थप्पा : देवीको सिँगार एससी सुमन

 


हाम्रो देश कृषि प्रधान देश हुनाले हामीकहाँ गाउँको संख्या धेरै भए पनि आधुनिकता र विकासको नाउँमा ग्रामीण संस्कृतिको परिभाषा बदलिने क्रममा छ । केही हदसम्म भौगोलिक स्थिति, धार्मिक, सामाजिक संस्कार, आर्थिक तथा राजनीतिक कारणले प्रत्येक गाउँको सामाजिक एवं आर्थिक व्यवस्था एक अर्कोभन्दा भिन्न छ ।

जसले विभिन्न जातजातिको छुट्टाछुट्टै क्षेत्र विशेषमा बसोबास हुनु र उसको खानपान, रीतिरिवाजमा पनि अन्तर हुनु स्वाभाविक हो । यसरी उनको मूल तत्व एउटै भए पनि हस्तशिल्प र कलाकर्ममा विभिन्नता हुने गर्दछ । जसलाई किसान संस्कृति भन्न सक्छौं । किसान संस्कृतिको महत्वपूर्ण पक्ष हो माटो ।

खेतीपाती, खेतीको लागि खनजोत र सिँचाइ, भित्तिचित्र र मृत्तिका उत्कीर्णन कला, हस्तकला, गायन तथा नृत्य एक अर्कोसँग जोडिएर रहेको छ । हामीसँग जीवन्त कलाको रुपमा रहिआएको छ । हाम्रो मौलिक कलाको रुपमा आज पनि हाम्रो लोक परम्पराको रुपमा परापूर्वकालदेखि रहिआएको छ ।


मध्य–तराई मिथिलादेखि सुरु भै पूर्वी तराईको भूभागमा विकसित भएको पाइन्छ । विशेषतः कोशी नदीको वारिपारि मैथिली भाषी तथा थारु समुदायका घरका भित्तामा लेखिएका चित्रहरुमा लोककलाको विस्तृत स्वरुप देख्न पाइन्छ, जो यो क्षेत्रको मात्र नभइ हामी सम्पूर्णको कला विशिष्टता हो ।

परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटो जस्ता घरेलुु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्रांकन हुने गर्दछ ।

यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, ब्रतबन्ध जस्ता सामाजिक संस्कारको बेला तथा चाडपर्व पूजा–आजा, व्रत–तिहार आदिमा लेखिन्छ तथा सम्पादन गरिन्छ । मिथिलामा चाडपर्व पूजाआजा, व्रत–तिहार आदिमा घरआँगनदेखि ‘गोसाउनी घर’ यानी पुजाकोठासम्म गोबर माटोले लिपी पवित्र तथा दुरुस्त बनाइन्छ ।

पुजा पूर्व गरिने तयारी घरका ज्येष्ठ पुरुष तथा महिला सदस्यद्वारा बिहान लिपिएको आँगनमा भिजाइएको आरुवा चामललाई सिलैटोमा पिसेर तयार परेको घोलले आँगनदेखि गोसाइघरमा भगवतीको पिठसम्म लामो आकारमा सिन्दुर, पिठारले अरिपन लेखी, आफ्नो जातीय, कुल परम्परा अनुसार देवी–देवतालाई आह्वान गरी पुजाआजा गरिन्छ । भूमिमा लेखिने आकृतिलाई अरिपन भनिन्छ भने, भित्तामा लेखिने चित्र भित्तीचित्र हुन ।

गोसाइघरमा कुलदेवता आह्वान गर्न भित्तामा पिठारले


दाहिना गोसाईघरमा दाहिना हातको पञ्जाले छाप लगाइ सिन्दुर लगाइन्छ, जसलाई ‘थप्पा’ भनिन्छ । अरिपन वैदिक कालबाट परम्परागत रूपमा चल्दै आएको छ । यो वेदमा वर्णित सर्वतोभद्रको विकसित रूप हो । मिथिलामा आज पनि अरिपन लेखनका लागि चाहिने पिठार सेतो रङ चामलबाट तयार गरिन्छ ।

चामल यहाँको स्थानीय उत्पादन भएकोले सहज रूपमा उपलब्ध पनि हुन्छ । सर्वतोभद्रको स्वस्तिक अरिपन लेख्ने चलन यहाँ परम्परागत रूपमा चल्दै आएको छ । सर्वतोभद्रको सट्टा मंगलकारी मानिने स्वस्तिक चिह्न बनाउने परम्परा लोकमा प्रचलित छ ।


अरिपन रूपी रेखाचित्र तथा रङविरङका भित्तिचित्र शास्त्रीय मान्यताको आधारमा बनाइन्छन् । यिनमा प्राचीन मैथिली संस्कृतिको सम्बन्ध अटुट रूपमा रहेको छ । मिथिलामा आज पनि विभिन्न पुराण, रामायण तथा महाभारतमा वर्णित प्राचीन स्थान तथा आश्रमको ज्ञान प्रस्तुत चित्रले दिन्छ । मिथिला संस्कृतिलाई देवी जानकीको नामबाट मैथिली पनि भनिन्छ । जानकीको जीवन आदर्श मिथिला संस्कृतिले संवहन गर्दै आएको आदर्श हो । यस क्षेत्रका कलाको आदर्शमा पनि त्यही परम्परा अन्तर्निहित छ । भित्तिचित्रमा भित्तामा ज्यामितिय आकार, कलापूर्ण अभिप्राय, पारंपरिक आकल्पन, सहज बनावट र अनुकरणमूलक सरल आकृतिमा निहित स्वच्छंद आकल्पन, उन्मुक्त आवेग, रेखिक ऊर्जा र चाक्षुष सौंदर्य सृष्टि प्रस्तुत हुन्छ ।

मोरङ नेपालको पूर्वी तराईको पौराणिक ऐतिहासिक जिल्ला हो । यहाँको कृषि संस्कृतिको आफ्नै भाषा र समृद्ध साहित्यिक लोक परम्परा छ । चित्रकला र हस्तकलाको जीवन्त परम्परा छ जुन एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ । यहाँका गाउँमा माटोको घरहरूमा महिला कलाका विभिन्न रुप उदाहरण स्वरुप देख्न सकिन्छ । चित्रकला परम्परा जाति अनुसार फरक हुन्छ ।



ब्राह्मण र कायस्थ (कुनै समय अभिलेख राख्ने जाति) को कलालाई धार्मिक अनुष्ठानसँग जोडिएको छ, जसको उदाहरण अरिपन हो । अरिपन बनाउन महिलासँग घरको देवताको पूजा गर्न कुनै विशेष दिन, पूर्णिमा वा अर्धचन्द्रको दिन, वैवाहिक अनुष्ठानका लागि लेखिएको डिजाइनको भण्डार छ । विभिन्न जातजाति बाह्रमण, कायस्थ र दलित समुदायको अरिपनमा के भिन्नतामा साहित्यकार डा. राजेन्द्र विमल भन्नुहुन्छ, ‘गैरब्राह्मण, कायस्थको अरिपन जेनेरल (सामान्य), सेक्ल्युर (धर्मनिरपेक्ष) हुने गर्छ ।

जसमा उनीहरुले मात्र पिठारले सोझै ‘ढेउर’ यानी भित्ता पोत्ने गर्दछन् । लिपिपोती तयार पारिएको भित्तामा मुख्यतया ‘पटिया’, मयुर, हाथी, फुलगुलसँगै मनमा आएको आकृति पिठार वा विभिन्न रङको माटोले चित्र वा मूर्ति बनाइन्छ । जो ब्युटिफिकेसन (सौन्दर्यीकरण), डेकोरेसन (सजावट) का लागि मात्र हुने गर्छ ।


जसमा दार्शनिक गहिराई हुँदैन । यसैगरी कायस्थको अरिपन बोल्ड हुन्छ । ब्राह्मणको अरिपन लहरेदार र बारिकी यानी सुक्षमताले बनाइन्छ । देवोत्थान एकादशीमा आँगनदेखि गोसाइघरसम्म भगवानको पद चिन्ह, ऊँ, खराऊ, घरायसी प्रयोगका सर–सामान जस्तै डारु, पन्यू, ढिकी, जातो, हँसिया, खुर्पी, हलो आदिलगायत सत्य, द्विपद, षट्कोण, अष्टदल, पानको पात लेखिन्छ ।

कथित अन्य जातजातिले हातको पञ्जाको ‘थप्पा’ दिने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने थारुको अरिपन मिक्सड तथा प्रतीकात्मक हुने गर्दछ । दुनुवारले गेउर माटो (रातो माटो) र करिखा (कालो मोसो जम्मा पारी बनाइएको) ले बनाउने गर्छन् । जसमा पहलमानको कुस्ती, जुँगा भएको मानिस, रेलको चित्र पशुपतिनाथको मन्दिर जस्ता चित्र लेखने गर्छन ।


मोरङ, विराटनगर १२, निवासी रिता सहनी भन्नुहुन्छ, ‘हामी सहनी मल्लाह जातिमा हाथको पञ्जाले दिइने थप्पा देवीको सिँगार हो । दशैं, सिरुवा, रामनवमी जस्ता चाडमा गोसाइघरको भित्ता, मोखा यानी मूलद्वारमा दाहिना हातले पिठारको थप्पा दिई सिन्दुर लगाइ अचरी र झाप चढाउँछौं । फूल, पान, सुपारी, मिठाई देवीलाई चढाई पूजाआजा गरिन्छ । वर्षभरि जतिचोटि ग्रहण लाग्दा अनिवार्य रुपले झाप र अचरी फेर्नुपर्छ ।


किनकी ग्रहण लाग्दा जुठो यनी अशुद्ध हुन जान्छ ।’ साहित्यकार प्राज्ञ डा. रामभरोस कापडी भ्रमर भन्नुहुन्छ, ‘लोक परम्परा अनुसार ‘थप्पा’ गोसाइघरमा मात्र होइन घरको प्रत्येक चिजबिज ढोका, सन्दूक–बाकस, कोठी (अन्न भण्डारण गर्न माटोले बनाइएको भाँडो) आदिमा दिने गरिन्छ । नयाँ मोटरसाइकल, कार किन्दा समेतमा थप्पा दिइ पूजा गरिन्छ । गोबर्धन पूजामा गाई, गोरुको जीउमा रातो रङले थप्पा दिई पूजा गरिन्छ । थप्पा महिलाले मात्र दिने गर्छिन् । महिलाको हातमा तीन देवी अन्नपूर्णा, लक्ष्मी र सरस्वतीको बास हुने गर्दछ ।


प्राज्ञ डा. भ्रमर अगाडि भन्नू हुन्छ, अन्नपूर्णा हिन्दू द्वारा पूजित देवी हुन, जसले अन्नको पूर्ति गर्छिन् । अन्नपूर्णा स्वरूपले संसारको भरण–पोषण हुन्छ । सरस्वती विद्याकी देवी हुन, भने लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । जो शक्तिको एक रूप हो । हातका पाँच अँगुलाको सफलतम प्रयोगले जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ ।’ थप्पासँगै भित्तामा सिन्दुरले पाँच धर्सा पनि लेखिन्छ ।


शास्त्रीय परम्परा अनुसार आकाश, वायु, अग्नि, जल, तथा पृथ्वीलाई पञ्च तत्व मानिएको छ । यो ब्रह्माण्डमा एक निर्विकार, आकाररहित परमात्मा छ, जसबाट आकाशको उत्पत्ति भयो । समसामयिक कलामा यिनै थप्पाको व्यापक प्रयोग हुने गरेको छ, माध्यम मात्र बदलेको छ । माटोको भित्ताको ठाउँ क्यानभासले र पिठारको ठाउँ एक्रेलिक र वाईल कलरले लिएको छ ।


आकाशवाट वायुको, वायुबाट तेज (अग्नि) को, तेजबाट जलको र जलबाट पृथ्वीको उत्पत्ति भयो । यसप्रकार यी पाँच तत्व नै विभिन्न पाँच प्रकारले यस संसारमा फैलिएका छन् । उक्त पञ्च तत्वद्वारा नै यस संसारको निर्माण भएको छ । यिनै पञ्च तत्वद्वारा नै यस संसारको पालना हुन्छ र यिनै पञ्च तत्वमा नै यो संसार विलय पनि हुन्छ ।

artistsuman.scd@gmail.com

सौर्न्दर्य दैनिक र SOURYAONLINE २०७९ असार ११ गते, तदनुसार June 25 ता.मा  प्रकाशित ।



Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA