मिथिला कलामा बुद्ध अवतार : एससी सुमन

 मिथिला कलामा बुद्ध अवतार : एससी सुमन





गौतम बुद्धलाई हिन्दू पुराणहरूमा भगवान विष्णुका दश अवतारमध्येको एक अवतारको रूपमा प्रस्तुत गरेको पाइन्छ । बुद्धलाई विष्णुको अवतारको रूपमा प्रस्तुत गर्ने काम सर्वप्रथम विष्णु पुराणबाट सुरूबाट भएको देखिन्छ । विष्णुको दश अवतारमध्ये हिन्दु तथा मैथिल परम्परामा बुद्धलाई नवौँ अवतारको रूपमा चित्रित गरिएको छ । यसमा रचिएको कथानुसार देवता र दैत्यहरूको संग्राममा देवताहरू पराजित हुन्छ । तत्पश्चात् देवताहरू आफ्नो समस्या लिइ भगवान विष्णुकहाँ पुग्दछन् । आफ्नो समस्या विनम्र भइ विष्णु समक्ष प्रस्तुत गर्दछन् ।


संसारमा सबै मानिस जन्मेपछि मर्छन् यो प्रकृतिको नियम हो । तर, ‘महामानव गौतम बुद्ध’ जसले मृत्युलाई जिते र अमर भए । मिथिलामा खिस्सा (कथा) सुनाउने अति पौराणिक चलन हो । जेठो पुस्ता यानी हजुरबा, हजुरआमा, आमाबाट आफ्ना छोराछोरी, नातिनातिनालाई प्रायः राति सुत्नेबेलामा रामायण, महाभारत, वेद, पुराण लगायत विभिन्न लोककथा, दन्तकथा सुनाउने चलन रहिआएको छ । मुख्यतया यस्ता कथा मिथिलामा चित्रकलाको स्रोत हुन् । यसै प्रचलित प्रचलन अनुसार, कथामा गौतम बुद्ध लुम्बिनीको कपिलवस्तुका शाक्य वंशीय राजा शुद्धोधन र उनकी जेठी पत्नी मायादेवीका ज्येष्ठ सुपुत्रका रूपमा ई.पू. ५६३ वैशाख शुक्लपूर्णिमा शुक्रबारका दिन जन्मेका हुन् । गर्भावस्थामा मायादेवीले सपनामा सेतोहात्ती आफ्नो गर्भमा प्रवेश गरेर विलय भएकोे देखेकी थिइन् । मायादेवी देवदह माइत जाँदै गर्दा लुम्बिनी भन्ने ठाउँमा उनी प्रसव पीडाले सताएपछि शाल रूखको फेदमा गएर आराम गर्न थालिन्, त्यहीँ सिद्धार्थ गौतमको जन्म भएको थियो । नवजात बालक अलौकिक थिए, जन्मिनेबित्तिकै सात पाइला हिँडेको र बोलेका थिए भन्ने किंवदन्ती पनि छ । जन्मेको पाँचौ रातपछि छठी संस्कार कर्म गरी सिद्धार्थ गौतम भनी नामाकरण गरिएको थियो । जो आजसम्म मिथिलामा नवजात शिशुको जन्ममा गरिने संस्कार छठी वा छठिहारको रुपमा प्रचलित छ । सातौं दिनमा उनकी आमाको देहावसान भएकाले सिद्धार्थको सानीआमा महाप्रजापति गौतमीको कोखमा पालनपोषण भएको थियो । एकजना असित नामका तपस्वीले भनेका थिए, ‘महाराज, यी बालकमा अलौकिक गुण छ । संसारिक व्यवहार तथा घरपरिवार त्यागी यिनी तपस्या गर्न जानेछन् र ज्ञानको खोजी गरी बुद्ध बनी संसारमै ज्ञानको ज्योति फैलाउने छ र बौद्धत्व प्राप्त गरी गौतम बुद्ध कहलाउनेछन् ।’ तर राजा शुद्धोधन तपस्वीको यस्तो भविष्यवाणी सुनेर दुःखी भए । बुबाले उनलाई आफूजस्तै योद्धा र कुशल शासक बनाउन चाहन्थे । राज्य छोडेर जाला भनी आफ्नै निगरानीमा दरबारभित्रै उनलाई शिक्षा, खेलकूद आदिको व्यवस्था गरिएको थियो।


एकदिन सिद्धार्थ रथारोहण गरी सारथीसँग राज्य घुम्न निस्किएका थिए । उनले क्रमशः कुप्री परेको बूढो मान्छे, दुःखी रोगी तथा अशक्त, मानिस, मृत्यु र लास देखे अनि आफ्नो सारथीसँग यस्तो अवस्था आउने कारणबारे जिज्ञासा राखे । सारथीले जीवनको वास्तविकता र अवस्था बताइदिएपछि उनी बूढो हुनुपर्ने, रोगी हुनुपर्ने र एकदिन मर्नैपर्ने यो कस्तो विडम्बना होला भनी मनमनै सोच्न थाले । जन्म मृत्युको यथार्थबारे यसको कारण के होला ? निवारण कसरी गर्न सकिएला ? भनी उनी रातदिन चिन्तन गर्न लागे । यो कुरा थाहा पाएर राजाले छोरालाई यसबारे कसैले जानकारी नगराउनु र त्यस्ता अवस्थाका मानिस देख्ने अवस्था पनि नदिनु भनी आदेश दिए । फेरि एक दिन उनले शान्तचित्त भएका एकजना भिक्षु देखे, जसले उनलाई शान्त स्वभाव र आनन्द प्राप्त गर्न प्रेरित ग¥यो ।

गृहस्थ जीवन बिताइरहेकाहरूका लागि विश्व नै घर हुन्छ र सम्पूर्ण प्राणीवर्ग नै परिवारका सदस्य हुन्छन् । उनीहरूमा विश्व बन्धुत्वको भावना हुनुपर्छ । तसर्थ उनले २९ वर्षको उमेरमा गृहत्याग गरी भारतको बोधगया गई लगभग छ वर्षसम्म कष्टदायक तपस्या गरे र बुद्धत्व प्राप्त गरे । परिवार छाड्नुको उद्देश्य विश्वमै कसरी शान्ति प्राप्त गर्न सकिन्छ भन्ने थियो । आधुनिक फोस्रा सभ्य शिक्षित परिवारप्रतिको दायित्वबाट पन्छिएको भनी उनलाई अपवाद लगाउने गर्छन् । तर, उनका लागि परिवारप्रतिको दायित्वभन्दा ठूलो दायित्व विश्वको थियो ।


मानिसहरू रोग, शोक र भोकले पीडित बनिरहेका हुन्छन् । तिनलाई कसरी धैर्य गर्ने र शान्त बन्ने भन्ने चेतना भर्न सकिन्छ भन्ने उनको सपना थियो । त्यही सपना साकार पार्न उनी प्रकृतिको शरणमा गएका । बुद्धत्व प्राप्त गरिसकेपछि ३५ वर्षको उमेरमा उनले हिन्दू धर्मावलम्बीहरूको मुख्य तीर्थस्थल भारतको उत्तरप्रदेश अन्तर्गत वाराणसी नजिक सारनाथ गई पीपलको फेदमा बसेर पहिलोपल्ट आफ्ना शिष्यहरूलाई उपदेश दिएका थिए । उनले आफूले दिएको उपदेश र शिक्षालाई ‘त्रिपिटक’ मा संकलन गरेका छन्, जसमा आफ्ना ८२,००० र आफ्ना मुख्य–मुख्य शिष्यका दुई हजार गरी जम्मा ८४,००० उपदेशमूलक सूत्र छन् । यो ग्रन्थ अद्यापि उपलब्ध छ । हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको सम्पत्ति चोरी नगर्नु, प्राणीमा दया माया देखाउनु, ब्रह्मचर्यको पालना गर्नु, आत्मादेखि नै सहयोगको भावना राख्नु, आवश्यकताभन्दा बढी धन सञ्चय नगर्नुजस्ता उनका महावाणी अहिले पनि विश्वमै उपयोगी बनेका छन् । अद्भूत तथा अलौकिक व्यक्तित्व गौतमले घोर तपस्याद्वारा बुद्धत्व प्राप्त गरेका कारण उनको नाम नै गौतम बुद्ध रहन गएको हो र उनले भगवानको स्थान पाएका हुन् । उनी अद्वितीय शान्तिका पर्याय वा प्रतीक हुन् । यसैले उनलाई विश्व मानचित्रमा एसियाका तारा तथा विश्वशान्तिका अग्रदूत मानिन्छ ।


म पनि जनश्रुति अनुसार आफ्नो हजुरआमाबाट सुनेका कथामा वर्णित बुद्ध चरित्रले प्रभावित भएको छु । तसर्थ मिथिला चित्रकलामा प्रचलित शैलीमा परम्रागत स्वरुपमा दशावतारको चित्र लेख्ने परम्परा रहिआएको छ । नवौं अवतारको रुपमा गौतम बुद्धको चित्र लेखिन्छ । मैले कचनी शैलीमा प्राकृतिक रङ प्रयोग गरी परम्परागत तरिकाले बनाइएको दशावतारको चित्रमा बुद्धलाई देखाएको छु । कचनी र भरनी प्रचलित र लोकप्रिय शैली हो । कचनी शैली कायस्थ जातिद्वारा परम्परागत रुपमा प्रयोगमा ल्याएका शैली हो । तसर्थ कचनीमा कायस्थ जातिको महार्थ हासिल भएको हो । लिखियामा कचनी कायस्थ जातिको शैली भनी चिनिन्छ । भगवान विष्णुको अवतार चित्रित गर्दा शंखभित्र विभिन्न अवतारलाई अरिपन रुपमा चित्रित गर्ने मेरो हजुरआमाको सिको गर्दै बनाइएको हो । किनभने शंख, चक्र, गदा, पद्म भगवान विष्णुको चार हातमा शोभायमान हुने गर्छ ।


परम्परागत मिथिला लोककलामा विभिन्न बिम्बको प्रयोग कठिन कार्य हो । कलामा प्रयोग हुनुपर्छ भन्ने मेरो मान्यता रहिआएको हो । तसर्थ मेरो विभिन्न प्रदर्शनीमा विभिन्न मुद्रामा गौतम बुद्धका चित्रहरु प्रदर्शित हुँदै आएको छ । हुनत् मेरो कला यात्राको प्रारम्भिक चरणमा मेरो छात्र जीवनकाल सन् १९८२ तिरका केही प्रदर्शन न भएकोे चित्रहरु मेरो निजी संकलनमा रहेको छ । जसमध्ये यहाँ केही चित्र प्रस्तुत गरिएको छ ।

गान्धार कला एक प्रसिद्ध प्राचीन कला हो । यो कलाको उल्लेख संस्कृत साहित्यमा पाइन्छ । सामान्यतः गान्धार शैलीको मूर्तिको समय पहिलो शत इस्वी चौथो शत इस्वीको मध्येको हो । यो शैलीको श्रेष्ठतम रचना ५० ई. देखि १५० इस्सी संवतमध्येको मान्न सकिन्छ । गान्धार कलाको विषयवस्तु भारतीय थियो तर कला शैली युनानी र रोमन थियो । तसर्थ गान्धार कलालाई ग्रीको–रोमन, ग्रीको बुद्धिस्ट या हिन्दू–युनानी कला पनि भनिन्छ । यसको प्रमुख केन्द्र जलालावाद, हड्डा, बामियान, स्वात घाँटी र पेशावर थियो । यस कालमा पहिलोचोटी बुद्धको सुन्दर मूर्ति बनाइएको थियो ।


भगवान बुद्धको सुन्दर मूर्तिको निर्माण श्वेत र श्याम रङको ढुंगा व्यवहारमा ल्याइएको थियो । गान्धार कलालाई महायान धर्मको विकासले प्रोत्साहन मिल्यो । यस मूर्तिको मांसपेशी स्पष्ट हुने गर्छ । लगाएका लुगा आकर्षकसँगै मुजाहरु प्रस्ट देखिन्छ । यहाँ शिल्पीकारद्वारा वास्तविकतामा कम ध्यान दिइ बाह्य सौन्दर्यलाई मूर्तरूप दिने प्रयास गरिएको प्रस्ट देखिन्छ । यहाँ भगवान बुद्धका मूर्ति यूनानी देवता अपोलो समान प्रतीत हुन्छन् । शैलीमा उच्चकोटीको नक्कासीको प्रयोग गरी प्रेम, करुणा, वात्सल्य विभिन्न भावना एवं अलंकारिताको सुन्दर सम्मिश्रण प्रस्तुत गरिएको छ । यो शैलीमा आभूषणको प्रदर्शन धेरै गरिएको छ । जसले गर्दा मूर्ति भव्य एवं सजीव लाग्छ । कनिष्क कालमा गान्धार कलाको विकास द्रुतगतिमा भयो । भरहुत एवं साँचीमा कनिष्कद्वारा निर्मित स्तूप गान्धार कलाका उदाहरण हुन् । जसबाट म अत्यधिक प्रभावित भएको छु । लिखिया (मिथिला कला) मा बुद्धको चित्र लेख्दा यिनै कुराहरु मस्तिष्कमा घुमिरहन्छ ।


बुद्धको प्रयोगात्मक शिक्षालाई शील, समाधि र प्रज्ञा भनी तीन चरणमा विभाजन गरिएको पाइन्छ । शील भन्नाले पञ्चशील भन्ने बुझिन्छ, जसअन्तर्गत हिंसा नगर्नु, चोरी नगर्नु, झुट्टो नबोल्नु, जाँडरक्सी जस्ता मादकपदार्थ सेवन नगर्नु, व्यभिचार नगर्नु जस्ता बौद्धमार्गी गृहस्थी उपासकले गर्नुपर्ने नियम पर्दछन् । बुद्धका अनुसार शील, समाधि र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्ण रूपले बुझ्दै जान सकिन्छ । ती चार आर्य सत्य छन् ।

बुद्ध ई.पू. ४८३ वैशाख शुक्ल पूर्णिमाकै दिन ८० वर्षको उमेरमा समाधिद्वारा महापरिनिर्वाण (देहत्याग) गरेको ऐतिहासिक प्रमाण भेटिन्छ । नेपालको इतिहास हेर्दा लगभग ई.पू. ५६३–४८३ गौतम बुद्धको कार्यकाल मानिन्छ । महान् व्यक्तित्व गौतम बुद्धको नाम, काम र उनको दर्शनले सामाजिक तथा राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसंगतिको अन्त्य होस्, राजनीतिक अहंकारमा पूर्णविराम लागोस् भन्ने चाहना अनुरुप चित्र कोर्दै आएको छु, जो आज पनि सान्दर्भिक छ ।

artistsuman.scd@gmail.com

२०७७ कार्तिक २९ गते सौर्य दैनिक तथा souryaonline. com मा प्रकाशित


Comments

Popular posts from this blog

नेपाल- जहां देवता निवास करते हैं : एससी सुमन

संरक्षण को प्रतीक झाप : एससी सुमन