बिहार म्युजियम बिएनाले , सम्बन्ध जोडने कला प्रदर्शनी : एससी सुमन

 

बिहार म्युजियम बिएनाले

सम्बन्ध जोड्ने कला प्रदर्शनी

11Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

० संस्कृतिले मानव जातिलाई एकअर्कामा जोड्दछ । यसले सम्बन्धका सेतुलाई प्रगाढ बनाउँदै सभ्य र सु–संस्कृत समाज निर्माणमा भूमिकासमेत खेल्दछ । यही परम्पराअन्तर्गत उत्तरी भारत र काठमाडौं उपत्यका बीचको सांस्कृतिक आदान प्रदानको शताब्दीयौं पुरानो इतिहास छ । यसै परम्परालाई जीवन्त बनाउन हालै पटनाको बिहार संग्रहालय बिएनालेको दोस्रो संस्करणमा नेपाल कला परिषद्को अगुवाईमा परम्परागत र समसामयिक कला प्रदर्शनी सुरु भएको छ

एससी सुमन

कला सभ्यताको एक शानदार सञ्चार हो । यसले विभिन्न संस्कृति र समयका मानिसलाई रेखा, फर्म, रङ र छविहरूमार्फत एकअर्कासँग कुराकानी गर्न अनुमति दिन्छ । जसले केही उत्कृष्ट आवाज र कथाहरू सिर्जना पनि गर्दछ । कला समाज परिवर्तनको सबैभन्दा प्रभावकारी माध्यम हो । यसले एक व्यक्ति वा समाजलाई यो सामना गर्ने भावना जगाएर अनुभवको लागि आवाज दिन सक्छ । सभ्यता र संस्कृतिको जननीका रुपमा कलाले मानिसलाई जीवन्त बनाइराखेको हुन्छ । मौलिकता र पहिचानलाई युगौयुगसम्म जोडिरहेको हुन्छ ।

संस्कृतिले मानव जातिलाई एकअर्कामा जोड्दछ । यसले सम्बन्धका सेतुलाई प्रगाढ बनाउँदै सभ्य र सु–संस्कृत समाज निर्माणमा भूमिकासमेत खेल्दछ । यही परम्पराअन्तर्गत उत्तरी भारत र काठमाडौं उपत्यका बीचको सांस्कृतिक आदान प्रदानको शताब्दीयौं पुरानो इतिहास छ । यसै परम्परालाई जीवन्त बनाउन हालै पटनाको बिहार संग्रहालय बिएनालेको दोस्रो संस्करणमा नेपाल कला परिषद्को अगुवाईमा परम्परागत र समसामयिक कला प्रदर्शनी सुरु भएको छ । काठमाडौं उपत्यका, मिथिला राज्य र बिहारका बौद्ध पवित्र स्थलहरूको एक अर्कासँग जोडिएको इतिहास छ जुन तिनीहरूको संस्कृति र कलाको घनिष्ठ सम्बन्धमा झल्किन्छ । यही मेसोमा पटना बिएनालेमा ६८ नेपाली कलाकारले बनाएका २०५ कलाकृति आगन्तुकमाझ लोकप्रिय भएका छन् । यी कलाले नेपालको ललितकला परम्पराको वैभवलाई निकै भव्यरुपमा सजाएको पाउँछौं ।

कलासँग संलग्न हुनु एकल घटना मात्र होइन । कला एक संस्कृतिको प्रतिनिधित्व गर्दछ जहाँ मानिसहरू एकै ठाउँमा आउन सक्छन् र एक अनुभव साझा गर्नको लागि तिनीहरूले संसारलाई एकदम फरक तरिकाले हेर्छन् । महत्वपूर्ण कुरा यो होइन कि सबै अनुभवमा सहमति हुन सकिन्छ, तर हामी यसलाई अरूसँग अनुभव साझा गर्न सार्थक मान्न सक्छौं । एक बलियो, शानदार कला र यसको अभिव्यक्तिको अन्य रूपले बहसको नेतृत्व गर्न सक्छ । केही छलफललाई प्रोत्साहन दिन सक्छ र सबै सृष्टिमा उद्देश्य खोज्ने यात्रामा आत्मालाई जोड्न र प्रबुद्ध गर्न सक्छ ।

० यस प्रान्तीय संग्रहालय शुभारम्भ सन् २०१५ भई विधिवतरूपमा सुरु गरिएको हो । सन् २०१७ देखि भारतका उत्कृष्ट सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शनी गर्न थालिएको यो करिब १३ एकड जग्गामा अवस्थित छ

नेपालको कलाले आफ्नो बहु–गुण अभिव्यक्तिका साथ प्रविधिलाई कलासँग मिसाएर कलाका सबै प्रकारलाई समग्ररूपमा समावेश गरी संरचनाहरू सिर्जना गरेको छ । देश बाहिरको सबैभन्दा ठूलो प्रदर्शनीमा नेपालले आफ्नो कला प्रदर्शनी गर्ने अर्को अवसर पटनामा ‘नेपाल –जहाँ ईश्वर बास गर्छन्’ नामक प्रदर्शनीमार्फत पाएको छ ।नेपाल ग्यालरीले केन्द्रमा रंगीन पञ्च बुद्ध र अष्टमंगल मण्डला चित्रित गरेको छ । यो प्रदर्शनीको मुख्य आकर्षण बन्न पुगेको छ । प्रायः आगन्तुक मण्डलालाई पेन्टिङ हो भनी सोचेर झुकिन्छन् ।

उद्घाटन समारोहमा नेपाल कला परिषद्का अध्यक्ष सागर शम्शेर राणाले नेपाली कलाको वैभवता प्रदर्शनीमा झल्किने विचार व्यक्त गरे । उनले भने, ‘यस परिषद्लाई विहार संग्रहालयको आयोजनामा भएको अन्तर्राष्ट्रिय कार्यक्रममा निमन्त्रणाको लागि धन्यवाद छ । नेपालका तर्फबाट सहभागी हुन् परिषद्लाई प्रदर्शनीस्थलमा भारतले गरेको आमन्त्रण सांस्कृतिक सम्बन्ध सुदृढका लागि महत्वको रहने छ ।’ उनले नेपालको सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शनी गर्न निःशुल्क रूपमा चार हजार वर्गफिटको एकल ग्यालरी उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

बिहार संग्रहालय भारतको सबैभन्दा नयाँ आधुनिक संग्रहालयका रुपमा परिचित छ । यस प्रान्तीय संग्रहालय शुभारम्भ सन् २०१५ भई विधिवतरूपमा सुरु गरिएको हो । सन् २०१७ देखि भारतका उत्कृष्ट सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शनी गर्न थालिएको यो करिब १३ एकड जग्गामा अवस्थित छ । नेपाल कला परिषद्का निर्देशकले मुख्यमन्त्री नीतिश कुमारलाई प्रख्यात पौभा कलाकार लोक चित्रकारको पद्मापानी लोकेश्वरको सीमित संस्करणको प्रिन्ट प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनीमा भारत र विदेशका आगन्तुक, स्थापित कलाकार र क्युरेटरको चासो र प्रशंसा अपार रहेको छनक पाइन्थ्यो । बिएनालेका प्रमुख क्युरेटर अलका पाण्डेले नेपाल प्रदर्शनी ‘सो–स्टपर’ भएको सुनाइन् ।

यी कलाकृतिहरूले तिनीहरूको जटिल विवरणमार्फत पवित्र सौन्दर्यको भावना जगाउँछन् र विभिन्न उद्देश्यहरू, जसमा पूजा, आध्यत्मिक आभा बढाउने, र धर्मनिरपेक्ष ठाउँहरूमा सौन्दर्य मूल्य थप्ने भाव उजागर गर्छन् । देवताहरूको बासस्थानको रूपमा नेपालको समन्वयात्मक आध्यत्मिक वातावरणको विशालतालाई समेत प्रदर्शनीमा राखिएका कलाकृतिले आगन्तुकलाई प्रभावित पारेको अनुभव गर्न सकिन्थ्यो । सो अवसरमा कलाकृतिहरू निराकारदेखि असंख्य अवतारहरू र ईश्वरका अभिव्यक्ति, परम्परागत र समसामयिक चित्रहरू विभिन्न देवीदेवताका चित्र, मञ्जुश्री, कुमारी, गौतम बुद्ध, भैरव, सांस्कृतिक पर्वसम्बन्धी मूर्ति, चित्रका साथै धातुका मूर्तिहरू, अर्ध–मूल्यवान ढुङ्गाको जडित, सेरामिकका कलाकृति, काष्ठ कलाका नमूना कृति प्रदर्शनीमा राखिएको छ ।प्राचीन भारतीय सहर, सम्राट अशोकको राजधानी सहर; वर्तमानमा पटना, बिहार राज्यको राजधानी पटनाको पुरानो नाउँ थियो । पाटलिपुत्रसँगै कुसुमपुर, पुष्पपुरी र अजिमावाद पनि थियो । पवित्र गंगा नदीको दक्षिणी तटमा फैलिएको यो सहर करिब २००० वर्ष पूर्व पाटलिपुत्रको नाउँले जानिन्थ्यो । पाटलिपुत्र अथवा पाटलिपुत्र प्राचीनकालदेखि नै भारतको प्रमुख नगरका रुपमा परिचित थियो । पाटलिपुत्र वर्तमानमा पटनालाई भनिन्छ । यो ऐतिहासिक नगरी, नरेश अजातशत्रुको उत्तराधिकारी उदयिनले आफ्नो राजधानी राजगृहलाई पाटलिपुत्रमा स्थानान्तरित गरेका थिए । पछि चन्द्रगुप्त मौर्यले यहाँ साम्राज्य स्थापित गरेर आफ्नो राजधानी बनाए । त्यसपछि शेर शाह सूरी (१५३८–१५४५) ले पाटलिपुत्रलाई पुनर्जीवित गरे र यसको नाम पटना राखे ।

० यो प्रदर्शनीले आजसम्मको नेपाली सिर्जनशीलताको इतिहास झल्काउने विभिन्न विधाहरू समेटेको छ

पटना सहरमा सन् १९३९ मा स्थापित कला र शिल्प कलेज छ । यसका सडक र गल्लीहरू परम्परागत मधुबनी कलाका साथै विषयगत समकालीन रेखाचित्र र चित्रहरूले भरिएका छन् । प्रायः वातावरण संरक्षणसम्बन्धी सामाजिक सन्देशहरू प्रदान गर्दछ । बिहार संग्रहालयको स्थापना दिवस उद्घाटनसँगै बिहारका पद्मश्री पुरस्कृत कलाकारको लोककला प्रदर्शनी र ‘टुगेदर वि ए’ को शुभारम्भ गरिएको थियो ।

अयं निजः परोवेति गणना लघुचेतसाम् ।

उदारचरितानां तु वसुधैवकुटुम्बकम् ।।

(महोपनिषद्, अध्याय ६, मंत्र ७१)

वसुधैवकुटुम्बकम् यसको अर्थ हो– एउटा धरती, एउटा परिवार र एउटा भविष्य (वसुधा एव कुटुम्बकम्) । सनातन धर्मको मूल संस्कार तथा विचारधारा हो । जो महाउपनिषद्सँगै कतिपय ग्रन्थमा लिपिबद्ध छन । अर्थात् यो मेरो आफ्नो हो र यो मेरो होइन, यस्ता गणना सानो चित्त (सञ्कुचित मन) भएका मानिसले गर्छ । उदार हृदय भएका मानिसको लागि त (सम्पूर्ण) धरती नै एउटा परिवार हो । यिनै मूलमन्त्रमा बिहार संग्रहालयको स्थापना दिवस उद्घाटनसँगै बिहारका पद्मश्री पुरस्कृत कलाकारहरूको लोककला प्रदर्शनी र जि ट्वान्टी सदस्य र अतिथि देशहरूको प्रदर्शनी ‘टुगेदर वि आर्ट’ सुरु गरिएको हो ।

नेपाल ग्यालरीमा प्रदर्शित ‘पशुपतिनाथ’ शीर्षकमा मिथिला कलाकृति राखिएको छ । सो चित्रमा कलाकार चार दशकअघि पहिलो पटक पशुपतिनाथ मन्दिर परिसर देखेर आजसम्म आइपुग्दा हरिया रुखले भरिएको काठमाडौं उपत्यका, भक्तजनले गाउँदै गरेको मैथिली भजनलाई कलात्मक ढंगले उनिएको छ जुन परम्परा आज पनि गुञ्जायमान छ । आर्यघाट, मिथिलाञ्चल र बिहारको आस्थाको पर्व ‘छठ’ समानरुपले मनाइँदै छ । जहाँ चित्रमा कलाकार पंक्तिकार स्वयं एससी सुमनले प्रसिद्ध मैथिली कोकिल कवि विद्यापतिले सात सय वर्षअघि लेखेको लोकगीत उद्धृत गरेका छन्ः

कखन हरब दुख मोर– हे भोले नाथ (मेरो पीडा कहिले शान्त पार्नुहुनेछ– हे प्रभु)

कर्मको दर्शन– कारण र प्रभाव– कलाकारको विश्वासको केन्द्रबिन्दु हो । के कलाकारले हामीलाई यस जीवनकालमा शारीरिक, भावनात्मक र आध्यात्मिक रूपमा भित्र र बाहिर के गर्छौं भनेर प्रतिबिम्बित गर्न प्रलोभन दिइरहेको छ ? तल्लो र माथिल्लो क्यानभासको नीलो रङले क्रमशः अन्डरवल्र्ड र स्वर्गको प्रतिनिधित्व गर्दछ । मन्दिर परिसर जमिनमा बनेको रूपमा चित्रण गरिएको छ, जबकि बागमती नदी जीवनको निरन्तर प्रवाहको प्रतीक हो । जो पवित्र गंगामा मिसिन्छ । दैनिक जीवनचक्रको लागि पवित्र स्थानको रूपमा त्रिभुवन र पशुपति मन्दिर परिसर बीचको अन्तरक्रिया हो । जो दुई देश नेपाल, भारतको सामाजिक, धार्मिक प्रतिविम्व समेत हो ।

कलाकार बत्सगोपाल वैद्य, उमाशंकर शाह, रागिनी उपाध्याय, एससी सुमन, जीवन राजोपाध्याय, भाइराजा महर्जन, आशा डंगोल, एरिना ताम्राकार, संगी श्रेष्ठ, पृथ्वी श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठलगायतका कलाकारका समसामयिक कला प्रदर्शनीमा राखिएको छ । दीपेन्द्रवीर शाक्य, दीपेन्द्र शाक्य, नवीन शाक्य, प्रकाश महर्जन, सुरज शाक्य, बिल्लीराज शाक्य, मुविन शाक्य, विनोद कपाली लगायतका कलाकारका परम्परागत मूर्ति प्रदर्शनीका आकर्षण रहेका छन् ।त्यस्तै, अग्रज पौभा कलाकार लोक चित्रकार, मुक्तिसिंह थापा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, उजय बज्राचार्य लगायतका परम्परागत चित्र प्रदर्शनीमा समावेश राखिएको परिषद्की रजनी सिंख्वालले जानकारी दिइन् ।

विगत एक दशकमा नेपाली कलाले अन्तर्राष्ट्रिय स्तरमा पहुँच बनाउँदै नेपालीपनको उपस्थितिलाई दह्रो बनाउँदै लगेको छ । यही सिलसिलमा धेरै कलाकार विदेशमा बसेर आफ्नो नाम कमाउन सफल भएका छन् । अरूले आफ्ना कामहरू विश्वव्यापीरूपमा प्रदर्शनी गर्छन् । नेपाल कला परिषद् आफैंले नेपाली कलालाई इन्डिया आर्ट फेयरको तीन संस्करणमा पुर्याएको छ र सन् २०१९ मा वेलट म्युजियम, भियनामा १०० वटा कृतिसहित ‘नेपाल आर्ट नाउ’ को सह–क्युरेट गरेको छ । यो प्रदर्शनी उत्तिकै लोकप्रिय थियो र दुईको लागि विस्तार गरिएको थियो । यो प्रदर्शनीले आजसम्मको नेपाली सिर्जनशीलताको इतिहास झल्काउने विभिन्न विधाहरू समेटेको छ । नेपाल कलात्मक उत्पादन एक जीवित सम्पदा हो । जहाँ सिर्जनाकर्ताहरूले आफ्नो कल्पनालाई स्वतन्त्र लगाम दिनुअघि आध्यात्मिक, दार्शनिक परम्परा र प्रतीकात्मक स्रोतहरूबाट प्रेरणा लिन्छन् ।

यसले स्थानीय र विश्वका कलाकारको प्रवृत्तिसँग परिचित हुने स्थानीय दुवैलाई दुई गुणा फाइदा पु¥याउँछ । यस्तै, स्वदेशी तथा विदेशी पर्यटकले प्राचीन नेपाली तथा भारतीय राजनीतिको महिमाका साथै प्रागैतिहासिक कालदेखि अहिलेसम्मका उत्कृष्ट कलाकृतिसँग परिचय गराएको छ ।

बिहार संग्रहालय बिएनाले २०२३ को यो दोस्रो संस्करण ७ अगस्तमा बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा उद्घाटन गरिएको थियो । थाइल्याण्ड, पनामा, कोस्टारिका, इटाली, रूस र अन्य भारतीय संग्रहालयहरुबाट पनि प्रदर्शन गरिएको छ । नेपाल कला परिषद्को क्युरेटर स्वस्ति राजभण्डारी कायस्थले नेपाली सभ्यतालाई विदेशमा चिनाउन प्रदर्शनी फलदायी हुने विश्वास व्यक्त गरिन् । उनले नेपालमा विद्यमान कलाका विविध शैली र चिन्तन प्रदर्शनीमा देख्न पाइने बताइन् । अक्टोबर ७ सम्म पटनामा चल्ने यो प्रदर्शनी नेपाली मौलिकता र कला परम्परालाई चिनाउन र सांस्कृतिक वैभवको ऐतिहासिक परम्परालाई जीवन्त बनाइराख्न महत्वपूर्ण भूमिका खेल्ने आशा राख्न सकिन्छ ।

साथै, सामाजिक, सांस्कृतिक, राजनीतिक एवं मानवीय दृष्टिले समेत यस प्रदर्शनीले नेपालको पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुग्दछ । कला सु–संस्कृत मानव समाजको द्योतक भएकाले यसको सामाजिक, राजनीतिक तथा सांस्कृतिक महत्व विशिष्ट रहेको छ ।

11Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
gmail sharing button
sharethis sharing button

प्रतिक्रिया

Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन