नेपाली कलामा गान्धी प्रेम

39Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

एससी सुमन

विश्वमा कहिल्यै घाम नअस्ताउने विशाल राज्यका रूपमा रहेको ग्रेट ब्रिटेन र त्यसको सरकारलाई सत्य, अहिंसा तथा सविनय अवज्ञाका माध्यमले परास्त गरी भारतलाई स्वतन्त्र बनाउन सफल महात्मा गान्धीलाई भारतीयले मात्र होइन विश्वकै राजनेता र राजनीतिशास्त्रीले समेत एक सफल राजनीतिक चिन्तक र दार्शनिकको कोटीमा राखे । महात्मा गान्धीको १५२औँ जयन्तीको अवसरमा उनलाई श्रद्धाञ्जलि अर्पण गर्न ‘आजादीका अमृत महोत्सव’ मा नेपाली समकालीन चित्रकारका कलाकृति बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सजिएका छन् । लामो पातलो जिउ, घुँडासम्म आधा धोती लगाई त्यही आधा धोती ओढेका, हातमा लठ्ठी बोकेका फकिरी (जोगी) रुपरङका गान्धीको कला सौन्दर्यबोध विभिन्न कथानकका रूपमा क्यानभासमा उधिनिएको छ । आफ्नो रहनसहन जीवनशैली र पातलो शरीरले गर्दा गान्धी चित्रकार र छायांकारको लागि आकर्षणका केन्द्र हुन्थे । कलाकारद्वारा सर्वाधिक पोतिने यो रूप यहाँ पनि व्यापक देखिएको छ । रेलगाडीको तेस्रो–दर्जामा बसी भारत–दर्शनको समयमा मोहनदास करमचन्द गान्धीले वस्त्र त्याग गरेका थिए ।

बेलायतमा कानुन व्यवसायीको रूपमा रहँदा काम विशेषले गान्धी दक्षिण अफ्रिका पुगे । त्यहाँ गोराहरूले काला जातिमाथि गरेको अमानवीय व्यवहारबाट क्षुब्ध भइ महात्मासम्मको कठोरयात्राको चित्रण कलाकार उमाशंकर शाहको चित्रमा कोरिएको छ । रेलगाडी र यसबाट निस्केको धुँवाको मुस्लोले सजिलै त्यो समयसम्म पुर्याउँछ । उनले अंग्रेज शासनका विरुद्धमा अफ्रिकामा सर्वप्रथम सत्याग्रह आन्दोलन सञ्चालन गरे । त्यसको सफलतापूर्वक प्रयोग र निरीक्षणपश्चात् अफ्रिकाबाट स्वतन्त्रताका लागि भारत फर्के । सन् १९१५ मा स्वदेश फर्किएपछि उनै गान्धीले भारतलाई अंग्रेज उपनिवेशबाट मुक्त गराउन अहिंसात्मक बाटो अपनाए । सन् १९२१ मा सुरु गरेको अंग्रेज शासकका विरुद्धको असहयोग आन्दोलन, सन् १९३१ मा सविनय अवज्ञा आन्दोलनलाई निरन्तरता दिँदै नमक सत्याग्रह र विदेशी सामान बहिष्कारको नीति अख्तियार गरे ।

गान्धीको सत्याग्रह, अहिंसा, उपवास, आचरण, दांडी, स्वदेशी जस्तो दर्शन, विचार, आग्रह र आन्दोलन संसारभरिका सृजनकर्मीको प्रेरणा स्रोत रहेका छन् । दांडी मार्चको समयमा गान्धीका सर्वाधिक चित्र बनाइए । कलाकारद्वारा बनाइएको चित्र कुनै शैली विशेषसँग सम्बन्धित नभए पनि के देशी के विदेशी सबै कलाकारको तथ्य र मनोभावको चित्रण थियो । ‘दांडी मार्चमा’ वरिष्ठ कलाकार विजय थापाका चित्रमा लामबद्ध जनसहभागिताको अगुवाई गान्धीले गरेका छन् । यसैक्रममा गान्धी मध्यरातमा गिरफ्तार भएका थिए, कलाकार विनायक एस मासोजीले ‘दि मिडनाइट अरेस्ट’ शीर्षकमा चित्र बनाएका थिए, जसमा उनको तुलना ईसा मसीहसँग गरिएको थियो । पछि गान्धी र राजकुमारी अमृत कौरले यो चित्र कांग्रेसको आर्ट ग्यालरीमा हेरे । राजकुमारीद्वारा सोधिएको प्रश्नमा के वास्तवमा त्यो रात यस्तै भएको थियो वा कलाकारको एउटा कल्पना मात्र हो ? गान्धीको जवाफ थियो ‘ठ्याक्कै यस्तै भएको थियो, यसैगरी मलाई गिरफ्तार गर्न आएका थिए ।’ हाम्रो जीवन र हाम्रो कलामा गान्धीको उपस्थितिको स्थायी भाव निरन्तर ध्वनित भइरहन्छ ।

यो सत्य हो, गान्धी कला र कलाकारको जीवन दर्शनको आधारमा जान्ने प्रयास गर्दथे । तसर्थ ‘कला कलाको लागि’ यो उक्तिमा उनलाई विश्वास थिएन । गान्धी प्रकृतिको विराट सुन्दरता र उसको वैश्विक प्रभावको उदाहरण दिँदै भन्थे, ‘कला त्यो हो, जसलाई लाखौं मानिसले हेरुन, बुझुन् र आनन्द प्राप्त गर्न सकुन् ।’ यही भावलाई कलाकार रागिनी उपाध्यायले आफनो क्यानभासमा फिक्का आशमानी र गाढा निलो रङको प्रयोग गरी चित्र रचना गरेकी छन् । चित्रले उपरोक्त गान्धीको भनाइलाई सतप्रतिशत पुष्टि गरेको छ । रागिनीको उक्त चित्रमा बादलको कुहिरोभित्र उक्लिँदै गरेको सिँढीले शान्तिको लक्ष्य प्राप्तिको बाटो र लयबद्ध नाचिरहेको मयुरले आनन्द अनुभूति प्रवाह गर्छ ।

यहाँ सम्बन्ध मानिसको विवेक, आचरण र उसको आफ्नो सहजता हुनु हो । गान्धीले पनि जनसामान्य जस्तो सोझो सरल र सहज ढंगले विनयपूर्वक साँच्चिकै कलालाई आत्माको अभिव्यक्ति भनेर सम्बोधित गरेका छन् । कला साँचो हो भने, मानिसले आफूभित्रको स्वयंलाई बुझ्न आत्मालाई मद्दत गर्नुपर्छ । उनले मानिस स्वयंलाई बुझ्नका लागि कला सहचार्यलाई जरुरी ठानेका छन् । जुन कलाले सत्यभित्र लुकेको सुन्दरता हेर्न सक्यो, त्यो नै साँचो कला हो । यस कुरालाई कलाकार पृथ्वी श्रेष्ठको लिभिङ्ग सोल नामक चित्रमा गान्धीको हातमा सेतो कमलको फूल र परेवाको उपस्थितिले जनाउँछ । यसै क्रममा कलाकार देवेन्द्र थुम्केलीको चित्र ‘स्वराज दृष्टिमा’ शान्तिको नीलो रङले पोतिएको अनुहार, पृष्ठभुमिमा प्रयोग गरिएको सुन्तला र सेतो रङको समन्वयले फक्रेका दुइटा रातो कमलले पक्कै पनि कलाप्रेमीलाई आध्यात्मिक उचाई र गहन आस्थाको दर्शन गराउँछ । शान्तिदूतको रुपमा गान्धीको प्रफूल्लित र सन्तुष्ट अनुहार, झुण्डिएको घण्टी वरपर उडिरहेको सेतो पुतलीको समूहले शान्ति, एकता र आपसी समझदारीको सन्देश सात सुरबाट आज पनि गुञ्जायमान छ, कलाकार केशवराज खनालको सशक्त अभिव्यक्तिले यिनै कुरालाई संकेत गर्छ ।

कोरिएको चित्राकृतिमा गान्धीको बुझाईमा कला जनोन्मुखी होस् र आनन्दप्रदायक पनि । गान्धी कलाकारको सम्मान गर्थे । तथापि चित्रकारको अनुरोधमा चित्रकारद्वारा बनाइएका कलाकृतिमा तारिखसहित आफ्नो हस्ताक्षर गरेपश्चात् ‘ट्रूथ इज गाड’ सन्देश लेख्थे । कुनै पनि परिवर्तन सधैं व्यक्तिगत स्तरमा नै सुरू हुन्छ । हाम्रो शान्तिपूर्ण सक्रियताको माध्यमले संसार बदल्ने क्षमता राख्छ । गान्धी दर्शनले कलाबाट शान्ति र आत्मपरिवर्तनको अनुभव मात्र होइन, हामीलाई जीवन जिउने कला सिकाउँछ । यो गान्धी दर्शन हो । गान्धीको सर्वाधिक चित्र चर्खासँग भेटिन्छ । चर्खा र गान्धी एक अर्कोसँग अलग हुन सकेनन् । चर्खालाई गान्धीले निर्धनको भगवान् भनेका छन् । हुनत् गान्धीको चर्खा प्रेमको बारेमा धेरै कुरा भनिएको छ, भनिन्छ, गान्धी तुलसीको माला जप्नभन्दा चर्खा चलाएर रामनाम जप्न मनपराउँथे । उनले भन्थे, ‘म चर्खा नै चर्खा हेर्छु, किनकी सर्वत्र निर्धनता हेर्छु ।

निर्धन समाज आज पशुवत् जीवन बिताइरहेका छन् । यसमा हाम्रो हात पनि छ, जसको प्रायश्चित स्वरुप चर्खा हो ।’ संसारभरि चर्खामात्र स्वावलम्बन र आत्मनिर्भरताको सँगसँगै आर्थिक स्वतन्त्रताको प्रतीक बन्यो । चर्खाको सन्दर्भमा युवा कलाकार के. वेंकटप्पाको चित्र हेरी कुशल कला समीक्षकको रूपमा ‘यंग इन्डिया’ मा टिप्पणी लेख्दै उनले भनेका थिए, ‘म प्रसन्न छु, तपाईलाई मेरो आशिर्वाद छ, तर तपाईले जीवनमा चर्खाको प्रभाव दर्शाउने पेन्टिङ बनाउन सके मलाई अत्यधिक खुसी हुन्छु ।’ गान्धी कलालाई आफ्नो उद्देश्य र आदर्श अनुरूप हेर्न चाहन्थे, किनकी उनको लक्ष्य स्पष्ट थियो । जसले हस्तकला र उपयोगी कलालाई परिभाषित गर्छ । यहाँ पनि चर्खा कलाकार सुष्मा शाक्य, महेन्द्र राई, कृति उपाध्याय, कुन्दन श्रीवास्तवको क्यानभासमा विभिन्न बिम्बमा प्रस्तुत भएको छ । युवा कलाकार विनय रिमालले गान्धीको प्रिय भजन ‘रघुपति राघव राजा राम, पतित–पावन सीताराम’ उक्तिले जीवन र कलाको सन्तुलन दर्शाउन खोजेका छन् ।

 युवा सितार–वादक विलायत खान आफ्नो आत्मकथामा चर्खा र सितारका जुगल बन्दीका रोचक प्रसंग लेखेका छन् । गान्धीलाई आफनो सितार सुनाउने चाहना अनुरुप गान्धीको निम्तोमा सेवाग्राम पुगे । सितार सुनाउने क्रममा गान्धी चर्खा चलाउन लागे, चर्खाको घरर घरर ध्वनि वातावरणमा गुञ्जिन थाल्यो जसले विलायत खान असहज भए । मनमनै भने यो महात्मालाई संगीत सुन्ने अनुशासन पनि छैन, मन नभए पनि सितार बजाउन थाले । केही समयपश्चात् लेख्छन्, ‘महात्माको चर्खा मेरो सितारको संगत गरिरहेको छ र मेरो सितार महात्माको चर्खाको संगत ।’ चर्खा र सितार दुवै एकाकार भएको थियो । यो जुगलबन्दी घण्टौंसम्म जारी रह्यो । वातावरण स्तब्ध थियो र गान्धीको बाख्रा आफनो कान हल्लाउँदै यो जुगलबन्दीको आनन्द लिँदै थियो । यसको दिव्य–अनुभूति थियो, सितार धागो काँतिरहेको थियो, चर्खाबाट संगीत निसृत हुँदै थियो ।

वरिष्ठ कलाकार आई बी मल्लको अनुहारचित्रको भावले ‘वर्तमान युगमा गान्धीद्वारा देखाइएको बाटोमा अगाडि बढ़ने आवश्यकता छ किनकि आज संसारले हिंसा र आतंकको सामना गर्नुपरेको छ ।’ कलाकार रागिनी उपाध्यायको उद्गारलाई सम्प्रेषित गर्छ । समान्यतया गुगलमा देखिएको अनुहारचित्रको बाहुल्यता रहेको छ । एक्रेलिक माध्यममा प्रस्तुत भएका कलाकार अन्य माध्यमको प्रयोग गरी जोखिम नमोली आफूलाई सुरक्षित राखेका छन् । तथापि कलाकार प्रकाश थापाले स्यान्ड माध्यममा गान्धीको अनुहार चित्रमा उन्मुक्त हाँसो गोलो चश्माभित्र छाँया र प्रकाशको सन्तुलित भाव प्रदर्शनीको विशेष आकर्षण र नौलो अनुभूतितिर डोर्याउँछ । सुनीता राणा, राजन पन्त, चिराग बाङ्देल, विपना महर्जनका रोचक प्रस्तुति गान्धीको जीवन संस्कृतिको आदर्श स्वाधीनताको शिल्पी समवेदनाको सूत्र खोज्छन् । वरिष्ठ र नवोदित कलाकारको जमघटले मनको गहिराईमा शब्द, स्वर, रङ, लय र गतिको आरोह–अवरोह पनि कलाप्रेमीलाई आन्दोलित गर्छ । ग्यालरीको भित्ता नियाल्दै जाँदा नेपालका सर्वाधिक लोकप्रिय मिथिला लोककलाको प्रतिनिधित्व न हुनु कलापारखी र कलाप्रेमीबिच केही छुटेको आभास गराउँछ ।

 हामी कला कल्पनाको अभिव्यक्तिमा नै अथवा कर्मकौशल, आफ्नो एकाग्र चेतनाको सहायताबाट जीवनको अनुभूतिको अरुमा व्यक्त गर्ने प्रयास मानौं अथवा जो सत्य हो, जो शिव हो, जो सुन्दर हो तर प्रत्येक अवस्थामा कला उसको प्रेरणास्रोतको प्रश्न बनिरहन्छ र यस प्रश्नको उत्तर व्यक्ति विशेषसँग गाँसिएको जीवन–दर्शनमा निर्भर गर्छ । किनकी त्यस दर्शनको आधारमा नै त्यस व्यक्तिको दृष्टिकोण बन्छ । यसरी यो प्रदर्शनीले नेपाली कला र कलाकारको गान्धीप्रतिको प्रेम प्रेषित गर्छ ।

बिपी कोइराला नेपाल–भारत फाउन्डेसन र शिवाता लभ फाउन्डेसनको संयुक्त आयोजनमा सुरु भएको पांँच दिवसीय कला प्रदर्शनीमा प्रसिद्ध कलाकारका संकलित लगभग दुई दर्जन कलाकृति प्रदर्शनीमा रहेका छन् । प्रदर्शनी २२ गतेसम्म चल्ने प्रदर्शनीमा विजय थापा, आईबी मल्ल, रागिनी उपाध्याय, उमाशंकर साह, राजन पन्त, देवेन्द्र थुम्केली, केशव राज खनाल, चिराग बाङ्देल, सुनीता राणा, पृथ्वी श्रेष्ठ, एरिना ताम्राकार, भीम शर्मा, प्रकाश थापा, सुष्मा शाक्य, विपना महर्जन, महेन्द्र राई, कृति उपाध्याय, डा.कुन्दन श्रीवास्तव, विक्रम श्रेष्ठ, विनय रिमाल, श्रृमिला श्रेष्ठ र नमुना कँडेलका चित्र राखिएको छ ।

39Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन