लिखियाको सौन्दर्य : कायस्थ र कचनी एससी सुमन
काल्पनिकताले परिपूर्ण र कला सिद्धान्तको दबाबबाट मुक्त भएको कारणले लोककलामा सौन्दर्य र सहजताको अनुभूति हुने गर्छ । जसले आफ्नो देशको माटोको सुगन्ध, मौलिकता र परम्परासँग जोडिएको अनुभूति गराउँछ । तसर्थ आजको समकालीन परिदृश्यमा लोककलाको चर्चा अत्यन्त आवश्यक हुन जान्छ । लोककलाको नाम लिनेबित्तिकै हाम्रो मस्तिष्कमा सबभन्दा पहिले मिथिला कलाका विभिन्न रूपको उपस्थिति हुन्छ । जसमा अरिपन, कोहबर, तान्त्रिक, गोदना आदि लोक चित्रको स्मरण हुन आउँछ । मुख्यतया कचनी, भरनी र तान्त्रिक शैलीको प्रयोग नेपाल र भारतको मिथिला क्षेत्रमा बसोबास गर्ने ब्राह्मण र कायस्थ जातिका पुरुष तथा महिलाद्वारा गरिँदै आएको पाइन्छ । लिखियामा प्रयोग हुने अधिकांश सामग्री दिनानुदिन प्रयोग हुने वस्तुबाट नै भित्ता, भुइँ तथा कागतमा लेखिन्थ्यो । घर बनाउँदा प्रयोग हुने बाँस, खरको टाँटीलाई समतल तुल्याउन माटो, भुस र गोबरको मिश्रणले कडा लेपन गर्नुपर्ने प्रविधि आजसम्म छ । रेखाचित्र कोर्ने हो भने सतहलाई चिल्लो बनाउन मलिलो रङको माटो प्रयोगमा ल्याइन्छ । मैथिलीमा यस्तो माटोलाई ‘चिकनी’ माटो भनिन्छ । चिकनी माटोको घोलले पुनः पोत्नुपर्छ, यस प्रक...