मृणशिल्प, माटो र सिरहा : एससी सुमन

 

मृणशिल्प, माटो र सिरहा

30Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

एससी सुमन

मिथिला सभ्यता, कला, संस्कृतिको चर्चा देशदेखि विदेशसम्म चुलिएको छ । मिथिला सभ्यता, संंस्कृति, इतिहास र ज्ञान चिन्तनको उद्गम स्थल हो । जसलाई शौर्य, नीति, धर्म, कला, विवेक, मर्यादा, संंस्कृति, स्थापत्य आदिको केन्द्र मानिन्छ । के धार्मिक, के आध्यात्मिक, के राजनीतिक, के कला र संंस्कृति सबै दृष्टिकोणले यो परापूर्वकालदेखि समुन्नत क्षेत्र हो । यहाँ कलामा सौन्दर्य विविधता खास गरेर मिथिला लोकचित्रकलाको लोकप्रियताले तेस्रो मुलुकमा सर्वाधिक उच्च स्थान प्राप्त गर्दै आएको छ । यहाँको चित्रकला अग्रपंक्तिमा रहे पनि अरू कलाकौशलको प्रचारप्रसार हुन सकेको छैन । यसमध्ये यहाँको मृणशिल्प पनि एक हो । माटोले बनाइएको भाँडा अथवा मूर्तिलाई आगोमा पोलेपछि, त्यसलाई मृणशिल्प भनिन्छ । माटोको काम सम्भवतः विश्वको प्राचीनतम कलामध्ये एक हो जसमा उपयोगिता र सौन्दर्यबोध दुवैको मिश्रण हुन्छ । माटोको महत्व लौकिक एवं इहलौकिक दुवै तहमा उच्च स्थानमा रहेको छ । लगभग साढ़े चार हजार वर्ष पहिले, सिन्धुघाँटी सभ्यताको समय, भारतमा मृणशिल्प कलाको विकास चरममा थियो । यस महाद्वीपमा मध्यपाषाणकालदेखि नै मूर्ति बन्दै आएको पाइन्छ । त्यहाँ प्राप्त भएको आगोमा पोलिएको माटोबाट बनेका विविधतापूर्ण, प्रविधि कौशलले परिपूर्ण दुर्लभ सामग्री अन्यत्र प्राप्त भएका छैनन् । यो एउटा संयोग हो कि त्यो आकृति जो हड़प्पा कालमा प्रचलित थियो, आज पनि मिथिला क्षेत्रमा प्रचलनमा रहेको छ । भाँडाकुँडाका आकारप्रकार र काठ्को पांग्रा भएको गोरुगाडीको आकृति ठ्याक्कै त्यस्तै छ, जस्तो हड़प्पा कालमा बनाइन्थ्यो ।

मिथिलाको मृणशिल्पको विशेषता त्यसको शैलीगत आकार, आलंकारिक सतह सज्जा चहकिलो हुने गर्दछ । यहाँ अधिकांश हात्ती, घोड़ा, गोरु, बाघजस्ता आकृति बनाइन्छ । विशेषत पशु आकृतिका, खेलौना मात्र होइन कुनै अलौकिक ऊर्जाले परिपूर्ण मिथकीय जीव प्रतीत हुने गर्छ । भाइबहिनीको प्रेमको प्रतीक पर्व ‘सामा–चकेवा’ मा बनाइने मूर्ति घरघरमा दिदीबहिनीले बनाउने गर्छन् । यो मूर्ति काँचो माटोबाट बनाइन्छ । भूमिचित्र र भित्तिचित्रमा प्रत्येक चेलिबेटीले जान्नुपर्ने अनिवार्यता रहेझैँ गायन र मूर्तिकलाको जानकारी हुनु जरुरी मानिन्छ । यहाँका कुमाले परापूर्वकालदेखि माटोका भाँडाकुडा, देवीदेवताको प्रतिमा तथा भाकल पूरा हुँदा चढाइने पशु आकृति बनाउँदै आएका छन् । यसले यहाँको मूर्तिकला परम्परा प्राचीन र समृद्ध रहेको पुष्टि हुन्छ ।

मूर्ति पोलेपछि रातो रङको हुन्छ । कहिलेकाँही कालो पनि हुन्छ त्यो फरक कुरा हो, तर त्यसलाई कालो बनाइँदैन । माटोको मूर्ति बनाएर पहिला दुई÷तीन घण्टा छायामा सुकाइन्छ । त्यसपछि फेरि घाममा राखिन्छ । मूर्ति बनाएर एकैचोटी घाममा सुकाउँदा चर्केर जान्छ । त्यसपछि नदी खोलाबाट ल्याएको रातो मलिलो माटोले मूर्ति रंगाइन्छ । यो माटोलाई काठको मुंग्राले कुटेर माटोको भाँडोमा घोलेर १५ दिनसम्म छायामा राखिन्छ । फेरि माटोलाई घोलेर छानिन्छ र माटोमा रहेको बलुवा छुट्याइन्छ । घ्युजस्तो प्राप्त माटोको घोललाई घाममा राखिन्छ, नत्र यो बिग्रेर जान्छ । तत्पश्चात् यो घोललाई कुनै भाँडोमा लिएर आगोमा तताउने गरिन्छ र जब यो घोल गमजस्तो गाढा भएपछि आगोबाट झिकी चिसो बनाई मूर्ति तथा भाँडाकुडा रंगाइन्छ ।

मानिसले सबैभन्दा पहिले माटोको भाँडाकुँडा बनाए । पृथ्वीको निर्माण सँगसँगै मृणशिल्प आदिकालमै प्रारम्भ भयो । माटोको खेलौना र मूर्ति बनाउने प्राचीन परम्परा हो, माटोको काम गर्नेलाई कुमाले भनिन्छ, जसले दैनिक जीवनमा उपयोगमा आउने सामग्री सँगसँगै कुमालेले परम्परागत कलात्मक रूप रङको पनि निर्माण गर्छ । हामीकहाँ विभिन्न प्रदेशको मृणशिल्प कलाको ख्याति देशमा मात्र होइन की विदेशसम्म पुगेको छ । मिथिलाञ्चलमा शिल्पीद्वारा सुन्दर कलात्मक सघन अलंकरण गरिन्छ । तसर्थ मिथिलाको मृणशिल्प सबैभन्दा फरक हुने गर्दछ । यहाँको मृणशिल्प आफ्नो निजी विशेषताको कारण महत्वपूर्ण स्थान राख्दछ जो लोकञ्चलको पारम्परिक मृणशिल्प कलाको वैभव स्वरूप चाडपर्वको बेला देख्न सकिन्छ ।

 मिथिला चित्रकला नेपाली लोककलाको विशिष्ट स्थानमा रहेको छ । यो चित्रकला, जसलाई हामी क्यानभास, कागज र परिधानमा हेर्छाैं । कुनै समयमा यसको वास्तविक स्थान माटोको भित्तामा हुने गर्दथ्यो । यसको चित्रात्मक विशेषता चहकिलो रङ संयोजन र यसको पृथक शैली प्रविधि जसलाई ‘कचनी–भरनी’ भनिन्छ । यो एउटा विशिष्ट शैलीमा स्थापित छ । घरमा हुने पूजा, पर्व, तिहार र विशेष अवसरमा आँगन तथा पूजा–घरदेखि घरको भित्तासम्म चित्रकारी हेर्दै आएका छौँ । हजुरआमा र आमा कोही पनि यस्ता कलाकार होइनन् जसले ट्रेनिङ लिएका हुन्, मात्र आफ्नो अघिल्लो पुस्तालाई हेरेर, बुझेर सिकेका हुन् । हालसाल छिटफुट रूपमा आएर सहर बजारमा यो शैलीको प्रशिक्षण दिने काम हुन थालेको छ ।

म लहान स्कुलमा प्राथमिक कक्षामा पढ्दा घरमा हुने कला गतिविधिमा हजुरआमालाई सघाउन अगाडि हुन्थे । माटो मेरो बाल्यकालदेखि नै प्रिय वस्तु रहेको छ । हुन पनि हो, भनिन्छ पहिलोपटक बच्चा बामे सर्न थालेपछि बालकले आफ्नो हातले टिपेर मुखमा हाल्ने वस्तु माटो नै हो । मेरो ४० वर्षको कलायात्राको श्री गणेश मृणशिल्पबाट भएको हो । मेरो कलायात्राको पहिलो गुरु मेरो हजुरआमा हुनुहुन्थ्यो भने दोस्रो गुरु स्वर्गीय श्याम पण्डित हुनुहुन्थ्यो । श्याम पण्डित प्रसिद्ध मूर्तिकार हुनुहुन्थ्यो, वहाँले बनाएका मूर्ति सजिवझैँ लाग्थ्यो । दुर्गा पूजा, इन्द्रपूजा, कृष्ण जन्माष्टमीजस्ता मेलामा श्याम पण्डितले बनाएका मूर्ति हेर्न ठूलो जनसमुदायको भिड लाग्ने गथ्र्याे । दसैँभन्दा अगाडि घर नजिकै दुर्गा मन्दिरमा माटोको विभिन्न देवीदेवताको मूर्ति बनाइन्थ्यो । प्रतिदिन स्कुलबाट घर फर्र्केपछि घण्टौँ मूर्ति बनाएको हेरिरहँदा भोकप्यास पनि बिर्सन्थे । बुबा जसलाई मैले बाबुजी भन्थे । छोराको मूर्तिप्रतिको प्रेम अनुभव गरेर होला बाबुजीले आफ्नो साथी श्याम पण्डितलाई छोरालाई मूर्ति बनाउन सिकाई दिन अनुरोध गरेपछि श्याम पण्डितको स्वीकृतिमा म प्रत्येक शनिबार मूर्ति सिक्न जान थाले ।

लहान सिरहा विभिन्न जातजातिको साझा बसोवास र विभिन्न चाडपर्व, मेला उत्सवको साझा आयोजनाले यो क्षेत्र सांस्कृतिक सद्भावको चिनारी लिएर मिथिलाको प्रमुखको पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित हुने प्रयास गर्दैछ । बाल्यकालको क्रीडास्थल ‘कुम्हार टोल’ र त्यहाँ निरन्तर घुम्दै गरेको ‘चाक’ (माटोको भाँडा बनाउने चक्र) आफ्नो जीवनको समयचक्र सँगैको स्मृतिपटलमा अमिट रूपमा रहिरहेको छ । माटो र माटोको भाँडोको विषयमा बाबुजीले भन्नुभएको कुरा, ‘काँचो माटोले आफूले चाहेको आकारप्रकारको जे पनि बनाउन सकिन्छ । पाकेपछि सकिन्न । बाल्यकाल काँचो माटो हो, यहीँबाट जीवनले आकार लिन्छ,’ भन्ने कुरा आज पनि ताजै छ ।

स्कुल पढाइ सकेपछि विज्ञान विषय पढ्न मिथिला विश्वविद्यालय पुगेँ । दरभंगामा विज्ञान सँगसँगै कला र साहित्यप्रति पनि रुचि बढ्दै गयो । विशेष गरेर मिथिला चित्रकला र मृणशिल्पको सिक्न र जान्ने जिज्ञासाले धेरथोर जान्ने मौका मिल्यो । त्यतिखेर मेरो बसोवास दरभंगाको लहेरियासराय इलाकामा थियो । लहेरियासरायबाट दरभंगा सहरको दुरी लगभग पाँच किमी थियो । कलेज आउँदा जाँदा लहेरियासराय र दरभंगाको बीचबाटोमा मौलानागञ्ज मुहल्लामा कुमालेको बस्ती पथ्र्याे । पहिलोपटक यो बाटो हिँड्दा लहानको कुम्हारटोलको सम्झना भयो । एउटा आत्मीयताको आभास भयो । कलेजबाट फर्कंदा केही समय मौलानागञ्ज मुहल्लामा बित्न थाल्यो । फरक यति थियो, लहानको कुम्हारटोल ठूलो थियो, यहाँ लगभग १५÷२० घर मात्र रहेका थिए । लहानको कुम्हारटोलमा स्वरोजगार हुँदाहँुदै विपन्नता र गरिबी थियो, यहाँ दरभंगामा सम्पन्नता थियो । पटकपटक त्यै बाटो हिँड्दा माटोको भाँडा र मूर्तिले मेरो ध्यान आकर्षित गर्यो । धर्म, संस्कृति, कलाकौशल, पेसा, संस्कार एउटै हुँदाहुँदै पनि आर्थिक अवस्थामा यति फरक किन ? मनमा यो प्रश्न आइरहन्थ्यो ।

 तल भुइँमा ठूलो ढुंगाको ‘चाक’ र दराजमा बिक्रीको लागि सजाइएका कलात्मक माटोका मूर्ति, रंगीचंगी भाँडाकुँडा, विभिन्न सामाजिक संस्कारका लागि मिथिला कलाले सुसज्जित सरसामानले भरिभराउ कला वक्र्ससप जस्तो थियो । पहिया यानी पांगाको आविष्कारले हामीलाई यात्रा गर्ने ठूलो साधन प्रदान ग¥यो र यसको मद्दतले लोक ठुल्ठूला यात्रा गर्न थाले, कहिले व्यापार कहिले युद्ध कहिले आपत्विपतबाट बच्नका लागि यसको प्रयोग गर्न थाले । हजारौँ वर्षदेखि लोक कोसाैंको यात्रा गरिरहे । यस यात्राले कला र संस्कृतिमा गहिरो प्रभाव पारेको देखिन्छ । गर्मीको याममा चिसो खानेपानी चाहिन्छ । माटोमा बालुवाको मिश्रणले बनेको सुराहीले चिसो पानी दिन्छ, सँगै यसको बाहिरी भागमा कलात्मक सुन्दर साजसज्जा र सुविधाले पानी निकाल्नका लागि तल एउटा सानो धाराको जडानले लहानको कुम्हारटोल र दरभंगाको मौलानागञ्ज मुहल्ला दुवै ठाउँको कुम्हारको आर्थिक अवस्थाको फरक बुझाइदियो । परम्परा, लोकशिल्प, आवश्यकताको सुझबुझसँगको प्रयोगले धेरै थोक परिवर्तन हुनसक्छ ।

मेरो स्कुले जीवनमा मूर्तिप्रतिको प्रेम अब आएर ऐतिहासिक, सांस्कृतिक पृष्ठभूमि र यसको निरन्तरताको सन्दर्भमा हेर्दा, मानिस घुमन्ते जीवन छाडेर एक ठाउँमा स्थिर भएर खेतीबारी गर्न थाले त्यहीँबाट उसको जीवनमा माटोको महत्व बढ्दै गयो । माटोबाट अन्न उत्पादन गर्ने र पकाउन माटोको भाँडो प्रयोग गर्थे जुन उसको जीवनको मुख्य साधन हुने गथ्र्यो । यिनै कारणले धर्ती यानी पृथ्वीलाई आमाको संज्ञा दिइयो । विस्तारै सभ्यताको विकासको सँगसँगै धार्मिक पूजा परम्पराको शुरूआत भयो र मातृदेवीको मूर्ति माटोले बनाउन थालियो । हस्तनिर्मित मूर्ति हजारांै वर्ष पहिले मोहनजोदारÞोको उत्खननमा प्राप्त भएका थिए । त्यस्तै भाँडाकुडा आज पनि मिथिला र बंगालमा विभिन्न पूजाको अवसरमा बनाइन्छ । आकारप्रकारमा मात्र समानता होइन कि विश्वप्रसिद्ध मिथिला कलामा प्रयोग हुने चित्र आकृति पनि समान छन् ।

मिथिलाञ्चलमा ग्रामदेवतालाई माटोको घोडा चढाउने लोकपरम्परा रहेको छ । ग्रामीण संस्कृतिमा आफ्नो ग्रामदेवतालाई खुसी पार्न माटोको घोडा र घुडसवार उपहार स्वरूप चढाउँछन् । सामान्यतया ग्रामदेवताको कुनै नाउँ र स्वरूप हँुदैन, उनलाई डिहबार बाबा, कालीमाई, बरहम बाबाको नाउँले सम्बोधन गरिने गरिन्छ । गाउँबाहिर वर वा पीपलको रुखमुनि यिनको निवास हुने गर्दछ । माटोले लिपिएको, माटोको पिण्ड (थुप्रो) लाई देव प्रतीक मानेर यिनको पूजा गरिन्छ । चाडपर्व तथा संस्कारको वेला यहाँ विशेष रूपले माटोको घोडा चढ़ाई सुख–समृद्धिको मंगलकामना गरिन्छ । कुनै समयमा देवीदेवतालाई बजारबाट मूर्ति खरिद गरी चढाउने चलन थिएन । आवश्यकता अनुसार चाहिएको मूर्ति कुमालेसँग अनुरोध गरी बनाउन लगाइ, मूल्य स्वरुप धोती , साडी तथा अनाज दिने चलन थियो । प्रत्येक घर परिवारका लागि आ–आफ्नो कुमाले हुन्थे, जसलाई वार्षिक रुपमा अन्न दिने गरिन्थ्यो ।

मिथिलामा ग्रामदेवता सलहेशको पूजा गरिने प्रथा छ । जसलाई लोकनायक राजा सलहेश भन्ने गरिन्छ । खास गरेर सलहेश दुसाध जातिका देवता हुन् । उनको मन्दिरलाई ‘गहबर’ भनिन्छ । जसलाई गाउँघरका सम्पूर्ण जातजातिका मानिसले आस्थाको केन्द्र मान्दै आएका छन् । पहिले खरको छानो भएको गहबर अचेल पक्की छत भएको गहबरमा परिणत भएको छ । गहबरको बदलिँदो स्वरूप ग्रामीण समृद्धिलाई दर्शाउँछ । लहानबजारदेखि ४ किमी पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सलहेशको फूलवारी छ । उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ । सलहेश गहवरमा राजा सलहेशसँग विभिन्न सहायक मूर्तिको निर्माण तथा रंगरोगन गरिन्छ । जसको चर्चा राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा हुने गर्छ ।

 केही वर्ष पहिलेसम्म मिथिलाका कुमाले प्राकृतिक रङको प्रयोग गर्ने गर्थे । उनीहरू बनस्पति र खनिजबाट रङ बनाउंथे । सुन्तला रङ सयपत्री र पारिजातको फूलबाट, नीलबाट नीलो, वेसारबाट पहेलो रङ, रातो गेरु माटोबाट बनाउँथे । साथै चुनाबाट सेतो र मोसोबाट कालो रङ बनाइ रंगाइन्थ्यो । तर, आज आएर आधुनिक रङले प्राकृतिक रङलाई पूर्णतया बिस्थापित गरिदिएको छ । प्लास्टिकको प्रयोगले आज हाम्रो जीवनशैली बदलिएको छ । विचार गर्दा दैनिक व्यवहारमा आउने सबै ठाउँमा प्लास्टिकको प्रवेश भएको छ । यहाँसम्म कि देवताको मूर्ति पनि प्लास्टिकको बन्न थालेको छ । तथापि हाम्रो परम्पराको प्रतीक चाडपर्वमा माटोको भाँडोको प्रयोगको अनिवार्यताले हामी आफ्नो कला परम्परा जीवित राख्न सकेका छौँ । मनमोहक चाइनिज खेलौनाको बीच मेला, हाटबजारमा माटोको खेलौनाको आकर्षण आज पनि त्यतिकै छ । जसलाई हामी पूजा गथ्र्यौं त्यो आज घरको साजसज्जाको लागि प्रयोग हुन थालेको छ । यसरी हामी आफ्नो कला परम्परालाई जीवित राख्न सजग हुनुपर्छ । हाम्रो परम्परागत शिल्प र शिल्पीलाई संरक्षण गर्नुको विकल्प छैन । नयाँ पुस्तालाई धेरैभन्दा धेरै आफ्नो संस्कृति र रीतिरिवाजको जानकारी दिन आवश्यक हुन जान्छ ।

Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन