कलामा रुखको महत्व 'ट्री अफ लाइफ' : एससी सुमन

 




जल, जंगल र जमिन मानिसका लागि जीवनको आधार हो । गाछी अर्थात् ‘रूख’ रोपेर मात्रै जंगल बन्दैन, वर्षौंवर्षपछि प्रकृति बन्छ । जंगलको अर्थ मात्र बाघ–भालु बस्ने ठाउँ होइन, यसमा भ्यागुता हुन्छ, किरा–फटयांग्रा खाने चमेरो र पशुपंक्षीको पनि साझेदारी हुने गर्छ । जहाँ सम्पूर्ण जैविक शृंखला हुन्छ । जंगलमा अद्भूत परिघटना भइरहन्छन् । जंगल कोइलीको कुहु–कुहुले गुञ्जयमान हुन्छ । कालो बादलसँग मयूर नाच्छन्, सुनगाभाले सुगन्ध छर्छ । चन्दन वृक्षले विशिष्ट सुवाससँगै सर्पलाई आवास दिन्छ । जीवन बाँच्नका लागि सबैभन्दा आवश्यक हो हावा, पानी र जमिन । गाछीले हामीलाई प्राणवायु दिन्छ । जो अनिवार्य हो जीवनका लागि ।

मिथिला कसमसरुपी ब्रह्माण्डमा चित्रकला मात्र एक चित्रकला होइन, यसभित्र मानवीय जीवनको गहिरो जरो गाडिएको छ । मिथिला चित्रमा चित्रित ट्रि अफ लाइफ, जसले आफूमा मानव जीवनको एक सम्पूर्ण दृष्टि दिन्छ । वरबधूको शयन कक्ष ‘कोबर’ घरमा भगवतीलाई मनपर्ने र नारीशक्ति, सौन्दर्य तथा कोमलताको प्रतीक मानिने हुँदा कमललाई कोहवरमा निकै ज्यादा महत्व दिइन्छ । कमल र पोखरीले सम्पूर्ण मिथिला सुशोभित छ । धनकी देवी लक्ष्मीको प्रतीक तथा भगवान् विष्णुका लागि पनि कमल प्रियपुष्प हो । कोहवरमा प्रतीकात्मक अर्थ लाग्ने चित्रहरू लेखिन्छ । मिथिला कलामा प्रतीकात्मकता र सौन्दर्यलाई प्राथमिकता दिइन्छ । बाँस पुरुष र वंश वृद्धिको द्योतक मानिन्छ । कमल र बाँसले महिला र पुरुषको सम्बन्ध प्रस्तुत गर्दछ ।

सांख्य दर्शनानुसार पुरूष एवं प्रकृति दुई छुट्टाछुट्टै तत्व हुन र दुवैको संयोगले सृष्टि सम्भव हुन्छ । पुरूष निष्क्रिय हुन्छ र प्रकृति चञ्चल, जो माया हो र हाउभाव बदलिरहन्छ । तथापि पुरूषविनाको यो संसार, यो सृष्टि सम्भव हुन सक्दैन । सूर्यलाई पुरूषको उपमा दिइन्छ भने प्रकृतिलाई चन्द्रमाको, तसर्थ सूर्यको तेजले चन्द्रमा प्रकाशवान् हुने गर्छ ।


सुहागकक्षलाई सफासुन्दर तथा रोमाञ्चक बनाउन भित्ताभरी सुन्दर एवं आकर्षक चौकुनाभित्र देवता, कमल, नाल, फलफूल, लहरा, पात पञ्च पल्लवसँगै बेलको रुख, ल्वाङको रुख, कदमको रुख, तुलसी, अमलाको रुख आदि चित्रांकित गरिन्छ । सबैभन्दा माथि चन्द्रमाको मुखाकृितको द्योतक एक मुहारचित्र अंकन गरिन्छ । त्यसको दुवैतिर एक जोडी मयुर वा जोडी सुगाको चित्र बनाइन्छ । यस्ता चित्रमा माछा, कछुवा, शंख, बिच्छी, गँगटो, सर्प लगायतका कमल दहभित्र पाइने विभिन्न जीवजन्तुका आकृति हुन्छन् । कोहवरमा चित्रित जलजीवको सांकेतिक महत्व हुन्छ । कमल पुष्प नारीशक्तिको प्रतीक हो भने माछा उर्वरता तथा कछुवा कल्याणकारी सत्ता, धर्ती र जलको प्रतीक हो । यसैगरी कमल नालले आच्छादित तलाउमा स्वच्छन्द विचरण गर्ने माछा, कछुवा, सर्प, बिच्छी, शंख, भ्यागुता आदि जलजीव सांसारिक जीवनका प्रतीक हुन् । लटपटुआ सुगा, जोडी सुगा, विध विधाता, सूर्य, पाञ्चायन देवता, नवग्रह, पटिया, नागनागिन, नयनायोगिन (नैना जोगिन), पानको घर, भँमरा, राधाकृष्ण, शिवपार्वती, हात्ती, डोली चढेकी दुलही र जन्तीसहितको टोली, हात्तीमा स्थापित गौरी भवानीको पूजा गरी रहेका वरबधू ।


मिथिला चित्रकलामा प्रस्तुत ‘ट्रि अफ लाइफ’ प्रतीक चिन्हको लामो ऐतिहासिक परम्परा रहेको छ । चाहे त्यो अरिपन, कोबर, देहरी लेखनजस्ता परम्परागत चित्रांकन सँगसँगै समकालीन मिथिला कलामा रोमाञ्चक विषय हुन गएको छ । स्वयं पंक्तिकार सन् २०१३ मा प्रदर्शित ‘ट्रि अफ लाइफ’ शीर्षकमा आयोजना गरिएको एकल प्रदर्शनीको लोकप्रियताले मिथिला चित्रले समकालीन विषयमा प्रवेश पायो । तत्पश्चात् पुनः सन् २०१६ मा ‘कल्पवृक्ष’ शीर्षकको एकल कला प्रदर्शनीको लोकप्रियता मिथिला लोककलाभित्र ‘ट्रि अफ लाइफ’ लगायत समसामयिक विषयमा चित्रांकन गर्ने फराकिलो बाटो निर्दिष्ट ग¥यो । जसले मिथिला चित्रलाई अन्तर्राष्ट्रिय जगतमा लोकप्रियताको नयाँ उचाइ दियो ।

मिथिलामा ‘ट्रि अफ लाइफ’ को अर्थ कसैका लागि छुट्टै हुने भए पनि यसको मूलमा, मानवजीवन एवं प्रकृतिको मध्य–सम्बन्धको प्रतीक हो । माटोमा गहिरोसम्म गाडिएको जराले मानव प्रजातिको पृथ्वीले पालनपोषणको सम्बन्धलाई दर्शाउँछ । वृक्षको हाँगामाथि आकाशतिर उन्मुख हुन्छ । चराचर जगतको सूर्यबाट प्राप्त हुने जीवन ऊर्जातिर संकेत गर्दै निरन्तर वृद्धिको संकेत गर्छ । अर्को शब्दमा भन्ने हो भने परिवार र वंशको प्रतीकको रूपमा जीवनचक्रलाई दर्शाउँछ । सानो बिउ अंकुरित भई विशाल रुख हुनु, नयाँ फलको बिउबाट फेरि नयाँ गाछी हुनु । यसले नै वंशवृद्धिको संकेत गर्छ । यसका फैलिएको हाँगा परिवारको सदस्यबीच आपसी प्रेमसम्बन्धको प्रतीकलाई प्रदर्शित गर्छ । चराचुरुंगीले आफ्नो गुँडमा आफ्नो चल्ला हुर्काउन किरा–फट्यांग्राको शिकार गरी आफ्नो बच्चालाई खुवाउँछ । सर्पले चल्लाको शिकार खोजिरहन्छ, माउ चराले आफ्नो बच्चाको दिनरात सुरक्षा गरी हुर्काउँछ । जीवजन्तुले खाएर फालेको बिउ पृथ्वीको गर्भमा निश्चित समयसम्म सुरक्षित रहेर पुनः अंकुरित हुने गर्छ । यो प्रक्रिया निरन्तर चलिरहन्छ । यसले पर्यावरणलाई सन्तुलित बनाइ राख्छ ।

‘वृक्ष’ हाम्रो वैदिक, संस्कृति, धार्मिक उत्कृष्टता र सम्पन्नताको प्रतीक हो । कति विशाल हृदय, उदार, त्याग–बलिदानको भावनाले परिपूरित छ । जो पनि याचक योसँग आहार, आश्रयको कामना लिएर आउँछ, निराश भएर फर्कंदैन । फलफूल, पात, छाल, छायाँ, इन्धन, यहाँसम्म आफ्नो किसलय र नवांकुरसम्म दिएर जन्मदेखि मृत्युसम्म सम्पूर्ण प्राणीको कल्याण गर्छ । जंगलले वातावरणमा स्वच्छ हावापानीसमेत प्रदान गर्दछ र भू–क्षय रोक्छ ।


आज कोरोना कोभिड–१९ को कारण विश्व अप्ठ्यारोमा छ । पोहोरदेखि नै मानव समुदाय त्रासदीमा बाँचिरहेको छ । हामी आक्सिजन सिलिन्डर बोक्नुपर्ने अवस्थामा आइपुगेका छांै । शम्शानमा लास मात्र जलेको छैन । भोका पेटभित्र पनि चिता जलेको छ, रोजगार खोसिएको छ, पैसा छैन । जसको सबैभन्दा धेरै प्रभाव, समाजमा मजदूर र किसानमा परेको छ । मानवीय त्रासदीको यो समयमा हामी दुर्भाग्यवश साक्षी बनिरहेका छांै । मास्कले आधा अनुहार छोपिएको छ । मास्क संस्कृतिमा हामी अभ्यस्त हुने प्रयास गर्दैछौं । थाहै नदिई छुवाछूतको संस्कृति पुनः भित्रिएको छ । सामाजिक दुरी बढाउनुपरेको छ । आज हामी स्वघोषित अछुत हुन पुगेका छौं । मास्कले छोपिएको अनुहारबाट आफ्नो आत्मजनसँग परिचित हुने प्रयास गरिँदैछ । आत्मजनको स्पर्शमा पूर्णबाट बन्देज लागेको छ । आत्मजन, करोडौं महामारीका कारण रोइरहेको त्रसित समग्र मानव जगत आफन्तको सामिप्यपछि अनुहारमा आउने भाव छोपिएको छ । उपयुक्त दूरीमा रही आँखाबाट संवाद हुनेक्रम जारी छ । जीवन रोकिएको छ । जीवनलाई चलायमान गर्न यानी गति दिन समाज र सत्ता मिलेर अगाडि बढनुपर्ने देखिन्छ ।

जंगलबाट ओडारमा सरे हाम्रा पुर्खाहरू । आफ्नो बुद्धिले आगोको आविष्कार गरे । मान्छे मात्र यस्तो प्राणी हो जसको बुद्धिको विकास भयो । उसले सबैभन्दा पहिला ढुंगा तिखा¥यो र पहिलो हतियार बनायो । पहिलो प्रयोगमा सफलता प्राप्त भयो । आवश्यकता आविष्कारको जननी सिद्ध भयो । फलामको आविष्कार गरी घातक हतियारको संख्या बढ्दै गयो । खुकुरी, भाला, बञ्चरो बन्नु नै प्रकृतिको लागि सबैभन्दा घातक सिद्ध भयो । यो बञ्चरो र खुकुरीको सहायताले जंगल फाँड्यौं । यतिले पुगेन, जंगल काट्ने मेसिन बनायौ । आज पृथ्वी उराठलाग्दो छ । प्लास्टिकजन्य फोहोर यत्रतत्र सर्वत्र फैलिएको छ । नियन्त्रणभन्दा बाहिर गइसकेको छ । पृथ्वीमा अक्सिजन र कार्बनडाइक्साइडको सन्तुलन बिग्रियो । अहिले हामी अक्सिजन सिलिन्डर बोकेर हिँडने अवस्थामा आइपुग्यौं । नदी, समुन्द्र खोलाखोल्सा सबै प्रदुषित । मान्छेको विकासले कसैलाई सञ्चो राखेन । पृथ्वीका सम्पूर्ण सिर्जना नै प्रदुषित भएको छ । भोलिका दिन अझ भयावह हुँदैन भन्न सकिंदैन ।


नेपालको लगभग ४० प्रतिशत भू–भाग वनले ओगटेको छ । जंगललाई विभिन्न वन्यजन्तु तथा चराचुरुंगीको बासस्थलको रूपमा पनि लिइन्छ । कुनै पनि समाजलाई जान्न बुझ्नको लागि त्यहाँको लोककलालाई बुभ्mन सबैभन्दा सुन्दर र सहज उपाय हुने गर्छ । मिथिला लोकचित्रमा शिवभक्त बेलपत्र हातमा लिएर शिव आरधनामा लिन चित्रको विषय मात्र नभइ महामारीको बेलामा बन्द मन्दिरबाहिर नै वरपिपलको पूजाअर्चनामा लीन देख्दा यस्तो लाग्छ जहाँ श्रद्धा र विश्वासको संगम संकल्पवानको सहजता र शब्दहिन प्रार्थना हाम्रो श्रद्धाको मौन–सेतुले महादेवसँग जोडिन्छ । मौन प्रार्थना जसमा वैचारिक विज्ञान मात्र प्रधान हुन्छ, शब्द र भाषाको प्रधानता स्थापित हुँदैन ।

सुनसान वनमा सुनिने मौनताको संगीतको स्रोत वा स्रोतामध्ये कसैको पनि पहिचान स्थापित गर्न सकिँदैन । आफैकर्ता, आपैm कर्म एवं स्वयं उपभोक्ता रहने प्रकृतिको यो चक्र अनन्तकालदेखि कायम छ । दुनियाँदारी भने त्यसरी चल्दैन । नर्तकले दर्शक खोज्छन् । कलालाई गुणग्राही चाहिन्छ ।

‘सृष्टिकर्ता यदा ब्रह्मा न लभे सृष्टि साधनम

तदाक्षयवटं, चैनं पूज्या मासकामदम ।’

–अर्थात् सृष्टि रचनाको प्रारम्भमा जब ब्रह्माजीलाई यथेष्ट परिमाणमा उचित सामग्री उपलब्ध नहुँदा उहाँले विष्णुजीको उपस्थितिमा वट–वृक्षको पूजा–आरधना गरे र परमेश्वरको उचित सहायता प्राप्त गरी आफ्नो मनोरथ गरे । यसैगरी मिथिलामा वट–वृक्ष पूजनको प्रथाको रूपमा हुनथाल्यो । कुलबधुहरू ज्येष्ठ मासको अमावस्याको दिन वरको गाछीमा परिक्रमा गर्दै चारैतिर धागो बाँधी, तन्मय एकाग्रतासँग सावित्री–सत्यवान्को प्रेरक कथा सुन्दै सुनाउँदै सद्गृहस्थ ‘ट्रि अफ लाइफ’ वंशवृक्ष, रुख र जीवन वा जीवनचक्रको कुनै न कुनै रूपमा उपलब्ध हुने मंगलकामना गरिँदै आएको छ ।  artistsuman.scd@gmail.com   २०७८ जेठ१०गते, सौर्य दैनिकमा प्रकाशित   

Shares
facebook sharing buttonShare
twitter sharing buttonTweet

Comments

Popular posts from this blog

चित्रकलाको ऐतिहासिक विकासको सेरोफेरो

Artist SC Suman’s Art Exhibit “New York Series” is a Landmark Moment for Mithila Art in the USA

प्रतीक – उद्भव र विकास