पान, मखान र अरिपन : एससी सुमन

 


विजया दशमीको पाचैं दिन पुर्णिामाको  रात  आकाशमा पुर्ण चन्द्र, अरिपनले भरी- भराउ मिथिलाको आंगन । दशैं र कोजाग्रात पुर्णिामाको विशिष्टता पर्व प्रदेशको रुपमा प्रसिध्द मिथिलामा आ- आफ्नो स्थान र सम्मान दिइएको छ । आश्विन शुक्ल प्रतिपदा घट्स्थापना देखि नवमी सम्मको नौ दिनलाई नवरात्राको रुपमा दुर्गा भवानीको विभिन्न रुपलाइ पुजा आराधना गरिन्छ । तराई मधेसमा के शहर, के गाउँ, ठाउँ-ठाउँमा माटोले कलात्मक देवी प्रतिमा बनाइ रङ्ग-रोङ्गन, सिगार-पटार गरि पुजा-आजा गरिन्छ । विजया दशमीको दिन, शक्ति पिठ र घर-घरमा स्थापित गरियएको जयन्ती (जमरा) बिसर्जन गरि व्राम्हण, गुरुजन, जेष्ठजनको आशिर्वाद लिइ नीलकण्ठ (चरा) को दर्शन गरिन्छ। दशमीको दिनलाई 'जतरा' भनिन्छ। जतरा भनेको शुभसाइत हो । बर्ष सबैको राम्रो बितोस, सुख, शान्ती,समृधि होस भनि आशिष  दिएन्छ । देश भरि विजया दशमीको दिन देखि कोजग्रात पुर्णिमा सम्म जेष्ठ जनको हात बाट टीका जमरा ग्रहण गर्ने परम्परा रहेको छ । मिथिलान्चलमा नबमी को रात्री माटोले बनाइ पुजन गरियेको प्रतिमा स्थानीय नदिमा सेलाएर दशमीको दिन जयन्ती ग्रहण गरेपछी दशैं सकियएको मानिन्छ । पहिले- पहिले मधेसी समुदायमा मात्र ब्राह्मण तथा पुरोहित द्वारा जयन्ती ग्रहण गरिन्थ्यो । अचेल मधेसी समुदायमा पनि जेष्ठ जन, "आमा बुबा, हजुरआमा, मान्यजन संग टिका जमरा ग्रहण गर्ने गरिन्छ । यो सामाजिक तथा सांस्कृतिक सद्भावको बिस्तार हो ।



दशैं र कोजाग्रात पुर्णिमा दुबै छुट्टा छुट्टै पर्व हुन । बिजया दशमीको दिन देखि कोजगरा सम्म बिचमा खासै कुनै गतिबिधी हुने गर्दैन । यो बिचको समयलाई सांस्कृतिक गतिबिधिको रुपमा सदुपयोग गरेको पाइन्छ । गाउँ बाट बाहिर रहेका युबा बिदामा गाउँ आउँदा  नाच -गान, नाटक, ड्रामा, सर -सफाइ, गोष्ठी आदिमा संलग्न हुने गर्दछ्न। कोजाग्रात पुर्णिामाको महत्व भने विशेषत: शारदिय पुर्णिामाको आनन्द र उल्लासमा रम्नु -रमाउनु  रहेको हुन्छ । यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।

मिथिलामा आंगन देखि पुजाकोठा यानी "गोसाउनी घर " सम्म गोबर माटोले आंगनलाई लिपि  सिन्दुर, पिठारले अरिपन बनाई  देवी लक्ष्मीलाई आह्वान गरिन्छ । कोजगरा भनिने कोजाग्रात पुर्णिामालाई धार्मिक दृष्टिले देवी लक्ष्मीको आह्वान रात्रीको रुपमा मनाइन्छ । कोजगरा पर्व शास्त्र अनुसार "कोजागर्ती महि तले"  मिथिलामा आश्विनी पुर्णिामाको रात्री मनाइन्छ । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ? र कसले के कस्ता आ -आफ्नो आंगनको अरिपन सुन्दर छ भनी हेर्न आउछिन्' । जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धन धान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् । यो रात विधि - पुर्वक लक्ष्मीको पुजा आजा गरि रात भर जाग्राम गरि ज्योत्त्स्नाको आनन्द लिनसकिन्छ। शरद पूर्णिमाको यो रात धेरै  मनभावन हुने गर्द्छ। यो समयमा मौसम पनि अनुकुल हुने गर्दछ । गर्मीको अन्त तथा शरद ऋतुको प्रारम्भ हुने भयेकोले न विशेष  गर्मी न धेरै चिसो हुनेगर्द छ। शास्त्रमा ऋषि मुनिले यो रात जाग्राम बसि पुर्ण चन्द्रको चन्र्दिकाको आनन्द लिन भनेका छन,  किनकी जुनमा अमृतको अंश मानिन्छ ।



पुजा पुर्व गरिने तैयारी घरका जेष्ठ महिला सदस्यले गोबर माटोले बिहान लिपीयेको आंगनमा भिजाइयेको आरुवा चामललाई  सिलैटोमा पिसेर तयार परेको घोल पिठारले आंगन देखि गोसाइ घरमा भगवतीको पिठ सम्म लामो आकारमा अरिपन लेखिन्छ । यो अरिपन लेखनुमा देवी लक्ष्मी लेखियेको अरिपन हुदै घरमा प्रवेश गर्नु भाव रहेको हुन्छ । तसर्थ यो अरिपनको तलको भागमा कमलको फूल लेखी, फुलको मध्यमा दुईटा पद चिन्ह प्रवेशको भावमा दि लेखिन्छ । त्यस पछि मखानको पातको प्रतिक तीन वटा वृत्त भित्र एक -एक वटा पद चिन्ह अगाडि सम्म घर भित्र प्रवेश गरेको भाव दि लेखिन्छ । वृत्ताकार शून्य भित्र तीन तीन वृत्त लेखिन्छ । लेखिएको मखानको पात जस्को प्रतीकात्मक  भाव दुबै तिर सुर्य  तथा चन्द्रमण्डल युक्त पृथ्वी रहेको हुन्छ। त्यस पछि अस्ट्दलमा प्रवेश गरेर साधक तिर फर्केर उभियेको भावले तलतिर फर्केको पद चिन्ह चित्रित गरिन्छ । यी वृतकार मखानको पात देवताको सु-स्वागतको लागि लेखिन्छ । तीन वृत तीन महारात्रिको प्रतीक हो । यो तिनै वृत भित्र तीन- तीन वृत्ताकार रेखा परब्रम्ह परमात्माको त्रिशक्तिले युक्त्त सुर्य, चन्द्र तथा पृथ्वी को बोध गराउँछ । सन्ध्या, मध्य रात्री  तथा प्रभात युक्त महारात्री, काल रात्री र मोह रात्रीको प्रतीक तथा रज, सत्व, तथा तम तीन गुणले युक्त मखानको पातको रुप बनाइएको छ । मखान पातमा हुने गरेको काँडा बिन्दुको रुपमा चित्राकित गरिन्छ जो सृष्टिको रुप अथवा तारा मण्डलको  संकेत गदर्छ । यिनै पातको चारै तिर सात-सात गोलो वृत माथिको प्रकाश कण रुपि बिन्दु बाट घेरिएको सात दिवश निशा बोधक वा सृष्टिको बिन्दुले घेरिएको सप्त द्विप तथा काँडा युक्त मखानको फल प्रतिक बनाइएको तथा मखान पातको काँडा पापको संकेत गर्द्छ । पातको मध्य भागमा अंकित पद चिन्ह सुर्य, चन्द्र तथा पृथ्वीको आत्माको रुप महारात्रीमा भगवतीको प्रतीक पातमा प्राणको रुप दिइन्छ । पातमा अन्कित पद चिन्हको पाचौं अंगुला पन्च तत्वको प्रतीक बनाईन्छ । मखानको फलको मध्यमा सिन्दुरको रातो बिन्दु प्रकृतिको शक्तिको रुपमा मखान फलको भित्री भागमा रहने मखानको फलको प्रतिक हुने गर्दछ । 



पुर्णिामाको रात जस्तो जीवनको दिन व्यतीत होस जसले पृथ्वीमा नवद्विप रुपि गृहस्थाश्रमको सृष्टिमा कमलको रुप सुन्दर, सुबाहु तथा सुदबुधी युक्त सन्तानको प्राप्ती गरि जीवनमा  जुनकिरी रुपि रात दिनको माया रुपि अध्यारोको बिच चमकिलो तारको जस्तो प्रकाश प्राप्त गरुन जसले आफ्नो आत्माको शान्ती मिलोस काँडा रुपि पापले भरियेको पृथ्वीमा भगवतीको अराधना गरि आत्मशक्तिको द्वारा सुर्य जस्तो तेज, चन्द्रमा जस्तो गोलाकार र शीतलता, शून्य रुपि परमेश्वरमा लिन भै काँडा युक्त पथमा यानी जीवनको कठिन समयमा पनि मुक्ति रुपि फल प्राप्त गरुन, जस्ले पन्चतत्व बाट बनेका यो मानव शरीरभित्रको प्राण निश्चिन्त भै अमरत्व प्राप्त गरोस । यिनै सबै उधेश्यले मिथिलामा महिला द्वारा मैथिल शैलीमा अरिपन चित्र लेखन प्रथा चल्दै आयेको छ ।

कडेदार फल मखान खादा स्वादिष्ट हुन्छ । यसलाई  त्रिगुणि मान्निन्छ किनकी मखान फलको बाहरी रातो भाग ब्रम्हाको प्रतिक, त्यस भित्रको कडा कलो रगको कलो भाग शालिग्रामको रुप भगवान बिष्णु को बोध गराउछ। मखान फलको तेस्रो तथा अन्तिम सेतो भाग महादेवको रङ्गको बोध गराउछ । यिनै कारणले गर्दाअतिथी रुपि देवी  लक्ष्मीको आगमनको समय मखानको पात जसबाट  मखानको उत्पती हुन्छ, मखानको फल संग प्रतीकात्मक देव आगमनको मार्गमा उनको स्वागतार्थ अरिपन लेखिन्छ, जसमा आफ्नो हृदय अर्पण गरिन्छ । राम्रो फल प्राप्तिको कामना संगै मखान प्रसादको रुपमा अर्पण गरि देवि लक्ष्मी प्रशन्न भै धन, धान्य, मान सम्मान तथा समृधि प्रदान गरून् भनी रहेको हुन्छ।

यस पर्वले धार्मिकता भन्दा शारदिय संध्याको आनन्दलाइ बढी प्राथमिकता दिएको छ । कोजाग्रत पूर्णिमाको दिन मिथिलान्चलमा पान, मखान र मघुर मिष्ठानको वर्षा गर्ने चलन छ ।  यस पर्वमा खास गरेर नवविवाहितको घरमा ससुरालीबाट पान मखान सहितको पाहुर जाने गर्छ । नवविवाहित पुरुषको घरमा यसको आयोजना हुन्छ । ससुराली  बाट आएको च्युरा, दहि, पान, मखान, मधुर, मिष्ठान  कुटुम्ब तथा छरछिमेकमा बाडने चलन छ । हसि मजा हुन्छ। आजकै दिनदेखी पच्चीसी ( कैडा) खेल्न शुरु हुन्छ । नव बिवाहित दुल्हा- दुल्हिन साला र भिनाजु बीचको पच्चीसीको खेल अतिनै रोमान्चक हुन्छ । साँझ पख कोजगरा मनाई  युबकको घरमा भोजको आयोजना पनि गरिन्छ। भोज समाप्ति पछि गाउँ  भरीका मानिसलाई मखान, पान, मिठाई बाड्ने गरिन्छ । शारदिय साध्यामा नव विवाहित बेहुला - बेहुलीलाई महुअक अरिपन लेखी संगै रखी आमन्त्रित पुरुषहरुले दुर्बाक्षत ( दुबो र धान) दि आशिर्वाद  दिने गर्छ्न र महिलाहरुले चुमाएर आशिर्वाद दिन्छ्न । नवविवाहित दम्पती प्रती गरिने विधिबिधान तथा गाउँ भरिक मानिस एकैठाँउमा भेला भै हँसि- मजाक भइ पान-मखानको रसास्वादन गर्दाको क्षण रोमान्चक हुने गर्दछ ।

कोजगरा पर्वको यथावत पक्षहरु माथी बिचार गर्दा यसले मखानलाइ विशेष महत्व दिएको छ । प्रतीकात्मक रुपमा आंगनमा लेखिने आरिपन, देवी लक्ष्मीलाई चढाइने प्रसाद र गाउँ भरी बाडिन पान मखान । देवताको स्वागतको लागि उहाँको बाटोमा काँडा युक्त जलमा उत्पन्न हुने मखानको पानलाई  चित्राणकित गर्नुको तात्पर्य यो छ कि मखान, चतुर्मास्या जो धर्म मासको नामले प्रसिध्द छ । मखान पानी भित्र उत्पन्न हुने मिथिलाको उत्तम बर्षको पहिलो फल हो । यो मिथिलाको विशेष उपज हो । भन्निन्छ ।  मखान स्वर्गमा पनि पाइन्न । मखान स्वर्गवासी  पितृलाई  श्राध्द, पार्वण जस्ता कर्ममा मखानको अनिवार्यता मानिन्छ। मखान मिथिलाको मौलिक उत्पादन हो । यस क्षेत्रमा पोखरीको संख्या धेरै भएकोले  मखानको खेती आत्यधिक मात्रामा हुने गरेको छ । त्यस्तै पोखरिका छेउछाउका सोपिला ठाँउहरुमा पानको उत्पादन हुने गर्दछ । 



पान संस्कृत भाषाको 'पर्न' शब्दबाट आएको हो जसको अर्थ हुन्छ 'पात अथवा प्वाँख'। मैथिली सांस्कृतिक दृष्टिकोणले तांबूल (पान) को स्थान अत्यंत महत्वपूर्ण छ । यहाँको प्रत्येक पुजामा धूप, दीप, नैवेद्य संग आराध्य देवलाई  तांबूल  (पान) चढाइन्छ । पान शृंगार प्रसाधनको पनि अत्यावश्यक अंग हो । संग  सगै विलासक्रीड़ाको पनि अंग रहेको छ ।  मुखशुद्धिको साधनको रुपमा प्रयोग गरिन्छ । पानलाई  बिशेष  औषधीय गुणले संपन्न मानिन्छ । संस्कृत सूक्तिमा तांबूलको गुणवर्णनमा भनिएको छ  वह वातध्न, कृमिनाशक, कफदोषदूरक, (मुख दुर्गन्ध) दुर्गंध को नाशकर्ता हो । जसले र्धर्य उत्साह, वचनपटुता र कांतिको वर्धक हो । सुश्रुत संहिताको  समान आयुर्वेदको प्राचीन ग्रंथमा पनि औषधीय द्रव्यगुणको महिमा वर्णित छ । आयुर्वेदिक चिकित्सक  द्वारा विभिन्न रोगमा औषधिको रूपमा पानको रसको प्रयोग गर्ने गरिन्छ ।

पान सेवन नेपाल,भारत लगायत दक्षिण-पूर्व एसियाको परम्परा रहेको छ । पानको पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका सुगन्धित मसला आदि हालेर खाने चलन रहेको छ । साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ । पान विभिन्न तरिकाले तयार गरिने गरिन्छ। 

कोजगरामा मखान सगै पानको स्थान आउँछ। पानले मुखको शोभा बढाउछ। मिथिलामा नवविवहित सुत्ने कोठामा कोहबर लेखनमा पान को घर लेखने परम्परा रहेको छ । जसले बातावरणलाई शुध्द र  यौन शक्ति बनाउँछ । पुराण, संस्कृत साहित्यको ग्रंथहरुमा तांबूलको वर्णन व्यापक पाइन्छ l शाक्त तंत्रों (संगमतंत्र-कालीखंड) मा यसलाई सिद्धिप्राप्ति को सहायक नै भनिएको छौन, यो पनि भनियेको छ कि "जसमा तांबूल-चर्वण र दीक्षामा गुरुलाई समर्पण नगरे बिना सिद्धि प्राप्त हुन्न"। पान यश, धर्म, ऐश्वर्य, श्रीवैराग्य र मुक्ति को पनि  साधक भनिएको छ।

sdaskayastha@gmail.com

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA

प्रतीक – उद्भव र विकास