लिखियाको सौन्दर्य : कायस्थ र कचनी एससी सुमन

 


काल्पनिकताले परिपूर्ण र कला सिद्धान्तको दबाबबाट मुक्त भएको कारणले लोककलामा सौन्दर्य र सहजताको अनुभूति हुने गर्छ । जसले आफ्नो देशको माटोको सुगन्ध, मौलिकता र परम्परासँग जोडिएको अनुभूति गराउँछ । तसर्थ आजको समकालीन परिदृश्यमा लोककलाको चर्चा अत्यन्त आवश्यक हुन जान्छ । लोककलाको नाम लिनेबित्तिकै हाम्रो मस्तिष्कमा सबभन्दा पहिले मिथिला कलाका विभिन्न रूपको उपस्थिति हुन्छ । जसमा अरिपन, कोहबर, तान्त्रिक, गोदना आदि लोक चित्रको स्मरण हुन आउँछ । मुख्यतया कचनी, भरनी र तान्त्रिक शैलीको प्रयोग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने ब्राह्मण र कायस्थ जातिका पुरुष तथा महिलाद्वारा गरिँदै आएको पाइन्छ । लिखियामा प्रयोग हुने अधिकांश सामग्री दिनानुदिन प्रयोग हुने वस्तुबाट नै भित्ता, भुइँ तथा कागतमा लेखिन्थ्यो । घर बनाउँदा प्रयोग हुने बाँस, खरको टाँटीलाई समतल तुल्याउन माटो, भुस र गोबरको मिश्रणले कडा लेपन गर्नुपर्ने प्रविधि आजसम्म छ । रेखाचित्र कोर्ने हो भने सतहलाई चिल्लो बनाउन मलिलो रङको माटो प्रयोगमा ल्याइन्छ । मैथिलीमा यस्तो माटोलाई ‘चिकनी’ माटो भनिन्छ । चिकनी माटोको घोलले पुनः पोत्नुपर्छ, यस प्रक्रियालाई मैथिलीमा भित्तालाई ‘लेबनु र छ्छार्नु’ पनि भनिन्छ । कतिपय भित्तामा चित्राकृतिसमेत माटैले बनाइन्छ । पक्की भित्तालाई सजाउन चुना पोते पुग्छ । यसरी तयार पारिएको भित्ता हुन वा कागतको सतहमाथि चित्र कोर्न सुरु गरिन्छ ।

करचीको कलम मूलतः बाँसको मसिनो हाँगालाई ताछेर आवश्यकता अनुसारको बनाइन्छ । मसी वा रङको सहज बहाव होस् भनी तेर्सो काटिएको बीच भागमा चिरा लगाइन्छ । आजको आधुनिक पेनको निब करचीको कलमको विकसित रूप हो । ब्रस बनाउन करचीको टुप्पामा आवश्यकता कपास वा पातलो पुरानो सुतीको नरम कपडा बेरी ‘पिहुआ’ को रूप दिइन्थ्यो । लिखियामा करचीको कलम र पिहुआको प्रयोग भित्तामा र बसहा कागत दुवैमा गरिन्थ्यो । कायस्थ समुदायमा सुलेखन अभ्यासका लागि करचीको कलमको प्रयोग यदाकदा भइरहे पनि लिखियामा यसको प्रयोग प्रायः लोप भइसकेको छ र यसको स्थानमा होल्डर र आधुनिक ब्रसले लिसकेको छ । 'लिखिया' मिथिला चित्रकलाको पौराणिक नाम हो। 


मिथिला लोक–चित्रकलामा सरल वक्र दुई चार ठाडो, तेर्सो, समानान्तर आदि रेखाबाट त्रिकोण, वृत्त, चक्र भएका प्रारम्भिक अतिरिक्त अनेक ऐतिहासिक तथा वैदिककालीन उपनिषद् तथा उत्तर मध्यकालीन तत्वहरू पाइन्छ । आधुनिक वैज्ञानिक आधारमा खोजी गर्दा सिन्धुघाँटी सभ्यता माथि आर्यले कब्जा गरेपछि आर्य सभ्यताको प्रभाव, हडप्पामा पाइएका माटाका भाडाका अवशेषमा अंकित चित्र र मिथिलाको ग्रामीण भित्तामा आज पनि  लेखिने शिवलिंग, हात्तीको पेटमा बच्चा, हात्तीको चित्र अंकित, दुईपट्टि सम्मुख चरा वा पशुको अंकित चित्र, फूलपत्तिको अंकित चित्र आदिसँग तुलना गर्न सकिन्छ ।

लिखियालाई (मिथिला चित्रकला) पढ्न र बुझनको लागि यसको चित्र शैलीलाई बुझ्न आवश्यक हुन आउँछ । लिखियाको विभिन्न शैलीमध्ये मुल शैली कचनी र भरनी नै हुन् । कुनै पनि सतह भित्ता हुन् वा कागत साधारणतया चित्रांकन सुरु गर्दा विन्दुबाट सुरु गरिन्छ । गणितमा सरल रेखा दुई भाग विन्दुको बीचको छोटो दुरी प्रदर्शित गर्छ । यिनै रेखाको माध्यमले आकार र प्रकारको ज्ञान हुन्छ । जसले हामी कसैको रूप र उपस्थिति हेर्न पाउँछौँ ।

यसभित्र परोक्ष र प्रत्यक्ष रेखा रहेको हुन्छ । परोक्ष रेखालाई काल्पनिक रेखा पनि भनिन्छ । कलाकृतिमा परोक्ष रेखाको प्रयोगले आकारको सीमालाई समाप्त गर्छ । प्रत्यक्ष रेखा द्वारा कलाकृतिको निर्माण हुन्छ । यो गणित हो, जहाँ नाप–जोख हुन्छ । किनकि प्रत्यक्ष रेखा आकारको अनुपात र अनुरूप हुने गर्छ । जसले आकृतिको रूप निर्माण हुन्छ । पाषाण युगमा त्यसभन्दा पहिले गुफाकालका कलाकारले नै प्रत्यक्ष रेखाको खोज गरे । आदिमानव गुफाको भित्तामा पहिलो रेखा कोरी आफ्नो अभिव्यक्ति चित्रित गरे । यहाँ अभिव्यक्तिमा कुनै परिवर्तन भएको छैन । त्यही अभिव्यक्ति आज पनि छ । किनकि अभिव्यक्ति प्रकृति हुने गर्छ, अभिव्यक्ति बदलिँदैन त्यसको आयाम बदलिने गर्छ । ४० हजार वर्ष पहिला इन्डोनेसियाको गुफामा भेटेका भित्तिचित्र यसको प्रमाण हो ।

अचेल मिथिला लोकचित्र परम्पराले लैंगिक एवं जातीय विभाजनका रेखालाई मेटाइसकेको भए पनि परम्परागत लिखिया मूलतः कायस्थ एवं ब्राम्हण परिवारका नारीको अभिव्यक्तिको माध्यम थियो । कचनी शब्दको शब्दार्थ हो कचनु, काटनु अर्थात् विभक्त गर्नु हो । समानान्तर रेखाभित्र तल र माथि ठाडो, तेर्सो रेखाको प्रयोग गर्दा ज्यामितीय आकारको निर्माण हुने गर्दछ । कचनीको माध्यमले दुई बक्ररेखाको बीचमा ठाडो, तेर्सो रेखाको प्रयोग गरी विभिन्न प्रकारको फूलपत्ति, जनावर र मानव आकृति लेख्ने गरिन्छ । लिखियामा सर्वप्रथम विषय अनुसारको रेखाचित्र लेखिन्छ । तत्पश्चात् मसिनो रेखाले आकृति अनुसार कलमले मसिनो रेखाले भर्ने गरिन्छ । आकृतिको बीचमा खाली स्थान भर्नको लागि विभिन्न आकारका फूलपत्ति, पशुपंक्षीका चित्र बनाइन्छ । कचनी शैलीको चित्रमा प्रायः कालो र रातो रङको बाहुल्यता रहेको पाइन्छ । कहिलेकाहीँ चित्रको मागनुसार विभिन्न रङको प्रयोग कलाकारको रुचिमा भरपर्दछ । कचनी मिथिला चित्रकलालाई विशिष्ठता प्रदान गर्छ र चित्र संसारमा अलग्याउ छ । कचनी मिथिला चित्रकलाको मुटु हो । 


भित्ताबाहेक भोजपत्र, ताडपत्र, कागज, क्यानभास र कपडा आदिमा बनाइने चित्रलाई पटचित्र भनिन्छ । पटचित्र संस्कृत शब्द हो । विशेष गरी कायस्थ जातिका महिला यसप्रकारका चित्र बनाउन निकै सिपालु हुन्छन् । कायस्थ परिवारको बिहेमा दुलहाको घरबाट पाँचवटा छुट्टाछुट्टै कागजमा कोबर, दशावतार, बाँस र कमलदहका चित्र बनाइ दुलही पक्षको घरमा पठाइन्छ । त्यसरी पठाउनुभन्दा पहिले प्रस्तुत चित्रमा सिन्दुर हाली कागजलाई विशेष रूपमा पट्याएर रातो धाँगोले बाँधिन्छ । त्यही सिन्दुर विवाहमा वरले बधूको सिउँदोमा हाल्ने चलन छ । यो चलन परम्परागत भएका कारण कायस्थ परिवारका महिला यस्तो चित्र तयार पार्न हस्तसिद्ध हुन्छन् । यी चित्र प्रायः कचनी शैलीमा बनाइन्छ । परम्परागत रुपमा कायस्थ परिवारमा प्रशासनिक तथा लेखापढीका लागि कलमको प्रयोग हुँदै आएकाले कायस्थ परिवारका महिला कलाकारले व्यापक रूपमा कलम र कागजको प्रयोग गर्ने गरेको पाइन्छ । मुलतः पातलो वा मोटो रेखाको भरमा अभिव्यक्त हुने आयामिक प्रकृतिको ‘कचनी शैली’ विकसित हुँदै गएको पाइन्छ । यो शैली प्रायः एकल कलाको उपासना हो । तसर्थ यो शैलीलाई कायस्थ शैली पनि भनिन्छ । मिथिला चित्र लोकप्रिय बन्नु र त्यसको अन्तर्राष्ट्रियकरण हुनुमा कायस्थद्वारा निर्मित यसप्रकारका पटचित्रको प्रमुख भूमिका रहेको छ । कचनी शैलीका हस्तसिद्ध कायस्थ परिवारका कलाकार पद्मश्री गंगादेवीको नाम अगाडि आउँछ । उनका कलाकृति टोकियो हासेगावाद्वारा स्थापित जापानको निगाता प्रान्तको टोकामाची सहरमा अवस्थित विश्वप्रसिद्ध मिथिला म्युजियममा छ । यस म्युजियममा १५ हजारभन्दा बढी दुर्लभ कलाकृति संग्रहित छन् । सबै कलाकृतिको आफ्नै पृथक तथा रोमाञ्चक कथा छ । यस क्रममा पद्मश्री प्राप्त जगदम्बा देवी, महासुन्दरी देवी, कर्पुरीदेवी, गोदावरी दत्त जस्ता 'कैथिन' कलाकारहरुको लिस्ट लामो छ । 

जब जनकपुरमा महिला विकास केन्द्रको बीउ हालियो, जनकपुर वरपरका गाउँका महिलाहरूलाई आफ्नो परम्परागत माटोको भित्तामा भएको डिजाइनलाई कागजमा कोर्न भनिएको थियो । पहिलो नमूनाहरू उत्पादन गर्न गाह्रो मात्र होइन चुनौतीपूर्ण थियो । परम्परागत भित्तामा रहेका चित्र कागजमा उतार्दा रेखाको लयबद्ध भाव र प्रभावको निरन्तरता कायम राख्नु चित्रकारको चुनौती थियो । उनीहरूलाई पनि आफ्नो प्रयास सार्थक हुनेछ भन्ने विश्वास थिएन । निरन्तरको अभ्यास र प्रयासले जनकपुरको सन्दर्भमा यो प्रयासले कलाकृति रचनामा परिवर्तन नै ल्यायो । बचनी देवी कर्ण, विजयमणी दत्त, मिथिलेश्वरी देवी कर्ण, सीता देवी कर्ण, इन्द्रकला निधि, मदनकला कर्ण, सुधिरा कर्ण, इन्द्रा कर्ण, दिपा कर्ण जस्ता प्रतिष्ठित र स्थापित कायस्थ कलाकारहरु को लामो लिस्ट छ । 

लिखियामा करचीको कलम र पिहुआको प्रयोग भित्तामा र बसहा कागत (नेपाली लोक्ता कागत) दुवैमा गरिन्थ्यो । सवर्ण परिवारका खास गरेर ‘कैथिन’ (कायस्थ) कलाकारको अभ्यास कागज, कलम र पिहुआसँग कुनै न कुनै रूपमा भएकाले आफ्नो कलाकर्मको अभ्यास नेपाली लोक्ता कागजमा गर्दा सहज हुँदै गयो ।


ब्राह्मण महिला द्वारा परम्परागत ‘भरनी’ को अभ्यास थियो भने, ‘कैथिन’ कायस्थ महिलामा 'कचनी' ले निरन्तरता पायो । यसरी नै अंगचित्र (गोदना) लाई कागजमा लेख्नु पनि कम चुनौतीपूर्ण थिएन । तथापि, यहाँका लोक कलाकारको कलम र कागजको प्रयोग कठिन कार्य थियो । लोकचित्रकारले प्रविधिको प्रयोगमा रूपान्तरण गरे । गोदना खोप्दा एकभन्दा धेरै सियोको समूहको प्रयोगको ठाउँमा कलम र शरीरको ठाउँमा कागजको प्रयोग गर्न थाले । मिथिला कला जस्तै र त्योभन्दा नि पहिले बिहारमा मधुवनी चित्रकला पनि प्रचलनमा आएको देखियो । मिथिला कला अहिलेको विकसित रुपमा रुपान्तरण भयो ।

मिथिला चित्रकलाको विषय मुख्यतया धार्मिक हुने गर्छ । जसमा देवीदेवतामा सीताराम, राधाकृष्ण, कृष्ण र गोपिनीको रासलीला, शिवपार्वती, दुर्गा, काली, सुर्य र चन्द्रमाको चित्रण देखिन्छ । केही तान्त्रिक प्रतीकको प्रयोग भएको पाइन्छ । लेबि–छ्छारि तयार पारिएको भित्तामा ठूल–ठूलो आकृतिमा पिहुआको सहाराले रङ भरिन्छ । भरनी भनेको रङ पोत्नु वा रङ भर्नु हो । यस्ता चित्र बनाउन ब्राम्हण परिवारका महिला कलाकार निपुण हुने गर्दछन् । कालो रङले तयार पारिएको रेखाचित्र भित्र रातो, पहेँलो, सुन्तला, बैगनी, हरियो रङको व्यापक प्रयोग गरिन्छ । सहजताले उपलब्ध हुने दैनिक प्रयोग हुने चीजबीज बाट बनाइने परम्परा अनुरूप, मैथिल ब्राह्मण परिवारमा पठनपाठन तथा पूजाआजाको परम्पराले गर्दा कथा चित्रणलाई सहज हुने ‘भरनी’ शैली खोज्न उत्साहित भएको हुनसक्छ । घरमा उपलब्ध हुने सिन्दुर, अबिर, चन्दन, विभिन्न रङका फूलको प्रयोगले यस्ता चित्र बनाएको पाइन्छ । तसर्थ यो शैलीलाई भरनी वा ब्राह्मण शैली भनिन्छ । भरनी लिखियामा एकल कलाकारको समर्पण जरुरी छैन । दक्ष चित्रकार हजुरआमा, आमाले कोरेको चित्रमा रङ भर्ने नयाँ सिकारु पुस्ताहरू कालान्तरमा कुशल चित्रकार हुने गर्छन् । त्यसैले यसलाई जीवन्त परम्परा भनिएको हो ।

नेपाल सन् १९९० अर्थात् वि.स.२०४६ सालमा परिवर्तनको संघारमा थियो । नेपालमा प्रजातन्त्रका लागि जनआन्दोलन भएपछि, पञ्चायत व्यवस्थाको समाप्ति र प्रजातन्त्रको पुनःस्थापना सँगसँगै मिथिला कला पनि नवयुगमा प्रवेश गर्यो । सन् १९९० को वसन्तमा पहिलो जनकपुरी महिलाहरुको मिथिला लोकचित्रकलाको पहिलो समूह प्रदर्शनी, अमेरिकी महिला क्लेयर वर्कर्टको प्रयासले काठमाडौंस्थित संयुक्त राष्ट्र अमेरिकाको सांस्कृंतिक केन्द्रको कक्षमा सप्ताहव्यापी रुपमा प्रदर्शनीको आयोजना गरियो । 

यो प्रदर्शनीको उद्घाटन तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लोच र जनकपुरका नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिले गरेका थिए । केही हदसम्म प्रजातान्त्रिक आन्दोलनलाई पछ्याउने सबै नेपाली संस्कृतिमा राष्ट्रिय गौरव र चासोको थालनी नयाँ प्रदर्शनीले प्रदान गर्न सफल भयो । उक्त प्रदर्शनी अति व्यवस्थित थियो । प्रदर्शनी अत्यन्त सफल र कार्यक्रमको प्रतिक्रिया अतुलनीय रहेको थियो । जसले नेपालको मैथिल समुदायको लोकसंस्कृति राष्ट्र तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा स्थापित हुन सक्यो । आफ्नो मौलिक पहिचानलाई समेत जगाउन महत्वपूर्ण भूमिका खेल्यो । यसरी पहिलो पटक आफ्नो लोककलाको प्रदर्शनी गरी जनकपुरी महिला चित्रकार आफ्नो लोक सांस्कृतिक परिचय अरु जनसमुदायलाई दिए ।

पेन्टिङको बजार सीमित भएको हुनाले, उनीहरूलाई चित्रकला, सेरामिक, सिलाई र बुनाइजस्ता अन्य माध्यमहरूसँग आफ्नो चित्रकला प्रविधि र परम्परागत डिजाइन कसरी प्रयोग गर्ने भनेर सिकाइएको थियो । कहिले अनायास त कहिले सप्रयास । गरिब, अशिक्षित र बाहिरी संसारको अनुभव गर्ने मौका नपाएकाले चित्रकलाको आँखीझ्याल बाट संसार देखे । 

दरभंगामा विज्ञान बिषयको बिएससी सम्मको पढाइ तथा दरभंगा, मधुवनीमा मिथिला कलालाई नजिकबाट बुझी स्वदेश फर्की सन् १९९० को दशकमा पंक्तिकार स्वयंको मिथिला कलाको पहिलो एकल प्रदर्शनी भयो । सम्भवत: यो नै मिथिला कलाको कुनै कलाकार द्वारा गरिएको पहिलो एकल प्रदर्शनी हो, जो विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गरिएको थियो । जसको उद्घाटन गणेशमान सिंहले गरेका थिए ।

विभिन्न आरोह अवरोह पार गर्दै कलाको विकासको यो निरन्तर यात्रा आज पनि जारी छ । सन् १९९० को दशक नेपाली मिथिला कलाको इतिहासमा एउटा कोशेढुंगा सावित हुन सक्यो । जहाँ प्रथम समूह प्रदर्शनी र प्रथम एकल प्रदर्शनीको दुइटैको श्रीगणेश भयो । जो नेपाली मौलिक मिथिला लोककलाको एउटा ऐतिहासिक कालखण्ड बन्न पुग्यो हो । इतिहासले वर्तमानलाई दिशानिर्देश गर्छ भने भविष्यको मार्गलाई स्पष्ट र फराकिलो बनाउन मद्दत गर्दछ । कला र कलाकारको योगदानको मूल्यांकन सँगै समाजको अग्रगामी परिवर्तनमा समेत लोककलाको भूमिका विशिष्ट रहन्छ । यही पक्षलाई मैथिली कलाकारले कलामार्फत अभिव्यक्त गर्दै आएका छन् ।  

तथापि प्रश्न फेरि पनि छ, प्रकृति, संस्कृति, प्रविधि, पर्यावरण तथा भातृत्व विषयक कलाको प्रदर्शनी भएको छ । पंक्तीकार, कलाकार एससी सुमनको यानी मेरो झन्डै चार दशकको कलायात्रामा प्रदर्शित अठ्ठारौं एकल प्रदर्शनी ’मिथिला कसमस' चित्र शृङ्खलामा मिथिलाको विविध आयाम प्रस्तुत  गर्दै आज 'समयको चक्र’ सम्म आइ पुग्दा यस्ता धेरै प्रश्नहरुको उत्तर खोज्ने प्रयास जारी छ । कलाको विषय बस्तु फराकिलो हुँदै छ । ’ट्रीअफ लाईफ’ संविधान जारी भइसकेपछि मिथिला कसमस कल्पवृक्ष, भुकम्पले छ्तविछ्त भएको काठमाडौं शहर होस वा विकासको नाउँमा निजगढ जंगलको विनाशको कथाले ठाउँ पायो ।

यसमा मिथिला कसमस ‘द सङ्गस अफ इन्नोसेन्स एण्ड एक्सपेरिएन्स’ यानी निर्दोष अनुभितीका गीतहरु शीर्षकमा कलाकारले आफ्नो आत्मकथा प्रस्तुत गर्दा सन १९७० को दशकमा तराईबाट राजधानी छिर्दा आफ्नी आमासँग पशुपति दर्शन गर्न पुगेको थिए । पशुपतिमा बाँदरको हुल देखे पछि मानसपटलमा ‘पशुपति’ सम्झने माध्यम जवान हुँदासम्म ताजै थियो । तर फेरि कलाकार बनेर राजधानी छिरेर पशुपति पुग्दा सत्तत्रीको दशकको बाँदरको हुल थिएन । बाँदर हेर्न नपाए पनि सडकबाटै टलक्क टल्केका सुनौला छानालाई दर्शनको लोकप्रिय चित्रकथा हुन ।


आफ्ना मिथिला कलामा पशुपतिसँगै गुहेश्वरी भगवतीको शक्तिका रातो र पहेलो रङहरूलाई स्थान दिए । आफ्नो जीवन र जगतका विषयलाई दर्शन र भावसँगै मात्र होईन स्वंयम्भू , बौधलाई  मिथिला सोचमा ढाले । रूख र जीव- जीवात्मामा निर्भर मानिस वा जीवजन्तु सबैको स्रोतको संरक्षण हुनुपर्छ भन्ने सोचाई राख्ने चुरेमा २५ लाख रूख विकासका लागि मासिदैछ भन्ने सुनेपछि  विचलित भए । त्यही कारण सबैको संरक्षणसँगै विकास पनि हुनुपर्छ भन्ने सोच राख्दै त्यही भावलाई चित्रमा प्रस्तुत गरे । महिना दिन लगाएर बनाएको रूख, जीव, किटपतंगको संरक्षणको सन्देश दिने चित्र दर्शकलाई आकर्षित गर्‍यो । 

 चित्रमा बुद्धको आकृतिभित्र भगवान् विष्णुका दस अवतारलाई दर्शाउँदै काठमाडौंको बहुधर्मी र बहुभाषिक समाजको कल्पना  छ । राजधानीमा नेवार समुदायको संस्कार र संस्कृतिसँग मिथिला संस्कार मिसिएको छ । ‘त्यही घरमा नेवारको ढोकामा लखु (पौभा आकृति) टाँसिएको थियो’,  ‘त्यही घरमा  छोरीको बिहे हुँदा मिथिलाको कोहवर कोरिन्छ । अहिले पनि मलाई त्यो नोस्टाल्जियाले छाडेको छैन,  गौरी पूजादेखि छोरीको विदाई हुँदासम्मको कथा कोरिको छ ।


 पहिले र अहिलेको कीर्तिपुर डाँडालाई समेत हरियाली र कंक्रिटकरणको आवरणमा कलाकृती प्रस्तुत भयो । रूख, जनावर, धर्मका भावसँगै चित्रका कोणमा रोमाञ्चकता थपिफै गयो । कतै सर्पको चुम्बनको आकृति त कतै आलिंगनमा बाँधिएका आकृति, कतै खुशी र सुखका आकृतिले मानव स्वभाव सँगै प्राकृतिकपनले रंगीन छन् । मिथिला रङसँगै उनले फूल, गोबर लगायतको प्राकृतिक रङमा नेपाली कागज, पेन्टिङ कागज र क्यानभासमा कुची चले ।

 यी प्रदर्शनीहरु मिथिला चित्रकारको इतिहासमा एउटा महत्वपूर्ण आधारहरु हुन् । मेरो चित्रले विभिन्न देशका समस्याहरुको बारेमा बोल्दै आएको छ, जो मिथिला चित्रकलामा धेरै कम देखिन्छ । महत्वपूर्ण त्यो हो जो सूक्ष्मतम छ । सम्पूर्ण ब्रह्माण्डको रचना यसै सूक्ष्मतम कण मिलेर हुन्छ । तसर्थ मिथिला कासमस यानी मिथिला ब्रमाण्डको समय चक्र पनि यसै भित्र छ ।

दि साइकल अफ टाइमको दोस्रो कडि ‘क्रियसन एन्ड डिस्ट्रक्सन’ शीर्षकको चित्र। जहाँ देवी काली मातालाई प्रस्तुत गरिएको छ । जस भित्र हामी बाचिरहेका छौं । जो अनन्त छ, जसको न प्रारम्भ देखिन्छ न अन्त । तर, प्रकाश वर्षको प्रबल गतिले गतिशिल छ । जसलाई मानवीय आँखाले हेर्न सकिँदैन । हामी आफुले आफैलाई प्रेम गर्छौं । हामीलाई  कसले बनायो ? माटोको भाँडो बनाउँदा जस्तै कुमालेको चक्रमा घुमिरहे झैं घुमिरहेका छौं । मात्र हामी आफ्नो स्पर्शले अलिकति आकार बदल्न सक्छौ, आमूल परिवर्तन हँुदैन । चित्र कोर्दा पनि यस्तै हो । 

फरक–फरक विषयलाई मिथिला शैली ‘मिथिला कसमस’ प्राचीनकालीन चिन्तनदेखि कोरोना कहरसम्मको परिस्थितिलाई चित्रको रूपमा क्यानभासमा उतार्दा केही कुराहरु घच्घचाई रह्यो । जहाँ स्वयंलाई असल समय र सत्यसँग साक्षात्कारको अनुभूति होस् भन्ने सोच लिई अभिव्यक्त गर्ने प्रयास गरे । समाज, धर्म, संस्कृतिसँग जोडिएर मानव जाति निरन्तर समयको गति पछ्याउँदै अगाडि बढेको मान्यतालाई रङ र रेखामार्फत अभिव्यक्त गर्ने प्रयास मात्र हो ।


 बिस्तारै जीवन जगतक चर्चा पनि अन्य कलाकृति मार्फत उजागर गरिने प्रयास छ । विवाह, चाडपर्व हुँदै हालको कोभिडसम्मको परिस्थितिलाई आफ्नै मौलिक शैलीमा चित्रमा उतार्दा आफु भित्रको प्रशन्नता कोरोना कहरलाई झल्काउने केही चित्र ‘लकडाउन ब्लुज ः वान एन्ड टु’, ‘स्केपगोटिङ ब्याट फर द प्यान्डेमिक’, ‘कोभिड लेसन’ आदि चित्रबाट कोरोना महामारीको चित्रण गर्ने प्रयास गरें । मानिसले कोरोना भाइरसको कारणमा चमेरालाई दोष दिए पनि पर्यावरणमा चमेराको विशेष महत्व रहेको भाव भर्ने प्रयास सँग, लकडाउनमा घरभित्रै कैदी जसरी थुनिनुपर्दा पीडा बिर्सन सकिन । अहिलेको हाम्रो अनिवार्य मास्क प्रयोगको अवस्था प्रकृतिमाथि अतिक्रमणको परिणामका रूपमानै हो । तथापि यसभित्र पनि सकारात्मक सोच लिएर अगाडि बढ्दा यो महामारीबाट बाहिर निस्कन सकिन्छ। यिनै स्पष्टता र विषयको विविधताले मेरो कलाकृतीको लोकप्रियता र मांग देशमा मात्र होईन संसारभर फैलिदै गएको छ र 'मास्टर आफ लाईन पेन्टर' भनिने गर्छ । जसको श्रेय कचनी शैलीलाई जान्छ । कला र कलाकारको योगदानको मूल्यांकन सँगै समाजको अग्रगामी परिवर्तनमा समेतमा लोककलाको भूमिका विशिष्ट रहन्छ । यही पक्षलाई मैथिली कलाकारले कलामार्फत अभिव्यक्त गर्दै आएका छन् ।


artistsuman.scd@gmail.com


 





Comments

Popular posts from this blog

बंगलादेशको टेराकोटा कला कार्यशाला : एससी सुमन

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन