मिथिला लोककलाका चिन्तनधारा एससी सुमन

मिथिलाञ्चलको घरघरका भित्तामा लेखिएको लिखिया ‘मिथिला लोकचित्रकला’ एउटा विशेष प्रकारको चित्र शैली हो । परम्परागत रूपमा महिलाकै हातबाट घरको भित्तामा आफ्नो मनमा उठेका स्वभाविक कल्पना तथा उद्वेगलाई घरकै खर बाँस, गोबर, माटोजस्ता घरेलुु सामग्रीबाट लिपपोत गरी तयार पारिएको भित्तामा प्राकृतिक रङबाटै विभिन्न स्वरूपमा चित्रांकन गर्थे । यस्ता चित्र सामान्यतः परम्परागत सांस्कृतिक विधि–विधान विवाह, ब्रतबन्ध लगायतका सामाजिक संस्कारको बेला तथा चाडपर्व पूजा–आजा, पावनी तिहार आदिमा यद्यापि लेखिन्छ । वैदिक युगमा ज्ञान आर्जनको दुई अवस्था, पहिलो श्रुति र दोस्रो दृश्य मानवको समक्ष थियो । यिनै परिस्थितिमा श्रुतिबाट संगीतको ध्वनिको उत्पत्ति र दृश्यबाट चित्रको निर्माण भयो, जो आँखा समक्ष आयो र चित्रांकन सुरु भयो । तत्पश्चात श्रुति र दृश्यको समन्वयले नृत्यको उत्पत्ति भयो । ब्राम्हण युगमा संगीतको प्रधानता थियो र त्यसकारणले त्यो समयमा वेद आदि प्राची ग्रन्थहरूको, ऋचाको, श्रुति भयो । फलस्वरुप यस युगमा गायक धेरै भए । यसपछि बौद्ध धर्मको प्रभाव आयो । बौद्ध श्रुति नभई आध्यात्म र मौन साधनाका अनुयायी थिए । जसकारणले बौद्ध धर्मको स्थापनापछिको कालखण्डमा नेपाल, भारत, चीन, जापान तिब्बत आदि देशमा चित्रकलाको प्रभाव स्थापित भयो । यसै समयमा मिथिलामा भएको चित्रशैली बौद्ध प्रभावले चित्रकलाको प्रसार भएको विद्वानको मान्यता रहेको छ ।

मिथिलाको चित्रकलामा यहाँका तीन प्रमुख चिन्तनधाराको प्रभाव देखिन्छ । प्राचीन शैव चिन्तनधाराको प्रभाव यस शताब्दीको छैटांै दशकसम्म्मको चित्रकलामा भेटिन्छ । यस समयको चित्रको सम्पूर्ण फलकको कोर, किनारी यानी बोर्डरमा नागफन, त्रिशुल, डमरू, बसाहाको मुख मण्डलमा क्रमिक अलंकरण भेटिन्छ । मूल चित्रमा शिव–पार्वतीको जीवनको सन्दर्भित गाथाको चित्रांकन हुन्छ । यसका बिम्ब–योजना देखिन्छ, जसमा लिंग तथा योनीको बाहुल्यता हुन्छ ।

मिथिलाको दोस्रो प्रमुख चिन्तनधारा शाक्त चिन्तनधारा हो । जसमा शक्तिको विभिन्न रूपलाई चित्रांकित गर्ने परम्परा रहेको छ । यस परम्पराको चित्रमा घट, नरिवल, खड्ग, मुण्ड, आभुषण, बाहिर निस्केको जिह्वा, तेस्रो नेत्र, आगोको ज्वाला आदिको चित्रांकन हुनेगर्छ । यस्ता चित्रमा चित्र–संयोजनको बिचमा कलश, पल्लव तथा दीपलाई आस्थाको स्वरुपमा अंकित गरिन्छ । शक्ति देवीको चित्रांकनको बाह्र रुपमा हात्ती, सिंह, हाँस ऊर्जस्वी प्रेरणाले निरुपित गरिन्छ । साथै देवीको अठारह भुजा र अठारह भुजामा अठारह प्रकारको अस्त्र चित्रांकित गरिन्छ । यस्तो रचनाले यो बुझिन्छ, कलाकारले यसको लागि कति साधना गरेका छन् । यस्तो चित्रमा कला–समर्पित आस्था निहित हुन्छ । तर समयको अन्तरालले मिथिला चित्रकलामा आएको निरन्तर परिवर्तनले, विस्तारै यसको विकसित रुपमा शाश्वत आधार बदल्नुसँगै यसको अन्तःस्वरुपमा परिवर्तन हुनु हो । भन्नुको तात्पर्य आज मैथिल लोककलाकारले शक्ति स्वरुपको चित्रांकित गर्दा लोक मान्यताको आधारमा नै गर्ने गर्छन् ।

  

विभिन्न चिन्तनधाराको प्रभावले यहाँको चित्रकला प्रभावित छ, त्यसमध्ये वैष्णव चिन्तनधारा पनि एउटा हो । यसका दुई शाखा छन्, राम–भक्ति र कृष्ण–भक्ति । राम–भक्ति शाखामा राम–कथामा आधारित सीता र रामको विभिन्न रुपमा चित्रांकित हुँदै आएको छ । जसमा प्रायः शेषशायी विष्णु, लक्ष्मी, गणेश तथा सरस्वतीको चित्रांकन गरिन्छ । यस्ता चित्रमा शंख, चक्र, गदा, पद्म, आदिको अंकन मनयोगले गरिन्छ । राम–कथाको चित्रमा सीता–जन्म, पुष्प–वाटिका, फूल–लोढी, गिरिजा–पूजा, धनुष–यज्ञ, राम–विवाह, सीता–बिदाई, डोली–महफा–कहार, केवट–प्रसंग, राम–वनवास, सीता–हरण, राम–रावण युद्ध, रामराज–तिलकजस्ता चित्रको बाहुल्यता रहेको छ । मिथिला महर्षि जनकको राजश्री जगत–जननी सीताको जन्मभूमि भएकाले यहाँका जनमानसमा जानकीको गहिरो छाप रहेको छ । मननयोग्य कुरा के छ भने यहाँको चित्रकलामा सीताभन्दा अलग्ग रामको चित्र रचना पाइँदैन । जानकी मिथिलाकी छोरी हुन् । जहाँ छोरीको महत्वपूर्ण स्थान छ । राम पुरूषोत्तम कहलिनुमा सीतासँग विवाह भएर मात्र भएर हो भन्ने मान्यता रहेको छ ।

वैष्णव चिन्तनधारामा कृष्ण–चरित्रको चित्रांकन लोकपरम्पराको अभिन्न अंग रहेको छ । जसमा वृन्दावनी चित्रको बहुल्यता देखिन्छ । प्रमुखतया कृष्ण–वासुदेव, कृष्णको बालकथा, कृष्णसाग गोपिनीहरू नाचेको रासचित्र, गोपिनीहरू यमुना नदीमा नुहाउँदै गर्दा श्रीकृष्णले लुगा चोरेको चित्र चित्रांकनको लोकप्रिय विषय हुन । वृन्दावनी चित्रको रचनाको तुलनामा महाभारत प्रसंगमा आधारित चित्र बनाइएको पाइँदैन । यसको स्पष्ट कारण यो छ कि मिथिलाको जनजीवनमा ‘श्रीमद्भागवत गीता’, ‘गीत–गोविन्द’ तथा विद्यापतिको गीतको प्रभाव धेरै रहेको पाइन्छ । यस परम्परामा आज पनि मिथिलाको कलाकार आफ्नो चित्रांकनको मुख्यरुपले आदर्शवादी रामकथा र आध्यात्मिक कृष्णलिलालाई नै मान्दछन् । यो संयोग भन्न सकिन्छ कि यो कथाको विस्तार र रोचक कथा दृश्य यति धेरै आउँछ र यसको विविधतालाई अंकित गर्नको लागि एउटा कलाकारको जीवन छोटो हुन जान्छ ।


मिथिलामा चित्रकारले तुलसी दासकृत रामचरित्र मानस र वाल्मीकि रामायणको राम–कथा प्रसंग नै चित्रांकित गर्दैैै आएका छन् किनभने यसको लोकप्रचलित ज्ञान नै प्रमुख कारण हो । तर विचारणीय प्रसंग यो छ कि रामायणका असंख्य कथा–दृश्यको विविधता हुँदाहुंदै यहाँका कलाकार आफनो चित्रमा सीमित चित्रमात्र चित्रांकित गरेको पाइन्छ । श्रीकृष्ण–कथामा आधारित चित्रांकनको विषयमा पनि यस्तै कुरा देखिन्छ । श्रीकृष्ण कदमको रुखमा बजाउँदै गरेको मुरली, गोवर्धन पर्वत धारण, गाई चराउँदाको दृश्य, राधाकृष्ण प्रेमालाप, रासलीला, कालिया नाग मर्दनजस्ता चित्र धेरैजसो चित्रांकित गरिन्छ ।

यसको मूलमा कुरा यो छ की सीताराम तथा राधाकृष्णका कथा–दृश्यमा लोक रुचि धेरै भएको त्यस्ता चित्र नै धेरै बनाइन्छ । यो कला परम्परागत भएकाले पनि यस्ता चित्र अघिल्लो पुस्ता आमा, हजुरआमाबाट हस्तान्तरण हुँदै आएको हो । यसरी लोकपरम्परा अनुरुप मिथिला लोकचित्रकला राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जति पहिचान भेट्यो त्यतिकै पहिचान विद्यापतिको गीतलाई पनि मिल्यो । मिथिलामा विद्यापति कालमा जनसंस्कृतिको विकास सर्वाधिक भएको पाइन्छ । विद्यापतिका गीतहरूको प्रभाव यहाँ चित्रकलामा समेत परेको देखिन्छ । यसको प्रभावभन्दा पहिले यहाँ राम–चित्रावली रचिन्थ्यो । पछि आएर विद्यापति गीतको प्रभावले कृष्ण र शिव चित्रावलीको सूत्रपात गरायो । किनकि स्वयंं विद्यापति कृष्ण र शिव थिए । तसर्थ यिनको गीतको लोकप्रियता सँगसँगै यिनको जीवन–दर्शन र चिन्तनधाराको प्रभाव पनि यहाँको तात्कालिक जीवनमा आयो र पछि यो प्रभाव यहाँको चित्रकलामा दृष्टिगत छ । आज पनि विद्यापतिको गीतको प्रभाव यहाँको जनजीवनमा ताजा छ । यहाँको चित्रकलामा कालान्तरमा परेको विभिन्न प्रभाव छुट्टाछुट्टै देख्न सकिन्छ । तसर्थ आज मिथिला कला विभिन्न नयाँ–पुरानो लोक–मान्यता र परिकल्पनामा आधारित भइ चित्रांकन हुँदै आएको छ ।

आजको समयमा मिथिला लोकचित्रकलाको बढ्दो लोकप्रियता र व्यवसायिकताले सांस्कृतिक चित्रको चित्रांकन कलाकारको प्राथमिकतामा पर्न गएको छ । जसमा मिथिलामा मनाइने चाडवाड, दैनिकी, महिला उत्पीडन, घरेलु हिंसालगायत बौद्ध चित्रावलीजस्ता विषयवस्तुले आफ्नो स्थान बनाउँदै गएको छ । साहित्यकार तथा इतिहासकार डा. राजेन्द्र विमलका अनुसार गौतम बुद्ध जनकपुरधाम आउन खोज्दा उनलाई आउन दिइएन र उनी बाध्य भई मखावन भन्ने स्थानमा गइ बस्नुपरेको थियो । मिथिलामा बुद्ध धर्मको प्रभाव नपरोस् भनेर अर्कै धर्म यस ‘स्मार्त’ को स्थापना उनीहरूले गरेको इतिहास छ । यस धर्ममा पनि लोकदेवताहरूलाई पुज्न थालियो ।

यो धर्ममा वैष्णव, शैव र शाक्त तीन वटै समूह छुट्टाछुट्टै रूपमा विकसित भए । उनीहरू एक आपसमा झगडा गर्थे । बौद्धको प्रभाव बढ्न थालेपछि उनीहरू सबै मिले र बुद्ध धर्मको विरोधमा उत्रिए । यसको नेतृत्व ‘उदेन’ नामक व्यक्तिले गरेको इतिहासकार बताउँछन् । उदेनले तीनवटै सम्प्रदायलाई मिलाएर नयाँ धर्म र पूजाविधिको छुट्टै विधान गरेको डा.राजेन्द्र विमल बताउँछन् । घरमा काली, भगवतीको पूजा गर्ने परम्परा थालियो । यो शाक्त धर्मको प्रतीक हो । कुनै कालखण्डमा गौतम बुद्ध वैराग्य र गृहत्याग गरेकोले उनको चित्र नबनाइए पनि आजको समयमा मैथिली लोकचित्रकारले बुद्धको चित्र रचनामा कुनै कञ्जुस्याई गरेका छैनन् ।

artistsuman.scd@gmail.com

२०७८ फाल्गुन ३ गते, मंगलवार, 15 February 2021 , सौर्य दैनिक तथा souronline.com मा प्रकाशित।


Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन