ट्याटु आर्ट : आधुनिकताको पहिचान एससी सुमन

 


कुनै समयमा आदिवासी जनजातिमा सीमित परम्परागत रूपमा खोपिने ट्याटु आजभोलि समाजका हरेकजसो समुदायमा सोखको विषय बनेको छ । समाजमा राम्रो र नराम्रो दुवै दृष्टिले व्याख्या विश्लेषण हुँदै आएको ट्याटु पछिल्लो समय युवामाझ बिस्तारै आधुनिकताको पहिचान भएको छ । जनजातीय कला तथा मिथिला लोककलाको अभिन्न अंगको रूपमा रहेको ‘गोदना पेन्टिङ’ आजको युवायुवतीदेखि लिएर हलिउड, बलिउड, कलिउड, फुटबल खेलाडी, क्रिकेट खेलाडीसम्मलाई आफूतिर ट्याटुको नयाँ नामले आकर्षित गरेको छ । आजका युवापिँढीमा गोदनाको यो नयाँ अवतारलाई शानको प्रतीकको रूपमा अंगीकार गरेका छन ।

कुनैवेला यसलाई पिछडिएको ‘देहाति, पाखे’ परम्परा मानिन्थ्यो तर आज सौखिन सहरी हाइटेक युवा समुदायले मनपराउने भएको छ । पहिले आदिवासी जनजातिले आफ्नो जिउभरि खोप्थे, तर आज यसले रूप बदलेको छ । आजको फेसन ट्याटुको रूपमा देखापरेको छ । गोदना शैलीको आकर्षण समयसँग कमवेशी भए पनि, फेसनमा लुगा र ऐसेसरिज बदल्ने चलन रहेजस्तै, यो परम्परा यद्यपि लोकप्रिय र विस्तारित हुँदै गएको छ ।

धेरै मानिसको जिउमा हुने ट्याटुले उनीहरूको जीवनमा घटेको महत्वपूर्ण घटना, व्यक्ति वा वस्तुसँग पक्कै पनि प्रभावित भएको हुने गर्छ । ठाउँअनुसार ट्याटुको महत्व पनि फरकफरक हुन्छ । विश्वको अनेकौँ जनजाति समुदायमा ट्याटुले त्यो समुदायको धर्म र संस्कृतिलाई समेटेको हुन्छ । अहिलेको पश्चिमी समाजमा भने ट्याटु फेसन र सौन्दर्यको लागि बनाइने थुप्रैको भनाइ रहेको छ ।

सन् १९९९ मा रिलिज भएको हलिउड चलचित्र ‘द ममी’ मा ट्याटु कल्चरको झलक पाइन्छ । प्रमाणिक इतिहास खोतल्दा शोधकर्ताले हजारौँ वर्ष पुरानो मम्मी भेटे, जसमा ट्याटु बनाइएको थियो । यो चलन विश्वका अनेकौँ देशमा शताब्दियौँसम्म रहेको थियो । युरोपमा खोजको क्रममा एलप्सको प्रसिद्ध ओट्ज उपत्यकामा भेटिएको मम्मीले शोधकर्तालाई आकर्षित गरे । उसको जिउमा ६१ ट्याटु थियो, जो कार्बनको सहायताले बनेको थियो । यो मम्मी ३२५० ईसापूर्वको थियो ।

हुन त ट्याटु विश्वबजारमा १५औँ शताब्दीदेखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिकालगायत युरोपियन मुलुकले यसलाई प्रचलनमा ल्याएका हुन् । तर, ट्याटु खोप्ने कलाकार भने जापानले धेरैभन्दा धेरै उत्पादन गरेको बताइन्छ । खासगरी सैनिकलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि ट्याटु खोप्ने प्रचलन थियो । जुन आधुनिक विश्वमा आउँदा ख्यातिप्राप्त फेसन बनिसकेको छ । १७औँ देखि १९औँ शताब्दिमा त्यहाँ मालबाहक, वेश्या र तल्लो दर्जाका काम गर्नेहरूको समाजमा आफ्नो पहिचान उजागर गर्नका लागि ट्याटु खोप्नुपथ्र्यो । अपराधीको अनुहार र शरीरको अन्य भागमा विशेष ट्याटु बनाएर उसलाई समाजबाट अलग्ग चिन्हित गरिन्थ्यो । जापानमा भने ट्याटुले अनेकौँ कुराको चित्रण गर्दछ ।

ब्रिटेनमा पनि शरीरमा ट्याटु खोप्ने चलन सदियांँ पुरानो हो । ब्रिटेनको एसेक्स युनिभर्सिटीको प्रोफÞेसर मैट लाडरका अनुसार ब्रिटेनका राजकुमार जर्ज पञ्चम सन् १८८१ मा आफ्नो जापान भ्रमणको क्रममा आफ्नो पाखुरामा नीलो र रातो रङको ड्रागन खोपाउँदा उसको अत्यधिक चर्चा भयो । राजकुमार जर्जको ट्याटु साथै यो ट्याटु आर्टमा पनि शाही मोहर लाग्यो । जापानमा सन् १८६८ मा ममेजी राजशाहीको स्थापनासँगै पश्चिमी देशसँग जापानको कारोबार बढेर गयो । त्यसपछि जापानी कला र चीज बिजको माग पश्चिमी देशमा बढ्दै गयो । जिउभरि ट्याटु बनाउने आधुनिककला जापानमा सुरु भई बिस्तारै पश्चिमी देशमा बिस्तारित हुँदै गयो । जापानमा जिउभरि ट्याटु बनाउने फेसनको चलन युरोपमा यहाँका एलिट (हुनेखाने वर्ग) ले रुचाएको कारणले यसको चलन बढ्दै गयो । तत्पश्चात् फ्रान्स र अमेरिकामा समेत सामाजिक प्रतिष्ठा प्राप्त ग¥यो ।

विकसित मुलुकमा ट्याटुले धेरै पहिला व्यावसायिक रूप लिए पनि नेपालमा ट्याटुको व्यवसायको इतिहास अन्य देशको तुलनामा ढिलो भएको पाइन्छ । नेपालमा ट्याटु भित्रिएको धेरैपछि मात्र हो । यद्यपि ट्याटु क्रेजले गर्दा हिजो–आज यो व्यवसाय नेपालका मुख्य सहरमा व्यवसायिक रुप ट्याटु आर्टिस्टको सक्रियतामा स्थापना भएको हो । अरु सहरको तुलनामा पर्यटकीय नगरक्षेत्र काठमाडौंको ठमेल, पोखराको लेकसाइड, नारायणघाट, धरानजस्ता ठाउँमा यसको व्यापारिक केन्द्रको रूपमा विकसित हुँदै गएको छ ।

आजको आधुनिक ट्याटु विविध रङमा देख्न सकिन्छ । भनिन्छ, गोदना एउटा परम्परा हो । आदिवासी जनजाति समाजमा यो परम्परा हो भने सम्भ्रान्त, सेलिब्रेटी र ठूलो हस्तीका लागि फेसन र एट्रेक्सनको माध्यम बन्न गएको छ । २१औँ शताब्दिमा पारम्परिक कला नयाँ ढंगले सजिँदैछ । सौन्दर्य, साहस, शक्ति, आत्मविश्वास र विद्रोहको मिश्रित भाव यद्यपि यथावत् छ । फरक यतिमात्र हो गोदना ट्याटु भएर भित्रिएको छ । गोदना हाम्रो मातृभाषाको शब्द हो भने ट्याटु अंग्रेजी शब्द हो । गोदना शब्दको प्रयोगले पिछडिएको भनी हिनताबोध हुने गर्छ । यसको विपरीत ट्याटुको प्रयोग हामीमा आधुनिकताको बोध गराउँछ ।

स्वअभिव्यक्तिको सुन्दर माध्यमका रूपमा लिइने ट्याटुको क्रेज नेपालमा दिनप्रतिदिन बढ्दो छ । आफ्नै शरीरलाई कलाको क्यानभास बनाइने ट्याटु–क्रेज आश्चर्य गरी बिस्तारित हुँदैछ । हुन पनि हो, प्रत्येक विकास पाश्चात्य मुलुकबाट आएझैँ आधुनिक ट्याटु पनि पश्चिमी मुलुकबाट पुनः हामीकहाँ भित्रिएको हो । यसलाई हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा हाम्रो कुरा हो । यसलाई हामीले अर्थपूर्ण ढंगमा प्रयोग गर्नुपर्छ । लगनशील र सिर्जनशील ट्याटु आर्टिस्टको सक्रियताले जापानी र युरोपेली डिजाइन सँगसँगै नेपाली डिजाइनको लोकप्रियता र बढ्दो बजारको माग अनुसारको आपूर्ति हुँदा व्यवसाय मौलाएको छ ।

अंग लेखनका सूर्य, चन्द्रमा, बिच्छी, मयुर, हात्ती, घोडा, माछा, कछुवा, फल, फूल–पात, रुख, लहरा, पुतली एवं जंगल प्रतीकात्मक रुपमा बनाइने परम्परागत रुपाकारमध्ये केही आकृति यद्यपि केही फेरबदलसँग आधुनिक ट्याटु आर्टमा आफ्नो उपस्थिति जनाइरहेका छन् । महिला र पुरुषको रुचि फरक–फरक भए पनि पुरुषमा भगवान विष्णुको शंख, चक्र, गदा, पद्म, भगवान शिवको ॐ, त्रिशुल, शिवलिंग वा हनुमानजस्ता चित्राकृति खोपाउने चलनले पुरुषार्थको प्रतीकको रूपमा आज पनि यथावत् छ । राष्ट्रियतासँग जोडिएको प्रतीक चिन्ह हाम्रो राष्ट्रिय झण्डा, लालीगुराँस, डाँफे, खुकुरी, भगवान बुद्ध र बुद्धसँग जोडिएको प्रतीक चिन्हहरू प्राथमिकतामा पर्ने गरेको छ । आजको यान्त्रिक युगको सजिलो माध्यम गुगलबाट रुचाइएको डिजाइन कपी पेस्ट र प्रिन्ट सजिलै गरिन्छ ।

जापानी डिजाइनले विश्व ट्याटु आर्ट बजारलाई प्रभावित गरेको पाइन्छ । हुन त जापानको ओन्सेनमा ट्याटु देखाउन मनाही छ । जापानमा सार्वजनिक स्थलमा ट्याटु देखाएर मानिस हिँड्दैनन् । यस पछाडिको कारण चाहिँ ट्याटुलाई याकुजÞासँग जोड्नु हो । जापानका माफिया मानिने याकुजाहरू आफ्नो शरीरमा ट्याटु रंगाउने गर्दछन् । पहिले पहिले जापानमा ट्याटुले त्यो मानिसको सामाजिक स्ट्याटस देखाउँथ्यो । ट्याटुलाई आध्यात्मिक प्रतीक मानिन्थ्यो । यो बुद्ध धर्ममा पनि देखिन्छ । कालान्तरमा यो जिउ खोप्ने कलाले अपराधको परिचय लिन थाल्यो । यही अपराधसँगको संलग्नताले गर्दा याकुजाहरूले ट्याटु बनाउने मानिन्छ । हाम्रो सामाजिक सोच पनि मिल्दोजुल्दो छ । आज पनि अभिभावकले आफ्नो छोराछोरीले ट्याटु खोप्दा सहजतासँग स्वीकार गर्न गाह्रो छ । अपराधसँग जोडिए पनि जापानी ट्याटुकलालाई विदेशीहरू निकै उत्कृष्ट मान्दछन् । यो जापानी कारिगरी देखेर जोकोही मोहित हुन्छन् । जापानी ट्याटुमा प्रयोग गरिने चित्र र प्रतीकको विशेष अर्थ हुने गर्दछ ।

ट्याटु आर्ट्मा जापानिज ड्रागन सर्वाधिक रुचाइएको प्याटर्न हो । ड्रागनहरू जापानी र चिनियाँ संस्कृतिको अभिन्न अंग रहेको छ । जापानी ड्रागन धेरैजसो पानी र केही ड्रागन बुद्धको मन्दिरसँग सम्बन्धित हुन्छन् । त्यसैले बुद्धको मन्दिरमा ड्रागनको आकृति कुँदिएको पनि थुप्रै भेटिन्छ । पश्चिमी मुलुकमा ड्रागनले सम्पत्ति, शक्ति र आक्रामक प्रकृति जनाउँछ । यसैगरी टाइगर, टाइगरलाई जापानीमा तोरा भनिन्छ । खासमा भन्नुपर्दा ट्याटुमा टाइगर चिनियाँ संस्कृतिबाट अपनाइएको हो । बाघजस्तै यो प्रतीकले बल, साहस र लामो आयु जनाउँछ । यसले दुष्ट आत्मा र दुर्भाग्यबाट जोगाउने मान्यता छ । त्यसैगरी शरीरमा तोराको प्रतीकले रोगब्याधिबाट पनि जोगाउने भनिन्छ ।

छाल र पानी शालीन र विकराल रूप पनि लिनसक्ने हुनाले जापानी ट्याटुमा छाल र पानीको चित्रण पनि उत्तिकै देख्न सकिन्छ । पानी र छाललाई कोइ माछा, ड्रागन र राक्षस (ओनी) सँग मिलाएर लोभलाग्दो कलात्मक रुप दिइन्छ । पानीलाई जापानी संस्कृतिमा ठूलो शक्तिको रुपमा लिइन्छ । कोइ माछा एकप्रकारको कार्प माछा हो । जापानमा यो माछालाई निकै माया र सद्भावले हेरिन्छ । तसर्थ कोइ माछालाई मन्दिरको पोखरी, खोलामा राखिन्छ । त्यसैगरी पुरानो मन्दिर, कृतिहरूमा यो माछाको चित्रण गरिन्छ । कोइ माछाले पुरुषत्व गुणजस्तै साहस र बल जनाउने मानिन्छ । साकुरा र लोटस फ्लावर ट्याटु जापानी ट्याटुमा लोकप्रिय डिजाइन हुन् । साकुरा र कमलको फूल जति नै सुन्दर हुन्छ त्यति नै चाँडो झरेर जान्छ । जापानीहरू साकुरा र कमलको फूललाई मानिसको जीवनसँग दाँज्छन् । जसरी फूल ओइलाएर झर्छ, मानिसको चोला पनि एउटा समयपछि ओइलाएर जान्छ । त्यसैगरी साकुराले माया, ममता, सुन्दरता र अन्तिममा झरेर सकिनुलाई चित्रण गर्छ । यही भावसँग जापानी ट्याटुमा साकुराको फूलको चित्रण गरिन्छ ।

पौराणिक मान्यतानुसार गोप्य अंगमा गोदना खोप्नु हुन्न भन्ने रहेको पाइन्छ । आधुनिकताले यो मान्यतालाई बिस्थापित गरेको छ । यौनिकता झल्काउन र आफूलाई चर्चित बनाइराख्न गोप्य ट्याटुको सहारा लिने मानिसको पनि कमी छैन । अधिकांश सौन्दर्य र मायाको चिनोको रुपमा खोपिएको ट्याटु, आमाबाबुले छोरा छोरीको, छोराछोरीले आमाबाबुको, प्रेमी र प्रेमीकाले एक आपसमा नाम त केहीले पूर्ण तथा आधा तस्बिरसमेत शरीरका विभिन्न भागमा ट्याटु खोपेर मायाको चिनोको रुपमा प्रयोग बढ्दै गएको छ । कहिलेकाहीँ प्रेमी र प्रेमिकाको बीचमा ब्रेकअप हुँदा मायाको लागि खोपिएको रुपाकार छोपेर नयाँ प्रकृतिमा रूपान्तरण गर्ने गरिन्छ ।

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

प्रतीक – उद्भव र विकास

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA