वट–सावित्री : प्रकृति पूजा र पर्यावरण संरक्षण एससी सुमन

 


सृष्टिकर्ता यदा ब्रह्मा न लभे सृष्टि साधनमतदाक्षयवटं, चैनं पूज्या मासकामदम ।’

अर्थात् सृष्टि रचनाको प्रारम्भमा जब ब्रह्माजीलाई यथेष्ट परिमाणमा उचित सामग्री उपलब्ध नहुँदा उहाँले विष्णुजीको उपस्थितिमा वट वृक्षको पूजा–आरधना गरेर परमेश्वरको उचित सहायता प्राप्त गरी आफ्नो मनोरथ पूरा गरे । स्कन्द पुराण तथा भविष्योत्तर पुराणको अनुसार वट वृक्षमा देवताको बास हुने भएकाले यसलाई देव वृक्ष पनि भनिएको छ । यसैगरी, मिथिलामा वट वृक्ष पूजन गरी यसको परिक्रमा गर्ने प्रचलन प्रथाको रूपमा भएको देखिन्छ । धार्मिक किंवदन्ती तथा पौराणिक लोक मान्यता अनुसार वरको रुखमा ब्रह्मा, बिष्णु र महादेवको बास हुने गर्छ । यसको मूलमा भगवान ब्रह्मा, मध्यमा जनार्दन विष्णु तथा अग्रभागमा देवाधिदेव महादेव बास गर्छन भन्ने मान्यता रहिआएको छ । ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवान्को प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाले नयाँ पहिरनमा जेठ औँसीको दिन सामूहिक रुपमा यो पर्व मनाउने गदर्छन् । कुल बधुहरू वरको गाछीमा परिक्रमा गर्दै चारैतिर धागो बाँधी, तन्मय एकाग्रतासँग सावित्री सत्यवान्को प्रेरक कथा सुन्दै सुनाउँदै पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिली महिलाले वट–सावित्री पर्व धुमधामका साथ मनाउँदै आएका छन् ।


देवी सावित्री पनि यसै वट वृक्षमा प्रतिष्ठित रहेकी छन । यसै अक्षय वटको पत्रपुटकमा प्रलयको अन्तिम क्षणमा भगवान् श्रीकृष्णले बालरुपमा मार्कण्डेय ऋषिलाई प्रथम दर्शन दिएका थिए । प्रसिद्ध तीर्थस्थल प्रयागराजमा गंगा नदीको किनारमा वेणीमाधव नजिक ‘अक्षय वट’ प्रतिष्ठित रहेका छन् । भक्त शिरोमणि तुलसीदासले यस अक्षय वटलाई तीर्थराजको छत्र भनेका छन् । यसैकारण तीर्थहरुमध्ये पञ्चवटीको विशेष महत्व रहेको छ । पाँचवटा वट वृक्षको उपस्थितिले यस स्थानलाई पञ्चवटी भनिएको छ । कुम्भज मुनीको परामर्श अनुसार भगवान् श्रीरामले सीता र लक्ष्मणसहित वनबासको समयमा यसै वट वृक्षमुनि निवास गरेका थिए ।


किन मनाइन्छ वट सावित्री व्रत ?

पौराणिक कथानुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर व्रत गरी आफ्नो पतिको प्राण फर्काएको हुँदा महिलाले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । मिथिलाञ्चलमा महिलाहरु दिनभरी निराहार बसी वट सावित्री पर्व उत्साहका साथ निष्ठापूर्वक मनाउने प्रचलन रहेको छ । मिथिला संस्कृतिमा यस पर्वलाई स्थानीय भाषामा ‘वसराइत’ पनि भनिन्छ । सुरु सुरुमा ब्राह्मण, कायस्थ र देव समुदायका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य समुदायका महिलाले समेत पतिको दीर्घायुको कामनासहित गर्न थालेपछि यसको महत्व झनै बढिरहेको छ । सौभाग्य तथा समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ । देवतासँग सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वास अनुसार यस व्रतको सुरुआत् भएको हो । त्यसैले यसलाई वट सावित्री पूजा भन्ने गरिएको छ । मैथिली भाषामा वटलाई ‘वर’ भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वट वृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।


पर्वमा मौसमी फल आँप, लिची, नरीवल, सिन्दुर, चना, दही, चुरा, भिजाएको चना, केरा लगायतका फलफूल, विभिन्न पूजन सामग्री ‘बियन’ (बाँसको हातेपङ्खा) रातो, पहेँलो धागो, पान, सुपारी लगायतका सामग्रीसमेत चढाइन्छ । विवाहित महिलाले मात्र गर्ने यस पर्व वट सावित्री पूजनमा बाँस कलाको महत्वपूर्ण स्थान रहेको हुन्छ । पूजा सामग्रीमध्ये बाँसका सामग्री पनि अति आवश्यक हुन्छन् । जस्तै– बियन (पङ्खा), पनपथिया, मछडाली, कोनी आदि रहेका छन् । मिथिलामा बाँस पुरुष र वंश वृद्धिको द्योतकका रुपमा लिने गरिन्छ । तसर्थ कोहबरमा यसको चित्रण लिंगका रूपमा गरिएको देखिन्छ । कमल र बाँसले महिला र पुरुषको सम्बन्ध अर्थात् पूर्ण मनुष्यको संकेत प्रस्तुत गर्दछ ।


सावित्री र सत्यवानको कथामा उल्लेख छ, ‘जतिखेर यमराज सत्यवानको प्राण लिएर जान लाग्दा, सावित्री यमराजको पछि–पछि लागिन् । यमराजले सावित्रीलाई यस्तो गर्नबाट रोक्नका लागि लिए तीन वरदान दिए । पहिलो वरदानमा सावित्रीले आफू सय छोराको माता बन्ने वरदान मागिन् । यमराजले त्यस्तै, हुन्छ भनिदिए । त्यसपछि सावित्रीले यमराजसँग भनिन्, ‘म पतिव्रता नारी छु र विना पतिको सन्तान कसरी सम्भव छ ।’ यो कुरा सुनेर यमराजलाई आफूले गरेको गल्तीको संम्झना भयो । उनी आफूले गल्तीले सत्यवान्को प्राण फर्काउने वरदान दिइसकेका थिए । तत्पश्चात् यमराजले अंकुरित चना (बदाम) को रूपमा सत्यवान्को प्राण सावित्रीलाई सुम्पिदिए । तसर्थ, अंकुरित चना (बदाम) प्रसादको रुपमा बाँडिने चलन रहेको छ । सावित्री पतिको प्राण यमराजसँग फर्काउन यमराजको पछि जाँदा, सत्यवान्को शवको रेखदेख वट वृक्षले गरेका थिए । पतिको प्राण फर्की सावित्रीले वट वृक्षको परिक्रमा गरी आभार व्यक्त गरेकी थिइन् । यद्यपि वट–सावित्री व्रतमा वृक्षको परिक्रमा गर्ने प्रचलन रहिआएको छ ।


वट–सावित्री व्रतको कला पक्ष

कलाकार तथा संस्कृतिविद् विजयमणि दत्त भन्छन्, ‘पनपथीया (डाली) मा फलफूल, पान, सुपारी तथा पूजन सामग्री राखिन्छ । कोनीमा ‘वर’ (एक किसिमको खाने परिकार) र गौरी नैवेद्य, ठेकुवा, मिठाइ जस्ता प्रसाद राखिन्छ । बियनले वरको रुखलाई हम्किने गरिन्छ । जसले तराईको जेठ मासको गर्मीमा शितलता प्रदान गर्छ । जसमा समर्पण तथा सेवा भाव रहेको हुन्छ ।’ उनले उपर्युक्त सम्पूर्ण बाँसको हस्तकला सामग्री तराईमा बस्ने डोम समुदायले बनाउने गर्छन् जुन उनीहरुको पुख्र्यौली जीविकोपार्जनको पेशाको रहिआएको उनले सुनाए ।

मिथिलाञ्चलका चाडपर्वको अनिवार्यताले यस्ता हस्तकलाका सामग्री उपयोगी कलाको रुपमा समाजमा प्रचलनमा आए । यसले रोजगारीसँगै आफ्नो सीप र सिर्जनालाई जीवन्त बनाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरह्यो ।

समाजको परम्परागत, सामाजिक, धार्मिक र सांस्कृतिक गतिशीलता उसको लोककला र हस्त–शिल्पको माध्यमले अभिव्यक्त हुने गर्छ । माध्यम जेभए पनि लोकचित्र होस् वा हस्तशिल्प वा नृत्य–संगीत वा लोकनाट्य अभिव्यक्तिका यिनै माध्यममा मिथिलाको लोक मान्यताले जीवन्त पाइरहेको छ । साथै लोक–चित्रकला, मूर्तिकला, वास्तुकला तथा हस्तशिल्पको आफ्नो विशिष्ट पहिचान छ, जसलाई लोक जनजीवनले जोगाउँदै एक पुस्ताबाट अर्को पुस्तामा एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्दै आइरहेको छ ।


लोक कलाकार मीरा दत्त भन्छिन्, ‘वट सावित्री पूजामा टालाटुली बटुली दुल्हा र दुलहीको प्रतीकको रुपमा पुतली बनाइन्छ ।’ मिथिलामा ‘कनियाँ–पुतरा’ (पुतली) बनाउने हस्तशिल्प कला हो । जसमा सियो धाँगो, रंगीचंगी नयाँ पुरानो कपडा, कपास आदिको प्रयोग गरी बनाइन्छ । सियो धागोले सिएर स–साना मानवाकृति तयार गरिन्छ । जसमा आफ्नो घरमा पाइने गाजल, सिन्दूरद्वारा आँखा, मुख रंगाइन्छ । दुल्हालाई धोती, कुर्ता र गम्छा (दोपटा) लगाइन्छ भने दुलहीलाई साडी, चोलो, चुनरी तथा कृत्रिम गहना लगाइ सिँगारपटार गरिन्छ । यसको विशेषता शैलीगत आकार, आलंकारिक साज–सज्जा चहकिलो हुने गर्दछ । यस्ता हस्तकला महिलाद्वारा सम्पादित हुँदै आएको पाइन्छ । मिथिला क्षेत्रमा हुने मिथिला कलाअन्तर्गत यो एउटा विशेष किसिमको हस्तकला पनि हो । जुन प्रत्येक परिवारमा महिलालाई धेरथोर यसका बारेमा शिल्प ज्ञान रहेको हुन्छ । यो कला एक पुस्ताबाट अर्को पुस्तामा सहजै हस्तान्तरण हुँदै गइरहेको हुन्छ । पूजाको दिन वरको रुखनिर राखी उक्त प्रतीकात्मक दुल्हा–दुलहीलाई सिन्दूर दान गरी बिहे गराइन्छ । गर्मीको मौसम भएकाले बियन हम्किन्छ । यो पूजामा निम्नलिखित जम्मा चारवटा वरको पूजा गरिन्छ । पहिलो नवदुलहीको दुलहा वर, दोस्रो वरको रुख, तेस्रो पुतलीको वर यानी दुल्हा र चौथो खाने परिकार वर ।

विवाहको पहिलो वर्ष यो पर्व मनाउँदा माइतीबाट छोरीको लागि पठाउने कोसेलीमा ‘कनिया वर’ (पुतली) को अनिवार्य चलनले कुनै समयमा हुने बालविवाह र बालबालिकाको मनपर्ने खेलौना पुतलीतिर संकेत गर्दछ । कलाकार मीरा दत्त अगाडि थप्छिन्, ‘यो हस्तकलाअन्तर्गत अधिकांशतः वर कनिया, हात्ती, घोड़ा, गोरु, बाघ जस्ता आकृति बनाइन्छ । खासगरी यस्ता खेलौनाहरु बालबालिकाको लागि उसको जेठो पुस्ता यानी हजुरआमा, आमा, काकीहरुले बनाउने गर्छन् ।’ भूमिचित्र र भित्ती चित्र बनाउन प्रत्येक चेलिबेटीले जान्नुपर्ने अनिवार्यता रहेझै गायन र मूर्तिकलाको जानकारी हुनु जरुरी मानिन्छ । यसैगरी, सियो धागोको काम तथा पुतली बनाउने हस्तशिल्प सिकाउने जिम्मा पनि जेठो पुस्ताको काँधमा नै हुने गर्दछ । मिथिलाको चित्रकलाको स्थान नेपाली लोककलामा विशिष्ट रहेको छ । यसको चर्चा पछिल्लो समय देश विदेशमा समेत व्यापक रुपमा भइरहेको छ । चित्रकलाको तुलनामा यहाँका अन्य हस्तकलाको खासै चर्चा भएको पाइँदैन । यसको बारेमा समेत सचेत ढंगले व्यावसायिक विकासका लागि काम गर्नुपर्ने आवश्यकता रहेको छ ।


मिथिलाको प्रसिद्ध ‘कनिया पुतरा’ बनाउने हस्तकला, सुजनी सिलाउने कला, कसिदाकारी जस्ता हस्तकलालाई अगाडि ल्याउनु पर्ने जिम्मेवारी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ं लगायतका स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारको पहिलो काम हो । यसमा प्रतिष्ठानको हस्तकला तथा लोककला विभागले चासो दिन जरुरी छ । साथै यसका बारेमा खोज अनुसन्धान गरी संरक्षण, प्रवद्र्धन तथा विकासमा सरोकारी संघ संस्थासँग सहकार्य गर्दै सामाजिक रुपमै सशक्तिकरण गर्ने अभियानको नेतृत्व गर्नुपर्दछ ।

मिथिला क्षेत्रको हस्तशिल्पकला सांस्कृतिक, प्राकृतिक तथा पर्यावरणीयसँगै धर्म, संस्कार, परम्परा एवं सामाजिक मान्यतानिकट रहेको पाइन्छ । यहाँको शिल्पकला मौलिक विशेषताका कारण आकर्षक र मनमोहक हुने गर्दछन् । जसले गर्दा सजिलै जोकोहीको संग्रहमा पर्ने गर्दछ । मौलिक परम्पराका रुपमा हजारौं वर्षदेखि समाजमा प्रचलित यस्ता लोककलाको खोज गरी प्रशिक्षणमार्फत सशक्तिकरण अभियान थाल्नु पर्दछ । साथै उत्पादनमा जोड गरेको खण्डमा यसले अन्तर्राष्ट्रिय बजारमा मिथिला चित्रकला झै झै आफ्नो स्थान बनाइ रोजगार सिर्जना गर्दछ । यसको प्रत्यक्ष लाभ यहाँका महिला समुदायलाई हुनेछ ।


प्रकृति पूजा र पर्यावरण संरक्षणको आशय

वट सावित्री पर्व प्रकृतिसँग जोडिएको सांस्कृतिक उत्सव हो । यसमा सर्वत्र प्रकृति र संस्कृतिसँग अनुष्ठानको महत्व रहेको छ । मिथिलामा मनाइने तीज, तिहारमा सूर्य, चन्द्र, वनजंगल, वृक्ष, पोखरी, तलाउ जस्ता प्राकृतिक स्रोत आदिको पूजा धूमधामले गरिन्छ । मिथिलाको संस्कृति तथा लोकजीवनमा पौराणिक कालदेखि नै प्रकृति संरक्षणसँगै यसको महत्वलाई सांस्कृतिक, धार्मिक तथा संस्कारका रुपमा अपनाउँदै संरक्षणमा विशेष ध्यान दिइन्छ । यहाँका अधिकांश चाडवाड मुख्यतया प्रकृतिसँग जोडिएर आएको पाइन्छ । चाहे त्यो छईठमा सूर्यको उपासना होस् या चौरचनमा चन्द्रमाको पूजन विधान, मिथिलाको लोक जनजीवन प्राकृतिक संशाधनले भरिएको छ । तसर्थ प्रकृतिबाट जीवन जिउनका लागि सबै सरजाम प्राप्त हुने गर्छ र यहाँका लोकजनले यसको सम्मान गर्ने गदर्छन् । यसरी मिथिला संस्कृतिमा प्रकृति पूजा तथा उपासनाको विशिष्ट महत्व रहिआएको छ । साथै यसको आफ्नो वैज्ञानिक आधार पनि छ ।

यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधि विधानका साथ गर्ने गर्दछन् भने दोस्रो पटकदेखि सधवा रहुञ्जेलसम्म साधारण प्रकारले गर्ने गरिन्छ । यसमा वट वृक्षसम्म जान नसके आफ्नो सुविधा अनुसार गमला रिपिएको गाछी वा वट वृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पुजा गर्दा ब्रह्मा, बिष्णु, महेश्वर, सावित्री, सत्यवान्, यम, यमुना आदिको पुजा गर्नुपर्ने विधान छ । वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछन् । मिथिला संस्कृतिमा मात्र नभएर यो पर्वले हिमाल, पहाड, तराई र प्रकृतिको उचित प्रयोग र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दछ । विभिन्न धर्म ग्रन्थमा १० सन्तान बराबर एक वृक्ष भनिनुको कारण पनि प्रकृति प्रेम र धर्मको उजागर हो । अरु सय वृक्षले दिने फाइदा एक वृक्षले दिनु यसको अझै गरिमा बढाउनु हो ।

वरले वातावरणको कार्वन लगायतका हानिकारक वायु शुद्धीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । धार्मिक र वैज्ञानिक महत्वले भरिपूर्ण वर आयुर्वेदिक औषधिको मात्र स्रोत नभएर पर्यावरणलाई शुद्धीकरण गर्ने अचुक निधि पनि हो । यसकारण सबैले यसको संरक्षण सम्बद्र्धन गरौं भन्ने उद्देश्य अन्तनिर्हित रहेको छ । माटोमा गहिरोसँग गाडिएको जराले मानव प्रजातिको पृथ्वीले पालनपोषणको सम्बन्धलाई दर्शाउँछ । वृक्षको हाँगामाथि आकाशतिर उन्मुख हुन्छ । चराचर जगत्को सूर्यबाट प्राप्त हुने जीवन ऊर्जातिर संकेत गर्दै निरन्तर वृद्धिको संकेत गर्छ । अर्को शब्दमा भन्ने हो भने परिवार र वंशको प्रतीकको रूपमा जीवनचक्रलाई दर्शाउँछ । सानो बिउ अंकुरित भई विशाल रुख हुनु, नयाँ फलको बिउबाट फेरि नयाँ गाछी हुनु । यसले नै वंशवृद्धिको संकेत गर्छ । यसको फैलिएका हाँगाले परिवारको सदस्यबीच आपसी प्रेमसम्बन्धको प्रतीकलाई प्रदर्शित गर्छ । चराचुरुंगीले आफ्नो

गुँडमा आफ्नो चल्ला हुर्काउन किरा फट्यांग्राको शिकार गरी आफ्नो बच्चालाई खुवाउँछ । सर्पले चल्लाको शिकार खोजिरहन्छ, माउ चराले आफ्नो बच्चाको दिनरात सुरक्षा गरी हुर्काउँछ । जीवजन्तुले खाएर फालेको बिउ पृथ्वीको गर्भमा निश्चित समयसम्म सुरक्षित रहेर पुनः अंकुरित हुने गर्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ । यसले पर्यावरणलाई सन्तुलित बनाइराख्छ ।


‘वृक्ष’ हाम्रो वैदिक, धार्मिक तथा संस्कृतिको उत्कृष्टता र सम्पन्नताको प्रतीक हो । यो कति विशाल हृदय, उदार, उदार, त्याग बलिदानको भावनाले परिपूरित छ । जो पनि याचक योसँग आहार, आश्रयको कामना लिएर आउँछ, निराश भएर फर्कंदैन । फलफूल, पात, छाल, छायाँ, इन्धन, यहाँसम्म आफ्नो किसलय र नवांकुरसम्म दिएर जन्मदेखि मृत्युसम्म सम्पूर्ण प्राणीको कल्याण गर्छ । जंगलले वातावरणमा स्वच्छ हावापानीसमेत प्रदान गर्दछ र भू–क्षय रोक्छ । वास्तवमा दीर्घ जीवन र अटल सौभाग्यको कामनाको आशय पनि यो नै हो ।

artistsuman.scd@gmail.com

२०७९ जेठ १४ गते, शनिबार, मे 28 ता. सौर्य दैनिकमा प्रकाशित

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Bridging Nature and Tradition: The Art of SC Suman In a world increasingly defined by rapid urbanization and cultural fragmentation, the work of contemporary artist Suman stands as a vivid reminder of the delicate balance between humanity, nature, and heritage. Through his evocative paintings, Suman explores the interconnected themes of environmental awareness and cultural coexistence, creating art that is as thought-provoking as it is visually compelling. Thematic Foundations : At the heart of Suman’s art lies a profound respect for both the natural world and the diverse cultures that inhabit it. His paintings are not merely aesthetic expressions but narratives—each canvas telling a story about how people and the environment can thrive together. Using symbolic imagery, earthy palettes, and intricate detailing, Suman often blends landscapes with elements of traditional life, suggesting a harmony that modern society risks losing. Environmental Sensibility : Artist Suman’s environmental themes are deeply reflective, often portraying lush forests, rivers, and wildlife alongside scenes of human life. Unlike romanticized nature paintings, his works frequently depict the consequences of environmental neglect—deforested land, polluted waters, and displaced communities. Yet, his tone remains hopeful. By incorporating native flora and fauna, and showing sustainable lifestyles, Suman invites viewers to imagine a more balanced future. Celebrating Cultural Diversity : Equally central to his work is the celebration of cultural diversity. Suman paints people in traditional attire, engaged in rituals, festivals, and everyday life, surrounded by their natural surroundings. These works act as visual archives of indigenous wisdom and sustainable practices. He believes that preserving cultural identity is not in conflict with ecological conservation—in fact, they often reinforce one another. Technique and Expression : Suman’s use of color and form reinforces his message. He blends folk-art styles with contemporary techniques, creating a fusion that reflects the coexistence he champions. Organic textures, repetitive patterns, and a nuanced use of light evoke a sense of continuity between the old and the new, the natural and the human-made. A Call for Harmony : In exhibitions and community projects, Scsuman emphasizes art as a tool for dialogue. His paintings are displayed not only in galleries but also in public spaces and educational settings, aiming to spark conversations about sustainability and cultural empathy. By engaging local communities in workshops, he extends his artistic vision beyond the canvas into the real world. Conclusion : Suman’s art is more than a visual treat—it is a call to action. His unique synthesis of environmental concern and cultural reverence challenges us to rethink our relationship with the planet and with each other. In an age where division and destruction often dominate the narrative, Suman offers a powerful alternative: a vision of coexistence, painted in the rich hues of hope, heritage, and harmony.