समकालीन परिदृश्यमा लोककलाको चर्चा : एससी सुमन

 समकालीन परिदृश्यमा लोककलाको चर्चा : एससी सुमन



लोककलाको नाम लिनेबित्तिकै हाम्रो मानसपटलमा हाम्रो गाउँघरमा यत्रतत्र देखिने विभिन्न प्रकारको अरिपन, लिखिया, चौक, कोहबर, साँझ, अन्यान्य विभिन्न प्रकारको भित्तिलोकचित्र, माटोबाट बनेका चक्का–तख्खा, कोठीको स्मरण हुने गरेको छ । यी चिजहरू आज पनि हाम्रो लोकसंस्कृतिको अभिन्न अंग हुन्, जो उन्मुक्त वातावरणमा विभिन्न रूपरङमा आफ्नो महत्व दर्शाइरहेका छन् । जसले गर्दा नेपाली कलालाई विश्व मानचित्रमा समृद्ध र सशक्त अमूल्य निधिको रूपमा चिनिन्छ । हुन त लोककला भन्नेबित्तिकै आजका कलाकार यानी समकालीन आधुनिक अमूर्त कलामा प्रविधिलाई विशेष महत्व दिने कलाकार, यसलाई अप्रासंगिक भन्ने गरेका छन् र प्रगतिविरोधी पनि मान्ने गरेका छन् ।


लोककलामा परम्परागत पुस्ता दरपुस्ता हस्तान्तरण भै पुनरावृत्तिको कारणले यसलाई कलाको श्रेणीमा नराख्ने तर्क पनि गर्छन् । केही विद्वान कलाकार प्राचीन मान्यतामा आधारित लोककलालाई प्रगतिशील चिन्तनसँग सम्बन्धित मान्न तैयार नहुनुमा पूर्वाग्रही भएको भान हुन्छ । जसले वास्तवमा यो आरोप वा मूल्यांकनको विभिन्न तर्क गर्छन् । लोककला पुस्ता दरपुस्ता यानि एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित हुँदै आएको कुरा सत्य हो तर, के यो हस्तान्तरणमा कुनै परिवर्तन हुँदैन ? भन्ने प्रश्न उठ्छ । यस्तो होइन जब हामी विभिन्न लोकचित्रको अध्ययन गर्छौ, हामी पाउँछौ समयानुसार कलाकारले समकालीन रङ र आकृतिको प्रयोग गर्ने गर्छन् । आजको परिवर्तनशील समयसँगको परिवेशबाट प्रभावित हुने गरेका छन् । मिथिला क्षेत्रको कोहबर घरमा वा पहाडी समुदायमा बेहुला अन्माएपछि दिदी बहिनीहरूले बेहुलाको कोठाको भित्तामा लेख्ने चित्र (जिम्टी) बनाउँदा बेहुलाको सुटटाइमा (आधुनिक ड्रेस), फ्रेन्च कट दाढीमा लाबा भुट्दै गरेको दृश्य देखिनु, डोलीको ठाउँमा कारको आकृतिको प्रयोग हुनु, रातो रङको पानको पात (आधुनिक प्रेमको प्रतीक दिल), विभिन्न प्राकृतिक रङको ठाउँमा नयाँ–नयाँ सहज उपलब्ध आधुनिक रङ तथा तकनीकको प्रयोग, साथै रिलिफ वर्कको समावेशले लोककलाकारले आफ्नो स्वभावानुरूप युगातीत सामग्रीलाई समकालीन परिवेशमा प्रस्तुत गर्नु कुनै आश्चर्यजनक होइन ।

पंक्तिकारको प्रत्यक्ष अनुभवलाई केलाउँदा केही, कलाकार आफ्नो चित्रको शृंखला बनाउँछन्, एउटै कलाकृति केही परिवर्तनसँगै प्रस्तुत गर्छन् त्यो पनि पुनरावृत्ति नै हो । आफ्नो सिर्जनामा समकालीन विषय सामाजिक, आर्थिक, राजनीतिकको उठान, उत्पीडन, कुरीति जस्ता कथाव्यथाको चित्रणसँगै लोक प्रतीकात्मक प्रतीकको समावेशले कलाकारको कलाकृति जनसमक्ष प्रस्तुत हँुदा आफ्नो अलग पहिचान बनाई जय प्राप्त गर्दै आएका छन् ।


समकालीन परिदृश्यमा नेपाली लोककलाप्रतिको आमजनभावना राष्ट्रिय जागरणको संकेत हो । लोककला अन्तर्गत चित्रकला, स्थापत्यकला, मूर्तिकला, हस्तकला प्रमुख हो । सबै कलाको कलात्मक अभिव्यक्तिको दृष्टिले नेपाली जन–जीवनमा मात्र युगौयुगदेखि आज वर्तमानमा पनि यसको विशेष महत्व दृष्टिगोचर हुन्छ । लोक संस्कृतिको महत्वपूर्ण भाग हो लोककला । यो हाम्रो संस्कृतिको पहिचान हो । जसमा मौलिकताको अनुभूति हुन्छ । जहाँसम्म नेपाली लोकसंस्कृतिको कुरा हो यसमा लोककलाको विशेष महत््व छ । कलाको प्रायोजन अभिव्यक्ति, यश प्राप्ति, हृदय तत्वको प्रधानता, धनोपार्जन, सेवा, आनन्द प्राप्ति, विश्व कल्याण आदि हुन् सक्छ । यो नै कलाको सत्यता र शक्ति हो ।

कलाकार सत्यम, शिवम् सुन्दरमको सुमिरनमा आफ्नो भावोच्छ्वासको मनन गर्छन् तर सत्यम, शिवम् सुन्दरम्को अर्थ सोध्दा, उत्तरको विश्लेषणमा मात्र अल्झेको पाइन्छ । वस्तुतः यस्ता कलालाई कलाकारको सर्वथा वैयक्तिक अनुभूतिको घेरामा घेरेर राख्न चाहन्छ । तसर्थ, त्यसको कलालोचनको कसी निजी भावना हुन्छ । यस विचारधारको अभिव्यक्ति छायाँवाद र रहस्यवादमा हुन्छ र अन्त्यमा त्यो विषाक्त व्यक्तिकताको दलदलमा हराएर जान्छ । तर यी सब दशामा यसको पछाडि जीवनको अनुभूति अवश्य हुन्छ तर जीवन नितान्त व्यक्तिगत रहिरहन्छ । यो दृष्टिकोण र अनुभूति पहिलो कोटिको कलाकारको आदर्शवादी श्रेणीमा पर्छन् । यसरी कलाको प्रति आदर्शवादी, सौन्दर्यवादी र जडवादी तीन प्रकारको दृष्टिकोण प्रचलनमा आएको हो ।


दोस्रो दृष्टिकोण कलाको स्वतन्त्र सत्ताको आफ्नो आधारशीला मान्छ । यस मतलाई मान्नेले सर्जकको व्यक्तित्वबाट अलग्याएर रूप विन्यास र शिल्प भाषामा कलाको सिद्धान्तको निरूपण गर्छ । यिनको मान्यता ‘कला, कलाको लागि’ । यो कलाकृति बुझ्नको लागि अथवा कला सिर्जनाको लागि जीवनको व्यक्तिगत अथवा सामाजिक–संस्पर्शलाई आवश्यक मान्छन् । तसर्थ, यस विचारको परिणति पहिलो अनुरूप व्यक्तिगत अभिरुचि, चिन्तन र रूप योजनामा हुन्छ ।

तेस्रो दृष्टिकोण, जो जडवादी हुन्छ इतिहासको आर्थिक व्याख्यालाई आफ्नो आधार मान्दछ । यो पहिलो र दोस्रो दुवै दृष्टिकोणलाई निराकरण गर्छ, किनकी यस दृष्टिबाट जो आदर्श कला हुन्छ, त्यसमा वर्ग संघर्षको सुत्र भेटिनु पर्दछ । त्यसमा भावको उत्कर्ष र रूप विन्यासको कुशलता दुवै गौण हुन्छ । यसप्रकारको कलाका उदाहरण कम्युनिस्टको मार्ग भ्रष्ट तथा कथित प्रगतिवादी साहित्यमा भेटिन्छ ।

उपयुक्त तीनै दृष्टिकोणमा जे फरक छ त्यो मात्र मतवादको कारण हुनजान्छ, अन्यथा विभिन्न यस्ता स्थल छन् जहाँ तिनै सीमा एक अर्कासँग अल्झेको छ । यसको अर्थ हो कलाको लागि भौतिक जीवनको अनुभूति र भावना जति सत्य छ, त्यति नै उनको रूप योजना पनि । जहाँ दुवै सत्यको समन्वय हुन्छ, कला निखारिन्छ ।

नेपाल कृषिप्रधान देश हो । यहाँको मुख्य पेशा कृषि हो । मिथिला लोककलालाई कृषि संस्कृतिको उपज मानिन्छ । जो नेपाली किसान संस्कृतिको अद्भूत तथा महत्वपूर्ण पक्ष हो । कृषिप्रधान भएकोले यहाँ गाउँको संख्या नै धेरै छन् । प्रत्येक ठाउँको सामाजिक एवं आर्थिक व्यवस्था एक अर्कोबाट फरक हुने कारण हो विभिन्न वर्गं, समुदायको विभिन्न क्षेत्र विशेषमा बसोबास । उनको खानपान, रीतिरिवाजमा पनि भिन्नता पाइन्छ । मानव सभ्यताको सुरुवात्मा पुरुष र महिलाका बीचमा काम विभाजन हुँदा पुरुषले घरबाहिरको काम र महिलाले घरभित्रको काम सम्हाल्न पुगे । जीवनयापनको क्रममा महिलाले आफ्नो घरलाई सुन्दर बनाउन विभिन्न कलाकृतिको निर्माण गरे भने पुरुषले धार्मिक अनुष्ठानका बेला वेदी बनाउँदा विभिन्न आकारप्रकारका यन्त्र बनाई यसलाई सजाउन थाले ।

महिलाले बनाएको कला सेन्सुअल तथा आध्यात्मिक र संस्कारजन्य सौन्दर्यसँग जोडिन पुगेपछि यसलाई उच्चकोटिको कलाको दर्जा दिइएन । फलस्वरूप महिलाले बनाएको कलालाई पनि विभिन्न सामाजिक, सांस्कृतिक र धार्मिक अनुष्ठानसँग जोडेर सर्वमान्य लोककलाको रूपमा विकसित गरियो । परिणामस्वरूप यस कलालाई देवीदेवतालाई प्रसन्न पार्न प्रयोग गरिन थाल्यो । प्रत्येक उत्सवमा यसको अनिवार्यता, प्रत्येक घरमा यसलाई पूर्णनिष्ठापूर्वक मैथिलानीले बनाउन लागे । यस्तैगरी यो कला देवीदेवताहरूसँग मानिसको साक्षात्कार गराउने माध्यमका रूपमा हेरिन थाल्यो यो नै कालान्तरमा मिथिला संस्कृतिमा संवाहक बन्न पुग्यो । साथै मिथिला संस्कृतिको संवाहक पनि ।

मैथिल संस्कृति अतिप्राचीन संस्कृति हो र यसलाई साथ दिँदै अगाडि मैथिली कला परम्परागत रूपमा सँग रहँदै आएको छ भने यहाँको चित्रकला पनि त्यत्तिकै प्राचीन छ, किनकी यहाँको संस्कृतिको कलासँग घनिष्ठ सम्बन्ध छ, अर्थात् मिथिला कला मैथिली संस्कार र संस्कृतिको उपज हो तसर्थ मैथिली कला व्यूत्पति र विकासक्रमको इतिहास जति नै प्राचीन छ मैथिली संस्कृति नै मैथिली समाजको जीवनपद्धति हो । आज पनि प्रत्येक चाडपर्व सामाजिक एकता र संगठनकै रूपमा मनाइन्छ । यस अवसरमा मिथिलानीले गोबर, माटोले आँगन लिपी रेखाचित्र बनाउने गर्दछन् । यो भूमिचित्र अरिपनको नामले प्रसिद्ध छ । इतिहास–पुराणहरूमा सुप्रसिद्ध ६४ कलामध्ये आलेपन (आलिम्पन) मिथिलामा अरिपन कलाको एउटा स्वरूप मानिन्छ ।


मिथिला संस्कृतिमा जीवन र चित्रकलाको सम्बन्ध प्राचीनकालदेखि नै रहँदै आएको छ । जसमा अरिपन वैदिककालबाट परम्परागत रूपमा चल्दै आएको छ । यो चित्रलाई वेदमा सर्वतोभद्र नामबाट आएको छ तथा यसलाई वैदिक यज्ञमा यज्ञमण्डपको केन्द्रमा स्थण्डिलमा (यज्ञवेदी) चामलको धुलो (पीठो) अथवा अन्य पवित्र विभिन्न रङबाट बनाइँदै आएको छ । मिथिलामा आज पनि अरिपनको लेखन सामग्रीको निर्माण चामलबाट हुन्छ जो यहाँको उत्पादन हो र सेतो रङको स्थानमा चामल वैदिक कालबाट प्रयोग हुँदै आएको छ । तसर्थ यो पुष्टि हुन्छ की सर्वतोभद्र चित्रको स्वस्तिक अरिपनको लेख्ने प्रथा परम्परागत रूपमा चल्दै आएको छ र यसको नाम सर्वतोभद्रको स्थानमा स्वस्तिक बन्यो र दुवै शब्दको अर्थ मंगलकारी नै मानिन्छ ।

आजको युगमा मात्र सुविधा र समयाभावको कारण नयाँ पुस्ता यो युगको वैज्ञानिक रीतिबाट बन्ने रङको (आधुनिक रङ) व्यवहारमा ल्याउन लागे र आज चित्रको व्यापक मागसँगै आधुनिक रङको व्यापक प्रयोगले प्राकृतिक रङ प्रयोग प्रायः लुप्त भइसकेको छ । मिथिलामा आज पनि पुराण, रामायण तथा महाभारत महाकाव्यमा वर्णित त्यो समयको प्राचीन स्थान तथा

मुनिको आश्रमस्थित छ जसको पूर्णविवरण मिथिलाको इतिहास अध्ययनबाट थाहा हुन्छ जो स्वयंसिद्ध छ ।

artistsuman.scd@gmail.com

२०७८ जेठ १९ गते, 2 jun 2021 सौर्य दैनिक तथा  www.souryaonline.com मा प्रकाशित







Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन