मिथिला, मधुश्रावणी र मधुमास : एससी सुमन


 कृषिप्रधान हाम्रो मुलुकमा असार महिनालाई कृषि परम्पराको नयाँ जीवन चक्र थालनीको महिना मानिन्छ । साउन महिनाको रोपाइँ सकेपछि, हाम्रा चाडवाडमध्ये कृषि संस्कृति झल्काउने चाडका रूपमा प्रकृतिसँग गाँसिएका विभिन्न परम्पराले निरन्तरता पाइरहेको छ । यो महिनाभरि शुद्ध आहार–विहार अँगाल्ने तथा शिव मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । भगवान् शिवको प्रिय दिन सोमबार भएकाले सक्नेले यो महिनाभरि र नसक्नेले साउनका प्रत्येक सोमबार व्रत लिने भएकाले यसलाई धेरै महत्वपूर्ण मानिन्छ । व्रतालुहरू अध्यात्मिक दृष्टिकोणले महादेव शंकरको भक्ति, आराधना एवं पूजामा लिन रहन्छन् । नांगै खुट्टा हिँडेर दर्शन–पूजा गर्न जाने क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने बताइन्छ ।

हरियो पहिरनमा, हरियो चुरा र हातमा म्हेन्दी श्रावण महिनाको पर्यायवाची भएको छ । यतिबेला सबैको मानसपटलमा हरियो चुरा, रातोटीका, पोते लगाउने प्रचलन बढेको छ । परापूर्वकालदेखि नै साउने सोमबारका दिन व्रत बस्ने, चोखो खाने चलन रहेकोमा केही समय यता आएर साउनभरि हरियो, पहँेला तथा हरियो लगाउनु फेसन नै बनिसकेको छ । आधुनिक फेसनमा पनि हरियो र पहंँलो रङको यो महिनाभरि अत्यधिक माग हुने गर्छ । अहिले अविवाहित युवतीहरू पनि हरियो रङमा सजिएको देख्न पाइन्छ । महिलामा हरियो रङझै पुरुषमा पहेँलो वा गेरुआ रङको बाहुल्यता रहेको हुन्छ । पुरुष पनि पहेँलो वस्त्रमा सजिएर शिवको मन्दिर पूजार्चनाका लागि जाने गर्दछन् । महिलाहरू शिवजस्तै वर पाउँ भनी कामना गरेको पनि पाइन्छ ।

आध्यात्मिक दृष्टिकोणले मुख्य रूपमा नेपालको जुनसुकै भू–भागमा बस्ने मानिसले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पूर्जा अर्चनाका साथ व्रत बस्ने परम्परा रहिआएको छ । यसैबीच मिथिलाञ्चलमा मधुश्रावणी व्रत श्रावण महिनाको कृष्णपक्ष पञ्चमी तिथि अर्थात् यस वर्ष श्रावण १३ गतेदेखि सुरु भई साउन शुक्ल तृतीयासम्म धुमधामका साथ मनाई २७ गते सम्पन्न भएको छ । यस वर्ष यो पर्वको अवधि १५ दिनको थियो । प्रत्येक वर्ष यो पर्व मनाइने भए पनि तिथिको हेरफेरले गर्दा कुनै–कुनै वर्षमा यो १५ दिनभन्दा बढीको पनि हुन जान्छ तर तिथिमा कुनै किसिमको गडबडी नहुने हो भने प्रायः यो १५ दिनकै हुन्छ । प्रत्येक वर्ष मनाइने पर्व भए पनि नवविवाहिता नारीले बिहे भएको पहिलो वर्ष आउने साउनमा अनिवार्य रूपले यो पर्व मनाउनुपर्छ भने अर्को वर्ष पुनस् अर्को नवविवाहिता महिलाले आफ्नो दाम्पत्य जीवनलाई पनि वातावरणजस्तै सुन्दर बनाउने कामना साथ कथा सुन्ने र नाचगान गरेर मधुश्रावणी मनाउँछन् ।

मधुश्रावणी शब्द एउटा मधुर र अर्को श्रवण शब्दको एक रूप हो । यसमा ‘मधु’ भन्ने शब्द मौरीले फलपूmलबाट सञ्चित गरेको महलाई जनाउँछ भने श्रवणले बग्नुको अर्थ दिन्छ । मधुको संचरण नै मधुश्रावणी हो । माइतमै बसेर मनाइने भए पनि यस पर्वमा नवविवाहिताका लागि व्रत अवधिको खाद्यान्न, वस्त्र परिधान, ब्रतालुका शृंगार प्रशाधन, पूजा सामग्री र अन्य पर्व विशेषका आवश्यक वस्तु पतिको घरबाटै पु¥याइनु पर्ने चलन छ । ससुरालीबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग भई स्थापित भएको छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप (अरिपन) मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । गोसाउनी (कुलदेवता) गीतसँगै प्रारम्भ भएको पर्वमा विवाहिताको ससुराली पक्षबाट माटोको सर्प (विषहरा) बनाएर पूजा गर्नका निम्ति पठाइएका विषहराको पूजा आराधना गरेपछि व्रतालुलाई ज्येष्ठ निर्धारित कथावाचिका महिला पुजारी पण्डिताइनबाट प्रत्येक दिन नवविवाहितालाई मधुश्रावणी व्रतकथा सुनाइन्छ । प्रत्येक दिनको कथा निर्धारित हुने गर्छ ।

मधुश्रावणीको सन्दर्भ शिव पार्वतीसँग जोडिएको छ । हिमालपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी तपस्या गरेको समय यही मधुश्रावणी हो भनी जनविश्वास मैथिली समाजमा छ । पर्वते महिलाले पुस÷माघमा गर्ने स्वस्थानी व्रतको कथा र मैथिली नारीले श्रावण महिनामा गर्ने मधुश्रावणीका कथा मिल्दाजुल्दा छन् । स्वस्थानी व्रतकथामा महादेवको विवाह र महादेवको परिवारसम्बन्धी कथाले प्रमुखता पाएजस्तै मधुश्रावणी व्रतकथामा पनि महादेव र गौरीको विवाह र उनीहरूका लिला, गंगा, गणेश कार्तिकेयको जन्म र उनीहरूका चरित्र नै कथाको प्रमुख सन्दर्भ बनेका छन् । श्रावण र पुस समय फरक भए पनि सौभाग्यको लागि शिवशक्तिको पुजन गर्नुले एकै उद्देश्यका लागि आराधना गर्नु पनि नेपाली नारीको साझा आस्था रहेको देखिन्छ ।

पहिलो दिनको मैना पञ्चमीको कथादेखि प्रारम्भ भई कथाहरूमा विषहर (सर्प) को जन्म, विहुलाको कथा, मंगला गौरीको कथा, पृथ्वीको जन्म, समुद्र–मन्थन, सतीको कथा, महादेव परिवारको कथा, गौरी जन्म, गौरी तपस्या, गौरी विवाह, बाल वसन्त, गणेश जन्म आदिका कथा श्रवण गराइन्छ । हाम्रो सामाजिक जीवन प्रकृतिसँग जोडिएको छ, समान्यतया बर्खायाममा सर्पसँग परिवारको रक्षाको लागि नवविवाहिताले पूजा गर्ने गर्छन ।

‘सखि  फूल लोढ चलु फूलबरिया १ सिताके संग सहेलिया

कोई बेली फूल लोढे चमेली फूल लोढे १ कोई लोढेला चम्पाके कलिया, सीता के सँग सहेलिया’

पूजापाठका निम्ति प्रत्येक साँझ नवविवाहिताको समूह बनाएर यस्ता लोकगीत गाउँदै फूलपात टिप्ने गर्छिन् । भर्खरै विवाहित जोडीको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामना भित्रको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता र नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेको हुन्छ । यसरी टिपेको फूलपातलाई आफ्नो डालामा सजाएर घरमा ल्याउँछिन र त्यसको भोलिपल्ट त्यही फूलबाट विषहरा देवताको पूजापाठ गर्ने गरिन्छ । यस पूजामा साँझको बेला तोडेर ल्याएको फूल अर्को दिन बिहान पूजामा प्रयोगमा ल्याइन्छ । यो प्रक्रिया निरन्तर १५ दिनसम्म चल्छ । यो पर्व श्रीमानको दीर्घायु तथा पति पत्नीबीचको समुधुर सम्बन्ध स्थापित गर्नका लागि हुन्छ ।

मधुश्रावणीको अन्तिम दिन टेमी दाग्ने परम्परा पनि रहेको छ । सुरुको दिनमा बालिएको बल्दै गरेको दीपकको बतिहरले घुँडामा पोल्ने पौराणिक परम्परा हो । यो विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । भनिन्छ नवविवाहिताको घुँडामा जति ठूलो फोका उठ्छ, उसको भाग्य त्यतिकै राम्रो हुन्छ । उसको श्रीमान त्यतिकै दीर्घायु तथा प्रिय हुन्छन् भन्ने लोक मान्यता रहेको छ । श्रीमानले आँखा छोप्छन् अनि घरपरिवारका अन्य महिला दुवै घुँडामा पानको पात राखी बलिरहेको दियोले पोल्ने गर्छ ।

यो उपक्रम कष्टसाध्य भए पनि नवविवाहिता बढो उत्साहका साथ यस विधिमा सहभागी हुन्छिन् । डाम्नेबेला परिवारका अन्य महिला मधुर गीत गाएर दुःख घटाई ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने मानिन्छ । मिथिला इतिहास अनुसार मुगल शासकबाट मिथिलाञ्चलका महिलाको अस्तित्व र अस्मिता बचाउन मधुश्रावणी सुरु गरिएको अध्येताको मान्यता पनि रहेको छ । पछिल्लो कालमा भने यो विवादित विषयमा बहस शुरु हुँदा, ‘टेमी’ प्रचलनलाई परिष्कृत गरिनुपर्ने आवश्यकता औँल्याउदा, ब्रतालुलाई बलेको बत्तीको लप्काले डाम्नु सट्टा शीतल चन्दनको लेप ‘शीतल टेमी’ दिने परम्पराको थालनी भएको हो । विधि विधानमा केही परिष्कारको कुरा उठनु र समयक्रममा ती स्थापित हँुदै जानु मैथिल समाजको सकारात्मक सोच हो । पर्वको अभीष्ट नै प्रेमसम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल एकमत देखिन्छन् ।

श्रावण शुक्ल तृतीयाका दिन वास्तविक मधुश्रावणीको महत्वपूर्ण विधि सम्पन्न हुन्छ । विगत १२ दिनसम्मका विभिन्न अनुष्ठान र विधि व्यवहारबाट दम्पत्तिलाई यसै दिनका लागि मानसिक रूपमा तैयार गरिएको हुन्छ । तृतीयामा पुनः सिन्दुरदान हुन्छ अर्थात् यो सिन्दुरदान विवाहदेखिको तेस्रो पटकको सिन्दुरदान हो । पहिलो सिन्दुरदान विवाहको बखत दोस्रो सिन्दुरदान विवाहको चौथो दिन र तेस्रो सिन्दुरदान मधुश्रावणीमा गरिने परम्परा रहेको छ । ब्राम्हण, कायस्थ र केही वैश्य जातिमा हुने यो पर्वमा तीन/तीनपटक सिन्दुरदान किन गरिन्छ ? यो वास्तवमा कुतूहुलताको विषय हो । यस बारेमा विद्वतबाट स्पष्ट धारणा आइसकेको छैन तर यसभित्र पुरुषप्रधान समाजका अगुवाले तयार पारेका विधि–व्यवहारबाट पक्कै पनि गुढनिहितार्थ लुकेको हुनुपर्दछ । यसरी पूजाको अन्तिम दिन मैथिल कन्याको सिन्दुरदान गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल संग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ । सुरुको र अन्तिम (समापन) को दिनमा व्रतीद्वारा समाज र परिवारको मान्यजनहरूमा अन्कुरी (भिजाएको बादाम) अनिवार्य बाँढ्ने प्रचलन रहेको देखिन्छ ।

पश्चिमी देशमा विवाहपश्चात् हनिमुन घरबाट टाढा गई मनाउँछन जसमा वरवधू स्वछन्द रूपले एक अर्काको नजिक आउने मौका मिल्छ । जसले एक अर्कोको बीचको सम्बन्ध प्रगाढ हुन्छ । तर, मिथिलाञ्चलमा हिन्दू विवाह पद्धतिमा विवाह एउटा धार्मिक विधान तथा रीतिरिवाज हो । आज विवाह वयस्क अवस्थामा हुने गर्छ तर पाँच दशकपूर्व १६ वर्षको कन्या विवाहयोग्य मानिन्थ्यो र विवाहपश्चात् एकदेखि पाँच वर्षपछि बिदाइ हुने गथ्र्यो । बेहुलाविना निमन्त्रणा ससुराली पनि जान सक्दैनथे । गए पनि दुई÷चार दिनभन्दा धेरै बस्नु पनि अनुचित मानिन्थ्यो । यस्तोमा यो पर्व नवदम्पत्तिको लागि बहुप्रतीक्षित ‘मधुमास’ हुने गथ्र्यो जसमा १५ दिनसँगै बस्ने अवसर प्रदान गरिन्थ्यो । मधुमय वातावरणबीच चित्र, गीत, कथा, हाँस परिहास शिक्षाको माध्यम हुन जान्छ ।

मिथिलाञ्लका महिलाहरूका लागि कठिन साधनाकै लागि हुने गरेकोले यसलाई पर्वकै रूपमा व्याख्या गरिएको छ । १५ दिनसम्म निष्ठापूर्वक विधि विधानको पूर्ण पालना गर्दै संस्कृतिले निर्दिष्ट गरेका कर्तव्यको पालना गर्नु कुनै साधनाभन्दा एकरत्ति पनि कम मान्न सकिन्न । आफ्नो दाम्पत्य जीवनको सुरक्षाको आकांक्षा यस पर्वको विशेषता हो ।

artistsuman.scd@gmail.com

२०७८ भदौ २ गते, 18 अगस्त 2021सौर्य दैनिक र souryaonline.com मा प्रकाशित ।

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA