संरक्षण को प्रतीक झाप : एससी सुमन


 

नेपाल प्राचीनकालीन संस्कृतिले भरिपूर्ण मुलुक हो । यहाँ प्राचीनकालदेखि नै अनेकन कला परम्परा चलि आएको इतिहास छ । तिनै कलाको जगमा नेपालको सांस्कृतिक, ऐतिहासिक, राजनीतिक एवं सामाजिक जनजीवनका विविध पाटोलाई अहिले हामीले कलाइरहेका छौं ।

कला मानव संस्कृतिको उपज हो । यहाँको कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । जो विभिन्न रीतिरिवाज, उत्सव, रहनसहन, धर्म, संस्कृतिमा सजिलै देख्न सकिन्छ । साथै विभिन्न जातजाति, समुदाय तथा क्षेत्रमा विविध रूपका लोककला देख्न सकिन्छ । जसलाई विभिन्न नामबाट चिनिन्छ । जनसामान्यको दैनिकजीवनमा रचनात्मकरूपले अभिव्यक्त हुने कलालाई लोककला भनिन्छ ।


यिनै कलाले जनसामान्यको अभिव्यक्तिको पारम्परिक आधार प्रदान गर्छ । यस प्रकारको अभिव्यक्तिमा उल्लास, हर्ष, विश्वास, वेदना, प्रेम, श्रद्धा आदिको भावाभिव्यक्त हुने गर्छ । लोककलाको विकासको उद्देश्य जनहिताय हुने गर्दछ । यस्ता कलामा सामुदायिक मनोभाव अभिव्यक्त गरिन्छ । त्यसैगरी मानिसको दैनिक जीवनमा प्रयोगमा ल्याइने वस्तुको साजसज्जाद्वारा चित्ताकर्षक ढंगले बनाउने प्रयास हुँदै  आएको छ । विभिन्न धार्मिक कार्यक्रममा आफ्नो इष्टलाई रचनात्मक अभिव्यक्तिको माध्यमले प्राप्त गर्ने प्रयास गरिन्छ । यस अतिरिक्त समुदायमा मनोरञ्जनको भावना, लौकिक सन्देश तथा धार्मिक परम्परा, धार्मिक विश्वास, रीतिरिवाज पुस्तान्तरण गरी एक पुस्ताबाट अर्को पुस्तामा पु¥याउनको लागि पनि लोककलाको उत्पत्ति भएको मानिन्छ । यति मात्र होइन, परापूर्वकालदेखि नै लोककलाको उद्देश्य आफ्नो वातावरणमा रचनात्मकरूपले सजगता ल्याउनु रहिआएको छ । तसर्थ यो सामान्य जनकला पनि हो । 

“झाप” आराधना कलाकृतिको एक अनुपम नमुना हो । देवी-देवतालाई सामान्यत: पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना “कोढिल”(पानीमा पाइने एक प्रकारको बनस्पति ) को सहाराले खडा गरी, त्यसलाई सेतो कागजले बेरेर शिखर शैलीमा मन्दिरको आकार दिइन्छ । अनि त्यसमा स-सना “पिहुआ”  सिन्कमा कपास वा कपरा बेरि  बनाईएको कूचि बाट रंगीन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधी हो । यसलाई “झाप” भनिन्छ । सधारणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो, अर्थात् संरक्षण गर्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुँदा यसलाई “झाप” भनिएको हुनुपर्छ ।


मैथिली  समाज विभिन्न जात जातीले बनेको समाज हो । यहाँ प्रत्येक जात जातीको आ- आफ्नो महत्व र आफ्नो बिशेष कला कौशल रहेको छ। तसर्थ सबै  एक आपसमा प्रेम सद्भावको सुत्रमा बाधिका छन र एक अर्काको पुरक भै बसेकाछन । यहाँ कला बिना जीवनको कल्पना गर्न सकिँदैन । जीवन संग कला गासिए रहेको छ । जसले गर्दा भूगोलमा नभये पनि मिथिला  देश, आफ्नो कला, संस्कृति र सभ्यतामा बाँचेको छ ।  यस क्षेत्रको कलालाई विश्व मानचित्रामा मिथिला कलाले चिनिन्छ । 

कलाकार एससी सुमन पंक्तिकारका मिथिला कला प्रदर्शनीहरुमा  झाप कलाकृतिको रुपमा तीन दशक देखि प्रदर्शित हुँदै आएको छ । विशेष गरेर काठमाडौं ट्रिएनाले 2017 मा मैथिल समुदायको प्रतिनिधित्व गर्दै मेरो प्रतिष्ठापन कला “झाप” को प्रस्तुति जो नेपाल आर्ट काउन्सिल, तारा गाउँ म्युजियम तथा पाटन म्युजियम (KCAC) मा प्रदर्शित हुँदा, भुकम्पले भक्तेका " मेरो शहर मेरो स्टुडिओ"  थिममा प्रस्तुत हुँदा झापको शाब्दिक अर्थ छोप्नु यानी संरक्षण गर्नु अनुरुप आफ्नो शहरलाई संरक्षण प्रदान गर्नु रहेको थियोे ।

 "झाप" मिथिलान्चल मा बसोबास गर्ने माली समुदाय ले बनाउने गर्छन । जसलाई मालाकार भन्ने गरिन्छ । माली यानी मालाकार जातिको काम फूलको व्यवस्थापन गर्नु हो । फूलको खेती देखि लियेर पुजा- आजामा चाहिने फूल तथा अन्य प्रयोजन जस्तो विवाह, बर्तबन्धमा फूलको आपुर्ती गर्ने गर्द्छ्न । वैबाहिक प्रयोजनमा प्रयोगहुने फूलको कलात्मक माला, बेहुलाले सिरमा लगाउने मौर, फूलको खेती तथा आपुर्ती गर्ने गर्दछ्न । यो परम्परागत कला पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएकोछ। झापमा चित्रकरले चारै कुना र बाँकी भागमा बडो निष्ठाका साथ देवी देवता, जनाबर, चरा चुरूंगी, प्रकृतिजन्य आकृतिहरु तथा मिथिला कलाका प्रतिक चिन्ह बाट हातले रंगाएका हुन्छन् । जस मध्ये पन्च देवता, समृधिको प्रतीक हात्ती, गतिशिलताको प्रतीक घोडा, शुभ तथा सौर्न्दर्य को प्रतीक मयुर, गुरुको प्रतीक सुगा लगायत फूल पात को चित्रण गरिएको हुन्छ । जसमा सेतो पृष्ठभुमिमा रातो, पहेलो, हरियो, निलो रङ्गको प्रयोग गरिन्छ । कालो रङ्ग वर्जित हुन्छ । झाप मन्दीरमा रहेका देवी देवतामा, कुल देबता यानी गोसाइ घर तथा ग्राम देवताका थान, गहबरमा चढाईन्छ । मिथिलान्चलको गाउँ-गाउँ रहेको ब्रम्हस्थान, गहबरका रुखहरुमा रगींचगीं झुन्डिएको झाप खास गरी दशैंको पुजा घरमा, कृष्णाष्टमीमा, सिरूवामा, घडी पर्वमा र यस्तै पर्वहरूमा भाकलको रूपमा वा यत्तिकै पनि चढाईन्छ । गोसाइ घर भित्र यस्ता चाड पर्वहरुमा झाप अनिवार्य रुपले फेरिन्छ ।


मध्य–तराई मिथिलादेखि सुरु भै पूर्वी तराईको भूभागमा विकसित भै, विशेषतः कोशी नदीको वारिपारि मैथिली भाषी तथा थारु समुदायका घरका भित्तामा लेखिएका चित्रहरुमा लोककलाको विस्तृत स्वरुप देख्न पाइन्छ, जो यो क्षेत्रको मात्र नभइ हामी सम्पूर्णको कला विशिष्टता हो । परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटो जस्ता घरेलुु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्रांकन हुने गर्दछ ।

यो परम्परा शताब्दीऔं देखि चलि आएको छ। उहिले उहिले झाप बनाउने महिला पुरूषहरू बडो सिपालु हुन्थे । मिथिला कलाको लिखित इतिहास हेर्दा, परम्परागत शैलीमा घरका भित्तामा मात्रै सीमित रहेको मैथिली चित्रकला सन् १९३४ बाट सार्वजनिक चासोको विषय बन्यो । सन् १९३४ को भूकम्पमा परी भत्किएका मिथिला क्षेत्रका घरमा भेटिएका चित्रहरूबारे खोजी गर्न थालेपछि यसको चर्चा हुन थालेको हाे । त्यसअघि मिथिला चित्रकला मैथिली समुदायमा मात्रै सीमित थियो । खोजकर्ताले फेला पारेका चित्रकलामा अनुसन्धान भयो । अनुसन्धानले ती चित्रकला शताब्दीऔं पुराना भएको पत्ता लगायो । सन् १९३४ मा भेटिएका ती चित्रकला अहिले ब्रिटिस लाइब्रेरीमा संगृहीत छन् । 

सन् १९६० को दशकमा मिथिला क्षेत्रले भोगेको खडेरीपछि भारत सरकारको ध्यान पनि मिथिला चित्रकलातर्फ केन्द्रित भयो। । त्यसपछि भारतमा पनि मिथिला चित्रकलालाई व्यवस्थित बनाउने अभ्यास सुरु भयो। भित्ता बाट कागतमा रूपान्तरित भै यसलाई व्यावसायिक करन गरियो। कागतमा रूपान्तरण पश्चात् मिथिला चित्र लिखिया विश्वभरी कला प्रेमि तथा संग्रह कर्ता को प्रमुख  रोजाइमा परे। तर पनि मेरो अनुसन्धानले झापमा गरिने चित्राकनले भित्ता बाट मिथिला कला कागतमा यानी पट चित्रमा भयेको इतिहास शताब्दीऔं देखि चलि आएको देखाउ छ। तसर्थ यस कलाको कागत मा रुपान्तरण शताब्दीयौ पहिले भौसकेको थियो । जसको प्रत्यक्ष उदाहरण झाप हो । व्यावसायिक करण मात्र सन १९३४ देखि १९६० को दसकमा भएको हो भनी भन्न सकिन्छ । 

भारतीय शोधकर्ता र कला अभियन्ता सुनिल कुमार भन्नु हुन्छ, "झाप मिथिला संस्कृतिमा मात्र होईन, यो भारतीय राज्य बिहार वैशाली, पूर्णिया एवं अंग प्रदेश देखि लिएर बंगाल र ओडीशा लगायत प्रदेशको ग्रामीण संस्कृतिमा प्रचलित छ, विषेश गरेर  खेती हुने भूभागमा । झांप मंजूषा कलाको  महत्पवूर्ण भाग हो जसमा उसको परम्परा देखिन्छ । यसमा नेपाल, भारत गरि बृहत अनुसंधान हुनुपर्छ । "

जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोबास हुनु र उसको खानपान, रीतिरिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो । यसरी उनको मूल तत्व एउटै भए पनि हस्तशिल्प र कलाकर्ममा विभिन्नता हुने गर्दछ । जसलाई किसान संस्कृति भन्न सक्छौं । किसान संस्कृतिको महत्वपूर्ण पक्ष हो माटो । खेतीपाती, खेतीको लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्णन कला, हस्तकला, गायन तथा नृत्य एक अर्कोसँग जोडिएर रहेको छ । हामीसँग जीवन्त कलाको रुपमा रहिआएको छ । हाम्रो मौलिक कलाको रुपमा आज पनि हाम्रो लोक परम्पराको रुपमा परापूर्वकालदेखि रहिआएको छ । 

यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, ब्रतबन्ध जस्ता सामाजिक संस्कारको बेला तथा चाडपर्व पूजा–आजा, व्रत–तिहार आदिमा लेखिन्छ तथा सम्पादन गरिन्छ । मिथिलामा चाडपर्व पूजाआजा, व्रत–तिहार आदिमा घरआँगनदेखि ‘गोसाउनी घर’ यानी पुजाकोठासम्म गोबर माटोले लिपी पवित्र तथा दुरुस्त बनाइन्छ ।

पुजा पूर्व गरिने तयारी घरका ज्येष्ठ पुरुष तथा महिला सदस्यद्वारा बिहान लिपिएको आँगनमा भिजाइएको आरुवा चामललाई सिलैटोमा पिसेर तयार परेको घोलले आँगनदेखि गोसाइघरमा भगवतीको पिठसम्म लामो आकारमा सिन्दुर, पिठारले अरिपन लेखी, आफ्नो जातीय, कुल परम्परा अनुसार देवी–देवतालाई आह्वान गरी पुजाआजा गरिन्छ । भूमिमा लेखिने आकृतिलाई अरिपन भनिन्छ भने, भित्तामा लेखिने चित्र भित्तीचित्र हुन ।

। यिनमा प्राचीन मैथिली संस्कृतिको सम्बन्ध अटुट रूपमा रहेको छ । मिथिलामा आज पनि विभिन्न पुराण, रामायण तथा महाभारतमा वर्णित प्राचीन स्थान तथा आश्रमको ज्ञान प्रस्तुत चित्रले दिन्छ । मिथिला संस्कृतिलाई देवी जानकीको नामबाट मैथिली पनि भनिन्छ । जानकीको जीवन आदर्श मिथिला संस्कृतिले संवहन गर्दै आएको आदर्श हो । यस क्षेत्रका कलाको आदर्शमा पनि त्यही परम्परा अन्तर्निहित छ । भित्तिचित्रमा भित्तामा ज्यामितिय आकार, कलापूर्ण अभिप्राय, पारंपरिक आकल्पन, सहज बनावट र अनुकरणमूलक सरल आकृतिमा निहित स्वच्छंद आकल्पन, उन्मुक्त आवेग, रेखिक ऊर्जा र चाक्षुष सौंदर्य सृष्टि प्रस्तुत हुन्छ ।


 मोरङ नेपालको पूर्वी तराईको पौराणिक ऐतिहासिक जिल्ला हो । यहाँको कृषि संस्कृतिको आफ्नै भाषा र समृद्ध साहित्यिक लोक परम्परा छ । चित्रकला र हस्तकलाको जीवन्त परम्परा छ जुन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । यहाँका गाउँमा माटोको घरहरूमा महिला कलाका विभिन्न रुप उदाहरण स्वरुप देख्न सकिन्छ । चित्रकला परम्परा जाति अनुसार फरक हुन्छ । 

दुर्गा पूजाको अवसरमा दशैंको छठौं दिन निशा बलिको लागि जोडी बेलको फलको चयन गर्नु पर्ने हुन्छ, जसलाई तोड़नु भन्दा पूर्व पूजा गरि रातो कपडामा बाधी आमंत्रित गरिन्छ, जसलाई "बेल-नोती" भनिन्छ । यसै क्रममा बेलको गाछीलाई पूजा गरिन्छ । पूजा गर्दा झाप द्वारा अलंकृत गरिन्छ । दशैं यानी फूलपातिको दिन आमन्त्रण गरेको बेलालाई दशैं कोठामा भित्र्याईन्छ । अष्टमीको दिन देवीको आव्हान गरी घरको भित्तामा देवी दुर्गाको चित्राकन गरिन्छ । 

मोरङ, विराटनगर १२, निवासी रिता सहनी भन्नुहुन्छ, ‘हामी सहनी मल्लाह जातिमा हाथको पञ्जाले दिइने थप्पा देवीको सिँगार हो । दशैं, सिरुवा, रामनवमी जस्ता चाडमा गोसाइघरको भित्ता, मोखा यानी मूलद्वारमा दाहिना हातले पिठारको थप्पा दिई सिन्दुर लगाइ अचरी र झाप चढाउँछौं । फूल, पान, सुपारी, मिठाई देवीलाई चढाई पूजाआजा गरिन्छ । वर्षभरि जतिचोटि ग्रहण लाग्दा अनिवार्य रुपले झाप र अचरी फेर्नुपर्छ । किनकी ग्रहण लाग्दा जुठो यनी अशुद्ध हुन जान्छ ।’ 

आजको आधुनिकतामा कतिपय ठाउँमा हातले चित्राकंन गर्ने परम्परामा ह्रास आउन थालेको छ । अब हाथले चित्राकंनको ठाउँमा यस माथि रंगीचंगी कागजको प्रयोग  हुन थालेको छ ।उहिले उहिले झाप बनाउने महिला पुरूषहरू बडो सिपालु हुन्थे हाल यसमा नयाँ पुस्ताको त्यतिसारो चासो र रूचि देखिन्न । जे होस्-यो उपासना विधीको एक कलात्मक नमुना त हो नै । यस आराधना विधीबाट मिथिला संस्कृतिमा मौलिक रंगकर्मको विकास हुदै आएको हो । मिथिला चित्र वा मधुवनी आर्टको यो झाप जननी पनि हुन । मेरो कला यात्राको क्रममा शुरू देखिनै “झाप” प्रतिष्ठापन कलाकृतिको रुपमा प्रस्तुत हुँदै आज अन्तर्राष्ट्रिय प्रर्द्शनी सम्म आइपुगेको छ । आधुनिकताको मारमा परेको कला र कला परम्पराहरुलाई सजग भै संरक्षण गर्नु परेको छ, किनकी यो हाम्रो धरोहर हुन । 

artistsuman.scd@gmail.com

Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन