प्रकाशित भएको हो। www.icomnepal.org

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA